Skip to content


‘आफ्नै झ्याइँकुटी’ हास्यव्यंग्यकार माणिक रत्न शाक्यको हास्यप्रधान निबन्धको संग्रह हो। २९ वटा छोटा मीठा निबन्धहरू संग्रृहीत यो किताब रत्न पुस्तक भण्डारले बजारमा ल्याएको हो।

तुलनात्मक रूपमा हास्यव्यंग्यात्मक कृतिहरू थोरै आउने नेपाली साहित्यमा आएकाहरूमा अर्काको उछितो काढेको निकै भेटिन्छ। तर यो कृति उक्त संस्कारभन्दा अलि भिन्‍न छ। यो लेखकको आफ्नै उटुङ्ग्याइँ हो।

उनकै दैनन्दिनीमा घटेका सामान्य घटनाहरूको रोचक प्रस्तुति हो। उनी आफैंलाई कुराले नंग्याउन पनि पछि पर्दैनन्, त्यतिमात्र होइन इँजारको सुर्काउनी खुस्किँदासमेत कट्टु तान्दै दगुरिरहेझै लाग्छ। उनी कुरा लुकाउँदैनन्।

हास्यव्यंग्य शब्द दुई शब्दहरू मिलेर बनेको हुन्छ, हास्य र व्यंग्य। हास्य मनोरञ्‍जनसँग सम्बन्धित छ भने व्यंग्य सांकेतिक हुन्छ। अभिधार लक्षणाभन्दा भिन्न हुन्छ, व्यञ्जनाद्वारा अर्थ बुझिन्छ। कोही हास्यप्रधान रचनाहरू लेख्छन् त कोही व्यंग्यप्रधान।

दुवैमा सँगै कलम चलाउने कमैमात्र भेटिन्छन्। प्रस्तुत किताबमा हास्य बढी र व्यंग्य कम प्रयोग गरिएको छ। हाँसो, ठट्टा अनि मनोरञ्जन दिलाउने बग्रेल्ती सामानहरू पाउन सकिने आधुनिक सञ्चारको जमानामा समेत यो किताब सान्दर्भिक छ, पढे हुने खालको छ।

बैंकिङ क्षेत्रका जागिरे भएर पनि हास्यव्यंग्य क्षेत्रमा लामो समयदेखि समर्पित उनको यो पहिलो कृति हो। उनी मसिना कुराहरूलाई उछाल्न सक्छन्, हँसाउन सक्छन्। तीललाई पहाड बनाउन पनि पछि पर्दैनन्। आफ्नै अड्‌डा, घरपरिवार, यात्रा, आदिलाई आफ्नो विषयवस्तु बनाएका छन्।

किताबले पाठकलाई आफ्नै घटनाहरूको समेत याद दिलाउँछ। कतिपय त पाठकसँग मिल्दाजुल्दा नै हुन्छन्। यहाँ प्रस्तुत प्राय: सबैजसो लेखहरू पेट मिचिमिची हँसाउने खालका नै छन्। एकै बसाइमा किताब पढिसकिन्छ। ठसठसी कनिरहनु पर्दैन।

विवाहको विषयमा लेखिएको ‘१५ वटी’ शीर्षकको लेखले ज्यादै हँसाउँछ। यसले उमेर पुगेका सबै पाठकलाई कहीँ कतैबाट छुन्छ, छुन्छ। उनले लगनगाँठो जुर्नुभन्दा पहिला केटी हेर्ने, जाँच्ने, परीक्षा लिने, पास (फेल छुट्टयाउने क्रममा १५ वटी हेर्नु परेछ।

धेरैले त उनैलाई थाहै नपाइकन जाँचेछन्। कोही जेठी भएर, कोही धेरै पढेकी भएर, कोही उनको खुइले तालु देखेपछि तर्सिएर, अनि कोही आफन्तले भड्काइदिएर त कोही एकोहोरोमात्रै पिरतीमा मक्ख परेर कुरा नमिलेका प्रसंगहरू ज्यादै मर्मस्पर्शी छन्, अनि मनोरञ्‍जनात्मक छन्।

‘फुकाल्दा फुकाल्दा’ शीर्षकको लेख अझ हास्यास्पद छ। शरीरमा लगाएको लुगाको राजस्व नलाग्ने भएपछि उनलाई पनि एकजना व्यापारीले बैंकक लगेछन्। सिकुटे जीउ भएका उनलाई २५ देखि ३५ नम्बरसम्मका १० वटा पाइन्टहरू लगाई दिएछन्।

उनी आफैं लेख्छन् ‘पिसाब फेर्न नपाएर साह्रै गाह्रो भइरहेको थियो अर्को पल्ट पनि फेरि ट्वाइलेटभित्र पसेँ, फेरि तारतम्य मिलेन। म पिसाबको चाप र लुगाको तापले भित्रभित्रै पग्लिँदै थिएँ। … त्यसपछि म भुइँमा लम्पसार परेर सुतेँ अर्को साथीले पाइन्टको टाँक र चेन खोलेर खुटृातिरबाट जोड लगाएर तानेर निकाल्यो। एकएक गरेर सबै पाइन्ट त्यसै गरी निकाल्नुपर्ने। ए त्यो त होइन वित्यास पर्ला म कराएँ। साथीले पाइन्ट खोल्दाखोल्दै मेरो आफ्नै र अन्तिम पाइन्ट पनि पो तान्न लागेछ।’

ससुराली जाँदा शीर्षकको लेख उस्तै रमाइलो छ। लेखक र उनका साढुभाइ निथ्रुक्‍कै भिजेर ससुराली पुग्छन्। छोरो मान्छे कोही नभएको ससुरालीमा फेर्ने लुगा हुँदैनन्। उनीहरू लुगा खोलेर सिरकभित्र पस्छन्।

माइत जाने हतारोले आफ्ना लोग्नेहरूलाई छाडेर अघि नै माइत पुगेका श्रीमतीहरूले ओछ्यानमै खानेकुरा लगिदिन्छन्, कपडा धोइदिन्छन् अनि भोलिपल्ट कपडा सुकेपछिमात्र उनीहरू सासूसँग दर्शन भेट गर्छन्।

यसरी सामान्यभन्दा सामान्य विषयलाई लेखेर हँसाउन सक्नु लेखकको खुबी नै मान्नुपर्छ। उनी पाठकलाई मनोरञ्जन प्रदान गर्ने आफ्नो उद्देश्यसँग सफल नै छन्।

किताबको अग्रभागमै राखिएको प्रा.मोहनराज शर्माको हास्यव्यंग्य र आफ्नै झ्याइँकुटीनामक लेख ज्यादै महत्त्वपूर्ण छ। यो अनुसन्धानात्मक लेख यससम्बन्धी चासो राख्ने धेरैलाई पठनीय बन्नेछ। किताबको ओझ यो लेखले पनि बढाएको हो।

किताबको भाषा सरल छ। मात्राहरूमा तलमाथि भएको कतै, कतै भेटिन्छ। निबन्धैपिच्छे राजेश मानन्धरले बनाएका चित्रहरू आफैं बोलेका छन्। कतैकतै शीर्षक र विषयवस्तुमा तादात्म्य मिल्दैन। यसले पाठकलाई अल्मल्याउने काममात्रै गर्छ।

एकै शीर्षकमा धेरै विषयवस्तुहरू समेट्न खोज्नु पनि उनको कमजोरी हो। किताबको अन्त्यतिरका २३ वटा पेजहरूमा ‘कसले के भने’ शीर्षकअन्तर्गत १८ जना नाम चलेका र नचलेका व्यक्तिहरूले किताबको सन्दर्भमा के भने भनेर राखिएको छ।

कति त फोनबाटै टिपिएका पनि होलान्? यसरी भन्ने जतिको राख्ने हो भने शेक्सपियरको हेमलेट, कालीदासको शाकुन्तल त्यस्तै लक्ष्मीप्रसादको मुनामदन ‘क्रेन’ लगाएर उचाल्नुपर्ने हुन्थे होला ? अरू जे जे भए पनि यो किताब आत्मसंस्मरणात्मक अर्थात् स्वकेन्द्री व्यंग्यहरूको संग्रह हो। जुन कमैले मात्र लेख्छन्।

अन्नपूर्ण पोस्ट
२०७१ भदौ, ७ शनिबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *