Skip to content


महाभारतको कथाका बारेमा हामी सबै जानकार छौँ। पाण्डव र कौरवबीच बाँडिएको यो युद्धकथामा धेरै उपकथा जोडिएका छन्। महाभारत कथामा सबैभन्दा ठूलो अन्यायमा परेका दुई पात्र छन्- बर्बरकि र कर्ण। दुवैलाई अन्यायमा पार्ने काम कृष्णबाटै भएको हुनाले मानिसहरू यी महान् पात्रका बारेमा धेरै चासो राख्दैनन्। महाभारतमा कृष्णको छवि भगवान्का रूपमा छ। शिशुपाल, कंस र जरासन्धजस्ता लडाकूहरू कृष्णका शत्रु मानिन्छन्। त्यसैले तिनलाई घृणापात्रका रूपमा परिचित गराइएको छ।

तर, बर्बरकि महाभारतकालका सबैभन्दा विद्वान् र सबैभन्दा बहादुर थिए। तिनी कृष्णका भक्त थिए। तर, तिनी जहिले पनि हरुवाको पक्ष लिन्थे। कौरवको पराजयप्रति आश्वस्त भएका कृष्णले अन्तिम घडीमा बर्बरकिले कौरवको पक्ष लिन्छ भन्ने बुझेर उसलाई महाभारत युद्धबाट बाहिरै राखे। कृष्णको मीठो वचनको सिकार भएर उनले महाभारत युद्धमा भाग लिन पाएनन्। यस्तै अर्का बहादुर, न्यायी र असल पात्र थिए, कर्ण। तिनी पनि कृष्णका विरोधी थिएनन्। तर, कृष्णकै कारण महाभारत युद्धमा उनी भूमिसात भए।

यो समीक्षकले कर्णलाई नायक बनाएर कथा रचेको कतै पढेको थिएन। उनीप्रति सहानुभूति त महाभारत कथाले नै जन्माइदिन्छ। तर, महाभारतले उनीप्रति न्याय नगरेको हुनाले अरूले पनि कर्णलाई महानायक बनाउने कोसिस गरेनन्। किनभने, कर्णको महानताको गाथा गाउँदा कृष्णको महत्ता स्वतः कमजोर हुन्थ्यो।

तर, ८१ वर्षको उमेरमा स्वाभिमान शीर्षकको महाकाव्य लेख्ने रमेशचन्द्र देवकोटाले कर्णलाई एउटा स्वाभिमानी पात्रको परचिय दिएर कर्णप्रति न्याय गरेका छन्। कृष्णले, ‘तिमी कुन्ती फुपूकै छोरा हौ, सबै पाण्डव तिम्रा भाइ हुन्, आफ्नै भाइका विरुद्ध किन युद्ध गर्छौ, पाण्डवतिर लागेर राज्यको सुखभोग गर, कौरवहरू पराजित हुने निश्चित छ’ भनेर सम्झाउँदा कर्ण यस्तो निष्कर्ष सुनाउँछन्: ‘कुन्ती मुमा हुन सब जान्न पाएँ, अज्ञानमा ज्ञान भयो रमाएँ…, म कौरवैका गणमा बसेर, गर्नेछु यो युद्ध डटी खटेर, वचिार मेरो प्रभुसामु यै छ, सम्पूर्ण आफैँ सब जान्नु हुन्छ।’

महाकाव्यको यो अंशमा कर्ण महाज्ञानी देखिन्छन्। युद्धमा हारनिे कुरा पनि उनलाई थाहा छ। युद्धको परिणाम कृष्णको इच्छामा भर पर्छ भन्ने ज्ञान पनि उनीसँग छ। पाण्डव पक्षमा जाँदा सबै खालको राज्यसुख भोग्न पाइन्छ भन्ने पनि उनलाई थाहा छ। कौरव पक्षमा लाग्नु भनेको जानी जानी मृत्यु अँगाल्नु हो भन्ने पनि उनी जान्दछन्। तर पनि कर्ण आफ्नो विवेक त्याग गर्न मान्दैनन्। कृष्णले देखाएका सबै खाले लोभलालचको तिरस्कार गर्दै उनी भन्छन्, ‘यहाँ मता कौरवकै हिताय, जो नुन खाएँ उसकै छ काय, यो युद्धमा सैनिक एक बन्छु, छोडेर यो अन्तिम देह जान्छु।’

आफूले मनाउन नसकेपछि कृष्णले कुन्तीलाई कर्णसमक्ष पठाउँछन्। कुन्तीले कुमारी आमा हुनुको पीडा, आफ्नो मनको चोटको बखान गर्दै कर्णलाई आफ्नो जेठो छोरो भएर पाण्डवतिर लाग्न अनुरोध गर्दा कर्ण भन्छन्, ‘आमा र्फकनुहोस् गयो प्रहर ता छाए रवि व्योममा, बिर्सी कर्ण पाण्डवसँगै बस्नोस् उतै हर्षमा, …छोडी कौरवसाथ पाण्डवसँगै जाँदा स्वयम् मर्दछु, मेरो बोल र मानको छ पगरी दागी बनी पोल्दछु।’

अहिले स्वाभिमान मरेको छ नेपालमा। भौतिक सुखसुविधाका लागि ठूला नेतादेखि सामान्य नागरकिसम्म आफूलाई बेचिरहेका छन्। नेपालका अर्थमन्त्री विश्व बैंकले नेपाललाई दिइने ऋण र अनुदान बढाइयोस् भनेर सार्वजनिक आग्रह गर्छन् भने एउटा नागरकि मुलुकभित्रै बसेर १० वटा बङ्गुर पालेर मासु आयात घटाउने काममा सहभागी हुनुभन्दा विदेश भासिएर नेपालतिर मासु निर्यात गर्ने कामलाई राम्रो मान्छन्। यस्तो देशमा स्वाभिमानको महत्ता कति बढेको होला ! पाठकले सोच्नुपर्ने कुरा चाहिँ यत्ति हो।

महाभारतलाई स्वाभिमान महाकाव्यको आधार बनाए पनि रमेशचन्द्र देवकोटा युद्धको विपक्षमा उभिएका छन्। आफ्नो लेखकीय मन्तव्यमा उनी भन्छन्, ‘यो पौराणिक आख्यान आजको सन्दर्भसँग पनि मेल खाइरहेको छ भन्ने मलाई लाग्दछ। आजको परविेश, समाज, राजनीति र सामाजिक वातावरण प्रकारान्तरले महाभारतमा वणिर्त युद्धकै पछिल्ला शृंखला हुन् भनिदिँदा के फरक पर्ला र? म चाहन्छु, यस्तो अमानवीय युद्ध, कुटिल षड्यन्त्र, अपमान र अमानवीयपनको अन्त होस्। हरेक मानिस स्वाभिमानपूर्ण ढंगले बाँच्न सकोस्। कर्णको गाथालाई काव्यमा अभिलिखित गर्नुको मूल उद्देश्य पनि यही हो।’

नेता र साहित्यकारबीचको सबैभन्दा ठूलो भेद यही हो। राजनीति यतिबेला स्वाभिमानको विपक्षमा छ, साहित्य स्वाभिमानको रक्षामा उभिएको छ। महाकाव्यको संयोजन असाध्यै गाह्रो काम हो। तर, देवकोटाले स्वाभिमान महाकाव्यलाई छन्दका भिन्न भिन्न रूपहरूले सिँगारेका छन्। छन्दमा गाउन जान्ने र पद्य पढ्न रुचि लाग्नेहरूका लागि स्वाभिमान महाकाव्य सुन्दर लाग्छ नै, यसमा सिँगारएिका सुन्दर वचिारका कारण हामीजस्ता गद्यमार्गीहरूका लागि पनि यो कृति पठनीय भएको छ।

साहित्य संस्कृतिको निर्धारक र सभ्यताको वाहक हो। व्यास हुँदैनथे भने साढे तीन हजार वर्षअघिको समाजको अनुहार चिनाउने महाभारत पनि जन्मिदैनथ्यो। बाल्मीकि हुँदैनथे भने हाम्री सीतामाता र त्यो बेलाको जनकपुरीको चित्र पनि सजिलै खिँचिदैनथ्यो।

एकपल्ट म दोहोर्‍याउन चाहन्छु, महाकाव्यकारको उमेर। ८१ वर्षमा औसत नेपाली प्रभुभक्तिमा लिन भएर भजन गाउँछन्। तर देवकोटा, कर्णकै गौरवगाथा गाउँदै भन्छन्, ‘श्री कर्णका नियत माफिक कर्म आज, मान्दै छ पुज्य वरदान यही समाज। जन्मियून् नेपालमा कर्णहरू !’

स्वाभिमान (महाकाव्य)
लेखक : रमेशचन्द्र देवकोटा
प्रकाशक : अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान, नेपाल
पृष्ठ : १६+१५४
मूल्य : २७५ रुपियाँ

नेपाल साप्ताहिक अंक: ६०६
२०७१ श्रावण ११
Jul 27, 2014

Leave a Reply

Your email address will not be published. Required fields are marked *