नन्दलाल आचार्य
राजविराज, ७ भदौ, २०७१ ।
सगरमाथा साहित्य परिषद्ले साहित्यिक कार्यक्रमको आयोजना गरी राजविराजमा आज १४९औं मोती जयन्ती मनाएको छ ।
परिषद्का संयोजक मनोहर कुमारको अध्यक्षता तथा पूर्व अध्यक्ष अनिल अनलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष वैद्यनाथ झा, मन्जु श्रेष्ठ, नन्दलाल आचार्य, सागरविर कडारी, श्यामसुन्दर यादव, श्यामपृत मण्डलगायतले मोतीराम भट्टको स्मरण गर्दै आ–आफ्नो रचना वाचन गरेका थिए ।
इमेलमार्फत प्राप्त निशा अर्याल र मेघराज पौडेलको मोतीरामप्रति समर्पित ‘मेटिदैछन् पूर्वजका पदचिन्हरु’ र ‘वेथिति’ शीर्षकका कविताहरु अध्यक्ष स्वयंले वाचन गरी सुनाएका थिए ।
वक्ताहरुले मोतीराम नभए भानुभक्त प्रकाशमा नआउने र उनका सिर्जनाले सार्वजनिक हुने मौका नपाउने बताउँदै माध्यमिककालिन नेपाली साहित्यको रथ हाँक्ने साहित्यिक योद्धाका रुपमा मोतीरामको स्मरण गरेका थिए ।
साहित्यको विकास द्रुतत्तर गतिमा हुने हो भने समाजले चाँडो प्रगति गर्ने बताउँदै सहभागीहरुले साहित्यको विकासमा स्थानीय स्तरले जुटनु पर्ने आवश्यक्ता औंल्याएका थिए ।
तीन दर्जन साहित्यअनुरागी सहभागी कार्यक्रमो सञ्चालन परिषद्का सदस्य खिलानाथ गौतमले गरेका थिए ।
नेपाली साहित्यको ऐतिहासिक महापुरुष मोतीराम भट्टको जन्म १९२३ साल भदौ २५ गते शनिबार कृष्ण कुशे औसीका दिन काठमाडौंको भोसिको टोलमा भएको थियो । मोतीरामको वंशचाहिं कुमाउगढबाट आएको थियो । उनी पण्डित दयाराम भट्ट र रिपुमदिर्नीदेवी भट्टका माइला सुपुत्रका रुपमा जन्मेका थिए ।
मोतीराम भट्टले नेपाली साहित्याकाशमा सक्रिय भई जम्मा पन्द्रह वर्षजति सेवा गरे । त्यस अवधिमा उनले झन्डै पच्चीसवटा जति साहित्यिक कृति लेखे, सम्पादन गरे ।
मोतीरामले युवाअवस्थामा आफ्नो सारा भावना, जाँगर र सक्रियता अर्पे र नेपाली साहित्यको विकासमा अतुलनीय, अविस्मरणीय र अकल्पनीय सृजनात्मक र सड्गठनात्मक साहित्यिक कार्यहरु गरेका थिए । उनले गरेका समस्त कार्यहरुको मूल्याङ्कन गर्दा उनको व्यक्तित्वलाई जीवनीकार, समालोचक तथा अन्वेषक, कवि, गजलकार तथा गायक, समस्यापूर्तिकार तथा सङगठनकर्ता, नाटककार तथा निर्देशक एवं सम्पादक, छापाखाना र पत्रिकाका प्रबन्धक तथा पुस्तकालयका निर्माताका रुपमा वर्गीकरण गर्न सकिन्छ ।
बहुमुखी प्रतिभाका धनी मोतीराम राष्ट्रभाषा नेपालीका पहिलो उत्थापक थिए । मोतीरामको सृजना, गोडमेल र जलमलका कारणले नेपाली भाषाले आजको स्थिति ओगटेको हो । उनको यो मुलुकप्रति अत्यन्तै ठूलो सद्भावना थियो । उनी कट्टर राष्ट्रवादी थिए ।

