Skip to content


आमा !
अवशेषमात्र बाँकीभा अस्तित्व,
उत्खननको अर्थ त थिएन,
तर त्यही अस्तित्वको एक अंश आफू हुनु
र त्यसको मूल्य चुकाउनुपर्ने
यो अवस्थामा …
तिमीलाई प्रणाम !
’४६ को गुन्द्रीमा प्रजातन्त्रको बिस्कुन
सुकाएर… तिमी त सुत्यौ,
हाम्रो धुरीमाथि सारुङ्, काग, चीलहुँदै गिद्ध आए… आमा
करेसाबारीमा रछ्यानमा…
विकासका लहर,
शहीदको सपना…
गल्दै गए,
मल भए
स्वतन्त्रताको ड्याङमा प्रतिगमनको काउली फलाउन !
तिमीले छुटायौ,
त्यो हाम्रो तुलसी मोठमुनि
कति थिचिए…
कति पिल्सिए…
कति मारिए…
कतिको अस्मिता लुटियो,
कस्तो ढोङ् रचियो,
परिवर्तनको खोक्रो भुमरीमा
’ ५२ देखि ’६२ र….. ’६४ हुँदै,
सँगैको परिजातको बोटले
श्रद्धाञ्जलिका फूल सिवाय झार्न भ्याएन,
बकैनाको रुखमा सकेट बम फले,
तिमी सुत्दा यहाँ,
तराई, पहाड, हिमाल जले,
छिमेकीले डिल मिचे,
एकले अर्कालाई थिचे,
सबको “म” बन्ने धुनमा
“हामी” हुने चाहना
तिम्रो सुत्ने राम्रो निहुँ बन्यो
सुत…आमा…सुत….
अब सबै सिद्धियो,
यो मूर्दा शान्तिमा
उठेर पनि के काम ?
लडेर पनि के काम ?
जनताका छोरा….
मरेर पनि के काम ??

Leave a Reply

Your email address will not be published. Required fields are marked *