मागे जति पैसा गहना दिएनन भनि जग्गेमा बसी सकेको दुलाहा जन्ती लिई फिर्ता जादै थियो । चिन्तित दुलहीको बुबाले दसतिर हात जोडी बिन्ती भाउ गर्दै बल्ल तल्ल भने जति पैसा जम्मा गरेर बुझाए । अनि मात्र विवाह सम्पन्न भयो ।
छोरीचाहिँले बुबाको पीर चिन्ताका साथै अपमानित क्षण भुलेकी थिइन । त्यो घटना मनमा नराम्रोसँग गढेको थियो ।
दुलही लिएर दुलाहा आफ्नो घर फिर्ता भयो । घरमा पुगेपछि दुलहीलाई गाडीबाट ओर्लिन भने । दुलही ओर्लिन मानिन । किन ? भनी प्रश्न गर्दा दुलहीले एउटा अनौठो माग राखी ।
उसले भनी, “भूईमा खसेको मेरो यो जुत्ता दुलाहाले टिपेर मलाई लगाईदिनु पर्छ । अनि मात्र ओर्लिन्छु । किनभने जीवनभरको लागि भनेर वुवाले मलाई एउटा नोकर किनिदिनु भएको छ । त्यसैले आजदेखि मेरो सम्पुर्ण काम उसैले गर्नुपर्छ ।”
बिकाउ दुलाहा जिल्ल परी हेरिरहेको थियो ।
सुशीला देउजा
