Skip to content


जसरी विराजमान गराएर
गएका थियौ देवलको यो भित्री भित्तामा
म अहिले पनि त्यहीं
अडेसिएर बसिरहेछु
मौन,
तिम्रो प्रतीक्षामा………….।
पहिलेपहिले प्रभातमा
घामको कलिला किरणहरू
आउने गर्थे आँगनमा र
परेवाका बथानहरू चरिरहन्थे
छरिएका सपनाका विस्कुनहरूमा
अचेल आउँछ हावा,
कहिले काहीं
विशाल अट्टालिकाका छेउबाट
घस्रदै/सुस्तरी
र सोध्ने गर्छ मलाई
साउतीमा
किन उदास देखिनुहुन्छ तपाईं ?
यो रंगमा
यो अबिरमा र
यो रातो, नीलो, पहेंलो
रंगीचंगी फूलहरूमा ?
म अवाक टोलाइरहन्छु उसको
निश्चल चीसो प्रश्नमा
र खोजिरहन्छु
मैले दिएको आशीर्वाद
उसको पहेंलिदै गएको
सपाट अनुहारमा
बजिरहेछ पूर्ववत अहिले पनि
घण्टको आवाज,
धुपको सुवास,
सदिच्छाको प्रश्वास,
मेरो देवलमा
तर देखिन्न पहिलेझैं
तल फेदीमा बहिरहेको
शालीनदीको आवाज
माथि नगरकोटमा उदाउँदै गरेको
चन्द्रमा र मनोरम पहाड
जाँघजाँघसम्म सोहोरेर गुन्यू
आली. ताछिरहेको
युगल–प्रेम/
र उदात्त चित्तले हाँसिरहेको
जुगल हिमाल।
र पनि म त्यहीं
अडेसिएर बसिरहेंछु
जहाँ तिमीले विराजमान गराएर
गएका थियौ
वर्षौं पहिले
देवलको यो भित्री भित्तामा
अहिले पनि त्यहीं म
बसिरहेंछु
मौन, तिम्रो प्रतीक्षामा……..।

Leave a Reply

Your email address will not be published. Required fields are marked *