Skip to content


म त
आज–आज, भोलि–भोलि
पर्सि–पर्सि, निकोर्सि–निकोर्सि
हराउने बाटोमा हराइजानेछु
खस्ने बाटोमा खसिजानेछु
लौ, राम्ररी सुनिराख्नुहोस् है
अहिलेको समैसाल
अहिलेको समैसालमा भनेको कुरा
लौ राम्ररी सुनिराख्नुहोस् है!

पुस्तक मुन्दुम
संकलक/सम्पादक भोगीराज चाम्लिङ
प्रकाशक किरात राई चाम्लिङ खाम्बातिम
पृष्ठ १३२+४,
मूल्य रु.३००

दुर्छिम–४ खोटाङका चाम्लिङ राई नछुङ (धामी) शिवराज हरेक कार्जेमा मुन्दुमको प्रत्येक फित्तुङ (अन्तराल) मा यही आह्वान गर्छन्। दरदाजुभाइ र भद्रभलाद्मीका बीचमा चिन्ता बस्दा मुन्दुमी नछुङहरूले यसो भन्नु रीत, संस्कार, आह्वान सबै हो। तर, आँधीबेहरी बनिआएको आधुनिक जमानामा यस्तो सांस्कृतिक आह्वान कसले सुन्ने? यो प्रश्नमा गम्भीर नहुने हो भने नेपालका अनेक संस्कृतिमध्येको एउटा प्राचीनतम सम्पदा लोप हुने अवस्था आएको छ। यो गम्भीरतामा युवा अनुसन्धाता भोगीराज चाम्लिङ र किरात राई चाम्लिङ खाम्बातिमबाट ज्यादै प्रशंसनीय कामको थालनी भएको छ– किरात मुन्दुम श्रृङ्खलाको प्रकाशन मार्फत।
किरात मुन्दुमको लेख्य परम्परा छैन। कथ्य रुपमा सन्तान दरसन्तान हस्तान्तरण हुने यो समृद्ध संस्कृति धेरथोर त्यही कारण धरापमा पर्‍यो। आज त यस्तो अवस्था आइसकेको छ कि किरातहरूको जन्म, विवाह, मृत्यु लगायतका समयमा संस्कारहीन तालले कार्जे उतार्नुपर्ने स्थिति सिर्जना भएको छ। खोटाङ, निर्मलीडाँडाका चाम्लिङ रानाहँछा किरातहरूले नछुङको अभाव भएर उँभौलीमा साकेला पुज्नै छाडेका छन्। जन्म, विवाह, मृत्यु, उँधौली–उँभौली लगायतका संस्कार टार्न किरात राईहरूले नछुङ खोज्दै सात गाउँ चहार्नुपर्ने अवस्था छ। नछुङ उत्रनै छाडेको र भएकाहरू पनि वार्धक्यतिर लागिसकेकाले यो समस्या हरेक साल बढ्दो छ। ७२ वर्षीय शिवराज राईले पनि सकीनसकी यो जिम्मेवारी धानिरहेका छन्। उनको कुनै उत्तराधिकारी छैनन्।

मुन्दुम किरातहरूको मात्र नभई नेपालकै विशाल सांस्कृतिक सम्पदा हो। सयकडौं वर्ष पहिले किरात पुर्खाहरूको अनेक पुस्ताले मानव सभ्यताको उषाकालमा रहस्यको विषय रहेको ब्रह्माण्ड, पृथ्वी, जीवन, मृत्यु, प्रकृति, रोगव्याध आदिको व्याख्या–व्यवस्थापन गर्ने विद्या मुन्दुम आविष्कार गरेका थिए। मुन्दुम लोककल्याणको विद्या हो, जुन किरात नछुङहरूमा सीमित हुँदै अहिले आधुनिकता र बसाइँसराइको निर्मम चपेटामा परेको छ। यसलाई दुर्लभ हुन लागिसकेका नछुङहरूबाट संकलन गरेर प्रकाशन गर्दै जाने जमर्को निःसन्देह रुपमा प्रशंसनीय छ। वैभवपूर्ण नेपाली संस्कृतिमाथि गर्व गर्ने सरकारी तथा गैर–सरकारी निकाय र व्यक्तिहरूले स्रोतसाधनको अभावमा काम गरिरहेका अनुसन्धाताहरूलाई सहयोग गरेको खण्डमा सही ठाउँमा लगानी गरेको ठहरिनेछ।

नेपाली र अंग्रेजी अनुवादसहित आउन थालेको यो चाम्लिङ किरात राई मुन्दुम (किरात वेद) सबै जातजाति र धर्मावलम्बीका लागि रोचक छ। साथै, यसमा समेटिएको मुन्दुमी सामग्री, वनस्पति तथा पशुपन्छीको सचित्र वर्णनले नेपालको हिमाल, पहाड र मधेश कसरी अभिन्न छ भनेर देखाउँछ।

आनन्द पी. राई
हिमाल खबरपत्रिका
१५-२१ भदौ २०७१
31 Aug – 6 Sep 2014

Leave a Reply

Your email address will not be published. Required fields are marked *