देशको सेवकले भन्यो – देशको मुक्तिको एक मात्र उपाय छ अनि त्यो हो तल्लो जातका मानिसहरूसँग पनि भाइचाराको सम्बन्ध, दलीतहरूसँग पनि बराबरीको ब्यवहार। संसारमा सबै दाजु-भाइ हुन, कोही तल्लो र माथिल्लो जात हुँदैन।
जनताले जय-जयकार गरे – कति विशाल दृष्टि, कति भावुक हृदय!
उसकी सुन्दर छोरी इन्दिराले यो कुरा सुनी अनि चिन्ताको सागरमा डुब्न थाली।
देशको सेवकले तल्लो जातिको युवकलाउ अङ्कमाल गऱ्यो।
जनताले भने – ऊ त देवता हो, पैगम्बर हो, देशको डुङ्गा पार लगाउने माझी हो।
इन्दिराले देखी र उसको अनुहार चम्किन थाल्यो।
देशको सेवकले तल्लो जानको युवकलाई मन्दिरमा लग्यो, देवताको दर्शन गरायो अनि भन्यो – हाम्रो देवता गरिबीमा छन्, तिरस्कारमा छन्, अपमानमा छन्।
जनताले भने – कति शुद्ध अन्तस्करणको मानिस, कति ज्ञानी!
इन्दिराले देखी र मुस्कुराई।
इन्दिरा देशको सेवकको नजिक गई र भन्न थाली – पुज्य पिताजी, म मोहनसँग विवाह गर्न चाहन्छु।
देशको सेवकले मायालु नजरले हेर्दै सोध्यो – मोहन को हो?
इन्दिराले उत्साहपूर्वक भनी – मोहन त्यही युवक हो, जसलाई तपाईँले अङ्कमाल गर्नुभयो, मन्दिर लैजानु भयो, जो साँच्चै नै बहादुर र नेक छ।
देशको सेवकले प्रलयको नजरले उतिर हेऱ्यो र मुन्टो बटाऱ्यो।
२०७१ भाद्र १४
मुन्शी प्रेमचन्दको लघुकथा राष्ट्रका सेवक को नेपाली अनुवाद
अनुवादकर्ताः एकदेव अधिकारी
मझेरीमा पहिलो पटक प्रकाशित मिति – 2014-09-01 20:35:05 +0545
