Skip to content


महोदय !
तिमीले सुँघ्दैमा मेरो बासना रित्तिन्न
तिमीले छुदैंमा मेरो सौन्दर्य मर्दैन
तिमीले चोर्दैमा मेरो मुस्कान चोरिन्न
मन्दिरमा जो–जो जान्छन्
मलाई होइन, मेरो लाश लैजान्छन्
र भगवान् सम्झेर चढाउँछन् जब ढुंगालाई
म उम्रेको माटो मेरो हुन्न
म फुलेको बोट मेरो हुन्न
मैले सजाएको देश मेरो हुन्न।
महोदय,
सुनगाभा फुल्ने ठाउँमा लालीगुराँस नफुल्ने हल्लाले
सयपत्री फुल्ने ठाउँमा गोदावरी नफुल्ने हल्लाले
मेरो निद्रा चिथोरिरहेछ
र नाचिरहेछ मेरो आँखामा सम्भावित एउटा महासंग्राम
त्यसैले महोदय,
मेरा लाशहरूको फोहोर थुप्रिनुअघि
रगतको आहालमा देश डुब्नुअघि
मेरा हाँगाहरू काट
र लाठी देऊ अन्धाहरूलाई
मेरा पातहरू टिप
र टपरी देऊ भिखारीहरूलाई
मेरा काँडाहरू भाँच
र बार लगाऊ, यस देशको सिमानामा
मलाई चुँड
र बाँड, ती मलिन अनुहारहरूलाई मेरो मुस्कान
जो रूँदारूँदा हाँस्न बिर्सेका छन्
रङ देऊ, ती हराउँदै र खुइलिंदै गएका टोपीहरूलाई
जसले अचानोबाट थुतेर बचाउन खोज्दै छन् – देश।

वाङ्ला–५, अर्घाखाँची

Leave a Reply

Your email address will not be published. Required fields are marked *