Skip to content


तिमी हुनुसँगै हुँदोरहेछ जिउनुको सार्थकता
तिमी नहुनुको एक्लोपन
म, यो कुटीमा भोगिरहेकी छु।

मैं हुँ भन्दाभन्दै पनि मेरो मनको लगाम तिमीले नै समाएका रहेछौ
तिमी हिँड्नुसँगै मेरो जीवनको घमाइलो कित्ता तिमीले नै लगेका रहेछौ।

म टोलाएकी हुन्छु, जूनहरू आएर मलाई बिथोल्छन्
म चलमलाएकी हुन्छु, फेरि जूनहरू आएर मलाई समेट्छन्
जूनको सहारामा मात्रै रात सहज नहुँदोरहेछ।

शालीनता तिमी हुनुमा रहेछ
नम्रता पनि तिमी हुनुमा नै रहेछ
बग्ने ठाउँ नभएपछि मात्र,
समुद्र शान्त, शुभ्र भएको हो रहेछ।

म यौवना, चुम्बकीय नितम्ब छ मसँग
सुडौल शरीर छ, पहाडझैं उठिरहेका बक्षस्थल छन्
म बग्नेक्रममा छु, फैलने क्रममा छु
मलाई रोक्ने पहाडहरू छैनन्
मलाई छेक्ने चट्टानहरू छैनन्, तिम्रो उपस्थिति छैन
यतिबेला म साँघुरिन पनि सङलिन पनि
तिमी नै चाहिने रहेछ
आऊ, ओ विश्वामित्र मसँग आऊ,
म उभिन पनि तिमी नै चाहिने रहेछ
म अडिन पनि तिमी नै चाहिने रहेछ।

म अँगेनोको डिलमा
टोलाएर बसेकी छु यतिवेला।

यो अँगेनोको एक छेउ अझै खाली छ
यो मझेरीको एक कुना अझै खाली छ
आऊ, बस/
तिमी बस्नु मेरोनिम्ति, हुरी छेक्ने पहाड हुने छ
वेगवान गति छेक्ने चट्टान हुने छ
म सक्तिनँ एक्लै बस्न
तिमी नहुँदा कति पटक
आक्रमण गर्न झम्टिएको हो– अँध्यारोले।

“मेनकाहरू”का लागि “विश्वामित्रहरू”– सुरक्षाकवच
काँडेतारका बार नै हुँदारहेछन्
जीर्ण, रूग्ण नै सही
तर सास फेर्ने लोग्ने छेवैमा सुतेपछि
निद्रा पर्दोरहेछ, हिम्मत बढ्दोरहेछ
म फेरि यतिवेला पुरुष सम्झिरहेछु, लोग्ने पर्खिरहेछु
आऊ, तिम्रै आवाजको उपस्थितिमा म आफूलाई बलियो
बनाउन चाहन्छु।

भार स्वास्नीमान्छेले बोके पनि
आधार लोग्नेमान्छेकै खोजिदो रहेछ।

आऊ, तिमी नजिकै बस र मेरो जीवनमा रङ भर
आ“खामा क्रोधको अग्नि शमन गर
बेअर्थी यी वाक्यमा वाणी भर
ओठ फर्फराइरहेछन्
अनुहार तातिएको तामाको पाताजस्तै भएको छ
आऊ, तिमै्र अनुहारलाई ऐना बनाएर म भर्खरकी देखिन
चाहन्छु
छोप, तिम्रो छायाले मलाई वेस्सरी छोप
तिम्रो वासना मेरै वरिपरि हावाझैं घुमिरहोस्
र जड भएका मेरा केशराशिहरू नाचून् खुशीले।

म अहिले लौरो विनाको बृद्धजस्तै भएकी छु
किन चा“हिदोरहेछ लौरोको सहारा – बुझ्दै छु।

हो रहेछ
अँध्यारोसँगै डर पनि लुकेको हुँदोरहेछ
भय–त्रासले घर पनि अँध्यारोमै बनाउदो रहेछ
दिनभरि तिमै्र विरूद्ध
लोग्नेमान्छेहरूको ‘लोग्ने दम्म’ विरूद्ध
बोल्दाबोल्दै थाकेर, कुटी आइपुग्दा तिमी थिएनौ
तिमी नहुनुको रिक्तता भर्न बिछ्यौनामा पल्टिएँ
घोप्टिएर घ्राणशक्तिलाई सक्रिय पारेँ
सकिनँ सम्हालिन।

तिम्रा विरूद्धको कुण्ठा ओकल्न पनि
तिमी नै चाहिने रहेछ
अनुहारभरि खुशी छर्न पनि
तिमी नै चाहिने रहेछ।

आऊ, विश्वामित्र आऊ/
तिमी ठिंग उभिऊ, मात्र एकपल्ट घुम स्पर्श गर
र सुत मझेरीको अर्कै कुनामा
तिमीलाई छुन्न
चलाउँदन
मात्र हेरिरहन्छु।

विश्वामित्र/
म, तिमीलाई रोहवरमा राखेर निदाउँन चाहन्छु।

त्इटहरी – १, सुनसरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *