रंगमञ्चलाई जीवन र भविष्य ठानेर नाट्यकर्ममा होमिन आउने विभिन्न अनुहार, आवाज र परिचय बोकेका ती नाम र पहिचान अब हराइसकेको छ। समयको गर्तले तिनको नाम निशानलाई पुरिसकेको छ तर अस्तित्वमा एउटा सम्झना अझै बाँकी छ। ती सच्चा सहिद थिए, जसले नेपाली रंगमञ्चलाई यहाँसम्म ल्याउन आफ्नो जिउज्यान र परिवारलाई समपर्ण गरेका थिए।
यदि सहिदको परिभाषालाई समर्पण वा सम्पूर्ण बलिदानको अवस्थालाई व्याख्या गर्ने हो भने ती हराएका, बिलाएका वा देशीय संस्कृतिलाई बचाउन आफ्नो रगतपसिना बगाएर फना हुने महान् कलाकारलाई देशले सम्झनैपर्ने हुन्छ।
तिनीहरूले रंगकर्म गर्दा न मिडिया गिम्मिकको यो अवस्था थियो न नाम, दाम र पपुलारिटी। आजजस्तो दान, अनुदान र सम्मान थिएन। स्पन्सर, विज्ञापन वा ब्यानरको भाषाको भव्यता र वैभवको भविता त टाढाको कुरा।
रंगकर्म त्यस बेला कर्म नभएर धर्म मानिन्थ्यो। नाटक वा कला प्रस्तुति गर्नुअघि सामाखुसी चोकको नाट्येश्वरीको मन्दिरमा गएर बलि चढाएर अनि आफू बलि चढ्थे कलाकारहरू।
यी ती समयका रंगकर्मी हुन्, जसलाई आशा र विश्वास पनि थियो। केही होला भनेर तर हुन सक्ने सम्भावना केही थिएन। ज्यादा प्रसिद्धि भयो भने कुनै पनि समय जेलको बास पनि हुन सक्थ्यो। मञ्चसम्म आउनुअघि विशेष प्रहरी, अञ्चलाधीश कार्यालय, सिडिओ आदिको ढोका–ढोका धाएर आउनुपर्थ्यो।
यी रंगकर्मीहरू तीस र चालीस दशकका हुन्, जसले सच्चा भावले कला, संस्कृति र देशको भाषाको भव्यतापूर्वक सेवा गरे। ताली, ताली अनि केही मिनेट गुन्जिएर अनन्तमा हराउने ताली।
त्यस्तै तालीका माझ आएका थिए, तीस दशकका कलाकारहरू।
दुई फलकमा उभिएको समय थियो। राणाकालको जस्तो बक्सिस र आशीर्वादको समय पनि थिएन वा दरबारका नानीहरूबाट हिरा दान पाएर हिरो बन्ने समय पनि थिएन। कुनै नाद, नारा वा ब्रह्मले कुनै पार्टीको भजन गाएर महान् बन्ने समय पनि थिएन। राष्ट्रियस्तरमा सरकारले नाचघर र प्रज्ञा भवन बनाएर केही कलाकारलाई जागिरे बनाएर ब्याक टु पेविलियन बनाइसकेको थियो भने, नन–जागिरेको कथाकालको समय थियो।
पाउनुको नाममा आश्वासन, सुन्नुको नाममा भाषण र देख्नुको नाममा पञ्चायती कुशासनबाहेक नन–जागिरे कलाकारको अर्को जिन्दगी थिएन।
रंगमञ्चबाट फ्रस्ट्रेट भएर वा समाजले मलाई के दियो म अब अमेरिका जान्छु भनेर आत्मघाती गोल गर्नका लागि कुनै काँचको पर्दा पनि थिएन। वा, त्यस्तो कुरा सुनिदिने, सुनेर सहानभूति राख्ने कुनै च्यारिटेबल द्वार पनि थिएन। कलाकार आजजस्तो सेलिब्रिटी वा आइकन भइसकेको मननीय समय पनि थिएन।
यी सबका बाबजुत जनताको स्याबास पाइरहे, त्यस बेलाका कलाकारले। त्यसैको बलमा समाजमा उच्चाकर्षण बनाए। भनिन्छ, इतिहास जित्नेहरूको घोडा हो।
हेनरी फोन्डाको यो महावाणीको ठिक विपरीत भए, इतिहासका यी विजयी पात्र र त्यो विजीत समय। ती जितेर पनि इतिहास नभएका नामहीन पात्र भए।
तीसको दशक त्यसैको उदाहरण हो। आज इतिहास त्यहीँनेर गएर निशब्द र आकारहीन भइदिन्छ। त्यही समय हो, गाउनेहरू स्टार र अभिनय गर्नेहरू नौटंकी भएको।
समालोचकको दृष्टिमा त्यो कालखण्ड एउटा ब्ल्याक पिरियड नै होला तर आजको ताजमहलको जगमा त्यो समय कालो ढुंगा फलाम भएर गाडिएको सत्य हो।
नेपाली रंगमञ्चको पद, प्रहर र पर्वतलाई बदल्ने त्यो समयका सारथि एउटा जुलुसको रूपमा आउन नसके पनि नेपालका विभिन्न जिल्लाबाट विभिन्न ब्यानरमा आएका थिए भने दार्जीलिङले त्यसलाई बृहत् सम्बोधन गरेको थियो।
दाजिलिङबाट मनबहादुर मुखियाको ‘अनि देवराली रुन्छ’, प्रताप सुब्बाको ‘रातको प्रथम प्रहर’ले काठमान्डूको पर्दालाई च्यातच्युत पारेर खोलिदिएको थियो भने प्रज्ञा प्रतिष्ठानले त्यही पर्दाको टुक्राटुक्रा जोडेर बनाएको थियो अर्को इतिहास– ‘फर्केर हेर्दा’ र ‘जब घाम लाग्छ’ नाटकको।
काठमान्डू उपत्यकाको डबली, जो असली रूपमा दबलीको कन्सेप्टमा अवतरित भएको थियो। त्यसले एकसेएक कलाकार दिएका थिए– नगेन्द्र हाडा, मास्टर केशव मानन्धर, गोविन्द चिकमूँ, गणेशप्रसाद श्रेष्ठ, दुर्गालाल ख्वबिलू, दुर्गालाल किशोर, मचाकाजी मानन्धर, गणेश सायमी, श्रीकृष्ण अणु, पद्मरत्न तुलाधर, गुप्त सेन, राजपाल थापा, भोला थापा, सुषमा शाही, हिमालय लोहनी, मनुजबाबु मिश्र, गणेश मुनाल, सुभद्रा अधिकारी, शकुन्तला गुरुङ आदि। जसका पछाडि कैयौं नाम गुम छन्। र, यिनकै औंला समाएर पछि आएका केही नाम मदनदास श्रेष्ठ, रवि शाह, महेश थापा, कृष्ण मल्ल आदि आदि पनि।
हिमालय लोहनीजस्ता शान्त स्थिर पात्रले नेपाली रंगमञ्चलाई नीर शाहजस्ता कलाकार दिए भने भृगुराम श्रेष्ठ वा नगेन्द्र हाडाजस्ता साधकले मदनकृष्ण श्रेष्ठलाई हिँड्ने बाटोमा उभ्याइदिए र भने, ‘यो तेरो समय हो।’
मदनकृष्णसित सायद यही कारण हरिवंश आचार्य जोडिँदै गए।
काठमान्डूको रंगमञ्चलाई पारसी थिएटरको मखुण्डोबाट उतारेर नयाँ ढाल र ढाँचाको नाटक दिने क्रममा दार्जिलिङबाट आएको मुखियाको नाटकले नेपाली दर्शकलाई टिकट ब्ल्याक गर्न पनि सिकाए। यो सम्भवतः नेपालकै रंगकर्मको इतिहासमा एउटा अलौकिक कथा हो, जुन कहिले दोहोरिएन।
त्यो समय दर्शक पानीको धारामा लाइन बस्ने समय र डिडिसीको दूधमा लाइन बस्ने समयलाई कटौती गरेर राति तीन बजे महेन्द्र पुलिसको आँगनमा टिकटको लाइन बस्न गएको इतिहास फेरि दोहोरिएन। क्रान्ति यसैलाई भनिन्छ, सायद। र, यो ती नै महान् कलाकारको सहादतले ल्याएको सम्मानित समय थियो।
असमबाट यही समय जुद्धवीर राना र उनका साथमा हरिहर शर्मा देखिए। शर्मालाई पछि नेपाली रंगमञ्चले एक दीपाधारको रूपमा पाए। दुर्गालाल श्रेष्ठको रामबहादुरको संसार नाटकपछि यिनको र दोलखा चरिकोटबाट आएका मदनदास श्रेष्ठको सम्भावना कहिल्यै कम भएन। यिनकै समकालीनका रूपमा नुवाकोट नर्जा गणेस्थानबाट आएका जितेन्द्र महत अभिलाषीलाई रेडियो दर्शकले सुनेर चिन्न थाले, अभिनेत्री सुशीला केसीका साथमा।
त्यति बेला न आजजस्तो अखबार थियो न दान दाताको समय। नेपालमा रहेका भारतीय राजदूतावास, नर्वेजियन, डेनिस, वा अमेरिकन राजदूतावासलाई नेपाली रंगकर्म र यसैको वैधानिकतामाथि चासै थिएन। नेपाली रंगमञ्चको प्रार्थना त केवल दर्शकसित मात्र थियो– नेपालीले लेखेको नाटक हेर। नेपाली भाषा बोल। नेपाली पात्रलाई चिन।
पोखरामा काले भाले, भूपी शेरचन, चेतन कार्की, प्रज्ञारत्न बज्राचार्य, कुलदीप शेरचन, आशा थापा, रत्ना परियार, कर्मा गुरुङ, हिन्दूमाया गुरुङ, नीलशोभा गुरुङ, विष्णु शेरचन, शम्भु कार्की, विश्व शाक्य, सूर्यरत्न शाक्य आदि देखिए भने यिनका पछि भक्त श्रेष्ठ, अर्जुनजंग शाही, दुर्गा शेरचन उपस्थित भए।
पूर्व विराटनगरबाट चतुर्भुज आशावादी, माया पौडेल, माधव सापकोटा, मकुन्द श्रेष्ठ, कामेश्वर झा देखिए भने बद्री अधिकारीहरू पनि देखा परे। बद्रीले पहिल्याएको बाटोमा सुनील पाखरेल, रमेश बुढाथोकी, मीना श्रेष्ठ, मोहन निरौला पनि सामेल भए।
धनकुटाबाट उपेन्द्र दुःखीका नाटक पर्दामा रूपान्तरित हुन थाले। दुःखीको नाटकले नै अशेष मल्ललाई जन्मदियो। अशेष नै पहिलो रंगकर्मी हुन्, जसले नेपाली रंगमञ्चलाई कलेज क्याम्पसको ढोकाभित्र सम्म पुर्यायएर भने, ‘नाटक गरून्, नाटक हेरून्, नाटक देखून्।’
अशेषसित उनको यात्रामा नयाँ पुराना सबै कलाकार समयका सेतु बने। उनका साथमा दीपक जंगम, प्रचण्ड मल्ल, हरिहर शर्मा सल्लाहकारका रूपमा थिए भने गगन विरही, किशोर पहारी, रवीन शर्मा, रेणु केसी, सुनील पोखरेल, लक्ष्मी राना, सूर्यमाला शर्मा आदि वरपर नै थिए। सर्वनाम यसको पछिल्लो पहिचान भयो।
अशेष, भक्त श्रेष्ठ, मनहरि खड्का, मनहरि भण्डारीले सही समयमा मनबहादुर मुखियाको शैली अपनाए, लेखन र निर्देशनको बागडोर एकै हातमा। मुखियाको नाटक र कलाकार तयार पार्ने शैलीमा मनहरि खड्काले एक होनहार कलाकार रवीन्द्र खड्कालाई जन्माए भने रवीन्द्रकै सामीप्यमा मुनिन्द्र रिमाल, सपना प्रधान, परीक्षित ढुंगाना, विनीता भट्टराई, ममता रेग्मी देखा परे भने नेपाली भाषाको नाटक लेखनमा विजय मल्ल र गोविन्द गोठाले शिथिल भएको अवस्थामा खड्काले नै मोहनराज शर्मालाई जेमन्त, वैकुण्ठ एक्सप्रेस, यमा लेख्न लगाए। यिनै नाटकले रवीन्द्रको अभिनेता र रंगमञ्चका नेताका रूपमा फरक परिचय बनाए।
मनहरि खड्काले मोहन ढुंगाना, लेखनाथ सापकोटा, शबनम बज्राचार्य, विकास अमात्य आदिलाई स्टेपिङ स्टोन दिए भने मनबहादुर मुखियाको अनुयायीका रूपमा आएका रघु शाहले तीसकै दशकमा ‘क्षितिजका सहिदहरू’मार्फत नेपाली राजनीतिका शीर्षस्थ पुरुष बिपी कोइरालालाई श्रद्धाञ्जली अर्पण गदैै केही नयाँ कलाकार ल्याएर त्यसमध्ये उज्ज्वल घिमिरे र अर्जुन केसी स्मरणीय कलाकार बने।
दार्जिलिङबाट ल्याइएको नाटक ‘अनि देवराली रुन्छ’ र ‘रातको प्रथम प्रहर’का धेरै कलाकारमध्ये किरण ठकुरी, मेनुका प्रधान, नीना प्रधान, पी अर्जुनले पनि त्यति बेला नेपाली मञ्चमा प्रभावशाली युग बनाए। पी अर्जुनका नाटक हाँस्दै जल्नुपर्छ र संयोग वियोग अझै धेरै नाम र अनुहार उज्यालोमा ल्याए। पी अर्जुनकै नाटक आग्रहबाट सुनील खरेल, राजु सिलवाल, शोभा सिंह मञ्चमा देखिए र शोभा सिंहले मञ्चमा चन्द्रमाला शर्मा र उनकी दिदी सूर्यमाला शर्मा नआउन्जेलसम्म ठाउँ बनाइरहिन्। शोभा हरेक किसिमका भूमिका चुनौतीपूर्वक निर्वाह गर्न सक्ने नेपाली रंगमञ्चकी एक अद्वितीय कलाकार हुन्। आज उनको नाम निशान छैन।
तीसको दशकको अन्त्यमा प्रभावशाली अभिनेता सुनील खरेलले रंगमञ्चमा नयाँ समूह अड ग्रुप स्थापना गरेर आघातजस्तो नाटक गरे। पार्श्व गायनमा नारायणगोपाल र अरुणा लामाका गीत रेकर्ड गराए। यो नाटकमा यस्तो किसिमको पहिलो घटना थियो। यसपछि यिनले रंगमञ्च त्यागे। र, यही समय अर्का अभिनेता सुनील पोखरेल अध्ययनका लागि दिल्लीतर्फ लागे र लामो समय उनी अनुपस्थित रहे। सुनील राष्ट्रिय नाट्य विद्यालय पढ्न जाँदा त्यसै स्कुलका उत्पादन तीर्थ शेरचन यहाँ रंगमञ्चको पार्श्व भागमा सक्रिय नाम थिए भने सुनीलका अग्रज अभय उपाध्यायले पनि रंगमञ्च छोडिसकेका थिए । यी तीनै जना त्यस समय राष्ट्रिय नाट्य विद्यालयका उत्पादन थिए।
यसै समय नेेपालको रंगमञ्चमा नाटकमार्फत शिव श्रेष्ठ, अर्जुनजंग शाही, विजय लामा, कृष्ण मल्ल, शर्मिला मल्ल, सन्तोष पोखरेल, सुवर्ण क्षेत्री सक्रिय थिए र यिनले विस्तारै फिल्मका निम्ति आफूलाई मञ्चबाट अलग्याए।
नेपाली रंगमञ्चको यो स्वर्णकालमा पद्मरत्न तुलाधर, वासु शशी, अशेष मल्ल, सरुभक्त, प्रकाश सायमी, मोहन निरौला, मनहरि भण्डारी, प्रद्युम्न चालिसे, विकास अमात्य, विकास बम्जन नाटक लेख्थे भने हिन्दीका चलेका नाटककार विजय तेन्डुलकर, अनिल बर्वे, सुशीलकुमार सिंह, रमेश मेहता, बादल सरकार आदिका नाटक अनुवाद हुन्थे।
पहिलोपटक नेपालमा जर्मनेली नाटककार बर्टोल्ट बे्रख्तको नाटक नेपालीमा अनुवाद भएर अरू बाँकी नै के छ र? नामबाट गोयथे इन्स्टिच्युटमा मञ्चन भएको थियो। ब्रेख्त मञ्चन भएको यो नै पहिलो इतिहास थियो भने पछिल्लोपटक होटल बज्रको स्टुडियो सेभेनले ब्रेख्तको थ्री पेनी अपेरा पनि प्रस्तुत गरेको थियो।
काठमान्डूको रंगमञ्चलाई समृद्ध बनाउने परम्परामा त्यति बेला गोदावरी एलुम्नाई एसोसियसनले लघु नाट्य महोत्सवअन्तर्गत ह्याम्स् शिल्ड आयोजना गर्ने गर्थ्यो भने यसै समय प्रज्ञा प्रतिष्ठानले आयोजना गर्ने नाटक महोत्सवले पनि रंगमञ्चलाई पुनर्ताजगीमा ल्याएको थियो।
नेपाली नाट्य परम्परालाई सघाउनमा त्यस बेला नेवारभाषी रंगमञ्चबाट धेरै रंगकर्मी र लेखकले प्रशस्त योगदान पुर्यााएको पाइन्छ। युनाइटेड आर्टिस्ट ग्रुप, रंगकर्मी जमात, रंगस्रष्टा, आरोहण, जेनाप परिवार, डाँफे कला सेन्टर, भानु कला केन्द्र, सहलह, नेपाल थिएटर आदिको महŒवपूर्ण योगदानले नेपाली रंगमञ्च एउटा उकालो चढेको बुझिन्छ।
गायक नारायण गोपालले आफू सांस्कृतिक संस्थानका महाप्रबन्धक भएका बेला मनबहादुर मुखियाको नाटक क्रसमा टाँगिएको जिन्दगीलाई हरिप्रसाद रिमालको निर्देशनमा मञ्चन गराएर निकै ठूलो आर्थिक लाभ गरेका थिए। जसमा महेश थापा, सुषमा शाही, दीपा न्यौपाने, गौतमरत्न तुलाधर, लोकमणि सापकोटा जस्ता सिद्धहस्त कलाकारलाई नयाँ नाम दिएका थिए भने वासु शशिलाई पुनः सबथोक गर्नुपर्छ जस्तो नाटक लेखाएर जगाएका थिए। नारायण गोपाल सांस्कृतिक संस्थानको महाप्रबन्धक हुँदा नाचघर नाटकको वहार ल्याउने संस्थाको रूपमा परिचित भयो भने यस समय रंगकर्मी हरिप्रसाद रिमालले मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, सुभद्रा अधिकारी, कृष्णा प्रधान, रवि शाहजस्ता कलाकारलाई पुनर्जीवन दिए भन्न सकिन्छ।
नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले नाट्य विभाग गठन गरेर नाट्य योजकका रूपमा हरिहर शर्मालाई नियुक्त गरे पनि प्रज्ञा परिसरभित्र गीति नाटक र नाटक लेख्ने दुई स्रष्टाबीचको द्वन्द्वले नाटक कम मञ्चन हुन्थ्यो। नाटककै मञ्चन गर्ने उद्देश्यले गठित नीर शाह अध्यक्ष रहेको श्री समूहले इतिहासको कालो पाना मञ्चन गर्न नसके पनि बन्दिनुस्नत र अँध्यारो उज्यालोबाट आफ्नो साख बचाएको थियो भने दीपक क्षेत्री, सोमनाथ भट्टराई सम्मिलित युनाइटेड आर्टिस्टले युद्धरत युद्ध र विपीन, ब्रश, इजल र क्यानभासजस्ता नाटक मञ्चन गरेर युग परिवर्तन गरेको थियो।
नाटक मञ्चन भए पनि यसको समीक्षा छाप्ने पत्रिका कम भए पनि रंग समीक्षकमा दुर्गानाथ शर्मा, शरच्चन्द्र वस्ती, सुमित्रा राई, गोपाल चित्रकारको योगदान अविस्मरणीय मान्न सकिन्छ।
नेपाल रंगमञ्चलाई विज्ञापन र फोटोका कारण अलि स्पष्ट पहिचान दिने क्रममा मेकअप म्यान शाम्भा पाटिल, इन्द्रभक्त श्रेष्ठ, कृष्णरत्न कंसाकार, फोटोग्राफर गौरीशंकर धुजू, विनय श्रेष्ठ, अनि रेकर्डिस्ट यादव खरेल, कृष्णराम मुल्मी, प्रकाश परिचालक रामलाल श्रेष्ठको कामयाबी इतिहास यथावत छ।
इतिहासमा २०३० देखि ०४० का बीच मञ्चन भएका कैयौं नाटक र मञ्चीय प्रस्तुतिका कारण ०४६ सालको जनआन्दोलनका बेला कलाकार साहसिक पहिचान बोकेर चैत्र ३ गतेका कालो पट्टीमा सरिक भए। तिनै कलाकारले नारायणहिटी दरबाररित फर्केर मुखमा कालो पट्टी बाँधेर तानाशाही सरकारको वाक स्वतन्त्रताको विरोध गरेका थिए। ०४६ चैत्र ३ को आन्दोलनले शान्त हिमाली राज्यको क्रन्दनलाई अन्तर्राष्ट्रिय समाचारमा पुर्याएको थियो।
०४६ र ०६३ को आन्दोलनपछि नेपाली राजनीतिको पर्दा र पटांगिनीमा अनेक परिवर्तन भए र स्वतः नेपाली नाट्यकर्म पनि कम दर्शक भएका सानो हलमा खुम्चिँदै गयो। अनि खुल्ला बजार नीतिजस्तै व्यापक रूपमा विदेशी नाटक मञ्चन र प्रदर्शन हुन थाले। मुलुकभित्रैका लेखकले कम लेख्न थाले। वा, नेपालमा नाटककार भन्ने डेजिनेसन एक लुप्तप्रायः प्राणीजस्तै भएर गयो। नाटकमा यत्रो परिवर्तन आए पनि ती दीपाधारलाई नेपाली रंगमञ्चले आज आकर्षित गर्न सकेको छैन। ती नाट्यकर्मी फर्केर मञ्चमा आउन प्रेरित भएका छैनन्।
के यो सत्ता हस्तान्तरणजस्तै चीरहरणको दृश्य नै हो त? के मनबहादुर मुखिया, पी अर्जुन, गणेश सायमी, श्रीकृष्ण अणु, भोला थापा, भृगुराम श्रेष्ठले नेपाली रंगमञ्चलाई कन्ट्र्याक्टमा मात्र काम गरेका हुन् त?

30 Aug 2014
१४ भाद्र, २०७१

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *