सूर्य क्षितिजबाट निक्लियो, बच्चो झोलुङ्गोबाट। उही स्निग्धता, उही रङ्गरूप, उही मस्ती, उही चमक।
म बार्दलीमा बसिरहेको थिएँ। बच्चोले ढोकाबाट चिहायो। मैले मुस्काउँदै बोलाएँ। ऊ मेरो काखमा आएर बस्यो।
उसको बदमासी शुरू भयो। कहिले कलमतिर हात बढाउँथ्यो, कहिले कागज तिर। मैले काखबाट उतारी दिएँ। ऊ कुर्सीको खुट्टा समातेर उभीइरह्यो। घर गएन। ढोका खुल्लै थियो।
एउटा भँगेरो उफ्रँदै आयो नजिकै बस्यो। बच्चोलाई खेल्ने नयाँ सामान भइहाल्यो। ऊ भँगेरोतिर लम्क्यो। भँगेरो पनि भागेन। बच्चोलाई लाग्यो कि यो पखेँटावाल खेलौना हात आयो। बसेर दुवै हातले भँगेरोलाई बोलाउन थाल्यो। भँगेरो उड्यो, निराश बच्चो रून थाल्यो। तर अँझै भित्र ढोकातिर हेर्दै हेरेन। ढोका खुल्लै थियो।
तातो-तातो मिठाईवालाको मीठो निमन्त्रण आयो। बच्चोको अनुहार उत्साहका साथ हँसीलो भयो। मिठाईवाला नजिकैबाट गयो। बच्चोले म तर्फ याचना मिश्रित नजरले हेऱ्यो। जसो-जसो मिठाईवाला टाढा हुँदै गयो, याचना युक्त आँखाहरूमा रिस देखा पर्न थाल्यो। यहाँसम्म कि जब मोड आयो र मिठाईवाला आँखाबाट ओझेल भयो, त्यो रीसले अनुरोधको रूप लियो। तर म बजारको खानेकुरा बच्चालाई दिने पक्षमा थिइन। बच्चोको अनुरोधले मलाई कुनै असर गरेन। म अँझ अगाडिको कुरा सोचेर अँझै कठोर भएँ। थाहा छैन कि बच्चोले आमाको अदालतमा रिट हाल्ने आवश्यकता सम्झ्यो वा सम्झेन। सामान्यतया बच्चाहरू यस्तो अवस्थामा आमासँग शिकायत गर्ने गर्छन। शायद उसले केहीबेरको लागि शिकायतलाई स्थगित गऱ्यो। ऊ अँझै पनि ढोकातिर बढेन। ढोका खुल्लै थियो।
मैले आँसू पुछिदिने बिचार गरेर आफ्नो हातको कलम उसको हातमा राखिदिएँ। बच्चोलाई सारा संसार जिते सरह भयो। उसको पुरा ज्ञानेन्द्रियहरू यो नयाँ समस्याको समाधान तर्फ केन्द्रित भए। एकाएक ढोका हावाले आफैँ बन्द भयो। ढ्याम्म ढोकाको आवाज बच्चोको कानमा आयो। उसले ढोकातिर हेऱ्यो। उसको व्यस्तता तत्काल गायव भयो। उसले कलम फ्याँकिदियो र रूँदै ढोकातर्फ अगाडि बढ्यो किनभने ढोका बन्द भएको थियो।
२०७१ भाद्र ८, सौराहाद्वार
