वर्षौं पुरानो
बार्दलीको डिलमा बसेर
एउटा पन्छी कराइरहेको छ
गोपीकृष्ण कहु पट्टु
गोपीकृष्ण कहु पट्टु ।

उसको आफ्नै
सुनको दरबार छ
चाँदीको थाली छ
र छ, छेस्कारूपी हीराको बिछ्यौना पनि ।

हुरीमा, धूपमा, झरीमा,
निष्पट्ट रातमा, उजाड बिहानीहरूमा
उसले बोल्नैपर्छ
गोपीकृष्ण कहु पट्टु
गोपीकृष्ण कहु पट्टु ।

सक्दैन चुँडाल्न जन्जिरहरू
सक्दैन उड्न टाढा टाढा
र, सक्दैन खोप्न
चुच्चाले आफ्नै आकाश
केवल एकोहारो कराइरहन्छ
गोपीकृष्ण कहु पट्टु
गोपीकृष्ण कहु पट्टु ।

म पनि युगौँदेखि
बार्दलीको डिलमै बसी
उनीरहेकी छु
चुँडिएको पोतेका दानासँगै
बिरसिला दिनहरू ।

गलामा बाँधेकी छु
सुनको सिक्रीसँगै
उतुङ रहरका छालहरू
खुट्टामा बाँधेकी छु
चाँदीको घुँगुरुसँगै
कलकलाउँदा सपनाका पालुवाहरू
र, कानमा झुन्ड्याएकी छु बुट्टेदार
हीराको ढुंग्री
ढुंग्रीमा लेखिएको छ
मसिनो अक्षरले
‘सहस्राब्दीको कैदी नं २१ ।’
पन्छी कराइरहेको छ
गोपीकृष्ण कहु पट्टु
म बोलिरहेकी छु
ज्यू हजुर,ज्यू हजुर ।

आज धेरै वर्षपछि
बार्दलीको डिलमा बसेर
निकै पर हेर्दै सोचिरहेकी छु
आखिर के फरक छ यो पन्छी र ममा ?

राजु स्याङ्तान
नेपाल साप्ताहिक अंक: ६०९
२०७१ भाद्र १
Aug 17, 2014

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *