Skip to content


तिमीले फेरि हराएकी छौ मलाई । म तिमीलाई जित्न चाहन्थें । तिम्रो खोट देखाएर तिम्रा सिद्धान्तहरूलाई पछार्न चाहन्थें । तिम्रो कमजोरी औंल्याएर तिमीलाई नैतिक रूपले गिराउन चाहन्थें । तर तिम्रो आदर्श बोली र सहृदयी भावयुक्त मृदुलवचनले म मर्माहत भएको छु । मेरो रिस र आवेशलाई कसरी आगोको अगाडि नौनी गलाएझैं गलाएकी छौ । जब म तिमीलाई पराजित गर्न हर सम्भावनाका ढोकाहरू उघार्छु तब म आफैं पराजित हुन पुग्छु । तिम्रो निष्कपट र कठोर आत्माभिमानका पाइलाअगाडि म प्रत्येक पल लड्खडाउँछु । अपाङ्ग तिमी छौ तर निःसहाय म हुन पुग्छु । अबला तिमी छौ तर सबलताका प्रत्येक लक्षणहरू म गुमाइरहेको छु । मैले जिन्दगीमा हार्न कहिल्यै जानिनँ । मैले आफूमा चेतनाको पर्दा उघारेदेखि कहिल्यै हार खान जानिनँ । प्रत्येक ढुक्ढुकीमा मैले जित्नु नै पर्छ भन्ने उच्छ्वास सुनेको छु । त्यसैले तिमीसँगको हारलाई मैले जीवनका धेरै अमूल्य जीतहरूमध्ये एउटा अमूल्य हार ठानेको छु ।

तिमीसँगको मनोयुद्धमा म प्रत्येक पल हारिरहेको छु अनि तिमी मलाई हराइरहेकी छौ । हाम्रो अघोषित युद्ध कहिले र कहाँ हुन्छ भन्ने थाहा हुँदैन तर म जहिले मौका पाउँछु तिम्रो स्वाभिमान र सिद्धान्तमा मर्म हुने गरी प्राण-बाणहरू प्रहार गर्छु तर तिमी अघोषित विजेताझैँ प्रत्येक प्राणबाणबाट बच्न आफूले आफैँलाई तयार पारेर बसेकी हुन्छौ । अनि म आफैं आत्मग्लानिबाट लुप्त हुन्छु कतै प्रस्फुटन गर्न नै नसक्ने गरी ।

जीवनमा धेरै दुःखका सँघार काटेकी छौ तिमीले । धेरै पीडाका बिस्कुन फिंजिएका छन् तिम्रो भाग्यका आँगनमा । धेरै खुसी र चाहनाहरू डढेका छन् तिम्रो अँगेनीमा । तिमीले संसार देखेकी छौ अनि भोगेकी छौ । तिमीले समाजका धेरै चुनौती हाँसीहाँसी स्वीकारेकी छौ । तिमी समाजसँग लडिरहेकी छौ । म मात्र तिमीसँग लडिरहेछु, न तिमीलाई जित्न सक्छु न त युद्धको मैदानबाट भाग्न सक्छु । यसमा मेरो विवशता छ । तिम्रो आदर्श, आत्मीयता, सहनशीलता र परिपक्व बौद्धिकताले मलाई तिमीसँगको सत्सङ्गलाई लोभ्याइरहन्छ । त्यसैले म यो युद्धबाट भागेर जान चाहन्न । तिमीले सायद कर्ण कवच पहिरेकी छौ जसलाई म छिचोल्न सक्तिन । इन्द्रले झै“ ढाटेर वा छलेर तिमीलाई पराजित बनाउन सक्छु होला । तर ढा“टेर छलेर जितेको युद्धलाई मेरो स्वाभिमानले स्वीकार्न सक्तैन ।

तिमी हेर्दा साधारण छौ । तर मेरा लागि असाधारण लक्षणकी बिम्व हौ । क्यानभासमा कोरिएको अमूर्त चित्रझै“ । कहिले बुझ्न खोजेर पनि बुझ्न नसकिने । मलाई थाहा छैन तिमीभित्र अरू पनि धेरै कुरा केके छन् भनेर यसैले धेरै कुरा थाहा पाउन म तिमीलाई नया“-नया“ चुनौती दिइरहेको हुन्छु । जसको प्रतिक्रिबाट निस्केका नतिजा मेरा लागि अमूल्य हुन्छन् । म जहिले पनि तिम्रो विजयको सपना देखिरहेको हुन्छु । सफलताको उत्कण्ठा-चाहना गरिरहेको हुन्छु । तर म आफै“ तिमीलाई आफूबाट पराजित बनाउन खोजिरहेको छु । मलाई थाहा छैन यस्तो किन हुन्छ । म तिमीलाई अरूबाट पराजित भएको देख्न सक्तिन“ । तिमी पराजित हुनु भनेको म पराजित हुनु झै“ लाग्छ । तर म स्व्यं तिमीबाट पराजित भई मेरो सामुन्ने उभिएको हेर्न चाहन्छु । त्यसैले तिमीलाई पराजित बनाउन म कुनै न कुनै सूत्र अपनाइरहेको हुन्छु । तर मेरा प्रत्येक सूत्र असफल भइरहन्छन् । जीवनमा धेरै सूत्र जोडेर सफल जीवन बनाउन सक्षम म तिमीस“ग कुनै एउटा सूत्रमा पनि सफल हुनसकेको छैन । यो मेरो विडम्वना मान्नुपर्छ । त्यसैले म तिमीलाई किन्न खोज्दै छु आफ्ना सम्पूर्ण अवयवहरू खर्च गरेर ।

तर तिमी स्वाभिमानकी धनी छौ । अनि मेरा अनुग्रहहरूलाई सजिलै लत्याइदिन्छौ । तिमी अभावको महासागर तर्नुपर्दा अप्ठ्याराका उकालो चढ्नुपर्दा पनि मेरो अनुग्रहलाई बिनामूल्यको ठान्न पुग्छौ । तिम्रो निश्चल, अटल आत्मविश्वासका अगाडि मेरा सम्पूर्ण कृपादृष्टिहरू सूक्ष्म हुन पुग्छन् ।

म तिमीलाई समाज र समयस“ग किन्न चाहन्छु । तर तिमी आश्रित भएको स्वीकार्न चाहन्नौ । म तिम्रो नैतिक समर्थन चाहन्छु । अनि तिमीबाट सर्वोत्कृष्ट भएको हेर्न चाहन्छु । तिमीलाई मप्रति आश्रति, अनुगृहीत र समर्पित भएको हेर्न चाहन्छु । तर तिमी मेरा चाहना र इच्छाहरूलाई कुठाराघात गरिदिन्छौ । म आफै“ नै तिमीबाट पराजित भइरहेको हुन्छु । तिमीले खुसीसाथ आफूलाई पराजित बनाएर मप्रति समर्पित गरेको म चाहन्न“ । यो मेरा लागि सहानुभूति हुनेछ । त्यसैले म तिम्रो सहानुभूति र अनुग्रहमा बा“च्न पनि चाहन्न । म तिमीलाई आफै“बाट जित्न चाहन्छु ।

प्रत्येक दुइ वस्तुको घर्षणबाट कुनै शक्ति वा पदार्थ पैदा भएझै“ हाम्रा प्रत्येक शीतयुद्धबाट मैले केही न केही अनुभव प्राप्त गर्दै गएको छु । जुन मेरा लागि समुद्र मन्थनपछिको प्राप्त वस्तुझै“ भएका छन् । मैले कहिले कालकूट विषको सेवन गर्नुपर्छ त कहिले अमृतपान पनि गर्नुपर्ने हुन्छ । म ती वस्तुहरूलाई आत्मसात् गर्न बाध्य हुन्छु । त्यसैले म तिमीस“ग न त युद्धविराम गर्न सक्छु न त पराजयको यथार्थ स्वीकार्न सक्छु । म युद्धविराम गरेर तिमीबाट टाढा भाग्न पनि सक्तिन“ किनभने तिमीस“ग युद्धविराम गरें भने मेरो जीवनमा शून्यताको बिराम लाग्न सक्छ । जीवनमा शून्यताको बिराम लाग्यो भने जीवन अचल र उद्देश्यविहीन हुन पुग्छ । त्यसैले जीवनलाई पूर्णता दिन पनि म तिमीस“ग सत्यको युद्ध गरिरहेको छु । म आफ्नो सम्पूर्ण कला, सीप र बौद्धिकता खर्चेर तिमीलाई तिमीबाट प्राप्त गर्न चाहन्छु । तिमीलाई हराउन चाहन्छु । तर खै, कसरी, कहिले र कहा“ तिमी मबाट पराजित हुन्छौ म भन्न सक्दिन, ओ Û अपराजिता ÛÛ

तिमी असहाय, गरिबहरूको लागि कसरी तर्क गर्र्छौ , जसलाई खण्डन गर्न मेरो सामर्थ्यले कहिल्यै भ्याउदैन । मेरो सामन्तवादी सोचले गरिब, निमुखाको विषयमा सोच्ने शक्ति खर्च गर्न नै सकेन । तर तिमीले मेरो सोच र धारणामा नयाँ परिवर्तन ल्याइदिएका छौ । त्यो लेउ लागेको परम्परागत संस्कारलाई माझिदिएका छौ । समय परिवर्तन सँगै मान्छे आफूले आफैंलाई परिष्कार गर्दै लानु पर्दछ । तर मैले आफूलाई त्यो सोचमा कहिल्यै ढाल्न सकिन“ । म यही समाजमा पुरुषत्वको हुङ्कार र्छर्दै हुर्कें । मैले जीवनको त्यो अँध्यारो पाटो देख्दै देखेको रहेनछु । जहाँ निमुखा, असहाय र पीडितका आकृति सल्बलाइ रहेका हुन्छन् । मैले आफ्नै विचारहरूलाई सर्वोत्कृष्ट माने“, आफैंलाई सम्पूर्ण माने“ । तर म यो सोचबाट बाहिर जान पनि सक्दिन । ओ अपराजिता !

डायरीका यी हरफहरू म उसलाई देखाउन चाहन्छु । म चाहन्छु उसले मलाई पढोस् र नया“ बाटो देखाओस् अनि यो युद्घले सधै“को लागि विराम लेओस् । तर म सधै“ असफल हुन्छु । ऊ र म दुइ धारमा बगेका प्राणी हौ“ । तर समयले उसलाई र मलाई यसरी भेट गराइदियो । शायद समय पनिर् इर्ष्या गर्दो हो हाम्रो मनोयुद्घ देखेर । मेरो कम्पनीमा इटरभ्यू दिन आउ“दा नै मैले थाहा पाइसकेको थिए“ ऊ भित्र यति धेरै कुराहरू छन् भन्ने । इटरभ्यूको समयमा नै उसले अप्रत्यक्षरूपले चुनौती दिइसकेकी थिई । त्यसैले पनि उसको स्वाभिमानलाई पराजित पार्न मैले उसलाई नियुक्ति दिनु परेकोथ्यो । तर म उसका प्रत्येक तर्कवितर्कले पराजित हु“दै गए“ । अनि आफूदेखि हार्दै गएँ । हुन त यो समयले दिएको उपहार पनि थियो उसलाई किनभने समाजमा चारैतिर नया“ चेतना , नया“ जागरणको लहर चलेको थियो । कम्पनीका कतिपय काम कारवाहीमा चित्त नबुझदा आवाज उठाउने ऊ नै हुन्थी । बोनस दिने कुरा देखि लिएर युनियन बनाउने कुरासम्ममा ऊ माथि नै हुन्थी । म प्रत्येकपल उसलाई हराउने कोशिशमा लागेको हुन्थें । तर म उसलाई जिते पनि आफूबाट कहिल्यै जित्न सकिन“ । त्यसैले म समयको त्यो प्रतीक्षामा छु । जुन समय म उसलाई यो डायरीका यी शब्दहरू देखाउन सक्षम हुनेछु । शायद म यो प्रयासमा पनि असफल नै हुनेछु । पराजयको समय श्रृङ्खलाले मभित्र एउटा पहाड उभ्याउन सक्छ जुन पहाडमा बसेर म चिच्याउन सक्छु “ओ अपराजिता तिमी कहिलेसम्म पराजयको बादलले मलाई ढाकिरहन्छौ!”

Leave a Reply

Your email address will not be published. Required fields are marked *