हौ साईला !
आजकाल तिम्रो यादमा
एकोहोरिन्छ चरिभाङ्गे
हेर्छ वारेबुङ् कोक्मालाई टोलाएर !
सातथुम्केको उभै उभो फालेलुङ काटीजादा
कतै भुल्यो कि चरीभाङेलाई ?
सेगेवाको गड्तीर हुँदै
इँवा खोलाको तीरै तीर उधो
तमोर हुँदै मुग्लान् भासिन्दा
कतै भुल्यो कि चरीभाङेलाई ?
आजकाल तिम्रो यादमा
एकोहोरिन्छ चरिभाङ्गे
हेर्छ वारेबुङ् कोक्मालाई टोलाएर !
हौ साईला
तिमीलाई याद हुनु पर्ने
खानाक्पा, चिम्भिङ खोज्दा
चोत्रोक् र एेसेलु टिपी खादा
तिमीले माया साटेको थिएछौ चरीभाङ्गेसँग ।
खै उहिले कहिले हो
अक्षय त्रीतियामा सातुसँग मिसाएर
एक झोला माया
हाली दिएको थिएछ तिमीलाई चरीभाङ्गेले !
नभेट्नुको पीडाले होला
आजकाल तिम्रो यादमा
एकोहोरिन्छ चरिभाङ्गे
हेर्छ वारेबुङ् कोक्मालाई टोलाएर !
हौ साईला !
त्यो पनि थाहा होला ?
चरिभाङ्गे मुन्तिर
पञ्चमीडाडामा उभिएर रुदै
चरिभाङ्गेको जेठो छोरो
सहिद् चन्द्र खरेलले
शान्ति लिएर आउनु भन्दै
दुई थुङ्गा सेतो गुराँस
तिम्रो कानमा सिउरी दिएको थिएछ !
चतुरेडाडा, पाउवा भञ्ज्याङ
र राके नागेर उधै उधो
मधेस झरिजादा
कतै भुल्यो कि ? चरिभाङ्गेलाई ।
नभेट्नुको पीडाले
आजकाल तिम्रो यादमा
एकोहोरिन्छ चरिभाङ्गे
हेर्छ वारेबुङ् कोक्मालाई टोलाएर ।
रुमानी यादहरू बोकेर आऊ साईला !
अहिले चरिभाङे
चियाको बुट्यान् भएर
मुना चिमोटिदै
पलुवा पलाउनुको मज्जा जिन्दगी
आफ्नो अर्ज्ञानिक बासना
संसारभरी डलरसँग साट्दै छ ।
@@@@@@@@@@@@@

नमन
करिब साल पछि देखेँ सुजन दाई लाई मझेरी मा
thanks
samjhunu bhaekoma thanks Toya ji