दुःख र समय विपरित दिशामा
यात्रा गर्छन् ।
त्यसैले दुःख समय तन्काउने गर्छ ।
सुख समय छोट्याउने गर्छ ।
जब म असह्य दुःखमा हुन्छु
समय विस्तारो विस्तारो
कछुवा गतिमा घस्रिने गर्छ ।
सेकेण्डहरू मिनेट बन्दछन्
मिनेटहरू घण्टाहरू बन्दछन्
घण्टाहरू दिन बन्दछन्
दिनहरू महिना बन्दछन्
महिनाहरू वर्ष वनदछन्
वर्षहरू कल्पयुग बन्दछन् ।
जब म खुशीमा हुन्छु
मेरो अन्तर्भाव खुशीमा नाच्छ
त्यतिखेर दिन छोटा वन्छन्
समय खरायो गति पनि होइन
पक्षी वनेर उड्ने गर्छ ।
त्यतिखेर वर्षहरू महिना बन्दछन्
दिनहरू घण्टा र मिनेटमा खुम्चिन्छन्
मिनेटको अस्तित्व नामेट हुन्छ
यसरी दुःखमा अनन्त समय
क्षणक्षण बनेर खुम्चिन्छ ।
दुःखमा क्षण समय
अनन्त बनेर तन्किन्छ ।
