परिचय
कावासोती भरखरै नगरपालिका घोषणा भएकोमा खुसीयालीको रमझममा कावासोती कृषि बजारले कृषक, सञ्चालक समिति, कृषि विकास कार्यालय र उद्यमी व्यपारी सबैलाई समेटेर बजार तथा उत्पादनक्षेत्रहरूको अवलोकन गराउने र कुन ठाउँमा बजारको सञ्चालन कसरी भएको छ बजारको अवस्था कस्तो छ र कावासोती कृषि बजारले कावासोतीमा कस्तो व्यवस्थापन गरेर बजारलाई नमुना बजारमा परिणत गर्न सकिन्छ भन्ने उदेश्य अनुरूप, यो शैक्षिक भ्रमणको आयोजना गरिएको थियो । यो भ्रमणमा अध्यक्ष लेखनाथ बस्याल, व्यवस्थापक सुनिता चापागाई (सुवेदी) र नाप्रास नरेन्द्र भण्डारीले तपाइँ पनि यस भ्रमणमा सशभागी हुनुपर्दछ भन्नु भएको थियो । यसमा धेरै चासो त कृष्णबहादुर गुरौले देखाउनु भएको थियो । म पनि सल्लाहाका संयोजक भएको नाताले त्यस भ्रमणमा सहभागी हुने अवसर पाएकोमा सहभागी हुन उपयुक्त नै ठाने । भ्रमणको समय तालिकामा २०७१ जेष्ठ ७ गते विहान ६ बजे कावासोती कृषि बजारमा जम्मा हुने भनिएको थियो । भ्रमणमा सहभागी हुनेमा ३३ जना थियौं । ३३ जनामा महिला सहभागिता ७ जनाको थियो । अधिकांश भ्रमणदलका सदस्यहरू ६ बजे नै भेला भै सक्नु भएको थियो तर केही सदस्यहरू भने समयमा उपस्थित हुन सक्नु भएन । भ्रमण निर्धारित समय भन्दा १ घण्टा ढिलो भयो । जेहोस् ७ बजे हाम्रो यात्राको थालनी भयो । गन्तव्य देशभित्रका कृषिबजारको अवलोकन थियो ।
कावासोतीमा बन्न लागेका बजारका तहराले भनि रहेको थिए हामी विकास मार्गमा अग्रसर छौं । कृषि बजारमा बजारका तहराहरू धमाधम बन्दै छन् । आधुनिक वधशाला पनि आफ्नै ठाउँमा सुसज्जित छ । सहरी कम्पोष्टको नमुना छाप्रोले फोहोर मलाई देऊ र यो फोहोरलाई मोहोरमा परिणत गरिदिन्छु भनिरहेको थियो । नयाँ बन्नलागेको नगर पालिका प्रदुषणमुक्त हुनुपर्दछ यसको लागि नगरप्रमुखको ध्यान तुरुन्तै केन्द्रित हुनुपर्दछ भन्ने धारणा त्यहाँ उपस्थित सहभागीहरूको देखिएको थियो । बजारको गेटसँगै रहेका माछा दोकानबाट आएको मत्स्यगन्धले पनि गर्मि बढीरहेको संकेत दिइरहेको थियो । कृषि बजारको अवस्थीत स्थलमा पनि ठूला ठूला सालाका रुख देखिन्छन् पूर्बमा सुन्दर सालको वन, बजारको आडैमा टाँसिएको भगवान वुद्धको मूर्तिसितै पश्चिम र उत्तरतिर फैलिदै गएको बजार र प्रहरी कार्याय बैंक, सहकारी संस्था तथा कलेजहरू, सरकारी कार्यालय दक्षिण र पस्चिममा पनि रेडक्रस भवन, वन, लुम्विनी आदर्श डिग्री कलेज आदिले सजिएको कावासोती बजारबाट हामी अगाडी बढ्दै कृषकहरूलाई बटुल्दै नारायणघाटतिर लाग्यौ । लोकाहा पूल, प्रंगतिनगर, दलदले, रजहर, सोह्रनम्बर, हर्कपुर, भेंडाबारी, थुम्की गैंडाकोट आदि पारगर्दै नारयणगढको सुन्दर बजारमा मिनेरलवाटर किनेर भरतपुरको उकालो चढ्दै गाडकिो रोडपर्मिट लिंदै सौराहाचोकमा पुगेर विहानको नास्ता खाने काम भयो ।
हेटौडाको बजारको अवलोकन
गाडी अगाडी बढ्.दै गयो, हामीले चितवनका हरियालीलाई हेर्दै, कृषि प्रधानदेशको स्मरण गर्दै, लोथर मनोहरी तर्दै, बसामाडीको हरियाली, वन र बगरका छेउ छाउमा बाख्रा गाई गोरू खर्कमा लाँदै गरेका कृषिबालाहरूलाई नियाल्दै, हेटौडाको बजारको बस पार्कमा गएर गाडि अडियो । हेटौडाको कृषि बजारका बजार व्यवस्थापन समितिका अध्यक्षले आफ्नो परिचय गराउँदै यो बजारको स्थापना, वि.सं.२०५१ सालबाट चलेका्े ४२ जिल्लाका महासंघसँग आवद्ध रहेको, यो बजार नगरपालिकासँग आवद्ध रहेको, यहाँ माछा, मासु, खसिबजार र तरकारी बजार अलग अलग ठाउँमा सजिएको जानकारी गराउन’ भयो । अध्यक्षले कृषकलाई भगवानको संज्ञादिदै कृषकले उत्पादनको लागत पाएका छैनन्, कृषक अपहेलित छन्, सरकारले कृषकलाई मानवताको दृष्टिले हेरेको छैन, कृषक र बजारले अधिकार खोज्नु पर्ने समय आएको छ, आदि धेरै सुझावहरू प्राप्त गरियो । अध्यक्ष भेषराज मुक्तानले त्यस संस्थाका सदस्यहरूले बजार अवलोकन भ्रमण गर्दा बनाइएको भिडियो सिडी कावासोती कृषि बजारका अध्यक्षलाई प्रदान गर्नु भयो । मैले पनि प्राप्त गर्ने मौका पाएँ । यो सिडीमा कृषिबजारहरूको अवलोकनमात्र नभएर त्यस ठाउँका धार्मिक स्थल र पर्यटकीय स्थलहरूको सदस्यहरूले भ्रमण गरेका र त्यहाँका प्राकृतिक सौन्दर्यलाई समेत सहभागीहरूले हेर्न पाएकोले यो एउटा अनुकरणीय काम गरेका रहेछन् भन्ने मलाई लाग्यो । हेटौडा बसपार्कको छेउछाउका होटेलमा स्वछनौटमा, आफ्नै लगानिमा खाना खाने र यात्रामा आएवापत कावासोती कृषि बजारले केही रकमले सहयोग गर्ने भन्ने निर्देशन प्राप्त भए पछि, सबैले आफ्नो तरिकाले खाना खाने काम भयो ।
पूर्वको यात्रा
हेटौडाबाट गाडी चल्यो, पथलैया पुग्यो र गाडी पूर्व मोडियो । दिनभरिको, तातो हावा खाँदै, बीच बीचमा पर्ने वनलाई पार गर्दै, वागमती पूललाई तर्दै, सर्लाहीको वृहत वागवानी फार्मको नजिकबाट नियाल्दै, गाडी अगाडी बढीरहेको अवस्थामा कोर्के नजर लगाउँदै गर्मीको कारणले आँखा झपक झपक पार्दै अगाडी बढिरहेका थियौं । बढ्दो गमीले गर्दा, बाटोमा मानिसको आवत जावत त्यति देखिदैनथ्यो, जलस्रोतको धनी देशमा सिँचाइको कमीले गर्दा जमिन हराभरा हुन सकेको थिएन, गाडी बाबडीमा गएर आँपको बोटमनी रोकियो र पेडा खाने काम भयो । यसै बखत कसै कसैले चिया पनि पिए । दिनले विदा माग्दै थियो र रजनीमाताले स्वागत गर्न लागेको भान हुन्थ्यो । गाडी रफ्तारमा बढ्दै थियो हामीले पनि अवत दिनभरीको तातो हावालाई पनि विदा गर्दै थियौं र चिसो चिसो हावाको स्वागत पनि गर्दै थियौं । बाँसबाट निर्माण भएका बाक्लै घरहरू, कोशीबाँधबाट डुवानमा परेका जमिनहरूको अवलोकन गाडीबाटै गर्दै, कोशी पूलमा गाडी पुग्यो, कोशी नदीमा डुंगामा बसेर माछामारेको मनोहर दृश्यलाई छाड्दै, गाडी भन्टाबारीतिर मोडियो । भन्टाबारीको माछाको स्वाद लिन पाइएन, कोशीको बाँध फुटेर भेलले पारेको खेतीयोग्य जमिन धन जनको क्षतिलाई सम्झदै मेरा नजर वरिपरि घुम्न थाल्ये, अझै पनि सबै जग्गा जोत्न हुने अवस्थामा पुगेको देखिएन । कहीं कहीं भने घरहरू बन्न थालेका रहेछन् । यहाँ परवर लगायतको पनि पाइयो । यहाँको यो बलौटे जमिनमा मलजलको व्यवस्था मिलाएर परवर सहितका लहरेबालीहरूलाई व्यवस्थितरूपमा गर्न सके देशलाई चाहिने परवर तथा लहरेबालीका तरकारीको आपूर्ति सहज हुने कुरा मनमा खेल्न थाले । कोशीले पुरेको जमिनको विकासको लागि नहरहरू पनि बनाएको पाइयो । सूर्यमुखीको खेती, केराका बगैंचा, तथा धानका वियाडहरूको साथै विविध बालीले र बगैंचाले सजिएको सुनसरी सदरमुकाम इनरुवामा गाडी प्रवेश गर्यो । झमक्क साँझ परिसकेको थियो । गाडी झुम्कातिर बढेको थियो । झुम्कामा भएका कृषि तालिम केन्द्र, माटो र बीउवीजन प्रयोगशालालाई गाडीको झ्यालबाटै चियाएँ । हामी हतारमा थियौं । गाडी इटहरीबाट उत्तर मोडियो, तरहराको कृषि अनुसन्धान केन्द्रलाई पारगर्दै गाडी धरान प्रवेश गर्र्नको लागि वनमा प्रवेश गर्यो । हामी धरान सहरको अवलोकन विजुलीको प्रकाशमा बारिपारि हेर्दे कृषि बजारमा पुगेम् त्यही हाम्रो मुकाम भयो ।
धरानका धार्मिक स्थलको अवलोकन
८ गते प्रकाशमय हुनको लागि प्रशव पीडामा छटपटिदै थियो । साथीहरू उठेर खलबल गर्न थाले र मेरो पनि निद्राले विदा लियो । पानीको कमी रहेकोले सुचीको लागि समस्या देखियो । साथीहरूले अन्य सौचालय र पानीका धाराहरू पत्ता लगाए । सहजरूपमा विहानी क्रमलाई समाप्त गरेर, हामी धरानको प्रसिद्ध बुढासुब्बाको मन्दिर हेर्नलाई गाडीमा चढेम् । धरान बजारबाट गाडी केही मिनटको लागि उकालो चढयो । पाथीभरा युमासनी देवी मन्दिरम गाडी गएर अडियो । घरको भित्तामा मेरा नजर परे । त्यहाँ केही मार्मिक भावनाका शब्दहरू लेखिएका थिए– ‘ईश्वरले रगत पैसा मागेको छैन, मागेको छ तिम्रो सच्चा आत्मा । बास्तवमा देवी देवतालाई खुसी तुल्याउनका लागि हामीले जो रगत बगाउने (वली दिने ) र पैसा चढाउने गर्दछौ, त्यो के सही हो त ? यो एउटा प्रश्न अवश्य खडा भएको छ । यो सबै ईश्वरको सृष्टि हो सृष्टिकर्ता भनेक बाबा र आमा हुन् । के बाबा र आमाले आफ्ना सन्तानको भोग माग्छन् ? अवश्य माग्दैनन् । अर्को ठाउँमा लेखिएको थियो–
‘शान्ति आफैमा छ, बाहिर नखोजौं । शान्तिको सिर्जना मानवले आँफै गर्न सक्नु पर्छ । शान्ति भनेको अनुभूति हो । अर्को पङ्क्ति पनि देखियो–‘जसलाई शान्ति चाहिएको छ, उसैलाई मारिदिए पछि आखिर कस्को लागि शान्ति ? द्वदले निम्त्याएको निर्दोष तथा शान्तिप्रिय मानवहरूको हत्यलाई संकेत गरेर लेखेको जस्तो लाग्छ यो सन्देश । बुढासुब्बा मन्दिरको अवलोकन पछि समूहमा कृष्ण राइको कृषि फर्म हेर्न जाने या धनकुटा हिलेको कृषि उत्पादन हेर्न जाने भन्नेमा समूहमा दुई मत देखियो । कोही धनकुटाको हिले जानेमा उभिए भने कोही प्राङ्गारिक तथा पर्यावरणीय कृषि फर्मको अवलोकन गर्नु पर्छ भन्न थाले । त्यहाँ सानो छलफल पनि भयो । आखिरमा बजार के को लागि भन्दा उत्पादनलाई विक्री वितरण गर्नको लागि । उत्पादन नै नभए के को बजार भन्दै आजको रसायनिक मल र विषादिले निम्त्याएको विषाक्तताले गर्दा प्राङ्गारिक खेती र प्राङ्गारिक खेतीको बजारका मागले उच्चता हाँसिल गरेको छ । आखिर सबै प्राङ्गारिक तथा पर्यावरणीय कृषि फर्मको अवलोकन गनै सहमत भयौं र कृषि पर्मतिर लागेम् ।
प्राङ्गारिक तथा पर्यावरणीय कृषि फर्मको अवलोकन
हामी कृष्ण राईको प्राङ्गारिक तथा पर्यवरणीय कृषि फर्मतिर मोडियौं । कृष्णजीले आफ्नो फर्म रहेको ठाउँ खेतीयोग्य थिएन । त्यसलाई पहिला बोक्सीटारको नामले बोलाइन्थो, त्यो ठाउँलाई मलजल गरेर वसन्तटारमा परिणत गरियो भन्दै उहाँले दुईवटा अवधारणाहरू यहाँ प्रस्तुत गर्नु भयो । २०५५/५६सालबाट रसायनिक मल प्रयोग गरेर खेती गरियो र उत्पादन पनि निकै लिइयो तर यसको रसायनिक असर मानिस र माटो दुबैमा देखिएको हुँदा २०६३ साल देखि रसायनिक मलको कटौती गर्दै प्राङ्गारिक खेतीमा प्रवेश गरियो र सर्ब प्रथम उत्पादनमा ह्रास पनि भयो । हाल आएर माटोमा प्राङ्गारिक मलको प्रयोग बढाएर गर्दा माटोको उर्वराशक्ति पनि बढयो र उत्पादन पनि बढाउन थालियो साथै बजार भाऊ पनि राम्रो पाइएको छ र उत्पादन लागत पनि घटाउन सकिएको छ भन्ने कुराहरू छलफलमा आए । प्राङ्गारिक कृषि गर्दा शुरुमा रोग र कीराको आक्रमणलाई रोक्न कठिन परेको तर जब जब माटोमा प्राङ्गारिक पदार्थ बढ्दै गयो, माटो स्वस्थ बन्दै गयो रोग र कीराको प्रकोप पनि घट्दै गयो भन्नु भयो । मैले उनीसँग एउटा प्रश्न राखें । के देशव्यापी रूपमा यसरी यो कृषिलाई लान सकिन्छ ? भन्दा राईजीले दृढतासँग भन्नु भयो यो सम्भव छ । यसवेला जिकृविका शिवचौधरी सरले मेरो बारेमा परिचय गराउन खोज्नु भयो तर मैले रोकें । प्राङ्गारिक खेतीको बारेमा जति सहजसँग भनिन्छ त्यति सहजसँग व्यवहारमा उतार्न सकिदैन किनकी प्राङ्गारिक खेती गर्दा प्राकृतिक पद्धतिसँग मेल खानु पर्छ, स्थानीय स्रोत र साधनको उपयोगमात्र हैन कि संरक्षण र सम्बर्धन गर्न सक्नु पर्दछ । मूख्य रूपमा मल, माटा,े बीऊ, आदि सबै प्राङ्गारिकमा रूपान्तरण भएको हुनुपर्दछ । राइजीले बताए अनुसार र हामीले हेर्दाखेरी उहाँको बंगुर पालन, गाई पालन, कुखुरा पालन, मूत्र सङ्कलन, मूत्रसङ्कलनको लागि भकारो सुधार, मानिसको मूत्रसंकलनको लागि इकोशान चर्पी (त्यसमा मानिसको दिशा अलग र मूत्र अलग ठाउँमा जाने व्यवस्था हुन्छ) को पनि व्यवहारमा ल्याएको देखियो । शुद्ध प्राङ्गारिक खेतीमा मानिसको दिशा पिसाव प्रयोग गर्न मिल्दैन । राइजीले प्राङ्गारिक खेतीको लागि गरिएको प्रयास अनुकरणीय नै मान्नु पर्छ । यतिमात्र नभएर पर्यावरणीय ९भ्अय ाबचmष्लन० खेतीको थालनी पनि गरेको र यसको लागि पनि प्रयासरत रहेको देखियो । यस खेतीको नामाकरण तिरीमिरी खेती भन्नुहुँदो रहेछ । उहाँले केही बालीहरू प्रदर्शनमा पनि राख्नु भएको रहेछ । राइजीले भन्नुहुन्छ–‘बोडीमा लाग्ने कीरा लाही हो, फर्सी आडमा लगायो भने लाही भाग्छ । आलुमा गाजर मिसायो भने रातो कमिला गाजरमा रमाउँछ र आलु बचाउन सकिन्छ । नेपालमा आलुको रातो कमिला समस्याको रूपमा छ । यसको परीक्षण गर्नु अति आवश्यक देखिन्छ । माटोको जुका नियन्त्रमा बीच बीचमा सयपत्रीफूल लगाउने जस्ता उदाहरण राईजीले बताउनु भयो । कतिपय उहाँको भनाइमा सत्यता छ भने कतिपयमा परीक्षणको आवश्यक्ता देखिन्छ । राइजीको प्रयास र यी खेती प्रणालीमा मार्गदर्शकको रूपमा आफूलाई स्थापित गर्न खोज्नु भएकोमा उहाँलाई धन्यवाद दिनै पर्छ ।
धरानको कृषि बजार सम्बन्धी जानकारी
यसपछि हामी धरानको कृषिबजारमा फर्कियो । धरानको कृषि बजारको बारेमा व्यवस्थापक लक्ष्मण भट्टराईले प्रस्तुति गर्नु भयो । यो कृषि बजारको स्थापना बजार विकास महाशाखाबाट थालनी भएको र यसमा लगानी एडिवीले गरेको थियो । यसमा स्टालहरू ४७० रहेका छन् । यहाँ पानीको व्यवस्था, क्यानटिनको व्यवस्था, खसी बजारको पनि व्यवस्था छ । आगन्तुक तथा व्यपारीलाई पनि बस्ने व्यवस्था गरिएको छ । बजार २४सै घन्टा खुला रहने, सामान इन्ट्री गरेर बस्न पाइने व्यवस्था, बजारबाट निस्केका विधटनमा जाने बस्तुहरूको सहरी कम्पोष्ट बनाउने चलन, ९ वटा बजारको मूल्यको जानकारी पाउन सकिने, मेल सुविधा, एस.एमं एस पद्धतिबाट मूल्यको जानकारी लिन सकिने । यस बजारमा भारतबाट आउने कृषि बस्तु नेपालको पहाडी भेगमा जाने र नेपालका पहाडमा उत्पादन गरेका सामाग्रीहरू भारत पनि निकाशी हुने, विश्वास दिलाएका व्यपारीहरूले सामान आज लगेर भोली मूल्य तिर्ने सुविधा, सामानको आयतमा लसुन र प्याज चाइना बाट गरिने, निकासीमा सुन्तला बङ्गला देशमा गरिने, बजारमा मदिरा निषेध, आदि कारोबारको जानकारीको साथै कारोबारको तालिका पनि प्रस्तुत गरिएको थियो । यस बजारलाई क्षेत्रीय कृषि बजारको रूपमा विकास गर्ने लक्ष रहेको जानकारी प्राप्त भयो । यहाँ मूख्य रूपमा तरकारी, फलफूल, मसला, दलहन, खसीबाख्रा, रिठ्ठा, रुद्राक्ष, लाहा, चिराइतो, लेऊ, जटामसी आदिको आर्थिक बर्ष २०६९/७०मा जम्मा २,४९,६९,००,२५४/–को कारोबार भएको र त्यसमा १,११,७०,४८,७५४/–रुपियाँको तरकारीको कारोबार भएको जानकारी पाइयो । यस बजारले गरेको प्रयासलाई उदाहरणको रूपमा लिन सकिन्छ ।
व्यवस्थापकको मीठो प्रस्तुती पछि अध्यक्ष काजी गिरीले नीतिगत कुराहरूको बारेमा जानकारी दिनु भयो । निर्देशिका पवरिवर्तन हुन गइरेहको जनप्रतिनिधिले प्रयोग गर्ने अधिकार र सञ्चालक समितिमा हुनुपर्नेमा कर्मचारीमा लगिने भनिएको सुनिन आएको छ । सबै एकमत भएर अधिकारको लागि लड्नु पर्ने अगाडी बढ्नु पर्ने सुझावको साथै धन्यवाद दिनु भयो । हाम्रो तर्फबाट पनि अध्यक्ष लेखनाथ बस्यालले धन्यवाद दिएर हामी भेडेटारतिर लाग्यौ. ।
भेडेटार टावरबाट अवलोकन
कतिपय साथीले धरानमै खाना खानु भएको थियो । कतिपयले भेडेटारको शीतलोमा खाना खाने भनेर धरानमा नखाई गएका थियौं । म लगायत केही साथीहरूले भेडेटारमा खाना खायौं । कति पय साथीहरू, भेडेटारबाट धरान बजारको दृश्यको अवलोकन गर्दै, भेडेटारबाट देखिने डाँडा काँडा र तराइको समथल स्थलको आलोकन गर्न साथीहरू टावरमा जान थाले म पनि टावरमा गएँ र चारैतिर आँखा फैलाएँ । हामीमा वरिपरिका डाँडाकाँडाको बर्णन गर्ने गाइड थिएन सौन्दर्यताले भरिएका ती पहाडी चुचुराहरूका दृश्यले हाम्रो मनै लोभ्यायो, मन्दमन्द वायुको शीतल हावाले जिउ र्नै रसायो र तराईका फाँटहरूको दृश्य पनि हेर्न पाइयो । हामी अव पशुपतिनगर जानको लागि गाडीमा चढ्यौं ।
पशुपति नगरतिर रमाना
सबैको मन दार्जिलिङतिर मोडिएको थियो । गाडीले पुनः एक पटक धरानमा गुड्दै, इटहरीतिर बढ्दै थियो, सुपारी, नरिवलका बोटहरू गाउँमा बाक्लै देखिन्थे, बाटोको दुबैतिर कतै घरहरू त कतै हरियालीले सजिएको वन देखिन्थ्यो । बिर्तामोड पारगरेर जब गाडी अघि बढ्यो बाटोको दुबैतिर चिया बगानहरूको सौन्दर्यता झल्किन थाल्यो । करिव दुईदिनको मौनब्रतमा रहेका गाडीमा बस्ने मित्रहरूले एकाएक फूलफुलेर पहेंलै भयो, आधिजीवन हाँसखेलमा गयो, आधि जीवन मायालाई भयो भन्ने लयमा महिला तथा पुरुषको सुरिलो आवाज गाडीभित्र गुञ्जियो । सबैले ताली बजाउन थालियो । एकपछि अर्कौ लय थपिन थाल्यो । इलामको डाँडै फुल्यो सल्लो, मायाको गाउँ त चिने घर चिनन सकिन, ओल्लो होकी पल्लो । कोदाली खनेको मायाले नचिनेझै गरेको । मायालाई आजै हो देखेको देब्रेगाला चन्द्रमा लेखेको । ….. डाँडाको टुनी मायालाई देखेको हो त नी, चौतारिमा कतिराम्रो पिपलु छाहारी, हिजो हिंडेऊ नदेखे झै गरी आदि लयमा गीतहरू गुञ्जीरहेका थिए । गाडी चारालिमा गएर रोकियो । सबैले खाजा खाने काम भयो । अब त इलामतिर लाग्ने समय आयो । चारालीबाट गाडी नजानिदो रूपमा उकालो चढ्न थाल्यो । झापा सििकने बेलामा एउटा मन्दिर, मन्दिरको आडामा खोला, खोलाको आडमा पानीको मूल र मूलको मीठो पानी, आडैमा हुनु हुन्थ्यो सल्लाहाकार बलीभद्र कँडेल उहाँले मलाई भन्नु भयो पानी मिठो छ पिउँ । साथीभाइले भन्न थाले यो मीठो पानी खाएरमात्र जाने । तिर्खा लागेकाले पानी पिए । हामी उकालो चढन थाल्यौं । इलामगेटले स्वागत गर्यो । इलाम भन्ने बित्तिकै चियाको उत्पादन क्षेत्रको रूपमा चिनिने ठाउँ हो तर यो भन्दा पहिला पनि म इलाम पुगेको थिएँ । त्यतिवेला एकजना इलामे साथीले मलाई इलाम आठ ओटा अबाट चिनिन्छ भन्नु भएको थियो । मैले जिज्ञाशा राख्दा उहाँले, अलैची, आलु, अकबरे खुर्सानी, अमृ्रसो, ओलन, अदुवा, आइमाई र आत्महत्या, भन्नु भएको थियो । यस विषयमा मैले त्यतिवेला इलामका यी आठ ओटा अलाई समावेश गरी इलामको बारेमा कविता कोरेको थिएँ । अ थप्ने क्रम जारी छ उदाहरणको लागि चियापत्तीको नाम पनि अर्थोडक्स चिया राखिएको छ । माथी लेखिएका सबै चिजहरूले इलामलाई सिङ्गारेका छन् । चियाबगान, अमृसो, अलैंचीआदि प्राकृतिक वनस्पतिलाई अवलोकन गर्दै जाने इच्छ्या हुँदाहुँदै पनि रजनीमाता साह्रै रिसाएर अन्धकार छर्दै थिइन् । हामी फिक्कल बजार पुगेम् र इलामको सदर मुकाम जाने बाटो छाडियो र पशुपति नगरतिर लाग्यौं । पशुपति नगरमा पुगेर बासको लागि एउटा होटेलमा लगियो । लोडसेडिङ्ले त्यहाँ पनि छोडेन । खाना खाइसक्दा नसक्दा विहान ३ बजे दार्जिलिङ जानेभन्ने जानकारी पाइयो । जाडोले कमाउन थाल्यो र सिरकभित्र पसेर सबैले निद्रादेवीलाई बोलाउने काम भयो ।
दार्जिलिङको लागि रमाना
दुई बजे नै साथीहरू उठेर सुची गर्न थाले । म पनि उठे । शौचालयको काम सकियो । सबैले आफ्नो झोला बोकेर बाटोतिर लागेम् । नेपालको सीमाना सकियो भारतको सीमाना लाग्यो । गाडीभित्र भए पनि जाडो भइरहेको थियो । बाहिर ठूलाठूला रुखहरूदेखिन्थे । ठाउँठाउँमा बजारहरू पनि देखिन्थे रफ्तारमा गाडी टाइगरहिलको नजिक गएर रोकियो । मानिसहरूको भिडले गर्दा उदाउँदो बालरविलाई हेर्न जानेहरू तँछाड मछाड गरेर अघि बढिरहेका थिए । म पनि बल्लतल्ल लाइनमा घुसें । बाटो साँघुरो थियो । बाक्लो निगाला घारीले गर्दा हिड्नलाई सजिलो थियन । उदाउँदो रविलाई हेर्ने ठाउँमा पुगियो । सबैले भन्दै थिए ठिक ५बजे सूर्य उदाए । म पाँच बजेर १० मिनटमा पुगें । म पुगेको ५ मिनेटमा बादलले ढाक्यो । पुन बालरवि झुलुक्क देखिए बालरविको लालरङ्ग फिका पर्दै गएको देखियो तर सूर्यलाई पुन बादलले ढाक्यो । विभिन्न सामग्री विक्री गर्ने एउटी महिलाले टाइगर हिलको उच्चाई ९००० फिटको हाराहारीमा रहेको, यहाँबाट भुटान देखिन्छ, सगरमाथा यहाँबाट ९० किलो मिटर टाढा छ र कञ्चनजङ्घा ७५ किलो मिटर टाढा भन्दै थिइन् । बडा मुस्किलले बाटोमा त झरियो गाडी पत्तालगाउन साह्रै गाह्रो भयो । एकजना साथी हराएर खोज्न थालियो र उहाँलाई फेला पारेपछि हामी दुग्गोन बौद्धगुम्वातिर लाग्यौं । यहाँ केहीवेर गाडि अडियो । वौद्धगुम्वा हेर्ने, शौचालय जाने, केही सामानहरू किन्न चाहाने साथिहरूले सामान किन्ने काम गरियो । त्यहाँ चिया पिएपछि हामी पुनः सङ्ग्राहलयतिर लाग्यौं । सङ्ग्राहलय व्यवस्थितरूपमा, जानवरहरूलाई वातावरण मिलाएर राखिएको, हिमाली क्षेत्रमा पाइने जङ्गली जानवरहरू, बाघहरू, मृगहरू, हरिणहरू, ताहर, मारखर, टाटेपाटे चितुवा, चौरी, निलो भेडा -Blue sheep) आदिलाई अवलोकन गर्दै अघि बढ्दै जाँदा हामी हिमालयन माउन्टेनिङ्ग इँिन्ष्टचुटमा पुगेम । त्यहाँ तेङ्जिग नोर्गेको पूर्ण कदको शालिक राखिएको थियो र तेङ्जिग नोर्गेले एडमौण्ट हिलारीसँग (२९ मे, १९५३मा पहिलो पटक) सगरमाथा आरोहण गर्दाको विवरणहरू, आरोहण गर्ने तरिका, सामग्रीहरू, बाजाहरू, काश्मिर हिमाल, गरवाल हिमाल, नेपाल हिमाल, दार्जिलिङ हिमाल, सिक्किम हिमालको अवस्थिति र तिनबाट बग्ने नदीहरूको नामसमेत खुलाएर सजाइएको व्यवस्थित नक्सा, आदि अवलोकन गरियो, केही साथी रेडपाण्डा हेर्न लागे तर म भने त्यहाँ पुग्न सकिन । यहाँबाट हामी बतासे डाँडाको इको गार्डेनमा आइयो । यहाँ युद्धमा वीरगति प्राप्त गर्ने शैनिकको विवरण सहितको स्तूप र रोल अफ अनर भनि लेखिएको विवरण हेरियो । यहाँबाट दार्जिलिङको सुन्दर दृश्य अवलोकन गर्न सकिदो रहेछ । हामी हतारमा थियौं । दार्जिलिङको मुख्य बजार नै हेर्न सकिएन । मैले केही कृतिहरु बोकेर गएको थिएँ त्यो पनि कसैलाई दिन सकिन । हामी पशुपति नगर फर्कियौं । पशुपति नगर फर्कदा करिव ४ बजिसकेको थियो । विहानको खाना पनि खाइएको थिएन । यहाँ खाना खाइयो र हतार हतार बसमा गएर बसियो ।
कावासोती फिर्ता
गाडी झापातिर मोडियो । कन्याम चिया वगानमा गाडी रोकियो । साथीहरूले फोटो खिच्न थाले । यहाँ तीनजना घोडा मालिकहरूले घोडा लिएर आए र घोडा चढ्नको लागि अनुरोध गरे । घोडा कुदाउनको लागि नभएर घोडा चढेर फोटा खिचाउनको लागि मात्र प्रयोग गर्न मिल्ने गरी घोडा सजिएको रहेछ । हौदा कसिएको थिएन । घोडा कुदाउन सकिएन । हामी झापाको चारआली झरियो । एक जना सहभागी श्री कृष्ण बहादुर गुरौ लाई प्रतिकुल मौसमको कारले गर्दा ज्वरोले निकै सतायो । हस्पिटल लान पर्ने देखियो । हस्पिटलमा भर्ना गरियो । यस समयमा चेतनारायण खोजवारले कृष्णको सेवा गर्न निकै खट्नु भयो । सबै साथी चिन्तित थियौं । करिव ३ घण्टाको उपचार पछि उहाँको स्वास्थको सुधार भयो । कता कता यात्रा खल्लो लागेको थियो । कृष्णको स्वास्थमा आएको सुधारले हामी सबैलाई राम्रो लाग्नु स्वभाविक थियो । कावासोती आउनको लागि रमाना भइयो । बाटोमा साथीहरूले पुनः नाचगान सुरु गर्नु भयो । इन्जिनियर विश्वनाथ पौडेलको नाच निकै आकर्षक थियो । ईश्वर सापकोटाको नचाई पनि रोचकै लाग्दै थियो । ढल्केमा आएर चिया पिइयो र पुन गाडी रफ्तारमा अगाडी बढीरहेको थियो । गाडी मनहरी नजिकको वनमा आएर अडियो । सबैजना ओर्लेर सुचि गर्नेतिर लाग्यौं । लोथरमा आएर विहानको नास्ता खाइयो । त्यपछि गाडी कावासोती आएर अडियो । ईश्वरसापकोटाले विदाइ गर्दै ‘साथीभाइ हो हाम्रो यात्रा सफल रह्यो, आनन्दसँग गइयो, अवलोकन गरियो, सौहार्दरूपमा आत्मीयता गाँस्दै फक्र्यौ राम्राज्ञानकुराहरू लिएर जाउँ र साथीभाइमा बाँडौं, नराम्रो केही भए जस्तो त लाग्दैन भएको भए भुलेर जाउँ’भन्दै हामी विदा भयौं । हाम्रो शैक्षिक यात्रा समाप्त भयो ।
यात्राबाट प्राप्त शिक्षा
ठूलो समूह भए पनि यात्रा सौहार्दपूर्ण रह्यो । प्राङ्गारिक खेती र पर्यावरणीय कृषिले मानव स्वास्थमा कुप्रभाव पर्ने रासायनिक विषादिबाट बच्च सकिने र माटोको स्वास्थमा ल्याउन सकिने सुधारको पक्षमा र उत्पादनको बिक्री महगोमा बेच्न सकिने जानकारी प्राप्त भयो । धरानको कृषि बजारले अपनाएको कार्य विधि र गरेको उपलब्धीलाई मार्गदर्शनको रूपमा लिएर कावासोती बजार विकासमा धेरै काम गर्नु पर्ने रहेछ भन्ने जानकारी भयो । दार्जिलिङको यात्राले नेपालले विकास गर्न खोजेको हो भने नेपालमा भएको स्थानीय स्रोत र साधनलाई सहीरूपमा परिचालन गरेर नेपालका धेरै प्राकृतिक सौन्दर्यतापूर्ण स्थललाई दार्जिलिङ् बनाउन सकिने र पर्यटकीय स्थलको रूपमा विकास गर्न सकिने ज्ञान प्राप्त भयो । कृषि प्रधान देशका कृषकको मनोबल बढाएर, क्षिमेकी देशको जस्तो लागत खर्च घटाएर स्वरोजगार कृषिले नै दिन सक्ने र आत्मनिर्भर कृषिबाटै हुन सक्नेजस्ता कार्यक्रमलाई सरकारले कृषक समक्ष ल्याउनु पर्ने हुन्छ । आयत गर्ने कृषिबस्तुलाई नेपालमै उत्पादनमा नै जोड दिने र निर्यात गरिने बस्तुलाई गुणस्तर बजारमुखी उत्पादनमा जोड दिने । स्वउत्पादन नभै स्वबजारको अवधारणा पलाउन सक्दैन । पर निर्भरताले देशको विकास कहिल्यै हुँदैन । देशलाई आत्मनिर्भर गराउन राज्यको लगानी र राजनीतिक कमिन्टमेन्ट चाहिन्छ । आजको आवश्यक्ता भनेको उत्पादनमा बजारमुखी परिमाणको अधिकता र गुणात्मक कृषि उत्पादनमा जोड दिंदै अन्तराष्ट्रिय प्रतिस्पर्धामा जान सक्ने गरी बजारको विकास हुनु पर्दछ । त्यसको लागि सरकार तथा कृषक दुबैको समान सहभागिताको आवश्यक छ ।
यात्रामा सुधारका पक्षहरू
भ्रमण उपलब्धी मूलक, अनुशासित हुँदा हुँदै पनि यस भ्रमणमा व्यक्तिगत स्वतन्त्रता आवश्यक्ता भन्दा बढी देखियो । भ्रमण गराउने संस्थाले पूर्व योजना तयार पारेर सम्बन्धी निकायलाई जानकारी गराएर सहभागी समूहलाई बढी भन्दा बढी उदैश्य मूलक भ्रमण गरिनु पर्छ भन्ने मेरो धारणा मात्र हो । कसैलाई आक्षेप लगाउन भने खोजेको होइन । काम गर्दा अनुभव बढ्दै जान्छ र पछिका यात्रामा यसले अनुकरणीय मार्गदर्शन बन्छ भन्ने मेरो सोचाइ हो ।
सफल तथा सौहार्दपूण शैक्षिक भ्रमण गराएकोमा कावासोती कृषि बजारका सम्पूर्ण पदाधिकारीहरूलाई मुरी मुरी धन्यवाद ।
धन्यवाद,
सदानन्द अभागी
कावासोती नगरपालिका वार्ड नै ७, शान्तिचोक नवलपरासी
२०७१ साल जेष्ठ २७ गते
