टाढाबाट हेर्नेले सिनेमालाई ‘मनोरञ्जनको दुनियाँ मात्र भन्छन्। यसलाई मनसित मात्र पनि जोड्छन्। मस्तिष्क वा अन्य अवयवसित यसको काम नभएको ठहर गर्छन् तर रमाइलो कुरा विश्वका तीन चिन्तक कार्ल गुस्ताभ जुँग, रमन महर्षि र सिग्मन्ड फ्रायोडले यसलाई जीवनको हरेक पाटासित जोडेका छन्।

अनपेक्षित रूपमा सिनेमाको मास अपिल धेरै छ सिनेमा नबुझ्नेका लागि अपार छ।

‘सिनेमाले सारा संसार बदलिन सक्छ’ भन्थे रुसका नेता लेनिन। उनले आफू भूमिगत हुँदा धेरै राम्रा सिनेमा ज्युरिचमा हेरे भने आफू सत्तामा आएपछि उनले रुसमा सिनेमाको विद्यालय खोल्न पहल गरे। र, उनैले कुलेसाव, पुडोवकिन र डोभजेन्कोजस्ता फिल्मकर्मीलाई फिल्म पढ्न र पढाउन कर गरे।

भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूले हिन्दी सिनेमासितै हाल मिलाएर सिनेमा हाम्रो संसार हो भनेर सम्बोधन गरे अनि बलिउडका तीन नायक देव आनन्द, दिलीपकुमार र राज कपुरलाई जोडेर थ्री बिगको नाम दिए। उनका समकक्षी पाकिस्तानका प्रधानमन्त्री मोहम्मद अली जिन्ना मुम्बई हुँदा अभिनेत्री नरगिसको सुटिङ हेर्न गइरहन्थे।

चीनका चर्चित नेता माओ डे जुंग हलिउडका अभिनेता चार्ली च्याप्लिनका फ्यान थिए, उनी उनलाई पछ्याइरहन्थे।

सिनेमासित जोडिएका धेरै राजनीतिक परिवार विश्‍वभरि नै छन्। सिनेमा ठूलो कुरा होइन तर ठूलो कुरा बनाउँछ जीवनलाई।

पाकिस्तानका पूर्वप्रधानमन्त्री बेनजिर भुट्टो राजनीतिमा आउनुभन्दा अघि सिनेमामा रुचि लिन्थिन्। उनलाई सिनेमामा ल्याउन बलिउडका फिल्मकार ओपी रल्हनले पूरै कोसिस गरेका थिए तर उनले आँट गरिनन्। बेनजिर पढाइसकेर नाटकतिर त लागिन्। सिनेमालाई उनले आफ्नो ‘कप अफ टी’ बनाउन चाहिनन्।

बेनजिरजस्तै पाकिस्तानका चर्चित क्रिकेट खेलाडी इमरान खानलाई सिनेमामा अभिनय गराउन भनेर नै बलिउडका फिल्म निर्देशक देव आनन्दले अब्बल नम्बर नामको सिनेमा लेखे।

राजनीतिक कारण आपसी द्वन्द्वका कारण पाकिस्तानी मूलका खानले हिन्दुस्तानी सिनेमा अब्बल नम्बर खेल्न सकेनन्। समय आयो सिनेमा बन्यो तर इमरानको ठाउँमा अमिर खानलाई लिएर।

इमरान खान, बेनजिर भुट्टोजस्तै भारतका पूर्वप्रधामन्त्री राजीव गान्धीलाई सिनेमामा अभिनय गराउन मुम्बई फिल्म उद्योगका धेरै निर्माता निर्देशकले ताकेता गरेका थिए तर सकेनन्। अन्तिमपटक ओपी रल्हनले गरेको कोसिसले राजीव एक्टर बन्न सकेनन् बरु उनका साथी अमिताभ बच्चनचाहिँ पर्दामा आए, नायक भएर।

सिनेमासित अद्भुत आकर्षण छुनसक्ने र तान्नसक्ने। तर, जसलाई सिनेमासित मोह छैन ती सदैव यो आर्क लाइट र चकाचौंधबाट परै रहन्छन्। अभिनेता नेता भएका छन् तर नेता अभिनेता भएको इतिहास कमै छ।

गायक, खेलाडी, सामाजिक अभियन्ता वा टीभी एंकरले पर्दामा छवि निर्माण गरेका छन्। तर, कतिले चाहेर पनि सिनेमासित साइनो जोड्न सकेका छैनन्।

सिनेमा गज्जबको ठाउँ हो। यहाँ आउन चाहने जीउज्यान लगाएर मरिहत्ते गर्छन् तर कोही बोलाउँदा पनि आउन मन गर्दैनन्।

गायक प्रेमध्वज प्रधानले म गायकमात्र हुँ नभनेको भए उनी पहिलो नेपाली चलचित्र माइतीघरका नायक हुन्थे वा उनी नेपाली सिनेजगत्कै पहिलो नायक मानिन्थे।

तर, उनले माइतीघरकी नायिका माला सिन्हा, निर्देशक बीएस थापा अनि निर्माता जोगेन्द्र झाको प्रस्तावलाई सामान्य सर्तमा अस्वीकार गरिदिए जसले गर्दा माइतीघरमा भानु राणाले नायक बन्ने कोसिस गरे। भानु पनि टिक्न नसकेपछि अन्तत: गीत गाउनै त्यहाँ पुगेका सीपी लोहनी माइतीघरका नायक भए।

माइतीघरको यो कथाजस्तै आमा चलचित्रको पनि त्यस्तै कथा छ, गायक शिवशंकर मानन्धर यसका नायक बने। उनले पनि यसपछि लोहनीले जस्तै अभिनयलाई त्यागिदिए।

होटल व्यवसायमा सम्बद्ध र शाहकालीन समयमा दरबारसित निकट भएका सहदेवशमशेर राणा पनि सिनेमा खेल्न मुम्बईसम्म पुगे, आफ्नो लाखौंलाख खर्च गरेर। तर, उनलाई के आसिफले नायक बनाउन खोजे पनि उनलाई मुम्बई फापेन।

उनी सिनेमा छोडेर पछि नेपाल फर्केर होटल अन्‍नपूर्ण चलाएर बसे। पछि उनी बलिउड, हलिउडबाट आएका कलाकारलाई होटलमा रात्रिभोज दिएर बसे। सिनेमासित उनको सम्बन्ध यतिमात्रै रह्यो।

बलिउडसित प्रत्यक्ष नाता नभए पनि काठमाडौं न्युरोडमा होटल चलाएर बसेका मथुरा श्रेष्ठले हिन्दीमै पहाडी जवान भन्ने सिनेमा बनाएर नाता जोडे तर उनी पनि यही एउटा सिनेमाबाटै पलायन भए।

सिनेमामा मानिस तीन कारणले आकर्षित हुन्छन्- प्रसिद्धि, सन्तुष्टि र जनसम्पर्क। तर, आर्थिक कारण पनि पछि यसको सहारा बन्न जान्छ। नेपाल र भारतजस्तो गरिब मुलुकमा धनसम्पत्तिभन्दा जीवन गुजारा नै प्रुमख कारण बन्न गएको छ।

आमाबाबुले अशिक्षा र अभावका कारण बाल्यकालमा छोराछोरीलाई सिनेमामा प्रवेश गराइदिए पनि पछि त्यो तिनको एउटा नशा वा अभिव्यक्तिको सशक्त माध्यम बन्न जान्छ।

बलिउडकी प्रसिद्ध अभिनेत्री रेखा आफ्ना माता र पिता दुवै सिनेमामा भएका कारण सिनेमाप्रति आकर्षित थिइन् तर पछि उनलाई परिवारले कि त पढ, कि त सिनेमामा जाऊ भनेपछि उनले बाध्य भएर सिनेमा नै चुनेको बताएकी छन्। सोफिया लरेन, झँ मारियाका पनि यस्तै कथा छन्।

नेपाली सिनेमामा अभिनय गर्न आएका नायक शिव श्रेष्ठ कुनै पनि सामान्य भूमिकामा खलनायकसम्म भएर खेल्ने रहरले आएका थिए र तउनी नायक भए र स्थापित भए। उनकै समकालीन अर्जुनजंग शाही नायक हुने इच्छाले आउँदा पनि खलनायकमा प्रविष्ट भएर पछि पेसागत कारणले चलचित्रबाट दूरस्थ हुनु प:यो। अर्जुनले पछि पनि चलचित्रमा पुनरागमन गर्ने कोसिस गरे पनि उनले सिनेमालाई सहृदयतपूर्वक लिन सकेनन्। उनी सिनेमाको सीमाबाट बाहिरै रहे।

अर्जुनजंग शाहीले खलनायकमा प्रवेश पाएकै बेला सिनेमाको चस्का लागेका शरतसिंह भण्डारी पनि जीवनरेखा नामक चलचित्रका निम्ति खलनायकमा चयन भएका थिए तर उनी आफ्ना पिताको अकस्मात् भएको निधनका कारण गाउँ फर्किनु प:यो र अन्तत: पिताको राजनीतिक जीवन सम्हाल्न सिनेमालाई छोडेर उनी राजनीतिमा प्रवेश गरे।

पञ्चायतकालमा रापसबाट राजनीतिमा प्रवेश गरेका भण्डारी पर्दामा नआईकनै हराउने एक कलाकार थिए। पछि उनले चलचित्रको मुहूर्तमा आउने र क्ल्याप बजाउनेबाहेक अरू काम गर्न सकेनन्। शरतसिंह भण्डारीजस्तै साहित्यिक जगत्मा कलम चलाइरहेकी शारदा शर्माले पनि कान्छी नामक चलचित्रमा नायिकाको भूमिकाका निम्ति अभिनयमा कोसिस गरेकी थिइन्।

साहित्यकार महेश्‍वर शर्माकी छोरी शारदा अभिनयमा आउन लागेको कुरा उनकै समकालीन मित्र चेतन कार्कीलाई मन परेको थिएन र उनले शारदालाई चलचित्र चुनौतीपूर्ण पेसा हो भनेर हटाइदिइन्।

शारदा शर्मा हाल साहित्यमै सक्रिय छिन् लेखन र अध्ययनमा। अनि विशेषत: धार्मिक स्थलको यात्रामा। शारदाको ठाउँमा कान्छीमा त्यति बेला एभेरेस्ट दन्तमञ्जनको विज्ञापन खेल्दै गरेकी शर्मिला शाह देखा परिन्। उनले कान्छीपछि वासुदेव, के घर के डेरा, चिनो, बादल, गोठालोजस्ता सिनेमामा अभिनय गरेर शारदाको अभावलाई पूरा गरिन्।

शर्मिला शाह सिनेमामा आएकै समय निकै ठूलो अभ्यास र मेहनतले अंशुमाला अर्थात् सुषमा शाही पनि चलचित्रमा आएकी थिइन्। चलचित्रप्रेमी धीरेन्द्र शाहीकी छोरी अंशुमालालाई उनकै मामाको नाता पर्ने हेमबहादुर लामाले निकै तालिम, दिग्दर्शन र दिशा निर्देशन दिएर चलचित्रमा ल्याए पनि पछि उनी टेलिभिजन प्रस्तोता विजयकुमार पाण्डेसित बिहे गरेपछि सिनेमाबाट ओझेल परिन्।

त्रिभुवन विश्वविद्यालयबाट एमए गरेपछि म पुन: चलचित्रमा आउँछु भनेकी अंशुमालालाई एमएले भन्दा बिहेले बाधा पु:यायो, उनी फर्केर नेपाली सिनेमामा आउन सकिनन्। उनले पच्चीस वसन्त र टेलिसिरियल मृगतृष्णामै आफ्नो प्रतिभालाई सीमित राखिन्।

तर, अंशुमालासित अभिनयमा आएका विजय लामा अहिले हलिउडको सिनेमामा समेत छाउँदैछन् र सक्रिय फिल्मी जीवन बिताउँछैन्। महिलालाई अवसरले मात्र पनि सफलता नदिँदो रहेछ भन्ने उदाहरण यो पनि एउटा हो।

विजय लामासँगै अभिनयको कखरा सिकेकी अंशुमाला अब विजय कुमारकी पत्नी भनेर मात्र चिनिन थालेकी छन्, त्यो पनि विजयकुमारसित कुनै कार्यक्रममा देखिइन् भने।

अंशुमालाजस्तै सूर्यमाला शर्मा पनि सरोज खनालसित बिहे गरेपछि हराएकी छन् भने लामो अन्तरालपछि सूर्यमाला भाष्कर ढुंगानाको सिनेमा सुन्तलीमा देखा पर्दैछिन्। सूर्यमालाकी बहिनी चन्द्रमाला जो माला परिवारकी पहिलो सिनेकलाकार थिइन् जसले सिनेकलाबाट बिदा लिएर अहिले जुत्ता पसल चलाएर बसेकी छन् दरबारमार्गमा।

चन्द्रमालाजस्तै कुनै समयकी चर्चिता सिनेनायिका रुसा राना अहिले जमलमा झोला व्यवसाय गरेर बसेकी छन्।

सिनेमा अद्भुत संसार हो; कोही पस्छन्, कोही फर्किन्छन्, कोही अल्झिरहन्छन्। यो एक्जिटको ढोकाजस्तै हो। यहाँ टिक्न धेरै समय र संयम चाहिन्छ। त्यसको ज्वलन्त उदाहरण हो, कुनै समयका चर्चित राजनीतिज्ञ फत्तेसिंह थारूकी साली सुषमा शाहीको।

मनको बाँधकी नायिका सुषमा शाही परिवर्तन र कान्छीजस्ता चलचित्रपछि प्रतिभा, रूप र सौन्दर्य हुँदाहुँदै पनि बलिउडका सिनेमा खेल्ने लालसाले पाकिस्तान गएपछि उतै पलायन भइन्। कहिलेकाहीँ उनको परिवारमा अरूले सिनेमाको रुचि देखाए पनि कोही देखा पर्न सकेको छैन, रंगीन पर्दामा।

सिनेमामा आउन पाएर पनि हराएका कैयन् कलाकार छन्, जसमध्ये डली गुरुङ र सिर्जना योञ्जनको नाउँ अग्रस्थानमा आउँछ। चाउचाउको विज्ञापनमार्फत काँचको पर्दामा देखिएकी डली (प्रतिभा गुरुङ) पाकिस्तानी निर्देशक आरएस सुलेमानको सात विजलियाँ की एक बिजुली थिइन्।

यो सिनेमापछि डली पाकिस्तानमा चर्चित अभिनेत्रीमध्ये एक थिइन् तर उनको जीवनचक्र मलेसिया, हङकङ हुँदै अन्तत: चलचित्रको रिलजस्तै घुम्दै ललितपुरकै झम्सिखेलमा सीमित भयो।

सिनेमाबाट पलायन भएपछि काठमाडौंको त्रिपुरेश्वरमा रोल्स् नामक रेस्त्राँ खोलेर पुन: नेपाली समाजमा देखा परेकी डली अहिले घरेलु म्यागेजिनका आवरणमा स्वास्थ्यबारे जानकारी दिँदै गरेको देखिन्छिन् भने उपत्यकामा हुने ह्यापिनिंग्स्मा उनी आफ्ना पतिका साथ झुल्किन्छन् मात्रै।

नेपाली संगीतजगत्मा किरण प्रधान, विनोद स्यांग्देन, बीके गिरी, विमला राई, संगीता प्रधान, तारा थापाजस्ता गायकगायिकालाई सपरिचित गराउने संगीतकार गोपाल योञ्जनले चलचित्रका निम्ति सबभन्दा बढी यादगार गीतमा संगीत दिए भने उनले चलचित्र र आधुनिक संगीतमा दिएका उनका गीत उनका सन्तानमात्र होइनन्, नेपाली कला सौन्दर्यको श्रीसम्पत्ति नै बनेको छ।

उनको जेठी सन्तान सृजना योञ्जनलाई उनले नै संगीत गरेको नेपाली सिनेमा पहिलो प्रेममा नायिकाको रूपमा निर्देशक चेतन कार्कीले चयन गरे तर सिनेमा सुरु भएर केही दिनपछि दुर्घटनामा परेर हात भाँचिएपछि सृजना अचानक सिनेमाबाट हटाइन् र उनको ठाउँमा करिश्माले प्रवेश गरिन्।

सांगीतिक परिवारबाट ठूलो सम्भावना बोकेर आएकी सृजना सिनेमाबाट हराए पनि हाल केही विज्ञापन र टेलिभिजन कार्यक्रमको एंकरका रूपमा देखा परिरहन्छिन्, यो नै उनको निरन्तरता मान्‍न सकिन्छ।

यदि सिनेमा सजिलो विधा हुँदो हो त अभिनेता राजेश हमाललाई उनका पिता चूडाबहादुर हमालले थिंक ट्वाइस् भन्ने थिएनन्। वा कविपुत्र अमिताभ बच्चनलाई उनका पिता डा. हरिवंश राय वच्चनले सिनेमामा भित्र भएर पनि हामी बाहिरै रहनुपर्छ भन्ने थिएनन्।

यो सिनेमाको स्वभाव हो, मुम्बईकी चर्चित अभिनेत्री लीला नायडूले होटल व्यवसायी ओवरायसित बिहे गरेपछि सिनेमालाई अछूत मान्नु प:यो भने शाहरुख खान अभिनीत स्वदेशकी नायिका गायत्री जोशी पनि त्यही परिवारको बुहारी भएपछि सिनेमा उनका निम्ति परदेश भएको छ।

के सही के गलत सिनेमामा भन्न गाह्रो छ, बीबीसी नेपाली सेवामा कार्यरतर सञ्चारकर्मी रवीन्द्र मिश्रले हाइवे नामक सिनेमा खेलेपछि असन्तुष्टि व्यक्त गरे र फेरि अभिनय सिके बलिउड अभिनेता नसिरुद्दिन शाहसित। बलिदान फिल्मबाट फालिएपछि पनि अभिनेता अनुप बराल अभिनयमा कोसिस गर्दैछन्, मूलधारमा पाखुरी मुसार्न।

केही टीभी सिरियल र सिनेमाको अभिनयको असफलतापछि रंगकर्मी सुनील पोखरेलले आफूलाई रंगमञ्चमै सीमित राखे। मनबहादुर मुखिया, हरिबहादुर थापा, लक्ष्मी श्रेष्ठ, टीका पहारी, गौतम तुलाधर, कृष्ण मल्ल यस्तै स्मृतिकोशका पात्र भएका छन्।

सिनेमा कलामात्र होइन, यो व्यवसाय पनि। कलामिश्रित व्यवसाय। जहाँ व्यवसाय हुन्छ, त्यहाँ टिकाउ हुनलाई बिकाउ हुन जरुरी छ। त्यसैले चर्चित फिल्मकर्मी उडी एलेन आफ्नो सानो विचारमा यसो भन्छन्, सिनेमा उद्योग कुकुरले कुकुर टोक्ने व्यवसाय हो। फरक यत्ति हो, यहाँ एउटा कुकुरले अर्को कुकुरलाई तेरो फोन आएको छ भन्दैन।

२०७१ भदौ, २८ शनिबार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *