दाइको बैठकमा तास जमिरहेको छ । रातो, सेतो, कालो र खैरो रङ्गका सन्तुलित बुट्टाहरू केन्द्रबाट चारै कोणसम्म समान पाराले छरिएको ठूलो नेपाली गलैंचाको वरिपरि सेता मुजादार झल्लर भएका खोल हालेका चकटीहरू माथि कोही उपरखुट्टी लगाएर, कोही पलेंटी मारेर, कोही यौटा घुँडा उचालेर हातमा जापानी पंखा जस्तो गरेर तास फिंजाएर एकोहोरिएका छन् सवै जना त्यसमै । बीचबीचमा भष्मदानीहरू धुवाउँदै छन्, ठुटाहरू भाँचिएर वा बाङ्गिएर खरानीको ढिस्कोमा छरिएका छन् । चियाका कपहरू र नास्ताका रिकापीहरू छरिएका छन् । दक्षिणका दुइवटा र पश्चिमको यौटा झयालबाट छिरेको प्रकाशले उत्तरको भित्तामा सजाएको काठको दराजको सिसाभित्र भएका पुतली र झिलिमिली राम्ररी देख्न गार्हो छ । दाज्यू, भाउज्यू र दुइजना फुच्चाफुच्चीहरू गम्भीर मुद्रामा औपचारिक पोशाक लगाएर स्टुडियोको पर्दा अगाडि आ-आफ्नो व्यक्तित्वको पहिचान दिएर बसेको फोटो मुन्तिर गद्दादार ठूलो हातभएको सोफा सेट गमक्क बसेको छ । अर्को भित्तामा दाज्यू गो.द.बा. बाट पुरस्कृत हुँदै गरेको फोटो मुन्तिर अर्को सोफा सेट सुहाएको छ । केही विदेशीका कोशेलीहरू पनि कोठाका विभिन्न ठाउँमा सजिएका छन् । काला सिसाटप भएका कलात्मक खुट्टे टि-टेबुलहरू ठूलो बैठकमा कसैको बाटो नछेकी बसेका छन् र भित्ताका कुना सजाउन राखिएका ठूला गमलाका बैठक-बिरुवा र नवैलाउने फूलहरूले प्रकृती प्रेमको संकेत गरिरहेका छन् ।

दुइटै आमाहरूको फोटो बाको कोठामा टाँगेको छ । बा पचास नपुग्दै जेठी आमा खस्नु भएको थियो रे । बाको कोठाबाट बराबर खोकेको आवाज आउँछ । “ऊँ, ऊँ” गरेको आवाज आउँछ । म दाइको छेऊमा बसेर हेर्दैछु । उहाँले जिते पिछे भित्र गएर बालाई खुसीको खबर सुनाउन चाहन्छु । तर मलाई दाइले र भाउज्यूले बाकहाँ गइरहनु हुन्न भन्नुभएको छ । बा एक्लै सुतिरहनु हुन्छ । उहाँलाई ज्वरो आएको छ रे । छातीमा चिसो लागेको छ रे । मलाई त ज्वरो आए एक्लै बस्नै सक्दिन । डर लाग्छ । बाजस्तो भएपछि डर नलाग्दो हो । आमा हुँदा कति माया गरेर घरको काम गर्दा गर्दै पनि कहिले दूधबिस्कुट, कहिले पाउरोटी, कहिले तातो पानी लिएर आउनु हुन्थ्यो । निधार छाम्नु हुन्थ्यो । सिरक खस्यो भनेर मिलाइ दिनु हुन्थ्यो । अनि दाज्यूहरूलाई, “ए, भाईलाई सन्चो छैन । एकैछिन् यहीँ बसिदे । के चाहिन्छ हेरिदे ।” भन्दै काममा लाग्नु हुन्थ्यो । बा पनि माया गरेर मेरो कपाल मुसार्दै कस्तो छ भनेर सोध्नु हुन्थ्यो । हुन त भाउज्यू पनि माया गर्नु हुन्छ; तर आमाले जस्तो हैन ।

आमा डेढ वर्षअगाडि बस पल्टेर त्रिशुलीमा डुब्नु भए पछि बालाई कहिल्यै पनि सन्चो भएन । बराबर बिरामी भइरहनु हुन्छ । दाइले डाक्टर सुबोधलाई घरमा बिरामी हेर्न आए बापत राम्ररी पैसा दिने गरेकोले डाक्टरसाब बोलाए पछि फुर्सद निकालेर भए पनि आइदिने गर्नु हुन्छ । कहिले कहीं त बासित बसेर केही बेर गफ पनि गर्नु हुन्छ । तर बा भने बिरामीको बिरामी । एक दिन भाउज्यूले भन्नु पनि भयो, “औषधिमै कत्ति पैसा लागिसक्यो, कहिले ठीक हुने हैन ।” दाइ बोल्नु भएन । हिजो राती पनि बालाई धेरै सन्चो भएनछ । दाइभाउज्यू रातीसम्म सुत्न पाउनु भएनछ । त्यसैले बिहानै दाइले डाक्टर सुबोधलाई फोन गर्नु भएको थियो । त्यसै बेला पारेर म बाकहाँ छिरें । उहाँ पलङ्ग मुन्तिरको बाटामा ढल्किएर र्‍याले खकार थुक्दै हुनुहुन्थ्यो । मलाई देखेर उहाँको चाउरी परेको, ताछेको, दार्‍हीले अँध्यारो पारेको र रोगले सुस्ताएको अनुहारबाट घामको किरणझैं यौटा मुस्कान निस्कियो । त्यो मेरो निम्ति सँधैको आशीर्वाद हो । जवसम्म बा हाँस्नु हुन्छ, तवसम्म मलाई केहीको पीर छैन ।

ओछ्यानको डिल निर्बल हत्केलाले हिर्काउँदै बाले भन्नु भयो, “आइज आलोक, बस् ।”

म गएर बाको छेऊमा बसें र सोधें, “कस्तो छ बालाई ?” उहाँले आफ्ना खस्रा हातले मेरो हात समात्नु भयो । अनि अर्को हातले मेरो हातको पछाडि सुम्सुमाउनु भयो । उहाँले बोल्न पाउनु अगाडि नै ढोकाभित्र पस्दापस्दै दाइले जवाफ दिनु भयो, “ठीक छ । जा तँ एक बट्टा चुरोट किनेर ले ।” अनि उहाँका आँखाले मलाई इशारा गर्दै सावधान गराए, “तँलाई बाकहाँ गइरहनु हुन्न भनेको होइन?”

म निस्किएँ । दाइ पनि बासँग कुरै नगरी तुरुन्तै निस्किनु भयो ।

एक दिन दाइ भाउज्यूको कुरा सुन्न पुगेको थिएँ । भाउज्यू दाइलाई भन्दै हुनुहुन्थ्यो, “हाम्रो मात्रै जीवन छैन र? बुढेस्काल सवैले सहनु पर्छ । जुन बेला पनि उहाँको नजिक बसेर गन्गन सुन्न को सक्छ < पुल्पुल्याउनु पनि हुँदैन है बुढाबुढीलाई ।" मलाई "ए !" जस्तो लाग्यो । बुढाबुढी पनि पुल्पुलिन्छन् भन्ने थाहा थिएन । बाकहाँ जान मन लाग्थ्यो, तर म पनि दाइभाउज्यूहरू जस्तै संयम लिएर बस्थें । बाको कोठाबाट आज धेरै "ऊ ऊ" आइरहेको छ । बाहिर तास खेल्न बसेकाहरू पनि बराबर बाको कोठातिर हेरिरहेछन् । तर कसैले पनि यस बारेमा केही भनेका छैनन् । यसै बेला मूल ढोकाको घण्टी बज्छ । दाइ दानेलाई अराउनु हुन्छ, "ए दाने! हेर त को आको !" दाने तल जान्छ । भर्‍याङ्गमा दुइजना उक्लिएको चाल पाउँछु । डाक्टर सुबोध आफ्नो कलेजी ब्याग हातमा झुण्डयाएर बैठकमा आउनु हुन्छ । यसै बेला तिघ्रा ठटाउँदै उत्साहपूर्ण आवाजमा दाइ कराउनु हुन्छ, "खायो Û" अनि सवैलाई आफ्नो हातको तास देखाउँदै खालमा भएको पैसा आफूतिर तान्नु हुन्छ । म पनि दङ्ग पर्दछु । "बिरामी कता हो <" डाक्टर सुबोधलाई थाहा भए पनि सभ्य आचरणको सिक्रीमा बाँधिएर सोध्नु हुन्छ । सवै जना आ-आफ्ना हर्ष विस्मातमा तिखारिएको बेला भएकोले कसैले सुन्दैन । डाक्टर सुबोध फेरि प्रश्न गर्नुहुन्छ, "बिरामी कता हो ?" मलाई दाइ भन्नु हुन्छ, "जा त डाक्टर सुबोधलाई बाको कोठामा लगिदे ।" म र डाक्टर सुबोध बाको कोठामा जान्छौं । बा बेस्कनसँग खोकीरहनु भएको छ । उहाँ बोल्न सक्नु हुन्न । खोकीको बीचबीचमा डाक्टर उहाँको छाती र ढाड सुन्नु हुन्छ । रक्तचाप हेर्नु हुन्छ । आँखाको डिल तानेर हेर्नु हुन्छ । नाडी छाम्नु हुन्छ । अनि स्टुलमा राखेको औषधिको सिसी र ट्याबलेटहरू निरीक्षण गर्दै बालाई सोध्नु हुन्छ, "आज कस्तो छ तपाईंलाई <" खोकीको बीचमा बा "ऊ“, ऊ“" गर्नु हुन्छ र "ऊ“, ऊ“" को बीचमा बताउनु हुन्छ, "मलाई ठीक छ ठीक छ अब छिटै निको हुन्छ ।" बालाई अब छिटै निको हुन्छ भन्ने सुनेर म दङ्ग पर्छु सुबोध डाक्टर भन्नु हुन्छ, "हो, निको हुन्छ । हडबडाउनु हुँदैन ।" बाहिर खालको हल्ला चर्किंन्छ । सफा सेता खोल हालेका चकटीहरूमाथि कोही उपर खुट्टी लगाएर, कोही पलेंटी मारेर, कोही दुवै घुँडा हल्लाएर हाँसीहाँसी विजयको उँचाईमा रमाइरहेका छन् । त्यसको केन्द्रमा तासको पहाड छ । खालमा हालेको पैसाको रास छ । बाको कोठाबाट निस्किनु भएका डाक्टर सुबोध दाइको ध्यान आकर्षण गर्न एकैछिन अवाक उभिनु हुन्छ । उहाँका आँखामा झल्केको भाव बुझन नसकेर म खल्बल्लिन्छु । आज गम्भीर मुद्रामा हुनुहुन्छ सुबोध डाक्टरसाब । उहाँको मुन्टो दुइ पटक हल्लिन्छ दायाँ बायाँ । अनि दाइलाई सोध्नु हुन्छ, "बिरामीलाई औषधि राम्ररी ख्वाउनु भएको छ?" दाइ सोध्नु हुन्छ, "ए दाने! कता छस् ह“ - ए दाने, तैंले बालाई औषधि टाइमटाइममा ख्वाइराखेको छस् हैन त?" "छ ।" दानेको एकाक्षरी जवाफ आउँछ । दाइले सुबोध डाक्टरलाई सूचित गर्नु हुन्छ, "छ रे । कस्तो छ बालाई - छिटै निको पार्न पर्‍यो ।" "तपाईं बिरामीलाई अस्पताल भर्ना गर्नुस् । वहीं हेरौंला ।" यति भनेर सुबोध डाक्टर कोठाबाट निस्किनु हुन्छ । एकैछिन पछि हारेको तास गलैंचामा राख्दै दाइ दानेलाई बोलाउनु हुन्छ । "ए दाने, जा, जा! दौडी! डाक्टरलाई फी दिन बिर्सिएछ । रिसाएर नआउला फेरि अर्को पटक ।" भित्र कोठाबाट खोकीको बीच-बीचमा "ऊ“, ऊ“" गरेको आवाज आइरहन्छ । म भित्र पस्छु । बा पलङ्गमा कुइनाले टेकेर आफूलाई आधा उचालेर खोक्दै हुनुहुन्छ । उहाँको अनुहार रातो छ । मलाई देखेर उहाँ मुस्काउन पनि सक्नु भएको छैन । रसिला आँखाले मलाई टुलुटुलु हेरिरहनु भएको छ । म उहाँको नजिक गएर सोध्छु, "बालाई कस्तो छ ?" उहाँ खोकिरहनु हुन्छ । मेरा औंलाहरू आफैं उहाँको कपालमा घुस्छन् र घुम्छन्, छामछाम छुमछुम गर्छन्, कतै आमालाई फेला पार्छुकी भनेर । कार्त्तिक ८, २०६२

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *