पिठ्युमा पुलिसको लौरी बज्रिएसँगै मेरो निद्रा खुल्यो । कसैको पर्स पाकेटमारले उडाएको रहेछ त्यही पर्स खोज्दै हिँडेको पुलिसले मलाई पाकेट मारको आरोप लगाउँदै भकुर्न थाल्यो । उसको लाठी र लात सहेर बस्ने कुरै भएन म कुलेलम ठोके । म अघि अघि पुलिस पछिपछि कहिले काँही हामी सानै छँदा चोर पुलिस भएर खेल्थ्यौं आज त्यसको लाइभ टेलिकास्ट भएको महसुश हुँदै थियो मलाई । धेरैबेर कुदेपछि मैले पुलिसलाई छक्याउन सकेको थिए त्यसदिन मैले ।

म जब जान्ने भए मेरो कोही त थिएन । सडकमै थिए म । मेरो आमा बाबु को हुन् ? मलाई पत्तो थिएन । कसले मलाई जन्माएर सडकमा फ्याकिदियो कस–कसले मलाई हुर्काए त्यो पनि पत्तो छैन मलाई । यही शहरका गल्लीहरुमा फ्याकिएका थोत्रा सरसामान संकलन गरेर कवाडीमा लगेर बेच्यो अनि पेट भ¥यो हो यही त हो मेरो दैनिकी । सम्झन्छु आखिर को होला मलाई जन्मदिने आमा अनि मेरी आमालाई गर्भवती वनाउने मेरो बाबु को होला ? कुनै दिन मैले उनिहरुलाई भेट्न सकुला कि नसकुला ? कति दिन खेलाउने मनमा कुराहरु अनि कहिले सम्म मेरा बाबा आमा अनि मेरो पनि परिवारको बारेमा मैले सोच्ने ?

सम्झन्छु म अहिले लगभग १०/१२ वर्षको भएँ हुँला । अरुको उमेरको बारेमा जानकारी राख्ने त बाबा आमा हुन्छन् मेरो त आमा बाबुको पनि पत्तो छैन कस्ले राखिदेला र मेरो बारेमा जानकारी । म त्यस्तै ३ वर्षको जति हुँदाको समय हुन पर्छ मलाई कसैले यो शहरमा छोडेको थियो । मलाई उसको अनुहारपनि याद छैन । त्यही दिन देखि यही सडक मेरो घर यही सडक मेरो परिवार अनि यही सडक नै मेरो. सब थोक बनेको छ । आखिर म के नै गर्न सक्छु र अहिले ? आफ्नो आफन्त कोही छैनन् । होलान् तर को हुन् भन्ने मलाई थाहा छैन । कसैका साना बच्चाहरु बाबुआमासँग छुटे भने मलाई निकै पिडा हुन्छ । अनि म दौडेर उनिहरुलाई जानकारी गराउने गर्छु । उनीहरु आफ्नो बाबा आमासँग हिँडेको देख्दा नै मलाइ आनन्द जो हुन्छ । मेरो त भाग्य नै छैन आमाबाबाको हात समातेर हिड्ने । त्यही भएर त अरुकै खुसी हेरेर रमाउनु पर्छ मलाई ।

आज पनि फेरि मलाई मार परेको छ । पुलिसले पाकेट मारेको भन्दै कुट्दै लैजाँदै छ । मैले उडाइदिएको छु, हो एक मानिसको पर्स तर मैले पर्स उडाएको भन्दा धेरै टाढा त्यही मान्छे लिएर आएको पुलिसले चुट्यो मलाई । मैले थाहा छैन भने तै पनि उसले टेरेन । पुलिसले मलाई गाली गरिगरि कुट्यो मैले पुलिसलाई कुट्न त के सक्थे गाली त गर्न सक्छु नि । मैले पनि धोका पुगुन्जेल गालि गरे पुलिसलाई । देख्दा सज्जन लाग्थ्यो त्यो मानिस उसले पुलिसलाई नकुट्न भन्दै मेरो छेउमा आएर भन्न थाल्यो बाबु तिमिले मेरो पर्स लग्यौ ठिकै छ केही छैन । त्यसमा भएको पैसा पनि तिमिनै राख ठिकै छ । तर त्यसमा मेरा छोराछोरीको फोटो छ त्यो चाँही मलाई देउ न है । म मेरा छोराछोरीलाई मुस्किलले वर्षमा एक पटक भेट्न पाउँछु । मलाई याद आयो भने फोटो हेर्न पर्छ त्यही भएर त्यो फोटो मलाई देउ न है । उसले भन्दै गयो, तिम्रा पनि बाबा आमा होलान् नि कति मायाँ गर्छन् तिमिलाई उनिहरुले मैले पनि मेरा छोरा छोरीलाई त्यस्तै मायाँ गर्छु त्यही भएर त्यो पर्स र त्यसमा भएको फोटो मलाई देउ पैसा मलाई चाहिएन पैसा तिमि नै राख ।

मेरो मन पग्लियो मैले भने पर्स त मैले फालिदिँए मसँग यो पैसा छ लानुस् । उसले जब बाबा आमा र छोराछोरीका मायाँ ममताको कुरा निकाल्यो नि मैले उसको पर्स उडाउने बेलामा नसोचेका धेरै कुरा सोच्नै पर्ने बनायो । जेसुकै भएपनि उ पनि कसैको बाबा रहेछ मेरो जस्तो मलाई सडकमा फाल्ने बाउ उ रहेनछ । उसका छोराछोरी उ भन्दा टाढा रहेछन् र त उसले फोटो हेरेर चित्त बुझाउने रहेछ । मलाई निकै पिडा हुन्थ्यो अरुले यस्तो कुरा गर्दा । जब कसैले आफ्नो छोराछोरीहरु टाढा भएको र आफूलाई निकै अत्यास लागेको कुरा गर्थे तब म सम्झीने गर्थे मेरी आमालाई पनि यस्तै भएको छ होला कि छैन होला ? किन मलाई यसरी छोडेर गएकी होलीन् । उनको बाध्यता थियो या उनले त्यसै फालिन मलाई ? मलाइ केही थाहा थिएन । मलाई त यत्ती मात्र थाहा थियो म मान्छे पनि राम्रोसँग चिन्दैन थिए त्यही बेलामा यो सडकमा आएको हुँ म र अरुले खाएको देखेर मागेर खान थाले अरुले लाएको देखेर सडकमै भेटीएका कपडा उठाएर लगाउन थाले अहिले कहिलेकाँही फिलिमको टिकट ब्ल्याकमा बेचेर पैसा कमाउने कहिले सामान बोक्ने कहिले पकेट मार्ने अनि शरिर ढाक्ने यही त हो दैनिकी ।

पढ्ने कुरा त कहाँ बाट सम्भव होला र मलाई । प्रयसा पनि गरेको थिए पढ्नलाई धेरै स्कूल पनि पुगे । स्कूलको ड्रेस किनेर केही दिन स्कूल पुग्थे पछि थाहा पाउँथ्यो अनि निकाल्थ्यो । यस्तै गर्दै गर्दै केही त लेख्न र पढ्न सक्ने भए तर मलाई धेरै पढ्नका लागि स्कूलमा भर्ना हुँदा चाहिने पहिलो कुरा नै मसँग थिएन । बाबा आमाको नाम र जन्मदर्ताको प्रमाणपत्र चाहिने रहेछ स्कूलमा मसँग त्यो थिएन कसरी मैले पढ्न पाउनु ?

चकमन्न रात थियो । एउटा ट्याक्सी आफ्नो हेडलाइट बाल्दै अयो र मेरो आँखा अगाडी टक्क अडियो । त्यसबाट एक जना महिला निश्किन अनि सुधारगृहको गेट नजिकै पुगेर ति महिलाले सानो बच्चा छोडेर हिडेको देखे मैले । किन यसरी छोड्या होला भन्दै म हेरेको हेरेकै भएको थिए । त्यहाँ भित्र म धेरै पटक पुगिसकेको छु । त्यहाँको ब्यबहार सम्झेपछि मलाई लाग्यो त्यो बच्चालाई त्यहाँ छोड्नु राम्रो होइन मलाई पनि धेरै पटक धेरै यातना दिएको थियो त्यस गृहमा । अनि त्यो बच्चा जो जन्मेको पनि केही दिन मात्र भएको जस्तो थियो उसलाई त्यत्ती सानो हुँदा देखिनै त्यो नरकको यातना भोग्न पर्ने भयो भन्ने लाग्यो मलाई । अनि मैले त्यो बच्चा उठाए र फर्के । जब म मेरा सडकका साथीहरुसँग पुगे उनिहरुले यसलाई हामीले कसरी हुर्काउन सक्छौं र यो जन्मेको पनि धेरै भएको छैन । अनि यसलाई दूध खुवाउन प¥यो अरु खानेकुरा कसरी जोहो गर्ने भन्न थालेपछि मलाई पनि लाग्यो हो जस्तो । त्यसपछि म यो बच्चालाई उसको आमालाई नै किन फिर्ता किन नगर्ने भन्ने तिर लागेँ ।

मलाई याद थियो त्यो बच्चा ल्याएर गेटमा छोड्ने महिला चडेको ट्याक्सीको बारेमा तर महिलाको अनुहार मैले देखेको थिइन । म ट्याक्सी खोज्न थाले अनि ट्याक्सी भेटेर त्यसको ड्राइभरलाई सोध्दा उसले जवाफ दिनै मानेन । रक्सीमा लट्ठ भएर गित सुन्दै बसीरहेको उसले मेरो प्रश्नको जवाफ दिनै चाहेन । उ गितमै मस्त हुन लाग्यो म बच्चा समतेरै पुगेको थिए उसको नजिक । उसले जति सोध्दा पनि मेरो वास्ता नगरेपछि मैले फरक ट्रिक लगाँए । उसल धोती बाँधेको थियो र अर्ध चेत अवस्थामा गित सुन्दै थियो । मैले उसको धोती बिस्तारै तानिदिए अनि उसले बजाएको गित पनि बन्द गरिदिए । निकै रिसाउँदै कस्ले बन्द गरेको गित भन्दै बाहिर निश्क्यो तब उ नाङ्गै थियो । बाहिर निश्केपछि अरुले गालि गरेपछि उ भित्र पस्यो अनि मलाई उसले आफ्नो कपडा माग्न थाल्यो । मैले उसलाई पहिला मेरो प्रश्नको उत्तर भनेर भनेपछि उ राजी भयो र बक्न थाल्यो । उसले भनेका स्थानहरु मैले खोज्दै जाँदा ट्याक्सी चालकले भनेको पहिलो स्थान पुगे त्यहाँ एक पुरुष भेटे अनि उसलाई सोधे उसले बच्चा छोड्ने महिलाको नाम सीता भन्यो अनि उसको ठेगाना दियो । सम्झे मैले कलियुग कि सीता ! रामकी सीता थिईन् उनी आफ्नो धर्म छोडीनन् अनि रावणको लंकामा पुगेर पनि पवित्रै रहेर फर्किइन् तर अहिलेकी सीता हेर त एउटा भर्खर जन्मेको नावालक छोरालाई सडकमा फालेर भाग्छे अनि कयौं पुरुषको विस्तरा तताउँछे ।

त्यो मानिस सीताको नियमित ग्राहक रहेछ । आफ्नो श्रीमती बाहिर गएको बेलामा यौवनको भोक मेटाउने माध्यम रहीछ त्यो महिला सीता । जसले रातको समयमा सुधारगृहको बाहिर लगेर त्यो बच्चालाई छोडेकी रहीछ । यो पुरुष पनि निकै गजबकै लाग्यो मलाई । आफ्नी श्रीमती केही दिन घरबाहिर जाँदा पनि परस्त्री चाहिने यही पुरुषले आफ्नी श्रीमती अरु कसैसँग हिडेको वा यौन सम्पर्कगरेको थाहा पायो भने घर निकाला गर्छ । क्या गबज छ है हाम्रो समाज ।

यो बजारमा दुई वटा सुधारगृह थिए । एउटामा यातना ज्यादा र अर्कोमा भने निकै मायाँ गर्थे तर पनि मलाई त्यहाँको मायाँले मात्र पुग्दैनथियो । त्यो सुधारगृहमा पनि म पुगेको थिए । बच्चालाई त्यही छोड्न भन्दा मैले यसको आमालाई दिन्छु भन्दै फर्केको थिए । अनि त्यहाँका मान्छेले भनेका थिए यदि भेटेनस् भने यही ल्याएस है । अनि मैले हस भन्दै निस्केको थिए ।

त्यो मानिसले दिएको ठेगाना खोज्दै जाँदा उसलाई भेटे । त्यो महिला बेस्यालयकी सदस्य जो रहीछ । उसले पनि त्यो बच्चालाई कसैबाट किनेर बेस्यालयकी मालिक्निकहाँ बुझाउन लगेकी रहीछ तर त्यो बच्चा छोरा भएकोले मालिक्निले फिर्ता पठाएकी रहिछ । उसले त्यो बच्चा किनेको मान्छेको ठेगाना दिई अनि म उसको तलासमा लागिहाले । एक जना हस्पीटलको पिउनसँग उसले किनेकी रहिछे बच्चालाइ । हस्पीटलको पिउनको तलासमा म लागि हाल्नु पर्ने भयो नि ।

बच्चाले आमाको दूध नखाएको पनि चार दिन भै सक्यो । मैले बच्चा भेटेको पनि ४ दिन भै सकेको थियो । यो चार दिनमा मैले उसलाई दूध पिलाउने देखि लिएर उसको दिसापिसाब तर्काउने र उसले दिसापिसाब गरेका कपडा सफा गर्ने काम पनि गरेको थिए । फोहोरमा त राख्ने कुरा भएन नि । म दुःखी थिए किनकी उसले पनि मैले जस्तै आमाबाट टाढा भएको छ । अनि खुसी पनि थिए उ मेरो साथमा छ र मैले उसको आमालाई खोजेर उसलाइ दिनेछु । अनि उसले फेरि आमाको मायाँ पाउनेछ अनि खुसीका साथ आमासँग हुनेछ भन्ने मलाइ पूर्ण विश्वास थियो ।

म कुनै अपसोच र कुनैपनि हालतमा दुःख मान्ने र हरेस खाने अवस्थामै थिईन् । मैले कुनैपनि हालतमा यसको आमा पत्ता लगाउने अठोट जो लिएको थिएँ । हस्पीटल पुगे त्यो पिउनलाई हस्पीटलले निकालिदिएको रहेछ । उसको घरमा पुगेर सोध्दा उसले आमाको बारेमा बताउन चाहेन । तब म पनि सडकमै हुर्केको थिए मलाई एउटा मात्र उद्देश्य थियो कुनै पनि मूल्य चुकाएर भएपनि यस बालकको आमा पत्ता लगाएर उसलाई उसको आमालाई दिने मेरो टार्गेटका लागि उसलाई मेरा सडकका साथीहरुको सहायता लिएर लगेर गाडीको टायर मुनि राखेर सोधे अनि उसले बल्ल दियो ठेगाना । एउटा अपार्टमेन्टको फ्ल्याटको ठेगाना दिएपछि म लागे त्यही अपार्ट तिर ।

अपार्टमा पुगेर मैले त्यो महिलाको बारेमा सोधे अनि एक जनाले मलाई उसको फल्याट देखाइदिए । मेरो अनुहारमा यति खुशि देखियो कि मेरो मुहार अहिले सम्म यत्तीको खुसी कहिल्यै भएको थिएन । म गए उसको फल्याटमा अनि म उसको कोठाको ढोकामा पुग्दा नै बच्चाको आमालाई भेटे अनि भने लिउ तिम्रो छोरा । जब महिलाले उसको बच्चाको अनुहार हेरी तब उसको अनुहारमा खुसी आउनुको साटौ उसको अनुहारमा सबै चमक हरायो । अनि उ मलाई हपार्न थाली र भन्न थालि यो बच्चा लैजा मेरा होइन यो बच्चा । तर उसको बोलीले त्यो भनेको भएपनि उसको अनुहारले देखाएको थियो यो बच्चा उसैको हो । तर उ भाग्न थालि मलाई भन्दै तलाई बाबाले गालि गर्छ अनि कुट्छ । मलाई कुटाइको मतलब थिएन । यो बच्चाको खातिर मलाई पुलिसले धेरै कुटेको थियो । मलाई त्यसको बाबाको कुटाइको भ्यालु थिएन मलाई त अचम्म लाग्यो कि किन यो आइमाइ भागि आफ्नो बच्चा पनि नसमातेर ? उ भाग्दै गइ म पछि लागे अनि जब सडकमा पुगे मलाई अचम्म लाग्यो । सडकमा गाडीमा त्यो महिलाको बाबा रहेछ । उसको जन्मदिने बाबु नै थियो त्यो साहेद सडकमा तर उसले आफ्नो छोरीलाई छोरी होइन पेसेबर बेस्याको रुपमा राखेको रहेछ । छोरी रुदै गएर जब गाडीमा बसी तब उसले किन छोरी तिमि रोएको नरोउ न म तिम्रो बाबा मात्र होइन साथी पनि त हो भन्दै उसले त्यो महिलाको शरीर सुम्सुम्याउन थाल्यो । चुम्न थाल्यो अनि स्तन समान्त थाल्यो म छाँगाबाट खसे जस्तो भए । एउटा बाबा र छोरीको सम्बन्ध अनि त्यो कस्तो बाबु हो आफैले जन्माएको छोरीलाई गर्भवती बनाउने अनि बच्चा जन्माएर बेच्ने, सडकमा फाल्ने ? उसको जीवन देखि मलाई धिक्कार लाग्यो अनि फर्के म ।

अब म यो बच्चालाई उसको आमालाई दिने उद्देश्य पुरै त्यागे र फर्के । लागे म सुधार गृह र सुधारगृहमा पुगेर भने यो बच्चा राख । सुधारगृहकी आमाले भनिन् केही त लेख्न परो नि यसको बारेमा । मैले भने यसको आमाको नाममा मेरो नाम लेख अरु जे चाहिन्छ त्यसमा तिम्रै मनखुसीले लेख । यति भनेर म बाहिर निस्के ।

अब म सोच्न बाध्य भए । किन आमाहरु यस्ता हुन्छन् ? बाबाले छोरीलाई गर्ने ब्यवहार यस्तै हो त ? छोरी त लक्ष्मी होइनन् र उनलाई सम्मान गर्नु पर्ने होइन र ? छोरीको रक्षा गर्नु बाबुको कर्तव्य होइन र ? तर किन आफ्नै छोरीबाट बच्चा जन्माएर सडकमा फाल्यो त त्यो मानिसले ? किन आमाले बच्चा जन्माएर सडकमा छोड्छन् आमाहरु ? के यस्तै समस्या हो त सबै आमाहरुको जसले सडकमा लगेर छोडे आफ्नो बच्चाहरु ? मलाई रिंगटा लागेर आयो । म सोच्न सकिरहेको छैन किन आफ्ना छोराछोरीलाई सडकमा लगेर छोड्छन् अनि आफ्नो आमालाई सम्मान गर्ने र ढोग्ने मौका दिँदैनन् आफ्नो छोराछोरीहरुलाई आमाहरुले ? यी सब प्रश्नको जवाफ खोज्न अब म भौतारीने छु । जसरी मैले भेटेको बच्चाको आमा खोज्न भौतारीए र भेटेको पनि थिए तर के यस्तै गरी हो त मैले भेट्ने याबत प्रश्नको जवाफ ?

अमृत बास्कुने
[email protected]
[email protected]
www.facebook.com/baskune 9857640266/9805123000

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *