Skip to content


युवा तिमी सुन्दर कल्प वृक्ष
प्रतिष्पर्धी को छ तिमी समक्ष
रातो छ तिम्रो मुटु माझ रक्त
छन् पाखुरी सक्षम छौ शसक्त (उपजाति छन्द)

मानिस जब जन्मन्छ, ऊ बाल अवस्थामा हुन्छ । अनि बिस्तारै किशोर अवस्था पार गरेर ऊ युवावस्थामा प्रवेश गर्दछ । १६ वर्ष देखि माथि चालीस वर्षसम्म छदाँको अवश्था (उमेर)लाई युवावस्था भनिन्छ । यो अवस्था मानिसको लागि एउटा महत्वपूर्ण र अति नै उर्वर अवस्था हो । मानालाई के सितन् मुरीलाई के नाम्लो भन्ने हाम्रो बुढा — पाकाहरूको उखान पनि यही अवस्थाको लागि प्रयोग गरिन्छ ।

“दिन पुगेपछि कुमिण्डो पनि फुस्रिन्छ” भन्ने भनाइ अनुसार युवावस्थामा नराम्रो मान्छे पनि राम्रो र आकर्षक देखिन्छ । उसमा जोश — जाँगर, उमङ्ग र उत्साहको वृद्धि हुँदै जान्छ । मिठा खाने कुरा खाने र राम्रो बस्त्र धारण गर्ने तलतल पनि युवावस्थासँगै विकास हुन्छ । किशोरावस्थाको र बालावस्थाको असर पनि युवावस्थामा पर्दछ । त्यसोत बालक अवस्था देखि नै जीवनलाई सही मार्ग निर्देश गर्नुपर्दछ । यसरी हेर्दा यो अवस्थालाई कुमालेको भाँडा बनाउने माटोसँग पनि तुलना गर्न सकिन्छ । कुमालेले आफ्ना माटाका भाँडाहरूमा दिएको आकार र बुट्टलाई फेरि फोरेर अर्को आकार दिन सक्दैन । त्यसरी नै किशोर अवस्थादेखि लागेको लतलाई परिवर्तन गर्न सकिदैन । त्यसैले किशोर अवस्थामा जे जस्तो बानीको विकास भयो त्यही बानी युवावस्थामा रहन्छ । राम्रो र अनुकरणीय स्वभावको निर्माणमा अभिभावकहरूको महत्वपूर्ण भूमिका हुन्छ । उचित शिक्षा — दीक्षाको अनुकरण गरी आफूलाई राष्ट्रको एक असल नागरिक बनाउनु युवकहरूको आफ्नै कर्तव्य पनि हुन आउँछ । किशोर जब युवक हुन्छ, ऊ आफैले महसुस गर्नु पर्दछ कि “मैले कसरी यो जीवन रुपि डुङ्गा पार तर्नी हो ?” ऊ आफैबाट यस्तो सोचाइ आउन सकेन भने अरुले मात्र एकोहोरो देखाइदिएको मार्ग उपदेशबाट उसको जीवन सफल हुन सक्दैन । उसले आफ्नो मार्ग आफै तय गर्न सक्नु पर्दछ ।

एउटा मिल्दो उखान पनि छ — “ अरुको बुद्धिले राजा हुनुभन्दा, आफ्नै बुद्धिले जोगी हुन असल ।” यो उखानलाई हामीले यसरी लिनुपर्छ — आफूभन्दा विज्ञको अर्ती उपदेश लिनै हुँदैन भनेको होइन । यदि हामी अरुको भरमा मात्र उभिन खोज्छौ भने अरुबाट खुट्टा छोडिने बित्तिकै हामी पल्टन्छौ । त्येसैले आफ्नो आत्मबल र क्षमताले नै मान्छेलाई टेकाइरहन मद्धत गर्दछ । उचालेको मृगले अ‍ैरी गर्दैन भनेको पनि यस्तै अर्थमा हो । अ‍ैरी भनेको शिकार हो । मान्छे आफैमा आँट, पौरख, उत्साह, निर्मिकता निश्चलता, निडरता, हौसला र परिपक्वता जस्ता गुण हुन आवश्यक हुन्छ । यी सम्पूर्ण कुराहरू भएर पनि युवाहरूमा जोश, जाँगर र पाखुरीमा रातो र तातो रगत मौजुद हुन्छ । यी गुणहरू नभएको युवा बिँड नभएको ताप्के जस्तै हुन्छ । हो युवा शक्ति एक अदभूत शक्ति हो । यो शक्ति सर्वत्र संरक्षण संवर्धन र देश विकासमा प्रयोग हुन सक्छ । यिनीहरूले कुन परिस्थितिमा के दिन सक्दैनन् । स्वच्छ मष्तिष्क, तातो रगत, स्वच्छ विचार, पौरखी पाखुरा र ममताको भण्डार हुने अवस्थानै यही हो ।

जो कोहीले पनि कसैबाट केही उपलब्धी हासिल गर्नुछ भने उसलाई केही दिन पनि सक्नुपर्छ । एकोहोरो त रोटी पनि पाक्दैन । हामीले केवल युवाहरूको मात्र मुख ताकेर पनि केही हुँदैन । युवाहरूलाई आवश्यक खुराक पनि त समाज र राष्ट्रले दिन सक्नु पर्यो । उनीहरूलाई दक्ष र निर्भर हुन सक्ने वातावरण पनि त सिर्जना गरिदिनु पर्यो । यदि राष्ट्रले युवाहरूको लागि उनीहरूलाई आवश्यक सहयोग र सल्लाह दिन सकेन भने युवाहरूसँग भएको मोती बराबर मूल्यमा पनि किन्न नपाइने प्रतिभा र सामर्थ्यलाई हामीले खेरैगएको अवस्था देख्न नपर्ला भन्न सकिदैन । यसको लागि सरकारले योग्यताअनुसार कार्य गर्न पाउँने रोजगारीको व्यवस्था गर्नुको साथै उनीहरूले ज्ञान आर्जन र मनो — रञ्जन प्राप्त गर्न सक्ने खेल मैदान, वाचनालय, पुस्तकालय जस्ता सस्थाहरूको पनि जो हो गरिदिनु आवश्यक हुन्छ ।

मात्र शिक्षणसंस्थाहरूको वग्रेल्ती स्थापना गरेर सरकारको जिम्मेवारी पूरा हुन सक्दैन । उचित शिक्षा आर्जन गरेर निस्केका दक्ष युवाहरूको रोजगारीको जिम्मा पनि सरकारले लिनु पर्दछ । घर जग्गा बेचेर शिक्षा आर्जन गरी दक्ष बनेका युवाहरूलाई रोजगारीको व्यवस्था गर्न नसक्नु सरकारको नामर्दपन र युवा र जनता प्रतिको जधन्य घात बाहेक के हुन सक्छ ? अनि आफ्नो राष्ट्रको अमूल्य प्रतिभा विदेशतिर पलायन भएको दुःखद अवस्था टुलु—टुलु हेर्नु बाहेक के हुन सक्छ ? यो अवस्था हाम्रो देशमा गुज्रिरहेको छ । बृद्ध आमा — बुवाको मायाँ श्रीमतीको प्रेमिल अवस्था, छोरा— छोरीको स्नेहिलो सम्झना र साथीभाइ — इष्टमित्र आफन्तजनहरूको उर्वर संगतलाई छातीभरी लुकाएर खाडी मुलुकमा रापिलो जीवन जिउन वाध्य छन् हाम्रा युवाहरू । युवाहरू मात्र होइन युवतीहरूको पनि त्यस्तै अवस्था छ ।

मानिसलाई परतन्त्र भएर बाँच्नु जस्तो दुःखको कुरा अरु केही हुन सक्दैन । अर्काको देशमा गएर विदेशीको इसारामा नाच्दै दुई— चार हजार रेमिटयान्स गोजीमा हाल्दैमा हाम्रा युवायुवतीहरूको छाती भित्र रहेको आफ्नो देशप्रतिको राष्ट्रप्रेम र आफन्त जनप्रतिको प्रेमिल भावना सन्तोषजनक अवस्थामा थन्किएको छ जस्तो मलाई लाग्दैन । कति युवायुवतीहरू दुःखपाएर बीच बाटोबाट फर्कनु परेको अवश्था छ भने कतिले ज्यानै गुमाएका छन् । कति ज्यानको वाजी लागाएर बसिरहेका छन् । ऋण खोजेर विदेश जान्छन त्याहाँबाट केही कमाएर ल्याएको पैसाले फेरि फर्कदा हाम्रा युवकहरूको खल्ती रित्तिन्छ । फेरि उनीहरू ऋण माग्न बाध्य हुन्छन् । यसरी हेर्दा देशलाई मात्र घाटा भएको होइन परिवार र युवाहरू आफैलाई पनि दुःख र नोक्सान व्यहोर्नु परेको स्थिति छ ।

पढेलेखेका युवतीहरू गाउँमा घर गरी खान सक्दैनन् । छोराछोरी जन्मन्छन्, तिनीहरूलाई पाल्न र पढाउन त पर्ने नै हुन्छ । त्यसरी पनि युवाहरूले आफ्ना श्रीमती र सन्तानलाई शहरमा डेरा खोजेर राखेका छन् । आफू युवाहरू धन आर्जन गर्न विदेश जान्छन् । यता श्रीमातीले श्रीमानले दुःख गरेर पठाएको धनको दुरुपयोग गरी आफू समेत अर्को युवकसित सुइँकुच्चा ठोकेका घटना सुन्दा कान घाटिइसकेको अवस्था पनि छ ।

त्यसो त पुस्षहरूले स्वदेशमा छोरा—छोरी हेरेर — पालेर बस्ने श्रीमती विदेशमा धन आर्जन गर्न गएका पनि लगभग तीस प्रतिशत महिलाहरू छन् । ती महिला पनि कर्तव्यनिष्ठ रहेको सुनिदैन र देखिएन । विदेशीहरूसँग चोचोमोचो मिलाएर आफ्ना छोरा — छोरी र लोग्नेलाई गुमराहमा पारेका महिलाहरू हातमा गनेर सकिन्नन् । एकातीर परिवारको विचल्ली अर्को तर्फ दुःख गरेर आर्जेको अर्थको बेटुङ्गो । यतिले कहाँ पुगेको छ र, कति युवाहरू बेरोजगारीको कारण कुलतमा फसेका देखिन्छन् । काम गर्न पाए पो समयको सदुपयोग हुन्छ । “ खालि दिमाग सैतानको घर ” भने झै बेरोजगार मान्छेको मनस्थिति खराब हुन सक्छ । अनि ऊ रक्सीखाने, रण्डीवाजी गर्ने तास — जुवा खेल्ने, स्म्याक, गाँजा र चरस जस्ता लागु पदार्थको सेवनमा फस्न सक्छ । हाम्रा कति धेरै युवाहरूलाई यस्तो दुव्र्यसनले शिकार बनाएको छ । यस्तो विकृतिजन्य अवस्थाले हाम्रो देशलाई पछयाइरहेको छ । यी सबै कुराहरू हुनुको पछाडिरहेको एउटा महत्वपूर्ण कारण हो वर्तमान अवस्थामा हाम्रो देशमा हावी भएको बेरोगार स्थिति ।

जबसम्म बेरोजगार अवस्थको निराकरण हुन सक्दैन तबसम्म देशमा विकास हुन्छ भन्ने कुरा कल्पनासम्म पनि गर्न गाह्रो छ । आज हाम्रो देशका हरेक गाउँहरू युवाहरूको अनुपस्थितिले गर्दा शून्य — शून्य छन् । बृद्ध आमा — बुवाले घुमाउने घरका दलानमा टुक्रुक्क दयालाग्दो गरी बसेर हेरिरहेको दृश्यले हरेक मानव हृदय दुःखले पग्लन्छ । यो दृश्य हेर्न पहाडी श्रेत्र तर्फ नजर घुमाउनु पर्दछ । हाम्रो देशको यो अवश्था अँझै दुई—चार वर्षसम्म रहिरह्यो भने हामी को कहाँ जाँन्छौ या हुन्छौ भन्नै गाह्रो छ । यसकारण यो देश बचाउन हाम्रो आफ्नै एउटा मूख्य साधन र श्रोत, जुन पलायन भएको हाम्रो युवाशक्ति हो, त्यसलाई आफ्नो देशमा प्रत्यागमन गर्ने वातावरण गराउँनु पर्दछ । यसो हुनको लागि निम्न लिखित कुराहरूको जो हो गरिनु आवश्यक छ :-
१) देशका प्रत्येक अञ्चल र क्षेत्रमा कलकारखानाहरूको स्थापना।
२) युवा—युवतीलाई विदेश पठाउने पासपोर्ट रोक्का ।
३) वर्षै पिच्छे चुनाव गराएर फजुल खर्च गरी देशलाई कंगाल बनाउने परिपाटी हटाउन छिट्टै सविधान लेखेर चुनाव गरी स्थायी सरकारको गठन । अन्त्यमा युवाशक्तिलाई एक श्लोक कविता:-

युवा तिमी फर्कन है सखारै
तिमी बिना राष्ट्र छ शून्य साह्रै
रम्ने छ माटो पदले त छोऊ
“आमा म साथै छु” भनी बुझाऊ (उपजाति छन्द)

हवस् त धन्यवाद १

कृष्णादेवी शर्मा (श्रेष्ठ)
देवचुली—१५ प्रगतिनगर,नवलपरासी
अध्यक्ष—विक्ष्व नारी नेपाली साहित्य सम्मेलन
लुम्बिनी अञ्चल

Leave a Reply

Your email address will not be published. Required fields are marked *