सम्बोधनमा उसले मलाई “हजुर” भन्यो
त्यो “हजुर” शब्द इन्जेक्सन जस्तै
नशा नशामा फैलिएर
दाह्रा नङ्ग्रा पलाएको अनुभूति गरेँ
आफूले आफैलाई डर लाग्दो बाघ देखेँ
आफूले आफैलाई कठोर सामन्ती सम्झें
कता हो कता
मेरो अन्तरमनको सुक्ष्म मान्छे
डरले थर्थरी काँपेको देखेँ
त्यसैले भो मलाई “हजुर” नभन्नोस् तपाईंहरू
त्यसैले भो मलाई “हजुर” नभन तिमीहरू
तैंले पनि “हजुर” भन्ने नगर्नू मलाई
कारण
बाघ भन्दा डर लाग्दा हुँदा रहेछन्
“हजुर”हरू ।
