फेरि आयौ है ! श्रावण
झम झम झरी दर्काएर
डाँडा पाखाको यौवन फर्काएर
प्रकृतिको सौन्दर्य लर्काएर आयौ अरे
फेरि आयौ है ! श्रावण

दिदी बहिनीका नारि भरी भरी
हरिया राता चुरा बजाउदै आयौ
हत्केला भरी भरी मेहन्दी लगाउँदै आयौ
यसरी नै आयौ अरे श्रावण
मेरो गाँउघरमा
मेरो देशमा
चेलीलाई मायालुको आयु र माया लिएर आयौ अरे
महिनौसम्म त्यो माया बाँड़िरहन्छौ रे
तिम्रा छातीबाट बर्षेका एक एक थोपा बक्षेताले
हरेक चेलीको मन निथ्रुक पार्छौ होला हगि?

दूर देशको भेड़ी गोठमा यस्तै सोची रहेकी छूl
हो, श्रावण…
तिम्रो आगमनले सबै चेलीहरु कति सजिएका होलान
घरी घरी त यो भारी तन यतै बिसाएर
मेरो गाँउ घरको ख़ुशी चिहाउन पुगेको हुन्छु

किनकि…
मसँग नाडी छ
छमछम बज्ने चुरा छैन
हत्केला छ
रंग भर्दै उनको नाउ लेख्ने मेहन्दी छैन
झरी त यहाँ पनि दर्किरहेछ
तर उनीसँगको रुझाई छैन

तथापि झिनो आश छ, श्रावण…
तिम्रो आशिस मेरो मायालाई छ
उनको आयुलाई छ
म त्यही बिस्वाशमा छू

किनकि,
उनको नाउ मुटुमा कोरेकी छू
जूनी जूनीसम्मलाई …
होइन भने हेर न…
आज तिम्रो आगमन थाहै थिएन तर …
कसरी-कसरी?
कलमले हत्केलामा कोरेछु …
त्यही कोराई भित्र नियाले जब …
उनकै नाउ लेखिएछ
हो, उनकै नाउ लेखिएछ…

फेरि आयौ है ! श्रावण
झम झम झरी दर्काएर
डाँडा पाखाको यौवन फर्काएर
प्रकृतिको सौन्दर्य लर्काएर आयौ अरे
फेरि आयौ है!श्रावण

कल्पना राई”ख़ुशी”
दोलखा नेपाल
हाल दक्षिण कोरिया

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *