२१ असार, २०६१, कोहलपुर – झमक कुमारी घिमिरेको जन्मदिनको अवसरमा कोहलपुरमा साहित्यिक स्रष्टाहरूले रचना वाचन कार्यक्रम सम्पन्न गरेका छन् । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको आयोजनामा १०४ औं रचना वाचन शृङ्खला सम्पन्न भएको छ ।
कोहलपुरका क्रियाशिल साहित्यिक श्रष्टाहरूले शनिबारको सन्ध्याकालीन समयमा आफ्ना रचनाहरूले पार्कलाई गुञ्जयमान बनाए । साप्ताहिक कार्यक्रम अनुसार यस क्षेत्रका स्रष्टाहरू हरेक शनिबार रचना वाचनको कार्यक्रम गर्दै आइरहेकोमा यो शृङ्खलालाई विशेष शृङ्खलाको रुपमा मनाए ।
यस क्षेत्रका दुई सरकारी अधिकृतहरूका रचना वाचनले साहित्यिक माहोललाई थप उर्जा प्रदान ग¥यो । नेपाल टेलिकम कोहलपुर कार्यालयका प्रमुख तथा छन्द कवि जीत बहादुर त्यागी र राजस्व चुहावट नियन्त्रण गुल्मका गुल्मपति तथा गीतकार शुसिल पराजुलीका रचनाहरूले उपस्थित सबै सर्जकहरूको ताली पनि पाए । त्यागीका देश प्रेम र चेतनामुलक सार्दूल विक्रिडित छन्दका कविताहरूले उपस्थित सबैको ध्यान खिचेका थिए । यता राजस्व नियन्त्रणका गुल्मपति पराजुलीका समय सान्दर्भिक गजल र गीतले उपस्थित स्रष्टाहरूले मन पराई सुनिरहेका थिए । अन्य स्रष्टाहरूमा प्रतिष्ठानका अध्यक्ष महानन्द ढकाल, साहित्यकारहरू बलराम काफ्ले, कपिल अञ्जान, सन्तोषि विष्ट, विक्रम शीशिर, बद्रि ढकाल, हेम प्रकाश मञ्जील, देवेन्द्र आचार्य लगायतका २ दर्जन भन्दा बढीले आफ्ना रचना वाचन गरेका थिए ।
आफ्नो अभियान अन्तर्गत नियमित रचना वाचन गर्दै पार्कमा सरसफाई कार्यक्रम पनि गरेका थिए । मोफसलको साहित्यलाई माथि उठाउँदै हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले नियमित रुपमा कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

