अलिक पहिले
ठ्याक्कै मिति याद भएन
काला अझ भनुँ निख्खर काला
आँखाभित्र गहिरो खाडल खन्दै
ऊ बेसुरले
फलाक्दैथ्यो अंग्रेजीमा,
“विई अल मस्ट बि ह्युम्यान ।”
दुई-चार कुईरा
अनि दुई-चार खैरा
केही काला आँखा
चम्किएका थिए
पाँच दश जोर थपडी घन्केका थिए हलभित्र
अनि ठोक्किएका थिए चाँदीका चम्चा र
महंङ्गा डिनरप्लेट एकापसमा
त्यसको ठिक एक वर्षपछि
ऊ खाल्डो खन्न लाउँदैथियो
अल्छेको बनभित्र
रोबोटहरूलाई
फलाक्दै थियो
साला देशद्रोहीहरू
गाड जिउँदै यिनीहरूलाई
आमाको छातीभित्र
त्यतिखेर गर्याम गर्याम
बुटका आवाज
उत्तिसका रुखहरू चिर्दैथिए
थर्कमान भए
चराहरू
जनावरहरू
सायद प्रकृति पनि
त्यसको ठिक एक महिनापछि
मैले उस्लाई होटल हयातमा भेटेथें
त्यो दिन ऊ
काला अझ निख्खर काला आँखा
अझ गहिरो बनाउँदै
भन्दैथियो,
“विइ मस्ट बि ह्युम्यान ।”
बिना थिङ्ग तामाङ्ग ‘सुनगाभा’
काठमाण्डौ