म श्रीमान्ले भनेजस्तै गरी बाँच्ने प्रयासमा रत छु ।
___
मैले साँच्चै जीवनमा गल्ती र चासोहीन भएर बाँच्ने क्रममा धेरै समयको निर्मम हत्या गरेको छु । मलाई लाग्थ्यो, यो बाँच्नु मेरो आफ्नो स्वत्व हो र हो भने मैले आफ्नो बाँच्नु आफ्नै ढङ्गले अधिकारसम्मत ममै निहितार्थ प्रवेश गराउनुपर्छ । यो सोचेर बाँचेको हुँ, श्रीमान्!
___
यसैले मैले राम्रो घर बनाउन सकिनँ । म वा म जस्तै उमेरका मेरा अनेक दौँतरीहरू काठमाडौं पस्ता मुसा भएर पसे । बाँच्नलाई मुसा जस्तै दुला खने । भन्थे – गारो भयो बाँच्न । कसरी बाँच्ने? अर्थात् ठूला ठूला दुलाको खाँचो तिनीहरूले व्यक्त गरे । म आफ्नो कर्ममा मबाटै सञ्चालित थिएँ । बाँच्नु – आफ्नो आफ्नो ढङ्ग हो, जसरी हुन्छ । त्यसै अनुरूप दौंतरीहरूको जसरी हुन्छ – बाँच्ने – प्रकरण मेरा लागि घृणाको त होइन, दिक्कको प्रसङ्ग भने रहेको हो, श्रीमान् ।
___
समय अचेल प्रदूषित भएको छ भन्ने यथार्थ बारम्बार हो भन्ने लाग्दछ । देश यस्तै समयलाई लिएर हिँडिरहेको देखिन्थ्यो । जसले जसरी इच्छित जीवन बाँच्नु सोच्यो त्यसरी बाँच्ने प्रकरण बढ्यो । फलतः देश देश मात्र रहृयो । भाषण, सम्भाषण, सभा, सम्मेलनमा देश भनेको मुटु हो भनेर जस्तै निर्दयी मुटुपनि देशप्रति काम्ने बनाइन्थ्यो । पछि थाहा लाग्थ्यो, त्यही मुटु कमजोर गर्न अनेक ध्वनिउत्पात मच्चाइएको रहेछ । यो अहम् – यो नाटक चौतर्फीले गुञ्जायमान र मञ्चित भयो भनेर मैले यहाँ मेरो बाँच्नुसंग सादृश्य गरेको होइन, श्रीमान्!
___
मलाई मेरो देशको असाध्यै माया लाग्छ । यो भनेर मैले सस्तो खाले देशप्रेमको वाक्य निर्माण गरेको होइन, किनभने यो देश मेरो पनि हो र मेरो बाँच्नु यही देशसँग सम्बन्धित नभए अरू कससँग हुने? प्रश्न मसँग पर्याप्त छ, श्रीमान्!
___
दौंतरीहरू अब त पुँजीलाई गाली गर्दा गर्दा, पुँजीले मानिसलाई दास बनाउँछ भन्दाभन्दा अन्ततः पुँजीलाई नै दास बनाएर आफू सहस्र पुँजीपति बनेको यथार्थ मेरो सामु सगौरव उभिएको छ । म – म त्यहीँ नै छु, जहाँबाट पहिला म उपस्थित थिएँ एक्लो । यो मेरो एकाकी मेरो अस्तित्व हो, श्रीमान्!
___
मैले आफ्नो परिवारलाई पाल्न सकिनँ, श्रीमान्! कारण केही होइन, मेरै कमजोरी हो । म आफूलाई इमान्दार र स्पष्टवक्ता भनिटोपल्छु । मलाई कुकृत्य र भ्रष्ट आचरण असहृय लाग्दछ । त्यो बाटो मैले कहिल्यै हिँडिनँ । यसैले मेरो बाटो तिनीहरूलाई पटक्कै मन परेन श्रीमान् , जो मेरा माथिका पदासीन व्यक्तित्वमा झलझलाकार भएर बसेका थिए । तिनीहरू कामलाई दुइ कुरामा लगेर जोड्दथे – १ हात मल्नु -काममा व्यस्त गर्न होइन, खुसामद गर्न) २. चुक्ली लगाउनु (आफू काम नगर्ने भएपछि को < कस्तो छ वा आफू अनुकूल सगोत्री नभएकालाई के गर्ने < त्यसप्रति षड्यन्त्रवत् गर्न) र यस स्थितिमा म आफू परेको हुँ, तर म तिनीहरूको यस्तो प्रकोपमा परेर अन्ततः रोजगारहीन भएर देशलाई माया गर्नुपर्छ भन्ने बौलाहा, सनकी, बौलठ्ठी भएको मान्नुहोला भनेर मैले यसो भनेको होइन, श्रीमान् ! ___ देश जसरी मेरा लागि असहृय र पीडावत् यन्त्रशाला हुँदै गएको छ, त्यसरी नै घर मेरो, मेरा लागि यन्त्रणाको विशाल खोर हुँदै छ । फेरि यो मूलाले निराशाको कथा भन्न लाग्यो भनेर नभन्नुहोला, श्रीमान्! स्थिति मेरो यस्तै छ र मेरो बाँच्नुसँग सम्बन्धित भएको छ । म पनि चाहन्छु - दुइ छाक शान्तिले खान पाउँ । एक निद्रा आनन्दले सुत्न पाउँ । आफ्नो आदर्श ढङ्गले काम गर्न पाऊं, तर सोचेर कहाँ हुन्छ < यो देश सोचेर हुने होइन रहेछ । भन्छन् , मान्छेहरू लुटेर गर्छन् । हो जस्तो पनि लागिरहेछ । त्यसो नभए म प्रतिका नकारात्मक लान्छना, मेरो इमानदारीप्रति प्रश्नचिन्ह लगाउने स्तरहीन व्यक्तिहरू मलाई किन हेय भावमा व्यवहार गर्न थालेका < के मेरो आफ्नो अनुकूल बाँच्नु मेरो अधिकार होइन र < के सँधैं तिनीहरूले भनेको जस्तै भएर बाँच्नु मात्र बाँच्नु हो < यो मेरो प्रश्न तिनीहरूलाई असहृय भएरै होला, मसंग शत्रुताको परिधि बाँध्न थालेका । यो कुरा कसैले बुझेनन् । नबुझुन् । मलाई फरक पर्दैन । मेरो बाँच्नु मेरै कर्ममा निर्धारित कुरो हो । मैले यसैले आफ्नो बाँच्नुसँग सरोकार भएर बाँच्न चाहेको हुँ । यो मेरो बाँच्नुमा कसैको अधिकार वा व्यक्तित्व मर्दन गरिएको छैन, श्रीमान्! ___ म असफल व्यक्ति हुँ, अवश्य । मैले देशसँग प्रेम गर्नुको कुनै अर्थ रहेन । मैले आफ्नो कामसँग इमान राख्नु कुनै महत्व भएन । यही भएनहरूमा म परेर भाइबहिनीलाई भनेको पुर्याउन सकिनँ । श्रीमती र सन्तानलाई चाहेको दिन सकिनँ । मेरो यो असमर्थताको प्रमुख कारक तत्व मेरो असफलता होइन श्रीमान्, तिनीहरूको छल र षड्यन्त्र हो । तिनीहरू मेरो असमर्थतामा, मेरो असफलतामा निकै हर्षायक समूह बनेका छन्, श्रीमान्! ___ यसैले यहाँ देशले पनि मौन भएर छल गर्नेहरूको इतिहासलाई शिरोधार्य समर्थन गरेको देख्ता 'यो नसोच देशले के दियो, सोच सधैं तिमीले देशलाई के दियौ' वाक्यांश तिक्त र अति नै हास्यास्पद लाग्न थालेको कुरा म निर्धक्कसंग किन पनि व्यक्त गर्न सक्छु भने देश रुनुसँग आफू पनि रोएको सरोकार राख्तछ भने आफू रुँदा देश पनि रोएको छ कि छैन - प्रश्न यथावत् वा कटु वा अराजक लाग्ला, तर वर्तमानमा मेरो बाँच्नु यस्तै कटुतासँग सम्बन्धित छ, श्रीमान् ! ___ यसरी म चारैतिर असफलताले घेरिएर रहेको मान्छे । यसरी म केही नभएको निरीह नागरिक । यसरी म निहत्था व्यक्ति । यसरी म आफ्नो बाँच्नुको प्रश्न यहाँसमक्ष प्रक्षेपण गर्दछु, श्रीमान् ! ___ अब भन्नोस् श्रीमान्, म तपाईंले भनेजस्तै गरी कसरी बाँच्ने ?
