यहाँ एक जना मानिस आएको थियो। कवि हुँ भन्थ्यो। पोहोर सालको कुरो। मैले सोधेको थिएँ – घर कहाँ हो ? घर छैन भन्यो उसले। पत्याएँ। ऊ कविको औकात भएको मानिस हुनसक्थ्यो।

जे भए पनि अहिले ऊ पाहुना थियो–माग्ने नभएपछि। मैले पिंढीमा बस भनें। मनले भन्यो – पक्कै भात खान देऊ ! भनेर दवाव गर्न सक्तैन–हातमा बन्दुक र आँखामा क्रूरता नदेखिएकोले। अनुहारले भने ऊ भोको हुनुका तमाम लक्षण बताइरहेको थियो। सोचें यो कवि पक्कै भोको छ। जसको घर छैन, घर हुनेहरू पनि भोका छन् जहाँ।

उसले काँधमा झुन्डिएको झोला झिक्यो र बलेसीँमा राख्यो। यसलाई जतन गरेको भन्न मिलेन। यस्ते गर्थे जनगणना लिन आउने अर्का थरी कर्मचारीले। यस्तो गर्दैनथे चुनावअघि भोट माग्नआउने चम्चाहरूले। मैले सम्भावना सोचेँ– उसको झोलामा के हुनसक्छ ? कवि हो भने कविता होला। झिकेर सुनाउन थाल्यो भने गोरु गोठमा चटारिन थाल्ने छन्। बूढी कोदो रोप्न गइसकेकी थिई । बुहारी जुठोचुलो लिप्देछे । कविता सुन्न असाध्यै मन पराउँछे बुहारी। बेलाबेलामा छोरोले कविता सुनाउँथ्यो, अरब गइहाल्यो। एक वर्षदेखि न्यास्रेकी छे ऊ। मुख्य दुई कुराबाट स्पर्श र कविता।

हे भगवान् ! यो कविले कविता नसुनाओस् ! मनभित्रको महामनले भन्यो मलाई, कवि बोलेको पनि थिएन। म मात्रै बोलिरहेको थिएँ भित्रभित्रै।

बहारी जुठा भाँडा लिएर बाहिर निस्की। आँगनको डिलमा बसी र मस्काउन थाली। मलाई थाहा छ – यो कवि हो भनेर उसलाई चिनाउनु पनि आपत्ति निम्त्याउनु हो। हुन ता उसले कवितिर आँखासम्म लगाएको थिइनँ। उसलाई अडकल नहुनसक्छ–सुकुम्बासीसँग कविता हुन्छ भनेर।

कविले भाँडा मस्काउँदै गरेकी बुहारीलाई एक तमासले हेर्यो। मेरो मन छटपटायो। शृंखला भंग गर्नैपर्ने ठहर गर्यो मनले। भनेँ– बुहारी ! तिमी भाँडाको काम सकेर कोदो रोप्न
जाऊ ! म गोरु फुकाउँछु, किलै भाँच्छन् तिनले। यसैबखत कवि बोल्यो–भोकका प्रकार हुन्।

‘तपाईं के गर्ने ?’ मैले सोधेँ।

‘जाने।’ कविले भन्यो।

‘कहाँ ?’

‘त्यो थाहा भएको भए तपाईं पनि मसँगै जानुहुन्थ्यो।’

यो भनाइसँगै बुहारीले गर्दन घुमाएर हामीतिर हेरी। सोधी – ‘ए ! उहाँ को ? मैले त चालै नपाएकी।’ तैपनि कवि बोलेन। कुरो मिलाउँदै मैले भनेँ – ‘उहाँ खोज्न आउनु भएको
रे कवितालाई !’

‘कहाँ गइछे त ? हिजोसम्म घरमै थिई !’ जो बुहारीले चिनेकी कविता थिई।

कवि उठ्यो। झोला उसैगरी काँधमा झुन्ड्यायो। मभित्र तत्कालै सन्तोष पलायो– ऊ जान लागेकोमा। कविले परतिर आँखा लगायो र भन्यो – ‘तपाईंहरूले त्यसो गर्न नहुने। यसरी
घरभरि कवितालाई थुनेर बस्दा बिस्फोट हुन्छे ऊ !’

साँझमा बूढी र बुहारीलाई भनें – ‘ऊ कवि थियो।’ बूढीको अनुहारमा त खासै प्रतिक्रिया थिएन तर बुहारीका आँखा भने पर भित्तामा स्थिर भए।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *