Skip to content

आमा म आफ्नै माटोको सुगन्ध लिन् चाहन्छु


आदिम बस्तीहरूमा
तन्त्रले पाइन हाल्न नसकेपछि
आफ्नो भूगोलको परिधि नाघेर
आफ्नै सपनाको मलामी जान
सगरमाथाको शिर पार गरेको ‘म’

रेगिस्तानको मृगतृष्णामा छटपटाइरहदा
मृत सागरको नूनिलो पानीले प्यास मेटाउन सक्दिन
यो कंक्रिट जंगलको गगन चुम्बी भवनको उचाई
मेरो सगरमाथासँग तुलना गर्न मिल्दैन

फिर्नु छ चाँडै
आफ्नै भूमिमा
सिञ्चिनु छ
तातो रगत र पसिना
आफ्नै माटोको डल्लामा
त्यति बेला
मलाई सलाम ठोक्न
हरेक बिहान घामको झुल्को हाजिर हुनेछ
म कोरा गह्राहरूमा, कोरा फाटहरूमा
हलो र कोदाली कलम लिएर
अन्नको रचना गर्न
दश नंग्रा खियाइरहनेछु

आज मात्र
मेरो देशलाई
मेरी आमालाई
संदेश पठाए
आमा म आफ्नै माटोको सुगन्ध लिन चाहन्छु

निश्चल काउचा
चौराहा १ बाग्लुङ
हाल दक्षिण कोरिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *