सधै जसो टिल्ल परिरहने चन्द्रे गाउँ डुलेर घर आइपुग्यो । लरखरिदै आएर पिढीमा बस्यो र एकलै फतफत गर्न थाल्यो । त्यही वेला उसको श्रीमती र किशोर छोरा दिनभर खेतमा काम गरेर थाकेका घर आइपुगे ।
कुटो कोदालो थन्काएर हात खुट्टा धोएर छोरा पनि पिढीको छेउमा आई बस्यो । श्रीमती भोकाएका वस्तुलाई घास हाल्न गोठतिर लागी ।
फतफत गरिरहेको चन्द्रेले लरबरिएको आवाजमा छोरातिर हेर्दै भन्यो, “थाहा छ अब त यी गाउलेका पनि दिन फिर्ने भए नि । आज भोलि सबै जसो युवाहरू पैसा कमाउन विदेशीइसके । अनि जान पाएका छैनन् उताबाट धमाधम बाउलाई पैसा पनि पठाइरहेछन रे । कस्ता ज्ञानी!”
छोरा चाहिंले कुनै प्रतिकृया नदेखाई चुपचाप सुनिरह्यो ।
आफ्नो कुराको कुनै प्रतिकृया नपाएको चन्द्रेले सानो स्वरमा भन्यो, “आफ्नो घरमा भने जवान छोरा हुदा हुदै पनि सधै दलिद्रीले वास गर्ने भयो ।”
एक छिनपछि अलि झर्किदै छोरालाई भन्यो, “हैन तैले पनि यहाँ बस्नु साटो विदेश गएर पैसा कमाए हुदैनथ्यो?”
छोरालाई झनक्क रिस उठेछ । उसले भन्यो, “किन जाने ? आफू भने काम न काज दिनभर रक्सी धोकेर बस्नु छ । मलाई भने अर्काको ठाउँ मरुभूमिमा पोल्लिन जा भन्ने । जान्न ।”
छोरो चाहिं खुट्टा ठटाउदै घरभित्र पस्यो । छोराले आफ्नो कुरा नमानेको चित्त नबुझेको चन्द्रे धेरै बेरसम्म एकलै भुत्भुताइरह्यो ।
सुशीला देउजा
