Skip to content

रोइरा’छ पहाडसँग ढुंगा


रोइरा’छ पहाडसँग ढुंगाले मन दुखाएर
लग्यौ किन त्यत्रो जीवन पहिरोमा बगाएर

नदीको त्यो किनार नै भागिराछ तर्किएर
गयो पच्छ्याउँदै बाढी घर गाउँ डुबाएर

निर्दयी यो समयले खेलेको हो कस्तो खेल ?
मार्छ अँझै कति मान्छे महामारी फैलाएर

मर्नै पर्छ एकदिन थाहा छ यो सत्य तर
यस्तो बिकराल किन ? नियति नै बौलाएर

आमा खोइ बाबा खोइ, खोइ मेरा भाइ बहिनी ?
रोइ रोइ सक्यो आँशु घाँटी सुक्यो कराएर

दया, धर्म, अहिंसाको पाठ सधैं सिकाउने
किन थुक्यौ ? हे भगवान मानवलाई चबाएर

सृजना न्यौपाने
दमक झापा
हाल- मिनेसोटा अमेरिका

1 thought on “रोइरा’छ पहाडसँग ढुंगा”

Leave a Reply

Your email address will not be published. Required fields are marked *