सौतिनी आमा, सौतिनी बाबु, सौतिनी पेच, सौतिनी डाहा, सौतिनी माम्लो सर्वत्र सुनिएको हो। चिरपरिचित शब्द सुनेकै अनि बुझेकै पनि हो। तर, सौतिनी बाटो- सुन्दा पनि अचम्म? नयाँ शब्दैजस्तो, नयाँ कौतूहल नै सलबलाएजस्तो।
प्रसंग बडो घतलाग्दो अनि प्रमुदित छ। तीन वर्षपछि म मेरो प्यारो गाउँ दोलखाको मेलुङ पुगेँ। मेलुङ मेरो मुटु। मेलुङ म जन्मेको, हुर्केको र मान्छे बन्न कखरा सिकेको माटो।
अझै पनि मेलुङको माटो मेरो शरीरभरि छ। तामाकोसीको पानी मेरो शरीरमा रगत बनेर सलबलाइरहेको छ।
यतिखेर मेरो मन मेलुङमा छ। मेरा पाइलाहरू मेलुङमा छन्। मेरा पाइलाहरू मेलुङको पाटोमा प्रफुल्लित छन्। शरीर हावामा कावा खाँदै छ। म उन्मुक्त चरो। म पिँजडाबाट निस्केको सुगा। निर्बाध, निर्भय र निष्पिmक्री जीवन। अहा ! यस्तो पो जीवन। सहरको जीवन के जीवन? यो कंक्रिटको जंगलको कयसको त कुरै नगरौँ।
कृषि सहकारी केन्द्रीय संघको आयोजनामा संस्था हस्तान्तरणको कार्यक्रम। सरकारी र गैरसरकारी संस्थाका एक हूल मान्छे गाउँलेलाई हौस्याउन पुगेका छौँ, त्यहाँ। आफ्नो गाउँ ठाउँको नाम लिँदा पनि भक्कानिने मेरो मन। झनै त्यही गाउँ, त्यही ठाउँमा प्रमुख अतिथिको पगरी। आफैँ पग्लिँदै गएजस्तो लाग्छ। आफैँ हौसिँदै गएजस्तो लाग्छ। पलपल खुसी, पलपल विरह। पलपल आवेग, पलपल संयोग।
अब गाउँका कुना-कुनासम्म बाटोले मीत लगाइसकेछ। बाटोले बदलिएछ मेरो गाँउ पनि, मान्छेका आनीबानी पनि बदलिएछन् बाटोले।
झिलिमिली बत्ती बलेछ। ढिकीमा ढुकढुक चिउरा कुट्ने छोरीबुहारी गाउँकै बिजुली मिलतिर पो कुद्दा रहेछन्।
पेसा बदलिएछ। झ्याल्टी खुलेछ, झ्याल्टेहरू झ्यामिएछन्। धारा बनेछ, चारा परविर्तन भएछ। तरकारीहरू फलेछन्, तरक्की गर्नेहरू निस्केछन्। सीप बढेछ, लाभ फलिफाप पनि बढेछ।
हो, बाटो त वास्तवमै विकासको पर्याय पो रहेछ। बाटो मात्र अवसर होइन, बहारै बहारको बाग पो रहेछ, रामारुमी रुम्टेमा पनि नयाँ गुल्जार बढेछ। मोबाइल बढेछ। मोबाइल म्यारजि बढेछ, बाटो बनेपछि पैसा बढेछ, सम्पन्नता बढेछ।
सागपात बेचे पनि पैसा, बाख्रा पाठा पाले पनि पैसा। दाउरा बेचे पनि पैसा, चिया बेचे पनि पैसा। गाउँ त पैसै पैसाको पेरसि पो बनेछ। विकासै विकासको बेलायत पो बनेछ।
अब त नुन-तेल, चामल-चिनी पनि गाडी चढेर गाउँमा आउँदा रहेछन्। डोको-नाम्लो बोक्नेहरू पनि चिटिक्क परेर चरीकोटतिर टाप कस्दा रहेछन्। गाडीको हर्न सुनेपछि कुखुरे बैँसका षोडसीहरू पनि डोको फ्याँकेर ओठमा लिपिस्टक दल्दा रहेछन्? अहा ! कस्तो दिन आजका छोरी बुहारीको? कस्तो सुविधा र सहुलियत आजका छोराछोरीलाई?
अर्कोतिर गाउँ अब गाउँ रहेनछ। गरमिा रहेन गाउँको। गाउँमा अब बन्धुत्व र आत्मीयता मरेछ। गाउँमा अब भाइचारा र भ्रातृत्वको भरलाग्दो भरोसा पनि मसानघाट पुगेछ।
गाउँ अब रत्तिा गुँडहरूजस्तै भएछन्। गाउँ अब छोराछोरी विदेश उडेपछि बनेका रत्तिा र उदास आँगनजस्तै बनेछन्। कर्तव्य पूरा गर्नैपर्ने र गर्दा पनि कहिल्यै सुख नहुने ‘बेहुली अन्माएको घर’जस्तै भएछ।
गाउँको ‘लोकल’ हराएछ। गाउँमा अब लोकल होइन, ब्रोइलर पो पाक्दो रहेछ बेस्सरी। विषादी मिसिएका तरकारीहरू अग्र्यानिकका नाममा गाउँतिर हुने रहेछन् भरमार।
चोरीका दुई पांग्रेहरू पुग्दा रै’छन्- गाउँमा। लाइसेन्सबिनाका सवारीहरू कच्ची बाटो खोज्दै लुक्न पुग्ने रहेछन्- गाउँमा।
किसानप्रधान मुलुक भएर के गर्नु? खेती किसानीका लागि कामदारहरू रहेनछन्- अब गाउँमा। राम्रो कुरा सिकाउने शिक्षकहरू रहेनछन्- अब गाउँमा।
गाउँ रत्तिा घरहरूको समूहजस्तो। गाउँ-खडेरीले चिरा-चिरा पारेको खेतजस्तो। निर्वाचनका बेला मात्र तात्ने र अरू बेला सेलाउने कामीको खलाँती घरजस्तो।
वाक्य बोल्दा पनि सुख छैन- गाउँमा। नबोल्दा पनि सुख छैन- गाउँमा। गाँड कोराकोर, टाउको फोराफोर। कुरा चोरा-चोर अनि घर-घरको भण्डाफोर।
गाउँको झ्याल्टीमा सभा बस्छ। झ्याल्टी नै फैसला हुने केन्द्र। बूढाहरू बारम्बार बूढो इतिहास खोतल्छन्। बूढी आइमाईहरू घरधन्दाको सकस पोख्छन्। अरब, कतार र दुबईमा लाहुरे बनेर छोराहरू भेडा चराउँछन्।
साँझ बिजुलीपानीमा बेजोड बौलाउँछ र दिनभरको रसि पोख्छ गाउँ। स्वास्नीलाई राती भकुर्छ- गाउँ। नीति र नैतिकता बेचेर नैतिक हराम बन्न खोज्छ, मेरो गाउँ।
मीठा शब्दहरू पनि शत्रु बन्छन्। मीठा भाकाहरू पनि कर्कश लाग्छन्। राम्रो पनि नराम्रो, नराम्रो पनि राम्रो।
बाटोमा पनि राजनीति। पानीमा पनि राजनीति। विद्यालयमा पनि राजनीति।
ठुटे नेताहरू आफ्नै बुहारीलाई शिक्षक भर्ती गर्छन्। बिजुली पानीमा रत्तिएका मास्टरहरू राता आँखा पारेर छात्रामाथि कुदृष्टि लगाउँछन्।
कुलो भत्केको छ, कुरो पुग्दैन माथि। धारा बिग्रेको छ, धारणा पुग्दैन माथि। बाटो जोतिएको छ, बनाउने जोदाहा निस्कँदैनन् कोही।
उपभोक्ता समिति- सबै ‘मिनी ठेकेदार’ गाउँमा। कम्पाउन्डर पनि- ‘ग्रेट डाग्डार’ गाउँमा। मातृशिशु कार्यकर्ता पनि ‘ग्रेट गड्सेस’- गाउँमा।
बजेट आउँछ- भाग खोज्छन्। आउँछ विकास- मारामार समितिमा बस्न। गाविस सचिव मन्त्रालयका सचिवभन्दा ठूला। सबै लोकल, देखिएनन् भोकल। सबै जान्ने, नजान्ने रहेनछन्- कोही गाउँमा।
गाउँ निर्माता देखिन्न गाउँमा तर गाउँ बिगारा अनगिन्ती छन्। ‘गुड एडभाइजर’ छैनन् कोही तर फटिचर थरीथरीका र मापाका छन्।
कोही ‘बम्बई सपना’ बेच्छन् र कोही ‘क्रिस्चियन महात्म्य’ ओकल्छन्। कोही विलौना पोख्छन्, विरह विरहका गाउँमा।
खेतका गराहरू बेचिन्छन्- गाउँमा। बारीहरू हडपिन्छन् साहूद्वारा- गाउँमा। बाआमाका सपना किन्न गएका छोराहरू धनको रास होइन, केबल लास बन्दै आउँछन्- बन्द बाकसमा।
धेरै समसुल, राकेश दत्त र हरपि्रसादहरू उतै कैद परेको खबर आउँछ- निरन्तर गाउँमा।
चमेली, वसन्ती र दिलमायाहरूको अस्मिता लुटिएको मेसेज पुग्छ- गाउँमा। विकृति बोकेर पनि हरबखत दीर्घायु बन्न खोज्छ र पनि गौरवहीनता पोखिन्छ-छयालब्याल गाउँमा।
सहमति सबै कुरामा हुन्छ। सत्ता, सम्पत्ति र प्रतिष्ठाका लागि हुन्छ। खान र ख्वाउनमा मात्र सहमति।
तर, अहँ हुँदैन- बाटोका लागि सहमति, विद्यालयका खातिर सहमति र विकासका लागि सहमति।
अपितु, आफ्नै माटोसित सहमति गर्न नसक्ने कस्तो संस्कार? आफ्नो गाउँसित सहमति गर्न नसक्ने कस्तो प्रवृत्ति? आफ्नै ठाउँमा सिर्जना रोप्न नसक्ने कस्तो संस्कृति?
कुरो बझ्नुपर्ने हो कि माटोको पनि ज्यान हुन्छ। माटोको पनि जीवन र जिन्दगानी हुन्छ। माटोको पनि बोली हुन्छ। माटोको पनि रहर र कहर हुन्छ- मुटुमा।
सुमसुम्याउ- आफ्नै मनलाई। सुमसुम्याउ- आफ्नो माटो र पानीलाई। सुमसुम्याउ- गाउँलेका गह र बहहरूलाई।
गाउँ पनि बोल्छ- ठाउँ पाए। माटो पनि रुन्छ- दुःख बिसाउने चौतारी पाए।
चराहरू पनि उडेर आउँछन्- फेरि आफ्नै गाउँठाउँमा। नदीहरू पनि मीठो गाना सुनाउँछन्- एउटा रमाइलो फोरममा। हावा पनि गर्छन् हातेमालो- हृदयभरकिो स्नेह, सद्भाव र सन्निकटतामा।
बाटो पनि बोल्छ बेला आएपछि। माटो पनि खुल्छ- शुभ मुहूर्त भएपछि। हेप्न पाइन्न- बाटोलाई, हृदयले चुम्नुपर्छ। पेल्नु हुन्न- गाउँलाई गला लगाउनुपर्छ। बिगार्नु हुन्न- गाउँलाई, सक्दो तवरले सपार्नुपर्छ।
त्यसैले बाटो व्यवसाय रहेछ। बाटो- नबिकेको छोरी बाटो लाग्ने अर्काे बेग्लै बाटो रहेछ। बेरोजगार भुसतिघ्रे छोरो पनि कन्डक्टर हुने मेसो रहेछ।
अदुवा, अलैँची र अमि्रसो पनि अब त डलर खोज्न बाहिरँिदा रहेछन्। आलु, अकबरे र ओलन पनि राजधानीतिर हुँइकिदा रहेछन्।
बाटो बजार पनि रहेछ। बाटो- यात्रु र चालकको साझा बिसाउनी पनि रहेछ। रसि उठेपछि छोरीले ‘हिँड्दिन्छु अनि’ भन्दै घुर्काउने पनि यही बाटो रहेछ। बाटो-परविर्तन, बाटो विकास र बाटो विकृति पनि रहेछ।
बाटोको बयान यत्ति हुँदा हुँदै पनि बाटो सधैँ बिचरो हुँदो रहेछ। बाटोको विषयमा वकालत गर्ने बलियो वकिल कोही हुँदो रहेनछ। किनभने, त्यही कार्यक्रममा एउटा नेताले भनिहाले प्वाक्क- ‘ल है मोहनजी, यो बाटो बनाउने पहलचाहिँ तपाईंको। बेलैमा आउनुभयो। यो बाटो बनाउनुपर्यो तपाईंले।’
मैले पनि पत्थरको जवाफ पत्थरले भनेझैँ फर्काइहालेँ- ‘भोटचाहिँ चाहिने तपाईंहरूलाई, बाटोको अभिभाराचाहिँ मेरो।’
उनले फेरि दह्रो अडान तेस्र्याए- ‘यो बाटो सौतिनी बाटो। खानीगाउँको बाटो र यो बाटो सौता-सौता हुन्। सौता बाटो हामी सरकारमै भए पनि बनाउँदैनौँ। सौतेनी बाटो बनाउन हामीलाई कर छैन।’
म तीनछक्क परेँ। तामाकोसीको पानी नै बैगुनी हो कि यिनको मति भ्रष्ट भएको हो? यिनीहरूको यस्तै सोच र संस्कारले नै यिनीहरू तल झरेका त होइनन्? के बाटो पनि सौता सौता हुन्छ र भन्या? के माटो पनि बैगुनी र बेइमानी हुन्छ र भन्या?
मेरो दिमागमा चक्कर लाग्यो र म घोत्लिन थालेँ- ‘के बाटोको पनि दोष हुन्छ र? के माटोको मूल्यमा पनि कैफियत हुन्छ र? बाटो पनि कांग्रेसको, एमालेको, माओवादीको र राप्रपाको हुन्छ र?’
फेरि बाटोसँग वाद हुँदैन। बाटोले न वाद रोज्छ न विवाद। बाटोले न भोटको लेखाजोखा गर्छ न नाफा नोक्सान नै खोज्छ। न विरोधको नारा तेस्र्याउँछ, न बाटोले लिन्छ, कहिल्यै विश्राम।
मेरो विचारमा गाउँ सप्रे पनि सोचाइमा झनै धमिरा लागेछ। सबै कुरा बाटो, पानी, विद्यालय, समूह गठन सबैमा घुसेछ राजनीति। विश्वासले नेटो काटेछ। बडापन बढेछ, बुद्धि बढेनछ। बुराइ बढेछ, विनम्रता बढेनछ।
आखिर यो गाउँलेको बाटो हो। यो बाटो सबै मान्छे हिँड्ने राजमार्ग हो। आफ्नो गाउँप्रतिको जिम्मेवारी, माया र कर्तव्यले मैले बनाउनैपर्छ- यो बाटो। चाहे बाटो, कांग्रेस, एमाले, माओवादी वा जसको होस्। बाटो बाटो नै हुन्छ। माटोको माया सधैँ अगाध, अमर र अनन्त हुन्छ ।
मोहन चापागाईं
नेपाल साप्ताहिक अंक: ६०६
२०७१ श्रावण ११
Jul 27, 2014
