Skip to content


नेपाल एउटा यस्तो देश हो यहाँ जहिलेजहिले आपत् पर्छ राष्ट्रिय गीत बन्छ, त्यो चाहे छिमेकीले हाम्रो सिमाना मिच्दा होस् वा छिमेकीले नाकाबन्दी गर्दा होस्। नेपालका धेरै राष्ट्रिय गीत भारतले हामीमाथि दमन, दाग र दबाब बढाएपछि रचिएका छन्।

भारतका प्रधानमन्त्री राजीव गान्धीले नेपालमा आर्थिक नाकाबन्दी सुरु गर्दा अम्बर गुरुङको शब्दमा होसियार यस बखत होसियार, आफ्नै छिमेकीसित होसियार। बोलको गीत बनाए। त्यतिबेला यो गीत श्रीमान् गम्भीरभन्दा धेरै बज्यो र नेपालीको जनमनमा बास बस्न पुग्यो।

अम्बरले नै त्यसभन्दा पहिले कमलो मुटुभन्दा ढुंगा मुटु जाति, एकदिन फुट्नुपर्छ ढाल हुनुपर्छ छातीजस्ता गीत रचे, उनकै संगीतमा रचिएको थियो, गोपालप्रसाद रिमालको गजलशैलीमा लेखिएको गीत रातो र चन्द्र सूर्य जंगी निसान हाम्रो … यसले त कहिलेकाहीँ राष्ट्र गान (न्यासनल एन्थेम्) भन्दा बढी उच्चाकर्षण पायो। यही देशज् गीतले गर्दा अम्बर, रिमाल, फत्यमान सदैव संकटमा गुञ्जिन्छन्, हाम्रो समाजमा।

यो राष्ट्रिय गीतमा रिमालले उद्बोध गरेका छन्,

यो जन्मँदै जगतमा कैँयौ प्रहार आए
साम्राज्य दुई हारे, हारेन सान हाम्रो।।

रिमालले यो गीत लेखेकै समय वा यो गीतको रचनालोक बनेकै बेला जन्मेका थिए, संगीतकार, गीतकार, गायक गोपाल योञ्जन।

विक्रमाब्द २००० को जनैपूर्णिमाका दिन बाबु बुद्धिमान योञ्जन र आमा छेकुमाया मोक्तानका एक छोराका रूपमा जन्मेका गोपाल योञ्जन नेपाली जनस्थानमा राष्ट्रियता, जातीयता, स्वाभिमान र एकताका कारण सदैव सम्झना गरिने कलाकार हुन्।

नेपालका पाँच उत्कृष्ट राष्ट्रिय गीत चयन त गरियो भने त्यसमा दुई त गोपाल योञ्जनकै पर्छन्, त्यो चाहे देशले रगत मागे होस् वा बनेको छ पहराले यो छाती मेरो .. यी दुई गीतपछि अन्य सयौं गीत आउँछन् जसमा गोपाल देश, आमा, दिदी, भाइ र सन्तानका कुरा लिएर झल्किन्छन्।

उनले नारीको संस्वरतामा मखमली चोली चाहिँदैन, भेषभूषाको सम्मानमा यो मेरो टोपी कैलाशको शिरजस्तो लेखेर गाएर वा भनेर नेपालीलाई झक्झकाइरहे। १९ वर्षको उमेरमा मेरो गीत मेरो प्रतिविम्ब होइन लेख्ने गोपाल योञ्जनलाई आफ्ना गीत झरनामा बसी पिरतीको गीत गाउँला जस्ता कम सहुलियतका चालू गीत लागेनन् त्यसैले उनले बीस नटेक्दै भने, आकाशजस्तो अमर गीत मेरो मजस्तो दुई दिनको पाहुना होइन।

आफ्ना गीतबारे आफ्नो स्वकथन जे भए पनि उनले नेपाल र नेपालीको लागि मात्र नेपाली भएर गीत लेखिरहे, गाइरहे। उनका गीत पहाड र तराईमा एकसाथ गुञ्जिनुको कारण यही नै हो।

सरकारले कहिले प्राज्ञ नबनाए पनि सदैव प्राज्ञिक चिन्तन बोकी हिँड्ने एक जीवन्त प्राज्ञ चेतन कार्कीले भनेका छन्, कला, गला र कलम भएका एकमात्र प्रतिभाशाली कलाकार हुन् गोपाल। नगेन्द्र थापा नै थिए जसले गोपाल योञ्जनलाई उनको जन्मभूमि दार्जिलिङबाट उनकी आमा छेकुडोल्मा योञ्जनसित मागेर ल्याए यसो भनेर, मलाई गोपाल दिनुस् आमा, म उसलाई नेपाल लान्छु। नगेन्द्रले ल्याएको गोपाललाई पछि सिँगै नेपालले पाए, गोपालकै कारण गीतकार भएका गीतकार नगेन्द्र थापाले आफ्नो गीतिकारिताका बारेमा स्पष्ट भनेका छन्, म त नारायण र गोपालको बीच स्यान्डविच्मात्र हुँ। गीतकार होइन, गीतकार त तिनीहरूका लागि मात्र भएको हुँ।

नगेन्द्र दार्जिलिङ पढ्न जाँदा दार्जिलिङकै कलाकारसित मिलेर बनेको हिमालयन कलामन्दिरमा उनको भेट गोपाल, उनका दाइ कर्मयोञ्जन, दिलमाया खाती, इन्द्र थपलिया, पासाङ वाँगवलसित भयो। नगेन्द्रकै कारण गोपाल नेपाल आए तर गोपाललाई नेपालसितभन्दा पहिले नारायणगोपालसित निकट बनाए, कवि गीतकार ईश्वरवल्लभले।

ईश्वरवल्लभ भट्टराईले नै १९६५ मार्च महिनामा हिउँद सकिन लाग्दा महाँकाल डाँडाको मन्दिरमा गोपाल र नारायणलाई मीत लगाइदिए, मकलमा आगो बालेर।

त्यसपछि गोपालका प्राय: गीतमा नारायणगोपाल गुञ्जिए, थर्थराउँदो आकाशजस्तै भएर। नारायणगोपालले गोपाललाई भेटेपछि आफ्नो संगीतको तख्ता बिसाए, गोपालले आफ्नो जन्मभूमि र आमालाई छोडेर नेपाल आए। अनि दुवै मीतज्यूले स्वायरी (संगीतप्रधान मञ्चीय कार्यक्रम) गरे, मीतज्यू साँझ गरे। दुवै केही केहीमा कम देखिएनन्, किनकि दुवै एकअर्काका परिपूरक भए।

समयले एउटा सिजन ल्यायो: विवाहको।

दुवै मीतज्यूले विवाह गरे, गोपालले नेपालमा पढाउँदै गरेकी रिञ्‍जिन योञ्‍जन अनि नारायणले दार्जिलिङमा पढाउँदै गरेकी पेमाला लामा। यतिबेला पेमालालाई माग्न नारायणका साथ कर्म योञ्जन, गोपाल उनका घर गए भने रिञ्‍जिनको विवाह गोपालसित गराइदिन नगेन्द्र गोपालकी आमा छेकुमायाकहाँ गए।

विवाहपछि दुवैका गीत गणितमा अल्झिए, पहिले यी दुई थिए अब चार। चारको संख्यामा पुगेपछि गीत भाग लाग्न थाले, गोपालका गीतबाट नारायणगोपाल भाग्न थाले। नारायणले गोपालको गाउँदै गरेको गीत छोडेर हिँडेपछि गोपाल एक्लै भए।

नारायणले फेरि आफ्नो संगीतकारिताको तख्ता झिके र बने उनका कालजयी गीत आँखा छोपी नरोऊ भनी भन्नु प:या छ, झरेको पात झैँ भयो उदास मेरो जिन्दगी। अनि नारायण विस्तारै अनुज पुस्तामा हस्तान्तरित भए, दिव्य खालिङ, शुभ शम्भुजित, चन्दन लम्जेल, दीपक जंगम आदिआदिमा उनी विस्तीर्ण हुँदै गए।

गोपाल योञ्जनको गीतमा अद्भुत ताकत थियो, उनी नारी, पुरुष, बालक सबैको स्वरमा समृद्ध हुँदै गुञ्‍जन सक्थे। मीतज्यूको जोडी टुटेपछि उनले झन् धेरै उत्साह र एकताका, प्रवास र पीडाका, माया र विश्वासका, शान्ति र इमानदारिका गीत गरे जसमा उनी झन् राष्ट्रियताका प्रवक्ता भएर देखा परे। राष्ट्रियतामा उनको कुनै सम्झौता वा ढुलमुले धारणा थिएन र उनी भन्थे,

छ धेरै छ गर्नु स्वदेशको सेवा नेपाली बन्‍नलाई
होइन भने नेपाली नभन।।

उनको गीत बज्दा एउटा नेपाली जहाँ जता भए पनि एक पटक ठिंग उभिएर आफ्नोबारेमा सिंगो रूपमा तर सोच्नुपथ्र्यो, सकारात्मक पूर्ण सकारात्मक। जर्ज अर्वेलले भने जस्तै यो थियो उनको परिवर्तित राष्ट्रवाद। उनको राष्ट्रवाद अग्लो र एक्लो थियो। उनले भजन कहिले लेखेनन्, राष्ट्रप्रतिको प्रेम नै उनका भक्ति हुन पुग्यो।

गोपाल योञ्जन नेपालमा सबैभन्दा बढी रिमिक्स हुने कलाकारमध्ये हुन् उनको गीत मलाई माफ गरिदेऊ मेरा लोभी नजरलाई श्रद्धेय संगीतसाधक शरण प्रधानलै सारंगी पत्रिकामार्फत बीसको दशकमै पपगीत भनेर घोषणा गरिसकेका थिए। यस अर्थमा कुमार बस्नेत वा ओमविक्रम विष्टले पपगायन सुरु गर्नुअघि नै गोपालले यसको फ्लेवर दिइसकेका थिए।

गोपाल योञ्जनका गीत नारायणगोपालले बाहेक दिलमाया खाती, इन्दिरा श्रेष्ठ, कुमार सुब्बा, माणिकरत्न स्थापित, किरण प्रधान, अरुणा लामा, ज्ञानु राणा, मीरा राणा, विनोद स्याङ्देन आदिले गाए। चलचित्रमा उनका गीत दीप श्रेष्ठ, विमला राई, संगीता प्रधान, प्रकाश श्रेष्ठ, उदितनारायण झा, योगेन्द्र घतानी, सुषमा श्रेष्ठ (हाल पूर्णिमा) पनि गाए।

गोपाल योञ्जनका अन्तिम निसानी गीति एल्बममा युवा पुस्ताका गायकगायिका धेरै समाविष्ट थिए तर निसानी ५२ मा उनले आफ्नो एकल स्वरमा राष्ट्रियताका गीत गाए जसमध्ये कता पर्‍यो पूरव हो कता प:यो पश्चिम, नेपाली मलाई भन् तिम्रो देश कता प:यो? , शान्ति शान्ति भन्छौ यहाँ क्षयरोगी आमालाई, दायाँ हातमा राखे मेरा शत्रुलाई बायाँ हातमा राखे मेरो भगवान् … आदि थिए। यी यस्ता गीतले गोपालीय भावलाई स्पष्ट, जीवन्त र अजर पारेको छ।

गोपालका गीतमा राष्ट्रियता जब्बरको देखिन्छ त्यसको कारण हो, उनी जन्मिँदा देश ठूलो संकटमा थियो भारत बेलायतको पञ्जामा, नेपाल राणाको सिक्रीमा।

र, उनको जन्म पनि अलौकिक कथा नै बन्यो। गोपाल उनको परिवारमा छोरी नै छोरीको जन्मपछि ठूलो पूजा पाठ गरेर जन्मिएका छोरा थिए। उनको घरमा बौद्धिक परम्पराअनुसार मेडिसिन बुद्धको पूजा गरे पछि मात्र उनी जन्मिएका हुनाले उनलाई घरको राजा नै भन्थे र त्यही मुताबिक उनको चिनाको नाउँ पनि सिकन्दर नै राखियो।

अन्तत: उनी नेपाली संगीतका सिकन्दर नै सावित भए। आफ्ना गुरु अम्बर गरुङ, आफ्ना दाजु कर्म योञ्जन अनि दुई अग्रज नातिकाजी श्रेष्ठ र शिवशंकर मानन्धरका सामु उनी पनि सुगम संगीतमा लडिरहे। आफ्नो पहिलो चलचित्र सिन्दूरमा उनले आफ्ना अग्रज नातिकाजीसित संयुक्तिमा संगीत गरे। दार्जिलिंगे समाजमा आफ्ना दौंतरीका माझ गोफ्ले भनेर बोलाइने गोपाल नेपाली संगीतको स्वर्णिम युगमा सिकन्दर भएर देखा परे।

सिकन्दरको जन्ममा जति संकट र संघर्ष परेको थियो, सिकन्दरले संगीत गर्दा पनि त्यस्तै संघर्षशील अवस्था थियो नेपाली संगीतको। त्यतिबेला रेडियो नेपाल हिन्दी गीत गाउन र बजाउन विवश थियो भने नेपाली आधुनिक संगीतमा हिन्दी फिल्मी संगीको धारिलो छाया परिसकेको थियो। यही बेला सिकन्दरको प्रियबाजा बाँसुरीमा नेपाली गीत गुञ्जिन थाले।

संयोग नै मान्नुपर्छ यहीबेला नेपाली सुगम संगीतले स्वर्णिम युगमा प्रवेश गर्‍ यो। गोपालका साथ देखिए, शरण प्रधान, पुष्प नेपाली, बच्चु कैलाश, जगतमर्दन थापा, ज्ञानबहादुर, नूरादेवी, तारादेवी, अरुणा लामा, प्रेमध्वज प्रधान, माणिकरत्न स्थापित, प्रेमप्रकाश मल्ल, डीबी महेश, सरोजगोपाल आदि आदि।

गोपाल योञ्जनले रुमानी, (बौद्धिक स्वच्छन्दवादी) प्रेमिल, सारवादी, भावात्मक सबै खाले गीत गरे तर उनको दख्खल संगीतमा र रचनामा दुवैतिर पक्का थियो। गायनमा भने उनका बारे उनका प्रशंसकको एकै धारणा थियो, नगाएको भए पनि हुने।

उनले आफ्नोबाहेक देवकोटा, भूपी, डा. राममान तृषित, नगेन्द्र थापा, उत्तम श्रेष्ठ, रवीन्द्र शाह, ईश्वर वल्लभ आदिका गीतमा संगीत गरे भने चलचित्रमा उनले चेतन कार्की, लक्ष्मण लोहनी, किरण खरेल र प्रेमविनोद नन्दनका गीतमा आफ्ना सुमधुर संगीत भरे। उनले आफ्ना गुरु अम्बर गुरुङ र अग्रज रत्नशमशेर थापाका गीतमा चाहेर पनि संगीत गर्न सकेनन् बल्की उनले थापालाई पत्र पठाएर गीत पनि मागेका थिए भने आफ्ना दाजु चेतन कार्कीका गीत चलचित्रका निम्तिमात्र संगीत गर्न पाए।

नेपाली चलचित्रमा गोपालले सिन्दूर, अर्को जन्म, कान्छी, मायाप्रीति, विश्वास, भुँवरी, राँकोमा संगीत दिए।

गोपाल योञ्जनको गीतमा गुञ्जिने नेपाली गायिकामध्ये मीरा राणा, तारादेवी, तारा थापा, ज्ञानु राणा, विमला राई, संगीता प्रधान, सक्तिम गुरुङसित गज्जबको शक्ति प्रदर्शन रह्यो। उनले महिलाका गीत महिलाले भन्दा हिमायती भएर रचेका छन्। अरुणा लामा र मीरा राणाको युगल स्वरमा बनेको यो गीत उदाहरणार्थ लिन सकिन्छ,

यो मायालाई भार ठान,
पैतालको धूलो मान
तिम्रो खुसी तिम्रो मन तिम्रो विचार
तर हामी बिना चल्दैन है तिम्रो संसार।

तीजको समयमा बनेको यो गीतले भद्रताको कारण अहिले यो स्थान लिन नसके पनि यसले ‘महिला महिमा मन्थन’ लाई उच्चस्थता दिएको छ।

शरण प्रधान र गोपाल योञ्जन दुवैका गीतमा पाइने रचनाको सम्बलता भनेकै नारीको अत्यधिक सम्मान हो।

‘नेपाली गौरव गर्छ आफ्नैपनमा घमण्ड त होइन है, लेख्ने शरण प्रधान र ‘पखेरूमा जन्मी टाकुरामा खेल्ने म झुक्दै नझुक्ने नेपालको छोरो’ लेख्‍ने गोपालका समतुल्य पक्ष नै नेपालीत्व हो।

शरण र गोपाल अम्बरका शिष्य थिए भने दुवै आआफ्ना बाजाका राजा थिए, गोपाल बाँसुरीका शरण म्यान्डोलिनका। वीस दशकपूर्वको दार्जिलिङमा दुवैको आआफ्नो समूह थियो, शरणको संगम, गोपालको हिमालय कला मन्दिर। अनि दुवैका आआफ्ना क्याम्पका सहसंगीतकार थिए, गोपालका कर्म योञ्जन, शरणका रञ्जित गजमेर। एवम् रीतले दुवैका भावप्रवणशील वाणीपुत्री थिए, शरणको अरुणा लामा र गोपालका दिलमाया खाती।

प्रतिस्पर्धा पनि त्यस्तै थियो, दुवै लड्थे। दुवै पहिला हुन्थे। निर्णायक सधैं हार्थे। एउटा गीतमा त्यसैगरी शरण रञ्जितको संगीतमा यहाँ फूल नखिलेछ मा अरुणा लामा प्रथम भइन्। सावन फेरि फर्की आयो त्यो पापी आएन मा दिलमाया खाती प्रथम भइन् कर्म गोपालको संगीतमा।

गोपालले २० वर्षको उमेरमा दार्जिलिङ छोडेर नेपाल आए, शरणले ३० वर्षको उमेरमा पृथिवी नै छोडेर गए। त्यसपछि गोपालको प्रतिस्पर्धा रहेन बरु उनले नै सम्हाल्नु प:यो शरणले बनाएका गायकगायिकालाई। अरुणा लामाले पछि सम्म पनि गोपालको संगीतमा गीत गाइरहिन्।

नेपाल आएपछि गोपालको सामीप्य नारायणगोपाल गुरुवाचार्यसित निकट भयो वा उनका गीत सबै नारायणगोपाल भनिने ब्यांक्मा जम्मा हुन थाल्यो। यही समय गोपालले नारायणगोपाल र अरुणा लामाको स्वरमा जीवनको हरेक मोडमा तिमीले मलाई खोज वा तारादेवीसितको युगलस्वरमा आज यौवनलाई जस्ता अजम्बरी गीत बनाएर खम्बा गाडे।

नारायण गोपालसित सहकार्यमा बनाएका अल्झेछ क्यारे पछ्यौरी चियाको बुटामा होस् वा मैले पुण्य मन पराएँ वा पाप मन पराएँ जस्ता गीतमा दुई मीतज्यूको गतिलो गठबन्धन देखिन्छ, तोड्नै नसकिने खालको। तर तोडियो यो सही परिणाम भएन बरु दुवैले परिमाण चैँ बनाउने कोसिस गरे फरकफरक शैलीका गीत बनाएर।

नारायणगोपाल र गोपाल योञ्जनका बारेमा एउटा लोकप्रिय कहावत् यस्तो पनि छ, गोपाल शाकाहारी नारायणगोपाल सर्वसंहारी। गोपाल अरूको विरोध हाँसीहाँसी टार्थे। नारायणगोपाल तीव्र र उच्चताका साथ प्रतिवाद गर्थे।

यसको एउटा इतिहास यस्तो छ, मितज्यू नाइट गर्दा गोपालका दिदी पर्ने साहित्यकार पारिजातले बुर्जुवावादी गीत भनेर आपत्तिपूर्ण शैलीमा आलोचना गरिन्, गोपाल मौन रहे। नारायणगोपालले लेख नै लेख, आफूलाई बौद्धिक भन्ने साहित्यकारको लघुताभाष।

नारायण र गोपाल मिलेर नेपालको दोस्रो सांगीतिक पत्रिका बागीना चलाए जुन नटिक्ने भएर पनि टिकिरह्यो केही वर्ष। मीतज्यूका डायनामाइट निसानी। नारायणले इतिहास पढे। गोपालले नेपाली। मध्यमस्तरको जीवन शैलीबाट माथि आएका दुवै मद्यपानका सिकारी भए। दुवैलाई एउटै रोगले सिकार बनायो, लिभर साइरोसिस।

नारायणगोपाल अलि चाँडै गए भने गोपाल ढिलो गरी पाँचवर्ष पछि गए। गोपाल २०५४ को जेठ ७ गते बितेको भए पनि मंसिर १९ मा स्वरसम्राट्को पुण्यतिथिको दिन दिनभरि गोपालनारायणका दुवैको गीत बज्दा दुवैलाई एकसाथ सम्झिन्छन्, सारा नेपाली समाजले।

जनैपूर्णिमा दिन गोपाल योञ्जनको सम्झनामा काठमाडौं, पोखरा वा भारतको दार्जिलिङ कतै पनि गोपाल योञ्जनको सम्झना गरिँदा नारायणगोपाल पनि स्वत: सम्झनामा आउँछन्।

जब गोपाल योञ्जनका शब्द गुञ्जिन्छन्,

मेरो गीत मेरै प्रतिविम्ब होइन
जो फुटिजाने छैन, टुटिजाने छैन,
आकाशजस्तो अमर गीत मेरो
म जस्तो दुई दिनको पाहुना होइन …

शब्द गोपालको भए पनि आवाज नारायणगोपालकै भएर गुञ्जिन्छ। आवाज नारायणगोपालकै भए पनि आभाष गोपाल योञ्जनकै भएर अन्तस्थलमा गुञ्‍जिरहन्छ।

यस्तो विरलै हुन्छ वा भए पनि याद हुन्‍न।
मलाई लाग्छ, पहाड, तराई हिमाल रहुञ्‍जेल नारायण र गोपाल सधैं रहिरहनेछन्।

http://www.annapurnapost.com/en/news/specialpage/11978/%25E0%25A4#sthash.4hb5MeDt.dpuf

Leave a Reply

Your email address will not be published. Required fields are marked *