दुःखलाई थाहा छ
अनि मलाई थाहा छ
दुःख र म एक्कै दिन
जन्मेका थियौं ।
एकै दिन जन्मेका भए पनि
केही सेकेण्डले
केही क्षणले
केही पलले
दुःखभन्दा अगाडि जन्मेको थिए
त्यसैले त म
दुःखभन्दा अलि जेठो छु
दुःखभन्दा अलि पाको छु
दुःखभन्दा अलिकति भएपनि म
वलियो हुने कारण यही हो ।
आजसम्म
दुःखले सम्पूर्ण ताकत लगाएपनि
मलाई ढाल्न नसक्नु
मलाई पछार्न नसक्नु
मलाई हर्दा वनाउन नसक्नुको कारण
म दुःखभन्दा अलिकति जेठो छु
म दुःखभन्दा अलिकति पाको छु ।
