Skip to content

तरल क्षणहरू


यतिखेर मसँग बाँकी केही तरल क्षणहरू छन् । उसका सजीव स्मृतिहरू छन् । अरु मसँग केही चिज वाँकी छैनन् । एउटा सिंगो अतित मस्तिष्कका भित्तामा टाँसिएकोछ । त्यसलाई ओल्टाई पल्टाई हेर्ने गर्छु । बार्धक्यका स्फूट संकेतहरू शरीरका अवयवहरूमा खस्न थालेकाछन् । सबै सबै चिज शिथिल हुँदै गएकाछन् । शिथिलता मेरो मन र शरीरको एउटा अंग बनेर उभिएको छ ।

जवान दिनका उमंगहरूलाई स्मृतिपटमा निम्ता गरेर घोरिनु फुर्सदको समय टोल्ने उपाय गतिलो काम हुन्छ मेरो लागि ।

रागविरागबाट मुक्त भएर तटस्थ भएर जीवनलाई परिवेक्षण गरिरहेछु । वैराग्यवोधको धुन प्रवल रुपले सुसाइरहन्छ भित्र भित्र । उसले छाडेर हिडी, यो उमेरमा, यत्रो वर्ष कुन अनुरागले मसँग बसेकी थिई होला? मैले सजिलोसँग सुल्झ्याउन नसक्ने प्रश्न छोडेर गएकी छ ऊ । उसका आकांक्षाहरूको गहिराई नाप्न नसक्नु मेरो कत्ति ठुलो कमजोरि । मेरो अस्तित्व प्रत्यक दिन कक्षामा घोट्ने चक जस्तो खिँइँदो छ । घोटिदा घोटिँदै आकार विहीन हुनु चकको नियति । पढाउँदा पढाँउदै जीवन नामेट हुनु एउटा मास्टरको नियति । त्यो नियतिको सीमान्त विन्दुतर्फ दु्रतगतिमा उन्मुख भैरहेको संकेत मिलिरहेछ ।

बैगुनी रैछिन मित्र उनी मेरो सहकर्मी मित्रले ऊप्रति टिप्पणी गर्यो । म चुपचाप प्रतिक्रया वीहिन आँखाले उसलाई हेर्छु । ऊ थप्दै जान्छ – “मित्रको सरलपनाको गहिराई नाप्न सकिनन् । एउटा शिक्षकको जीवनको महत्तालाई वोध गर्न सकिनन् ।”

“छोडदेऊ मित्र यी सबै कुरा । उसले जुन बाटो रोजी सही रोजी । मेरो खुशीको लागि उसका अन्तर इच्छाहरूको वलि चडाइनु हुन्न थियो । मान्छेलाई जे चिजले अपार खुशी दिन्छ, त्यही गर्नुपर्छ । ऊ अब मसँग रहँदाभन्दा नरहँदा बढी खुशी हुनसक्छे भने उसले सही कदम उठाएकी छ । म उसको यस कदममा आग्रहपूर्वाग्रहको साँगुरो कोणबाट हेर्न चाहन्न ।”

मैले उसलाई यसरी हस्तक्षेप गरेपछि उसले फेरि वोल्ने आँट गरेन । ऊ चुपचाप उठेर हिँड्यो ।

आज मास्टरी गरेको अठार वर्ष पछि जीवनलाई समीक्षा गर्दा सबै हिसावमा हात लाग्यो शून्य मानसिक सन्तुष्टिको पातका हृदयको किल्लाबाट निकालीदिने हो भने त मैले उहिलेनै आत्माहत्या गरिसकेको हुने रहेछु । अपार आत्मासन्तुष्टिको सम्वलवाटै म जीवित भएको रहेछु ।

आज यो टोलमा यत्रा घर भएर पनि म घरविहीन छु । पन्ध्र सय छोराछोरीहरूको सान्निध्यमा अहोरात्र रहेर पनि म आफू भने छोराछोरी विहीन छु । यतिखेर त म स्वास्नीविहीन पनि भएको छु ।

ब्लाकवोर्डमा अक्षर पुछ्तापुछ्ता भाग्यरेखा नै मेटिएका हातहरू हेर्छु । एक जोर धमिला आँखाहरू छन् । चस्मा विना सबै सबै चिज धमिला देख्छु । अँझै केही आँसुहरू संचित रहेछ, त्यसको ज्ञात त्यो रात भो, जुन रात उसले मलाई छोडेर हिंडी; नचाहेर पनि निचोरिए आँखाहरू;उसलाई मेरो जीवन देखि आत्माग्लानि भयोहोला, त्यसैले त मलाई छोडी । जाने बेलामा फर्काउने प्रयास पनि गरिन । आजसम्म को जीवनमा सम्झौता नगरी नै बाँचे,अब किन चुत्थो कुरामा मैले सम्झौता गर्ने होला । यही भावना वलसाली आयो अनि त चुपचाप हेरिमात्र रहेँ ऊ गएको बाटो । अर्को कुरा कसैले सोनिर्णयबाट तय गरेको यात्रा विथोलिदिन हुन्न भन्ने मेरो मान्यता ।

मैले सधैँ सुखदुःख भनेको अनुभूति हो भने अनि सुखदुःखलार्ई हृदयको भित्री भागमा अनुभूति गर्नु पर्छ, सुखदुःख आँखामा संचित गर्नुपर्छ । सायद भौतिक भागमा विलासका वस्तुहरूमा सुख दुःख आँखामा संचित गर्नुपर्छ । सायद भौतिक विलासका वस्तुहरूमा सुख खोज्ने उनका आँखा र मेराआँखाहरूको अन्तरले ऊ मलाई छाडेर हिड्ँन वाध्य भएकी होली । त्यही सधारण अवस्थामा रहेँ । न म खानपानमा न ल्याउने कुरामा न तडक भडक र फुर्तीफार्तीमा विशिष्ट हुन खोजेँ । विशिष्टता र आडम्वरीको भाव कहिले पनि प्रकट भएन मेरो मनस्तलमा त्यही साधारणपनबाट वाक्क भएपनि मलाई छोडेकी हुनसक्छे । धन संचयको उग्र लालसा जुन मात्रामा म भीत्र हुनु पथ्र्थो, त्यसको लेसमात्र पनि नभेटेपछि ऊ आफ्नो बाटो लागेकी हो कि त? अहिले पनि मेरो कोठामा केही कितावका कितावहरू एउटा पुरानो र्यांकमा एउटा साधारण ओछ्यान, एउटा वर्को केही गीतका चक्का र थोत्रे टेपरिकर्डर,चुरोटको वट्टा, पुरानो फुल्टिन र फुलिस्केयप केही नलेखेका जिस्ताहरूबाहेक अरु गाँठी जुहारहरू केही छैनन् । यी वाहेक नाडीमा तेर वर्ष पुरानो एउटा घडी र भान्सामा एकसरो पकाई खाने भाँडा बाहेक केही छैनन् ।

ऊ सुनका वालामा स्टीलको आलमारीमा, महंगो बनारसी साडीमा पाँचतले अग्लो हवेलीमा जोड दिन्थी, ती चिजबाट खुशी, आनन्द र जीवनको उत्कर्षता प्राप्त हुने कुरा गर्थी । मलाई भने निलो आकाश, निलो खोला, हरियो धर्ती चराहरूको संगीत नै काफी थियो ।ऊ सम्पतिको उरुङ रासमा पौडिखेलेको सपना देखिरहेको वेला म तरुणतपसीको संचय कलाबाट हुने दःखलाई गुनिरहेको हुन्थेँ ।

हाम्रो वीचमा शुरुदेखि नै यस्ता विरोधाभाषाहरू थिए । विपरित वीचमा मिलाप गरेर वाँच्नूनै जीवन हो भनेर लामो समयसँगै वस्यौं । उनका तूच्छ भावप्रति निस्प्रह भएर रहेपछि उसले मसँग नबस्ने निर्णय गरेकी होली, अहिले त्यो अनुमान गर्छु ।

सार्थक विकल्प तयार नहुन्जेल परस्परका विरोधाभाषहरू सहेर पनि वस्नुपर्नेरहेछ । मलाई त्यस्तै लाग्यो ।उसले उपयुक्त विकल्प पाई अनि मलाई चटक्कै छाडी । मलाई छाडेकोमा पटक्कै खेद छैन । वरु मलाई खुशी नै लागेको छ, कम्तीमा मेरो जीवन यथावत रहेपनि उसको जीवनले त फरक खालको सुख अनुभुत गर्ने भयो ।

आँसु र स्मृतिहरू विस्मृतिको गर्भबाट भुलभुली बाहिर निस्किरहेको क्षण सिरानीमा थिचेको गीतालाई निकालेर पल्टाउँछु । जीवन निष्काम कर्मको लागि हो ? यो मन्त्र कति प्रतिसत मान्छेहरूले बुझे होला । सन्देहहरू पैदा हुन्छन् । आजसम्म तठस्तभावले कर्म गरे सुख दुःख दुवैलाई समभावले ग्रहण गर्न खोजेँ र पनि तुच्छताहरू अन्तरकुन्तरहरू दातमा खाद्यकण अड्केझै अड्किरहेछन । जीवन पूर्णतामा नटेकी अपूर्णतामै विनाश हुने रहेछ । कमजोरीबाट मुक्त सायद कुनै महापुरुषहरू पनि हुनसकेनन् होला । आत्मचिन्तनमा लिन भएको छु, अब शिक्षणबाट अजकाश लिने हो कि मनमा यस्तो सोच जन्मिएको छ ।

धेरै रातको मन्थन पछि फेरि अवकाश नलिने निष्र्कष निकालेँ । सुरुमा त लागेकोथ्यो – मैले अवकाश लिदाँ त्यसले कसलाई के फरक पार्छ र ? फरक पार्छ भने मेरो एकांगी जीवनलाई नै फरक पार्छ । तर त्यसो होइन रहेछ, मैले पढाउन छोड्ने वित्तिकै मेरो पारिश्रमिको एक हिस्साबाट दिउँसोको खाजा खाइरहेको एक दर्जन अनाथ वच्चाको जिन्दगीमा फरक पर्ने रहेछ । मेरो पारिश्रमिकको अर्को हिस्साबाट कापी कलम र पेन्सिल पाएर पढिरहेका एक हुल गरीव छत्र छात्राहरूको पढाईलाई फरक पार्ने रहेछ । निःशुल्करुपमा अनिरिक्त अध्यायन (ट्युसन) गरिरहेका निर्धन विद्यार्थीको पढाइ ठप्प हुने रहेछ । यी सबै सबै कुरा सोचेर ल्याउँदा मेरो नीजी जीवन पनि टुक्रा टुक्रा भएर असाहय निर्धन र टुहुराहरूको वीचमा बाँडिरहेको छ ।

स्वास्नीले छोडेर हिडेपछि मेरो जीवन एक्लो निर्जन टापु जस्तो भएको थियो जस्तो लागेको थियो । त्यस्तो टापु जाहाँबाट सम्र्पक र सम्वन्धका निजी गन्तव्यहरू कतै जान सक्तैनन् । तर त्यो बुझाई आफूमा गलत रहेछ । नजानिदो रुपमा म अनेकौ जीवनहरूमा विभाजित भएर भाग लगाएको रहेछु । आफ्नो जीवन अरुलाई वन्डा लगाइदिएर बाँच्नुमा नै मैले ठूलो सन्तुष्टि भेटें । म यो उमेरसम्म तेसैमा रमाएँ । त्यसैमा खुशी भएँ । त्यो अप्रतिम आनन्द र खुशी मलाई कुनै वस्तुहरूले पस्किन सकेनन् । मेरी स्वास्नीले मलाई कुनै ठुलो लोभ वरण गर्न नसक्नुलाई ठुलो कमजोरी ठानी । सम्पूर्ण रुपले जीवनलाई अरुमा आग लगाएर वाच्नुको महत्वलाई आत्मासात गर्न सकिन । उसलाई मेरो दर्शन वुझाउन पनि म असफल नै रहेँ । ऊभन्दा अगाडिकीले जसरी छोडी उसले पनि त्यसरी नै छोडी । छोडेकीमा हर्ष पनि छैन विस्मात पनि छैन । बरु स्थितप्रज्ञ भएर चुपचाप जीवनका घटनाक्रमलाई टुलु टुलु हेरिरहेको छु । उमेरसँगै जीवनसँगै तटस्थताको भाव हुर्किदै गएको छ, झ्यागिदै गएकोछ ।

आफ्नो सुदुर अतितलाई नियाल्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *