कस्तो मेरो भाग्य भन्दै फर्किएर गयो उता
भयो अब नबोलाऊ झर्किएर गयो उता
डराउँछ उभिन नि जून टिप्छु भन्छ फेरि
पोल्यो अरे शीतले अनि तर्किएर गयो उता
भन्थ्यो सधैं रम्छु म त फूल होस या काँढासँग
छिन्यो जरा सुक्यो बोट मर्किएर गयो उता
सिकाउँथ्यो सबैलाई हास्नुपर्छ जीवन यो
आँखाबाट अँश्रुधारा दर्किएर गयो उता
माग्थ्यो वर देवसँग मल्हम बनुँ पीडाको म
समयले नूनचुक छर्किएर गयो उता
सृजना न्यौपाने
दमक, झापा
हाल- मिनेसोटा, अमेरिका
