टिनिनिनि घण्टीको आवाजसँगै चिया खाने समय भएको महशुष भएको छ मलाई । सबै साथीहरूसँगै म पनि बिस्तारै खानेकुरा बाँड्ने ठाउँ तर्फ लागे । सबैलेसँगै खाजा खाने प्रसंग त हो पालै पालो सबैलाई खाजा बाँडे होस्टेलमा । मैले पनि पाए र खाएँ । म यहाँ आएर बसेको पनि धेरै दिन वितिसकेको थियो । त्यो होस्टेल केवल ६ महिनाको लागि सञ्चालित थियो । म जस्तै धेरै बालबालिका त्यहाँ थिए भन्ने मलाई लाग्थ्यो । यस होस्टेलमा पनि धेरै लामो समय देखि म यहाँ बसेको जस्तो लाग्थ्यो तर, त्यत्ती धेरै भएको रहेनछ । आज सबैजना बालबालिकाका आफ्ना अभिभावकहरू आफ्नो बच्चाहरू लिनका लागि आएका थिए । तर मेरो बाबा मलाई लिन आइ पुग्नुभएको थिएन ।
सबै होस्टेलबाट गै सकेका थिए । म भने मेरो झोला छेउमा राखेर बसेको थिए बाहिरै । मलाई होस्टेलको वार्डेनले मलाई बाहिर सडक छेउको प्रतिक्षालय जस्तै बस्ने ठाउँमा लगेर राखिदिएका थिए । म कुरिरहेको थिए मेरो बाबा आएर भित्र होस्टेलको चिफसँग कुरा गर्दै गरेको मैले सुने । मेरा बाबा भन्दै थिए म उसलाई लान सक्दीन । होस्टेल चिफ हपार्न थाले मेरो बाबालाई यो होस्टेल भनेको मात्रै छ महिनाको लागि सञ्चालन हुन्छ र बाँकी छ महिना बन्द हुन्छ यहाँ कोही बस्दैनन् ।
भित्र बहस चलिरहेको थियो म त्यतातिरको बहसमा ध्यान दिइन । बाहिर एक चराको बचेराको आवाज मैले सुने । लाग्यो साहेद त्यो चराको बचेरा नै हो र ऊ गुणबाट खस्या जस्तो मलाई लाग्यो । म बचेराको आवाज आएकोतिर लागे । बिस्तारै छामछाम छुमछुम गर्दै आवाज आएको तर्फ लागे र भेटे मैले त्यहाँ सानो एउटा चराको बचेरा रहेछ । मैले त्यो चरा गोजीमा हाले र रुखमा चडेर चराको गुणमा लगेर हालिदिएँ । मलाई बडा आनन्द लाग्यो चरालाई उसको गुणमा पुर्याउन पाएकोमा । म चरालाई गुणमा राखेर झर्दा सम्ममा भित्र बाबाले होस्टेल चिफसँग कुरा गरीसक्नुभएको रहेछ । उहाँले होस्टेल चिफसँग उसकी आमा मरी सकि म यसलाई लगेर कसरी पाल्न सक्छु भन्दै गरेको कुरा अन्तिममा मैले सुनेको थिए । मैले मेरो आँखाको दृष्टि त जन्मने बेलामा नै गुमाएको थिए तर अहिले आएर म घरमा पनि नभएको बेलामा मैले आमा गुमाएको रहेछु । मैले आमाको अनुहार कस्तो त थाहा पाउन सकिन यानकी देखिन अबत आमाको ममता पनि नपाउने भएँ । म चिन्तित थिए तर मभन्दा साहेद धेरै चिन्तित मेरो बुबा हुनुहुन्थ्यो कि जस्तो लाग्यो मलाई किनकि मेरो होस्टेलबाट गाडी र केही बेर पैदल हिडेर घोडा राख्ने ठाउँमा पुथिन्थ्यो । त्यतिका बेलासम्म बाबाले मसँग केही कुरा गर्नु भएन । म भने घरमा भएका मेरा दिदी बहिनी र मेरी हजुरआमाको बारेमा सोच्दै थिए । मलाई मेरा दिदी बहिनी र हजुरआमाले यति मायाँ गर्नुहुन्थ्यो कि मैले घरमा रहँदा आमा हुँदा पनि मलाई लाग्थ्यो मेरो एउटा होइन धेरै आमाहरू छन् जस्तो । त्यसैले त म आज निकै आतुर थिए मेरा परिवार भेट्न । बाबाले राख्नुभएको घोडा भेटेपछि मलाई घोडामा चडाउनु भयो र बाबाले डोरीबाँधेर घाडालाई डोर्याउन थाल्नुभयो । बाबा र मेरो कुरा अँझै पनि हुन सकेन । लामो यात्रा पछि घर नजिकै आएको जस्तो मलाई भान भयो र मैले सोधे बाबा घर आउन लाग्या हो । बाबाबाट मैले हो भन्ने छोटो उत्तर पाए । मैले चिच्याएर मेरा बहिनी र दिदीको नाम पुकारे । सबी ! पबी ! मेरा दिदी बहिनीहरू जंगल पुगेर साहेद घासको भारी लिएर आएका रहेछन् । उनीहरूले पनि आफूहरू घर तर्फ फर्कँदै गरेको संकेत गरे ।
जब घरमा पुगियो तब मलाई मेरी आमाको अभाव त खड्किएकै थियो तर आमाको ममतालाई विर्साउने खालको ममता हजुरआमा र दिदीबहिनीबाट पाए । मैले हजुरआमालाई धातुको चुरा, बहिनीलाई काइयो र दिदीलाई पोते ल्याइदिएको थिएँ । एक दिन बारीमा काम गर्न गएको बेलामा सबैलाई बोलाएर दिएँ । उहाँहरूले प्रकट गरेको खुशीका शब्दले मलाई निकै भावुक बनाएको थियो । एक जना बाबा पछिको पुरुष घरमा म थिए तर मेरा आँखामा दृष्टि थिएनन् । मैले ल्याएको केही सामान्य चिजमा त्यस्तोबिधी खुसी हुने मेरो परिवार मैले अरु केही ल्याएको भए कति खुसी हुन्थ्ये होला । यस्तै यस्तै कल्पना गरे तर म त्यति धेरै कमाउन त सक्छु सक्दीन मलाई बाबाले धेरै पढाउन पनि चाहनु भएन । मैले होस्टेलमा हुँदा जे पढेँ र ब्रेलको सहायताले केही सिके र ब्रेलमै केही लेख्न जाने तर त्यसबाहेक अरु शिक्षा मसँग केही त थिएन अनि मसँग केही सिपपनि त थिएन । आज म मात्रै १२ वर्षको थिए । तर समय कति बलवान हुने रहेछ । मलाई यस्तो अवस्थाको बनायो मेरी आमालाई मसँग छिनेर लाग्यो मैले कस्लाई आमा भन्ने ? मैले आफ्नी हजुरआमा र दिदी बहिनीलाई नै आमा भन्नु पर्ने र उहाँहरूबाटै आमाको ममताको आशा गर्नु पर्ने त थियो नि ।
समय बित्दै गएको थियो । बाबाले काममा गएर आउने बेलामा एक जना आफ्नै उमेरकी अविवाहिता महिला देख्नु भएछ । उहाँ त्यो महिला प्रति निकै मोहित हुनुभएछ । अनि महिलाले उहाँ यता उता हिड्ने बेलामा हेर्ने र मुस्काउने गर्दा बाबा झनझन मोहित हुँदै जानु भएछ र उहाँलाई बिहे गर्ने रहर जागेछ । बाबाको मनमा बिहेको रहर सँगसँगै म त्यो घरमा अर्गेलो हुने पनि लागेछ र मलाई पन्छाउनेतिर उहाँको दिमाग लागेछ । त्यही सोचसँगै उहाँले घरभन्दा निकै टाढा एक जना दृष्टिबिहीनको फर्निचर उद्योग रहेछ मलाई त्यही फर्नीचरमा लगेर छोड्ने उहाँले मनसाय बनाउनु भएछ । एक दिन बिहानै मलाई लिएर बाबा हिड्नुभयो । मैले कहाँ जाने भनेर सोध्दा मलाई होस्टेलबाट लिएर घर आउने क्रमबा बाबा केही बोल्नुभएको थिएन त्यस्तै गरी हिड्दा मलाई संका लाग्यो र म घर तर्फ फर्कीन दौडिए । उहाँले मलाई समातेर जबरजस्ती लैजानु भयो र फर्निचरमा छोडेर फर्कनु भयो ।
जब बाबा घर पुग्नुभयो घरमा हजुरआमाले सोध्नु भएछ छोरालाई कहाँ छोडेर आइस ? भनेर । बाबाले उत्तर दिन चाहनु भएन । पुनः हजुरआमाले सोधेपछि बाबाले फर्निचरमा लगेर छोडे अब उसले उतै काम गर्छ उतै बस्छ भनेपछि हजुरआमाले पनि घर छाडेर हिड्नु भएछ । बाबा पहिला त झर्किनु भएछ तर केहीबेरपछि दौडिदै गएर हजुरआमालाई फर्काउनु भएछ । बाबाले मलाई त्यो महिलाको घरमा गएर विवाहको कुरो चलाउँदा तिम्रो घरमा दृष्टिबिहीन छोरा छ भनेर अड्को थापेकाले मलाई घरबाट सदाका लागि बाहिर गर्नका लागि फर्निचरम ल्याएर छोड्नुभएको रहेछ । हजुरआमाले त्यो कुरा थाहा पाएको भएर नै घर छाडेर निस्कनु भएको रहेछ । हजुरआमा त्यही दिन देखि बिरामी पर्नुभयो र एक महिना पछि हजुरआमाले पनि संसारछोड्नुभयो । मलाई मायाँ गर्ने आमा गुमाए अनि त्यसपछि मलाई मायाँ गर्ने हजुरआमा पनि मैले गुमाइसकेको थिए । बाबाले त मलाई किन सधैँ बाहिर लगेर छोड्ने गर्नु हुन्थ्यो । मलाई थाहा छैन । कहिल्यै पनि राम्रोसँग मसँग बाबाले कुरा गर्नुभएको मलाई याद छैन । साहेद म दृष्टिबिहीन भएरै त होला नि भनेर म सोच्थे ।
जब हजुरआमाको पनि निधन भयो त्यसको केही समय पछि बाबाले मनपराएको महिलाको घरबाट एउटा खबर आएछ । अब बाबासित त्यो महिलाले विवाह नगर्ने भनेर खबर पठाइएछ । तब बाबाको होस हवास उड्यो । विवाहकै रहरले गर्दा बाबाले मलाई घरबाट टाढा पठाउनु भयो अनि हजुरआमाको पनि मेरै पिरले गर्दा निधन भयो । अहिले बाबाले आफ्नो मनमा सजाएकी त्यो महिलाले पनि विवाह नगर्ने भनेपछि बाबा छाँगाबाट खसे जस्तो हुनुभएछ ।
बाबाको दिमागमा बिस्तरै बिस्तारै पुराना कुराहरूको याद हुन थालेछ । अनि आमाको निधन, मलाई घरबाहिर लगेर छोडेको अनि हजुरआका पनि मेरै पिरले गर्दा वित्नुभएको सम्झेर केही दिन बेचैन भएर दिन काट्नुभयो बाबाले । अनि मलाई लिन भनेर उहाँ फर्निचरमा आउनु भयो । जब मैले नजाने भनेर उत्तर दिएपछि बाबाले आज भने मलाई सम्झाउन थाल्नुभयो । बाबाले आज सम्झाएको सुन्दै जाँदा मलाई निकै अनौठो पाए । तब ठिकै छ भनेर बाबासँग म जान राजी भएँ । केही समय गाडीको यात्रा पछि पुनः केहीबेरको पैदल यात्रा पुरा गरेपछि हाम्रो घोडा भेटियो अनि घोडामा मलाई चडाएर बाबाले घोडालाई डोर्याउन थाल्नुभयो । हामी बिस्तारै बिस्तारै अगाडि बढ्दै थियौं । बाटोमा एउटा खोला आइपुग्यो खोला निकै ठूलो थियो । खोलामा पुल थियो बाबाले पहिला मलाई हजुरआमाले होस्टेलबाट फर्किएपछि घरमा भन्नुभएको थियो त्यो खोलाको पुल काठको छ र कुहिएको छ । निकै डरलाग्दो खोलामा कुन दिन भाचिने हो र को खोलामा खस्ने हो । खोला सुस्साएको आवाज सुनेपछि मैले त्यही खोला जुन हजुरआमाले मलाई सुनाउनु भाएको थियो सम्झिए । पुलको बिच भागमा पुग्ने बेलामा अचानक पुल भाचियो । घोडा र म खोलामा खस्यौं बाबा पुलमै हुनुहुन्थ्यो धेरै बेर त्यहीँबाट हेर्नुभयो मलाई खोलाले निकै तल लगिसकेको थियो र घोडालाई पनि । तब बल्ल केही थाहा पाएको जस्तो गर्दै बाबा चिच्याउन थाल्नुभयो सबिन भन्दै । बाबा चिच्याउने बेलामा मलाई धेरै तल लगिसकेको थियो खोलाले । अनि बाबा पनि खोलाको किनारै किनार तलसम्म आउनु भयो र उहाँ पनि खोलामा हामफाल्नुभयो । म निकै तल पुगिसकेको थिए । बाहिर निस्कने त कुनै सम्भावना नै थिएन तर बाबाले बचाउने असफल प्रयास गर्दै हुनुहुन्थ्यो । कुन बेला बाबा कहाँ पुग्नुभयो त्यस पछि मैले पनि होस पाइन कहाँ पुगे र म के भए ।
अमृत बास्कुने
