कालो बैंसले उन्मत्त अँधेरीसंग
उज्यालो ईच्छा शक्तिले
जब मैथुन गर्छ
मैनको डिम्ब ज्योतिमा
शुक्रकिट आगो निसेचन हुन्छ
तब आफ्नै थाप्लोमा चिता बोकेर
मैनवत्तीको जन्म हुन्छ ।

मैनवत्ती जन्मदा दुख र मृत्यु भयले
च्याँहाँच्याँहाँ रुँदैन
बरु निशब्द हाँसिरहन्छ
आफ्नै चिताको आगोमा रमाईरहन्छ
मृत्युको प्रत्येक पलसंगै रमाई रमाई खेलिरहन्छ
हावाका झोक्काहरूसंग जिस्कीरहन्छ
देवदूत वालक जस्तै ।

मैनवत्तीको शब्द कोशमा
स्वार्थ भन्ने शब्द हुँदैन
उज्यालो नै जीवन हो, जीवन नै उज्यालो हो
जीवन दिनु नै धर्म हो, जीवन दिनु नै कर्म हो ।
आफ्नै उज्यालोमा जीवन पग्लिरहेको मैनवत्ती
मौनतामा मुखरीत हुन्छ मृत्यु खपेर ।

मैनवत्तीहरूले
उज्यालोसंगै जीवन बाँडिरहे
तर मैनवत्तीको उज्यालोमा उज्यालिनेहरू
लास बाँचेर
आफ्नै चिताको आगो जस्तै
मृत्यु बाँडिरहे ।

ए ! हावाका झोक्का मान्छेहरू
मलाई निभाउने गल्ति नगर
म मैनवत्ती जीवन बाँच्न चाहन्छु
मलाई आफ्नै चितामा बाँच्न देऊ
मलाई उज्यालो छर्न देऊ
धर्तीमा उज्यालो भर्न देऊ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *