उर्दुका महाकवि गालिबको लेखनी र जीवनीमा विचारको फरक कलकत्ता गएपछि आएको भनिन्छ। उनले कलकत्ता पुगेपछि ब्रिटिसले गरेको उन्‍नति र परिवर्तनबाट प्रभावित भएर भनेका थिए, अब मुगल साम्राज्यले विज्ञानका अगाडि नटेकी सम्भव छैन।

कलकत्ता एउटा अनुपम सहर थियो, जुन बेला हिन्दुस्तान टुक्रिसकेको थिएन। कलकत्तापछि दिल्ली अनि दिल्लीपछि लाहोरको त्यो स्थान बन्यो। लोर्ड हिस्लिँगको दरबार बनेपछि लाहोर सेतो हीराको नामबाट चिनियो, जहाँ नेपालीहरू धूमधामले तानिए र उतै बस्ने नेपालीलाई यताकाले लाहोरे पनि भने। त्यही लाहोरे अन्तत: लाहुरेमा अब्बल भए।

लाहोरका बारेमा अनेकानेक कथा छन्, उर्दुका नामचीन कथाकार सआदत हसन मन्टोले त लाहोरलाई नागिन हीरा नै भने। हिन्दुस्तान र पाकिस्तान टुक्रेपछि भारतमा अर्को आकर्षण बन्यो, बम्बई।

बम्बईलाई लिएर नेपाली जनसमाजमा अनेकन कथा छन्, सिन्धुपाल्चोक, रसुवा र नुवाकोटतिर चम्किला जस्ता भएका घरलाई बीआरटी अर्थात् बम्बई रिटर्न भन्छन्, एनजीओको भाषामा। एउटा चर्चित उखान त यस्तो पनि सुनियो,

पैसा जति खायो अरूले जम्मै
अनि लागिन् जवानी सेक्न बम्मै।

स्याङ्जा, पर्वत र पाल्पाका धेरै युवा बम्बईमा चौकीदारी गर्न पुग्छन् जहाँ उनको नाम गर्वले बहादुर वा गोरखा हुने गर्छ।

कोठीमा बेचिने र ढोकामा उभिनेबाहेक बम्बईमा तेस्रो आकर्षणले नेपाली पुग्छन्, सिनेमामा खेल्न ।

बम्बई सिनेनगरी बनेको लाहोर र कलकत्तापछि नै हो तर पनि सन् १९१३ मा विश्वको पहिलो सिनेमा देखाइँदा बम्बईको वाट्सन होटलमा नेपाली पनि पुगेको इतिहास पाइन्छ तर त्यो स्पष्ट छैन। त्यहाँ देखाइएको इतिहास सम्झिने केही राणाजीका परिवार अद्यापि छँदैछन्।

दोस्रो विश्वयुद्धको अन्त्यपछि र धेरै कारणले बेलायतीसित निकट भएका राणाजी युद्ध समाप्तिपछि फर्किंदा बम्बई नै थन्किएका पनि छन्। यही बम्बईमा पहिलो पटक भारत स्वतन्त्र भएपछि तयार पारिएको राष्ट्रगान प्रस्तुत गर्ने संगीतकार पनि नेपालीभाषी श्रीरामसिंह ठकुरी थिए। ठकुरीले रवीन्द्रनाथ टैगोरको शब्द जनगणमनमा संगीत भरेर भारतको राष्ट्रगान देशवासीलाई सुनाउँदा पाहुनाका रूपमा बेलायतकी महारानी एलिजावेथ र जर्ज पञ्चम उपस्थित भएको इतिहास भारतवासीमा अहिले पनि लुकेको छैन।

नेपाली सिनेमाको जन्म पनि कलकत्तामा नभई बम्बईमा नै भएको मान्छन्, देहरादुनका हीरासिंह खत्री। फ्रान्स घुमेर फर्केर आएका तत्कालीन राजा महेन्द्रले विश्रामका निम्ति बम्बई आउँदा त्यहीँ नै हीरासिंहलाई भेटेपछि नेपाली सिनेमा बनाउने सोच बनाएका थिए र यसैको फलस्वरूप आमा सिनेमाको न्वारन भएको थियो, सन् १९६५ मा। आमाको निर्माणपछि नेपाली सिनेमाका धेरै काम बम्बईकेन्द्रित भयो तर केही काम कलकत्तामा पनि भइसकेको थियो।

बम्बईका सिनेमा काठमाडौं जगत्मा धूमधामका साथ हेरिन्थ्यो विशेषत: जनसेवा, श्री हल, मुनलाइट, प्रभा, चलचित्र भवनमा। त्यसपछि आएका विश्वज्योति, रञ्जना भक्तपुरको नवदुर्गा अनि पाटनको अशोकमा। काठमाडौंका प्राय: हलको बम्बईका सिनेमा र सिनेकर्मीसित प्रत्यक्ष सम्पर्क र आवतजावत हुने गथ्र्यो, आज ती कतिपय हल नभए पनि तिनले बनाएका कीर्तिमानी कथा कायमै छन्।

महबुब खानले काठमाडौंका घरानिया राणा सहदेवशमशेरलाई ‘दिल ए नादान’मा नायकको भूमिका अफर गरेको र उनी तयार भएर गएको घटना पनि प्रकाशित छ। यसपछि सात सालको क्रान्तिपछि भागेर भारत गएका शान्तशमशेर राणाका पारिवारिक सहयोगी उजिरसिंह थापाका छोरा प्रकाश थापा हिन्दी चलचित्रमा बम्बईबाटै सहनायक, नायकका रूपमा आए भने काठमाडौंका पुराना होटल व्यवसायी मथुरा श्रेष्ठ ‘पहाडी जवान’मा नायक भएर देखा परे।

प्रकाश थापा र मथुरा श्रेष्ठ पछि बम्बई गएर फिल्म पढ्ने, फिल्म खेल्ने भीडमा युवकबाहेक युवती पनि थपिए। मीनाक्षी आनन्द, रीताराज गुरुङ, रजनी शर्मा, मीना सिंह त्यसमध्ये केही उल्लेख्य नाम भए। रीताराज गुरुङले बम्बईनिकट सहर पुनास्थित एफटीआईआईबाट अभिनयमा डिप्लोमासम्म गरिन् र नेपालमै कला पोखिन्। अभिनय सिक्न जग्गनाथ तिमिल्सेना, विश्व बस्नेत, बलमासिंह स्वार, टीका पहारी, मुरलीधर आदि पनि खर्च गरेर बम्बई पुगे।

बम्बई फिल्म उद्योगको एउटा प्रमुख बजार नेपाल भएका कारण पनि बेलाबेलामा हिन्दी फिल्मले नेपाली कलाकारलाई पर्दामा तानिरहन्छ। त्यही मोहमा नेपाली कलाकार विरक्त भएपछि बम्बई एक छलाङ लगाउन जान्छन् पनि। जस्तो करिश्मा केसीले यहाँको आफ्नो जीवन शिखरमा हुँदाहुँदै बम्बई गएर ‘दंगा फसाद’जस्तो ‘सी क्लास’को सिनेमामा उभिन भ्याइन् भने अभिनेत्री जल शाहले पनि एकपटक हातपाउ फैलाएर आइन्। झरना वच्राचार्यले त नायिकाका रूपमा काम नै पाइन्।

मनीषा कोइराला त्यसमध्ये एक स्मरणीय उदाहरण बनिन् तर उनको बम्बई फिल्म उद्योगमा समर्पण र त्यागले नेपाली सिनेउद्योगलाई कुनै लाभ भएन न त उनीपछि भारत गएका कुनै नेपाली कलाकारलाई नै कुनै सहज भयो। जबकि उनकै भाइ सिद्धार्थ कोइरालालाई बम्बईमा टेकाउन उनले केही गर्न सकिनन्। बम्बई सिनेउद्योगमा लामो समयदेखि कार्यरत चलचित्रकर्मी हीरासिंह, बीएस थापा, निर्माता केबी लामिछाने, छायाकार एनएस थापा, विनोद प्रधान, प्रमोद प्रधान बम्बई फिल्म उद्योगमै भए पनि उनीहरूले कसैलाई केही सहयोग गर्न सक्दैनन्।

भनिन्छ, बम्बई एउटा वेगमा दौडिरहेको रेलजस्तै हो। कसैलाई हात दिएर तान्न खोजियो भने त्यो तान्ने मान्छे पनि रेलबाट खस्ने डर हुन्छ।

भारतको बाइसौं राज्य सिक्किमको याक्सोमबाट फिल्म खेल्न बम्बई पुगेका डैनी डेन्जोंग्पाले न त आफ्ना सजातियलाई केही गर्न सके न त आफ्ना सहकर्मी प्रताप सुब्बा वा मुरलीधरलाई नै। उनले बम्बईमै संघर्षरत आफ्ना भान्जा उगेन छोपेललाई पनि केही पार लाउन नसकेपछि पछि नेपाल पठाइदिए। आफ्ना गाउँले अभिनेता तेज रसाइलीलाई सिक्किम नै फर्काइदिए।

यस्तो छ बम्बईको कथा।

तर आकर्षणचाहिँ छ बम्बईको। अहिले पनि अभिनेता सुनिल थापाको ‘मेरी कोम’ सिनेमामार्फत हुन लागेको कमब्याकलाई लिएर नेपाली चलचित्र उद्योग आल्हादित देखिएको छ, फेसबुकमा उनलाई बधाई दिने र उत्साहको आभास दिनेको भीड छ। तर, यसले सुनिल थापालाई भन्दा उनले अभिनय गरेको सिनेमा सञ्जय लीला भन्सालीको ब्यानरलाई घनघोर फाइदा हुनेछ। उमंगकुमार निर्देशित यो फिल्मबिना प्रचारप्रसार नेपालमा पनि चर्चा भइसक्यो। यो बजारतन्त्रको एउटा जालो हो।

चलचित्र अभिनेता सुनिल थापालाई बम्बई फिल्म उद्योगले कुनै ठूलो ब्रेक दिएको होइन, उनलाई त आजभन्दा पच्चीस वर्षअघि नै देव आनन्दले ‘साहेब बहादुर’मा प्रविष्टि दिइसकेको थियो भने के बालचन्दरको ‘एक दुजे के लिए’मा उनले आफ्नो क्षमता देखाइसकेका छन्।

यसअघि पनि बलिउड सिनेमाले नेपालमा यस्तै किसिमका पाचक धेरै पटक छरेका छन्, नेपालमै सुटिङ गरिएका सिनेमा ‘बेकाबु’ बाट नीर शाह, ‘घरवाली बाहरवाली’बाट बन्नी प्रधान, पञ्चवटीबाट जयनेन्द्र चन्द ठाकुर पर्छन्।

खुदा गवाह, महान्, बनारसी बाबु, हरेराम हरेकृष्ण, युद्ध, खोजी, लम्हेँ आदिले आआफ्नै धरातलमा यहाँ धन संकलन गर्न सफल भएका छन्। तर, यी सिनेमाले वा यी सिनेमाको निर्माण नेपालमा भएका कारणले नेपाल र नेपाली सिनेमालाई केही फाइदा भएको छैन। बरु बिनसित्ति तिनले नेपालमा चर्चा र प्रसार पाएका छन्।

नेपाल एउटा सानो देश हो तर यसको ठूलो बजारबाट बम्बई फिल्म उद्योग प्रभावित छ। यसका दुई घना उदाहरण यस्ता छन्, भर्खरै लिटिल डान्सर स्टारमा विजयी भएकी तेरिया फौजामगर र यसअघि चर्चामा आएका भारतीय नेपाली गायक प्रशान्त तामाङ।

इन्डियन आइडलमा प्रतिस्पर्धी बनेका प्रशान्त तामाङका निम्ति नेपाल र नेपालीले एसएमएसमा मात्र करोडौं रुपैयाँ खर्च गरे। त्यति खर्च बुद्धको अवतार भनेर चर्चामा आएका रामबहादुर बम्जनको निम्ति पनि गरेनन् होला।

नेपालीको लगन र लगानीले प्रशान्त इन्डियन आइडल त घोषित भए तर उनी त्यसपछि नेपाल आइडल भएर थन्किए, यहीँका गीत गाए र यहीँका फिल्म खेले। इन्डियन आइडलमा उनको लडाइँको अर्थ नेपालमा गीत गाउनु होइन। पानी र पैसा भारत नजाओस् भन्ने नेपालीको सोच हुन्छ तर त्यसको ठीक उल्टा भइरहन्छ, कुनै न कुनै तरिकाले भारतले नेपालीको पैसा तानिरहन्छ।

नेपालीको भावुकतामा कति कठोर प्रहार गर्छ, बम्बई फिल्म उद्योगले। चालीसको दशकमा सावनकुमार टाकले नेपालबाट नायिका छान्‍ने भनेर ‘चाँद का टुकडा’को अडिसन राखे, सयौं नेपाली युवती सहभागी भए, पछि श्रीदेवीले नै पर्दामा काम पाइन्, यहाँ समाचारमात्र बन्यो।

मनीषा कोइरालालाई ‘लाल बादशाह’मा अभिनय गराएको पैसा तिर्न नसकेपछि नेपाल आएर यसका निर्देशक निर्माता केसी बोकाडियाले ६ वटा फिल्म नेपालका कलाकार लिएर बनाउने घोषणा गरे, नेपालका सबै बिग हाउसका अखबारले त्यो बेला समाचार बनाए। बोकाडिया त्यसपछि फर्केर आएनन्।

अजयकुमार नामका चलचित्र निर्देशकले नेवार भाषामा सिनेमा बनाउँछु भनेर मल्ल के सुन्दर, कवि दुर्गालाल श्रेष्ठलाई महिनौं काम गराए अन्तत: एक नेपाली अभिनेत्रीसित बिहे गरेर उनी अलप भए।

आज पनि हामी जे कुरामा दु:खी हुनुपर्ने हो त्यहाँ खुसी मनाउँछौं, जे कुरामा सतर्क हुनुपर्ने हो त्यहाँ उदार भइदिन्छौं, यो हाम्रो हालतलाई भारतीय राजनीतिले मात्र होइन, हरेक पक्षले राम्ररी बुझेको छ। हाम्रो त्यही नरमपनामा प्रहार गरेर ऊ फाइदा लिन विवश छ जसका लागि हामी सर्वदा तयार छौं।

उदितनारायण झाले गाएका हिन्दी गीतका कारण र मनीषा कोइरालाले अभिनय गरेका हिन्दी फिल्मका कारण कुनै अर्को नेपालीलाई यो देशका मान्छे प्रतिभाशाली छन् भनेर मौका दिएको इतिहास छैन। त्यो त ‘नेहरू डक्ट्रिन’अन्तर्गतको प्रक्रियाका रूपमा लिए ठीक हुन्छ।

http://www.annapurnapost.com/en/news/entertainment/11618/%2525E0%2525A4

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *