Skip to content


परिचय

यही २०७१, भाद्र १०गते नारायणगढमा पल्लव साहित्य प्रतिष्ठानको भव्य साहित्यिक कार्यक्रम भएको अवसरमा साहित्यकार गोवद्र्धन पूजासँग भेट भयो । उहाँको हातबाट अनेसास गजलगङ्गा प्राप्त गर्ने सुअवसर पाएँ । गजल गङ्गाजस्तो महत्वपूर्ण गजलसङ्ग्रहमा सहभागी हुने सौभाग्य नमिले पनि कृति अध्ययन गर्न पाउँदा मैले आँफूलाई सौभाग्यशाली नै ठानेको छु । आज देश विदेश जहाँ पनि गजल लेखन र सामूहिक कृति प्रकाशनका लहर चलेका छन् ।

राम्रो पक्ष हुँदा हुँदै पनि कुनै कुनै सामूहिक प्रकाशनले आफ्नै गन्तव्य लिएको हुँदा यी प्रकाशनमा पनि सबै लेखकका लागि सहज र सरल पहुँच भने अवश्य छैन । यस सम्बन्धमा गजलगङ्गाको सम्पादकीयमा एउटा महत्वपूर्ण पक्षलाई उठाइएको जस्तो लाग्यो र त्यो महत्वपूर्ण शब्दलाई जस्ताको त्यस्तै यहाँ उतानेर् अनुमति चाहान्छु –‘यतिखेर सामूहिक गजल कृति प्रकाशनको लहर चलेको छ र प्रकाशित भएका छन् –कतै कैफियत, कतै हैसियत त कतै प्रवासका अक्षरहरू ….। यी कृतिका आ–आफ्नै मूल्य र मान्ता होलान्, साथमा सीमा र परिधि पनि । तिनै सीमा र परिधिलाई तोड्दै ‘अनेसास गजलगङ्गा’को परिकल्पना हुन पुग्यो । साधन, स्रोत र पहुँचभन्दा पर रहेका सुकोमल सम्भावना युक्त सुवासित गजलका फूलहरूलाई वास्नादार, कर्मठ र स्थापित गजलका बलिया स्तम्भका साथ समेटेर एउटा विशाल गजलगङ्गाको निर्माण गर्ने हाम्रो उद्देश्य केही हद्सम्म भए पनि पूरा भएको हामीले अनुभव गरेका छौं ।’ यो कृतिको अध्ययनले उद्देश्यलाई समाएको देखिन्छ । महत्वपूर्ण मार्गलाई अवलम्वन गरेको छ ।

आज गजल एउटा लोकप्रिय विधा भएको छ । धेरै लेखिन थालेको छ । त्यसोहुँदा कसैले गजलमा बाढी आयो भन्छन् । बाढीले सबै बगाएर ल्याएको छ भन्छन् । कसैले गजल नभै फजल लेखिए भन्छन् । बास्तवमा आज गजल लेखन त्रीबरूपमा अघि बढेको छ । गजल लेखिओस् लेख्ने कामलाई निरन्तरता चाहिन्छ नै । आजको यो गजल लेखनमा बाढी आयो भन्ने कुरामा मैलै के भन्ने गरेको छु भने आज नेपाली साहित्य गजलमय भएको छ । देशमा बग्ने पानी र देशको माटोको आफ्नै किसिमको विशेषता हुन्छ । माटोको क्षमता भौतिक रसायनिक र जैविक छनाई सजिलेरी छान्ने हुन्छ भने पानीको क्षमता बगाउँदै थिग्र्य्राउँदै शुद्ध बन्दै अघि बढ्छ । भल बग्दैमा आत्तिनु पर्दैन । खहरे सुक्छ नै मूल बग्छ र समुद्रमा पुग्छ । गजल लेखनमा पनि यही सिद्धान्त लागु हुन्छ । शुद्ध गजल लेख्नेहरू गजलकार बन्ने छन्, यसमा कुनै शंका छैन । गजल लेखनमा अँझै तीब्रता आउनु पर्छ भन्ने मेरो धारणा छ ।

गजलमा अर्को बहस पनि छ । आजको सन्दर्भमा केही गजलकारहरूले गजललाई अलग्गै विधाको रूमा स्थापित गर्नु पर्छ भन्ने छ, कसैले गजल अलग विधा नभै कविताकै एक रूप हो भन्ने छ । गजल लेख्दै जाउँ भविष्यले यसको छिनोफानो अवश्य लगाउने छ ।

अनेसास गजलगङ्गा विश्वमा छरिएका गजलकारहरूको साथै नेपालका विभिन्न स्थानका गजलकारहरूका गजलहरूको समावेशी एक अनुपम उपहार हो । यस उपहारको बारेमा गीता खत्रीले प्रकाशकीयमा महत्वपूर्ण भावनाहरूलाई यसरी पस्कनु भएको छ –‘साहित्यले भाषाको विकासमात्र नगरी यसले देशको मौलिकता र संस्कृतिको सम्बर्धनसमेत गरी देशको परिचयलाई विश्वभर विस्तार गर्नमा ठूलो सहयोग पुर्याउनुको साथै नेपाल र परदेशबीच पुलको काम पनि गर्ने छ । यहाँहरूको हातमा भएको गजलगङाले पनि नेपाली भाषा तथा साहित्यकोविकास बिस्तारमा एक महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने मैले विश्वास लिएकी छू । ’ गीताजीको यो धारणा आजको अवस्थामा शान्दर्भिक छ र नेपाली साहित्यलाई विश्वव्यापीकरणको लागि आवश्यक पनि टेवा मिल्नेछ भन्ने कुरामा मपनि पूर्ण विश्वस्त छु ।

अनेसास गजलगङ्गाको संरचना

यो कृति आवरण पृष्ठ सहित १७० पृष्ठको छ । यसको प्रकाशन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले गरेको छ । मूल्य रु २००/–(US$10) छ । यस कृतिको सम्पादन कर्ता गीता खत्री, गोवद्र्धन पूजा, पदम विश्वकर्मा र नारायण अधिकारी हुनुहुन्छ । १५६ गजलका शेरले सजिएको छ अनेसास गजलगङ्गा ।

अनेसास गजलगङ्गामा स‘हभागी गजलकारहरू

अनमोलमणि, अनुशाह, अमर नेउपाने, अम्बिका गिरी ‘बिहानी’, असफल गौतम, आचार्य प्रभा, आनन्द श्रेष्ठ, आरजु विष्ठ, इन्द्रकुमार श्रेष्ठ, ईश्वरकुमार पौडेल ‘सबुत’ ईश्वरमणि अधिकारी, ईश्वरी कार्की ‘वर्षा’ उज्ज्वल जी.सी., उर्मिला कोइराला ‘आँसु’, उर्मिला पन्त, कपिल अञ्जान, करुण थापा, कल्पना पौडेल ‘जिज्ञासु’, डा. कल्पना सत्याल, कल्पना सुवेदी, कान्छा सरकार, किरण कौशल, कृपा भण्डारी, कृष्ण कुसुम, कृष्ण वस्नेत‘ भाग्य’, कृष्णसिंह पेला, डा. कृष्णहरि बराल, केशव आचार्य, खगेन्द्र साउद ‘समर्पण’ गंगा लिगल, गीता खत्री, गोपीकृष्ण ढुङ्गाना, गोवद्र्धन पूजा, गोविन्द गिरी ‘प्रेरणा’ घनश्याम श्रेष्ठ ‘फेमोस’, घनेन्द्र ओझा, चूडामणि देवकोटा, छविकिरण ओली, जर्नादन दाहाल, जित कार्की, जीवन खत्री, जे सागर, टेकेन्द्र अधिकारी, तीर्थराज भट्ट, दलवीरसिंह बराइली ‘घायल’, दिनमान गुर्मछान, दिनेश राजभण्डारी, दीपक समिप, दीपसागर प्यासी, दीपा सिवाकोटी ‘वनवासी’, धनराज गिरी, धन लेप्चा, धर्मानन्द अधिकारी ‘सन्देश’ नवराज पोखरेल ‘पाखेली’, नवराज लम्साल, नवीन चिराग, नारायण अधिकारी, नारायण ‘निरासी’, निश्चल काउचा निष्प्रभ सजी, नील खडका, नृप्रेश उप्रेती, नेत्र एटम, पञ्च विस्मृत, पदम गौतम, पागल यात्री, पुष्कर बराल, पुष्पा अधिकारी गौतम, प्रकट पंगेनी शिव, प्रकाश सापकोटा, प्रकाश सायमी, प्रतिमा केसी, प्रभाती किरण, प्रमोद सारङ्ग, बद्री पौडेल ‘बर्माल’, बम्जन सुबेन, बलराम दाहाल, बाबु त्रिपाठी, बिनु भट्टराई, विमला निरौला, बुद्धि मोक्तान, बुद्धिसागर अधिकारी, बेलुकाजी थापा, भक्तपुरे काली, भगवती बस्नेत, भारती गौतम, भावना पाठक, भुपेन्द्र खड्का, भुवन निस्तेज, भुवन रोका “मित्रजी” मणि भट्टराई, मनु ब्राजाकी, मबी सिंह, महेश्वर पन्त, मानन्धर अभागी, मिलन समीर, युवराज थापा, युवराज सफल, रमेश प्रभात, ‘रहस्य’ विक्रम चिमरिया, राकेश काफ्ले, राज अविरल यात्री, राजकुमार श्रेष्ठ, राजु दाहाल, राजेन्द्र तारकिणी, राजेश खतिवडा, राधा कणेल, राम खत्री, रीता अधिकारी ‘ऋतु’, रेनुका भट्ट, रेशम श्रीस, रोशनी खनाल, लक्ष्मी काफ्ले, वसन्तराज अज्ञात, विकास चित्रकार, विजयराज ज्ञावली, विधान आचार्य, विपुल सिंजापति, विवेक दुलाल क्षेत्री, विवेक विषालु, विष्णु तिवारी ‘उषा’, विष्णुबहादु सिंह, शंकर पौडेल, शम्भु अर्याल, शम्भु दङ्गाल, शिव गौतम, शिव प्रकाश, शेखर विकल्प, श्रेष्ठ समनश्री, सपना गौतम, स।बिना सिन्धु, समर प्रकाश, सरस्वती शर्मा ‘जिज्ञासु’ सरु काली, सरुभक्त, सहदेव भट्ट, सागर सिलवाल, सानुराजा श्रेष्ठ ‘अनजान’ सीमा आभास, सुधिर रूवबी, सुनील सङ्गम, सुनील स्पन्दन, सुमित्रा भट्टराई, सुरेन उप्रेती, सुरेश वाग्ले, सुरेश सुवेदी, सुशील ताम्रकार, सुशीला खड्का ‘हसिना’ सूर्य खत्री ‘घायल’, सोमनाथ सुवेदी, हरि चालिसे, हरि थापा, हरि पराजुली, हरिहर तिमल्सिना, होमनाथ सुवेदी र ज्ञानुवाकर पौडेल गरी १५६जना गजलकारका गजलहरू यस सङ्ग्रहमा समावेश गरिएका छन् ।

गजल रचनाको परिवेश

यी गजलहरूको रचना अमेरिका(वोष्टन, न्यूयोर्क, भर्जिनिया, वासिङ्टन, कोलोराडो, टेक्सास, नर्थ क्यारोलिना, अलबामा, पेन्सिलभेनिया), यानाडा, वेलायत, पोर्चुगल, इजरायल, आवुधावी, जापान, नर्वे, दक्षिण कोरिया, अस्ट्रेलिया, मलेसिया, भारत, साउदी अरेबिया र नेपाल (चितवन, हेटौडा, स्याङ्जा, काठमाडौ, कास्की, ओखलढुङ्गा, नुवाकोट, काभ्रे, बाँके, गोरखा, पाँचथर, कैलाली, अछाम, भक्तपुर, झापा, पाँचथर, तनहू, दोलखा, रामेछाप, मोरङ, काभ्रेपलाञ्चोक, इलाम, ललितपुर, सिन्धुली, उदयपुर, धादिङ, गुल्मी, नवलपरासी, अर्घाखाँची, पर्वत, वागलुङ) को परिवेशमा लेखिएका छन् ।

गजलले समेटेका क्षेत्रहरू

प्रेमप्रणय र गजलगङ्गा
गजल शब्द फारसीको गजाला शब्दबाट जन्मिएको र गजालाको अर्थ मृगनयनी हो भनिन्छ । नेपाली बृहत शब्दकोशले पनि नायिकाको सौन्दर्य र उसप्रतिको प्रेमको बर्णन हुने कविताको भेदको रूपमा लिएको पाइन्छ । गजलको प्रारम्भिक अवस्थालाई हेर्ने हो गजलले शृङ्गारलाई प्रथमिकता दिएको थियो । आज गजलको क्षेत्र व्यापक भएको छ तापनि शृङ्गारले प्राथमिकता छाड्न भने सकेको छैन । यस गजलगङ्गामा पनि शृङ्गारिक गजलको बाहुल्यता देखिन्छ । शृङ्गारिकतामा पनि विविधता छ हेरौं ती विविधताहरूलाई – प्रेमी र प्रेमिका साथ हुन्छन्, त्यहाँ आँखा छलेर रोइन्छ, बोल्न थाले जस्तो देखिन्छ, प्रेमिकाले प्रेमीको मन छुने काम पनि हुन्छ तर बोल्ने काम हुदै हुँदैन रुँदा भने दुवैका नयन रसाउँछन् । दुवै जनाको कस्तो अचम्मको प्रेम । प्रतिक्षाको घडीको सुई कहिल्यै घुम्दैन त्यसमा पनि प्रेम–प्रतिक्षा समयको ढिलो गति,, प्रेममा पर्ने वाध्यता र पारिने विवशतालाई प्रेमिकाले कति सहने, प्रेममा विचलन, पीडा, विछोड, टकराऊ, धोका, प्रेममा कठोरता, प्रेममा विनामौसमको फुलाई, पुरानो जवानीको याद, त्यागको आवश्यक्ता, प्रेमका मधुशाला–पान, प्रेमले बल्झ्याएका पुराना घाउको याद, निराशा, प्रेमको स्पर्शमा नै फूल फुल्ने कुरा, प्रेमिकाले प्रेमीलाई छुँदा उपहार मिल्ने छुराजस्ता कुराहरू, एकोहोरो प्रेमको नतिजा, पत्थरमा पनि प्रेमको खोजी, प्रेममा मिलन हुँदा जीवन मार्ग उज्यालो हुनुपर्ने धारणा, प्रेमिले प्रेमिकालाई अङ्गालोमा कस्ता मुटुको धडधन छिटो चल्ने अनुभव, प्रेममा विलाए पनि हराए पनि साथ नछाड्ने कवोल, फिजै फिज भएर शरिरभरि बरालिन पुग्ने सावुन पनि हुनेरैछ भाग्यमानी, प्रेमले हृदयमा आगो लगाउने, लय सुर गीतजस्तै प्रीत मीठो हुनु पर्ने, प्रेममा मौका चुकाउन नहुने कुरा, प्रेममा निस्वार्थ त्याग, प्रेम औषधी हो बाँच्ने आधार हो आदि आदि धारणाहरूले भरिएका छन् गजलका शेरहरू । अधिकांस गजलहरूमा प्रेममहिमा सललरूपमा बगिरहेका छन् । अधिकांस गजलहरू, प्रेममा रङ्गिएका छन् तापनि गजलहरू शीष्ट, सभ्य र रम्यरूपमा अध्ययन गर्न पाइन्छ । केही गजलहरूलाई अध्ययन गरौं–

भाग्यमानी रैछ साबुन फिँजैफिँज भै बरालियो
जुन साबुनलाई अङ्ग–अङ्ग छुवाएर के निस्कियो
प्रकट पंगेनी शिव पृष्ठ ७७

तिम्रा आँखा नशालु छन् सराबभन्दा पनि धेरै
आऊ हामी माया गरौं हिसाबभन्दा पनि धेरै
रोशनी खनाल पृष्ठ १२०

भन्छन् प्रेम औषधी हो बाँच्ने आधार हो
यो बन्धन कसिलो गाँठो कहिल्यै नफुकोस्
सपना गौतम पृष्ठ १३८

यस गजलसङ्ग्रहमा एकसेएक गजलहरू शृङ्गार रसले भरिएका छन् । यी गजलहरू पढ्दा कहिल्यै थाकिदैन ।

विधिताले भरिएका गजलहरू

आजकल गजल लेखनमा विविधता आएको छ । गजलगङ्गाका गजलहरू पनि विविधताले भरिएका छन् । गजललाई बहुचर्चित गराउनको लागि विविधताको आवश्यक्ता पर्छ । हेरौ गजलमा पोखिएका केही उद्गारहरू –एउटा नेपालीमा उखानै छ कि जहाँ रवि पुग्दैनन् त्यहाँ कवि पुग्छन् तथा कविको दृष्टि विविध ठाउँमा पुग्छ । यसरी नै थुप्रै गजलहरूमा कसैले जवानीको जोशमा हुनसक्ने मीठा भूलहरू भनेका छन्, कसैले ईश्वर मन्दिरमाभन्दा मनमा हुने या ईश्वर प्राप्तिका स्थानहरू खोज्दै हिड्न नपर्ने, सगरको जून हुन नखोज भन्ने आग्रह, साथी भन्दैमा नहुने साथीभित्र पनि लुकेको दुश्मनी हुने, मिथ्याको त्याग र शुद्ध मानवताको खोजी गर्नु पर्ने, सहरको चित्रण, पत्थर पूजा र बलीपूजाको प्रतिप्रश्न गरिएको, मूल्य र मान्यता मेट्न नहुने अभिव्यक्ति, मानवको खुट्टातान्ने प्रवृति, ढुङ्गाजस्तो मन भएका प्रेमी प्रेमिका, पत्थर पूजेर के पाइन्छ, प्रेमको नशा लागेको धारणा, वसन्तमा अनुरागी मनहरूको झुलाई, विभेदको विवरण (छुवाछूत भेदभाव कलङ्क हो, शिक्षा,स्वास्थ, समानता नैसर्गिक हकमा विभेद हुनुहुन्न र घनी गरिब आदिमा सामाजिक विभेदको अन्त्यको चाहना), प्रकृति र शृङ्गारमा भिन्नता, हस्तरेखा मेटाएर भाग्य लेखाएर लासलाई उठाएर सागर सुकाएर देखाउन सके देखाऊ भन्ने हाँक, बाबाबाट प्राप्त सुमार्गको मार्गदर्शन, जहरमा पनि मिसावट भएको अनुभव, आवश्यक्ता पर्ने बस्तुको मूल्य बढी र अनावश्यक समयमा बस्तुको मूल्य घटने कुरा, मृत्यु नै सत्य हो, विदेशबाट बाकसमा लास भित्रिएका कुरा, भगवान पनि स्वार्थी भएकोले मन्दिरमा भक्त नभै दास प्रवेश गरेका कुरा, सिरानमिा तरवार राखे शिरै खतरामा अर्थात सक्षमताको अघि असक्षम बलियाको अघि निर्बलिया सधैं खतरामा पर्ने धारणा, संसारिक रीति थितिमा चित्त बुझाउने कुरा, इज्जेत हुनेलाई समाजको डर, सरापमा पीर मिलाएर पिलाउँदा जिन्दगकिो मजा पाइने, मरेपछि कसैको विहानी नहुने, विना अर्थ बाँच्नुको सार नहुने, नाम, काम, एकपेट माम र सबैलाई चाहिने दामका कुरा, लास परे पनि इतिहास रहनु पर्ने धारणा, पाइलै पिच्छे आगोबाटै पछि, धराप भए पनि यात्रा रोक्न नहुने, रामनामीको टालोले कति दिन हुने, दिउसै सपना देखिनुको औचित्यता, भन्छन् सबथोक गरियो तर केही गरिएको छैनजस्ता अभिव्यक्ति, प्रेममा देखिने गोहीको आँसु, व्याकुल माहिला प्रति व्यङ्ग कस्दै राष्ट्रगानको के छ खवर लाखौंको बलिदानको के छ खवर जस्ताप्रश्न उठेका, मृत्यु हुनु, ठाउँ, गाउँ, भाउ, माउ घाउ उधृउको धारणा, दिल चोर्नेको लागि कारागार नभएको, आनीवानी बदल्ने, जिन्दगीमा भोग्न परेको अँध्यारो, मानवले मानवलाई पढ्न पर्ने आवश्यक्ता जून, हीरा, मोती, मणि बन्ने रहर, प्रेमको नशा लागेपछि सबैसम्म हुन्छ भन्ने धारणा, मानवमा शंकालु प्रवृति, बुद्ध या हिटलर जे बने पनि संसारबाट केही लिनुछैन, जय र पराजयसँग केही छ समयसँग चल्नु पर्छ, लासमाथि टेकेर इतिहास किन लेखिन्छ भन्ने प्रश्न, असारमै थला पर्यो किसान त्यसको उद्धार कसरी सम्भव छ, प्रिएको सबै आवश्यक्ता पुरा गरिदिने कवोल, माया त अथाह सागर हो, सुनगाभा गुलाफ बन्ने रहर हुँदाहुँदै बन्न नसकी बनेको वनमारा र थाह छ सबैलाई कात्राको गोजी हुँदैन भन्ने जस्ता अभिव्यक्तिले सजिएको छ गजलसङ्ग्रह । माथि लेखिएका विविध धाराणाका सामन्य अर्थको संक्षेपीकरण मात्र हो तर भावगतरूमा यी गजलहरूले विशिष्ट स्थानलिएका छन् र आजको संसारको गतिविधिलाई स्पष्ट रूपमा प्रष्ट्याएका छन् भन्ने कुराहरूमा विश्वस्त हुन सकिन्छ । विम्ब र प्रतिकको प्रयोगबाट पोखिएका उद्गारहरू, प्राकृतिक सम्पदाको बर्णन, विविधताले भरिएका यी गजलहरूको संयोजन आदिले गजलसङ्ग्रहलाई ओजिलो बनाएको छ ।

फिँज काढेको केहीपछि उसले बौरिएर भन्यो
अचेल मिसावट रहेछ यार जहरमा पनि
दीपक समीप, पृष्ठ ५६

यो गजलको शेरले यस देशका हरेक खाद्यबस्तुहरूमात्र नभएर अखाद्यबस्तुहरूमा पनि मिसावट छ भन्ने संकेत गर्दछ । यो देशका जनताले उपभोग गर्न परेका मिसावटी पदार्थहरूको ज्वलन्त उदाहरण पनि हो । विविधताले भरिएका केही गजलका शेरलाई यहाँ हेरौं–

बतासले मात्र सुगन्ध वोकेर ल्याउँदा पनि
जवानीको जोशमा हुन सक्छन् मीठा भूलहरू
गीता खत्री, पृष्ठ ३९

जवानीको जोशमा होश गरिएन भने मीठामात्र नभएर नमीठा नतिजा पनि हात लाग्न सक्छन् । जवानीलाई सम्हालेर राख्नु र सही स्थानमा प्रयोग गर्नु पर्छ भन्ने जानकारी युवा तथा युवतीलाई यो एउटा मार्ग दर्शन पनि हो जस्तो लाग्छ मलाई ।

खीर सम्झी निमुखाको नखाऊ श्रम दाना
भ्रष्टाचारको अचार खाए खीरै खतरामा
नवराज लम्साल, पृष्ठ ६३

आज देशमा मौलाएको भ्रष्टचारले, देशको भविष्य नै उज्यालो पक्षमा कहिले अग्रगामी हुन्छ भन्न गाह्रो छ । को निमुखा को सक्षम भ्रष्टचारका नयलने दृष्टिपात गर्न छोडेको छैन । चारैतिर भ्रष्टचारले जकेडेको देशमा निमुखाहरूको श्रम दानालाई खीर मानेर खान नहुने खायो भने खीरै खतरामा पर्ने धारणा यहाँ आएको छ । नवराजको यस गजलमा जहिले पनि सुमार्गले अग्रता लियो भने मात्र कुमार्ग खतरामा पर्न सक्छ तर कुमार्गले वीजय हाँसिल गर्यो भने सुमार्ग पनि खतरामा पर्छ भन्ने मार्गदर्शन भल्किएको छ । यस्ता गजलहरू यस सङ्ग्रहमा पढ्न पाइन्छन् ।

पाखण्ड त श्रीखण्डझैं पवित्र छ
सूर्य चन्द्र अन्धकार लाग्छ मलाई
मनु ब्राजाकी, पृष्ठ १००

न पग्लने सगरमाथा बन्छु भन्थे सधैं
तर पुगे समुद्रमा साहु लागेपछिं
गोवद्र्धन पूजा, पृष्ठ ४१

माथिलेखिएका केही शेर त नमुना मात्र हुन् । गजलगङ्गाका हस्थीहरूका गजलहरू पठन योग्य, मनन योग्य समयसान्दर्भिक घटनाक्रमलाई टिपेर यर्थाथपरक प्रस्तुतिमा रमाएका छन् ।

जनआन्दोलन तथा गजलकृति

यस गजलकृतिमा जनआन्दोलनका बारेमा लेखिएका गजलहरू पाइँदैनन् तर रदिफमा क्रान्तिकारी प्रयोग गरेर लेखिएको एउटा गजलमा हरियो बर्दीलगाएर गाउँ आउने, समाजवादका कुरा गर्ने, राष्ट्रिय झण्डा बोकेर मेचीकाली धाउने, सामन्त, पूँजीवादलाई अन्त्य गर्दै हक अधिकार खोज्दै लढ्छ क्रान्त्रिकारी भन्ने धारणा रख्दै छविकिरण ओलीले गजल लेखेका छन् भने बुद्धि मोक्तानले पनि रगत पछि जगत बन्छ भन्ने सुनेका थियौं सहादत थे लाखौं सन्तान बलिदानको के छ खबर भन्दै व्यङ्ग कसेका छन् –

रगत पछि जगत बन्छ, सुनेका छौं यस्तै यस्तै
सहादत ‘थे लाखौं सन्तान वलिदानको के छ खवर ?
पृष्ठ ८९

राजनीति र गजलगङ्गा –

देशमा राजनीतिक परिवर्तन भयो । सहिदहरूले बलिदान दिए । देशमा दुई दुई पटक आमचुनाव भयो । पहिलो चुनावका जनप्रतिनीधिले देशको संविधान बनाउनु पर्ने थियो । त्यो हुन सकेन भने यस पटकको चुनावबाट आएका प्रतिनीधि तथा दलका नेता आफ्नै स्वार्थमा तल्लिन देखिन्छन । साहित्यकारको कलम परिवर्तनगामी हुन्छ । साहित्यकारले सुसमाज निर्माणको लागि लेख्छन् यस गजलसङ्ग्रहमा देशको यथार्थ चित्रणलाई उतार्ने खालका गजलहरू प्रसस्त लेखिएका छन् । देशमा परिवर्तन आएको यतिवर्ष वित्ता पनि राजनीति सोच र विकासमा कुनै परिवर्तन आउन सकेको छैन, देशको अवस्था हिजो जस्तो थियो आज पनि उस्तैछ, गणतन्त्र आउदा पनि जनताले राहात पाउन सकेका छैनन् ।, नेताको नौटंकी, नेताले नै देश बेच्लाा भन्ने डर, सीमा अतिक्रमण, उही त्यो कहानी भल्किदै छ देश सल्किदै छ,नीति नियम बनाउन नेतालाई चुनेका, देशमा विवाद चल्यो, आश्था र विश्वास ढल्यो, भस्मासुर धुन्धुकारी पुगे शीर्ष शिर र देशको चिन्तन रहेन साथै देशले विकास र निकास पाउन सकेन भन्ने धारणाहरू गजलहरूले समेटेका छन् ।

राजनीति गर्नेको चाला देख्दा लाग्छ
यी नेता र लफङ्गा उस्तै –उस्तै लाग्छन्
राज अविरल यात्री, पृष्ठ ११०

बुझेर नसक्नु पारा नेताको
नौटङ्की तमासा नखरा यिनकै
कान्छा सरकार, पृष्ठ २९

भस्मासुर धुन्धुकारी पुगे शीर्षतिर
जो पुगे नि मुलुकलाई साहू मात्र हुन्छ
धनराज गिरी, पृष्ठ ५९

राष्ट्र, राष्ट्रियता र प्रदेशमा बसेर स्वदेशको चिन्तन

परदेशको पीडा र स्वदेशकी आमाको दशधारा दूधको भारा कसरी तिर्ने, स्वदेशको माटोको प्यार, आमाले आफ्ना सन्तति प्रतिको त्याग, आमाले भोगेका पीडा तथा दुखहरू,आमाको माया अपरम्पार छ र मानिस बाँच्ने आधार आमा हुन् भन्ने धारणा, प्रदेशमा रहदा आफ्नो देशकाा कृषिकर्महरूको याद, विदेशमा बस्दा गुन्द्रुकको याद, परिवारको याद, परवासी हुन वाध्य भए पनि माटोको, देशको माया नेपाली भै बाँच्ने धारणा, आमा र आगनको अनुहार फेर्न विदेशिएको, माटो दुख्नु हुन्न, अमेरिकामा चौटा खान आएको जागिर नपाएर खुदो खाएको जस्ता उद्गारहरू प्रशस्त पढ्न पाइन्छ । हेरौ केही गजलका शेरहरू –

दशधारा दूधको ऋण त्यो कसरी चुक्छ हरे
प्रयासमा छु अँझै झोली त्यो खुसीले भर्न आमा
आचार्य प्रभा, पृष्ठ १४

साझा घर पृथ्वी हाम्रो माटो दुख्नुहुन्न
विश्वसामु स्वाभिमानी शिर झुक्नुहुन्न
सुशीलाखड्का हसिना, पृष्ठ १५६

म, नेपाली घृणा गरेर अङ्ग्रेजी बोल्थे
अङ्ग्रेजी जुत्ता चाटेर खुदो खाएको छु
होमनाथ सुवेदी, पृष्ठ १६३

मानिस विदेशिन्छ किन ? रहरले या कहरले ? रहरले थोरै कहरले धेरै । विदेशिए पनि आमा र माटोको मायाले उसको हृदयमा जलन हुन्छ । उसले आमा बाबु भाइबन्धु र मातृभूमिको प्राकृतिक सम्पदलाई भुल्न सक्दैन यी मार्मिक गजलहरूको समावेश पनि तुलनीय छन् ।यी युवा युवती किन विदेशिन पर्योभन्दा सरकारले गास बास र कपास दिन सकेन ।

जीवन जगत र गजल सङ्ग्रह

जीवनका ओराली उकालीले यो संसार चलेको छ । यहाँ कतै हाँसो, कतै रोदन, कतै जन्म त कतै मृत्यु छ । जीवनचक्र रोटेपिङ्सरी घुमिरहेको हुन्छ । यस गजल सङ्ग्रहमा पनि कतिपय गजलहरूमा जीवन जगतको बुझाई, जीवनका भोगाई, जीवन मरण, मानवीय या दानवीय, प्रवृति जीवनमा पर्ने असर आदि विविध खाले धाराणा बोकेका गजलहरू पनि प्रशस्त पढ्न पाइन्छन् जस्तै–

जीवन किन यहाँ चल्दैन उस्तै, बत्ती दियोमा बल्दैन उस्तै
कस्तो खटन हो यो नियतिको, कुन निभ्छ कहिले ठहर हुँदैन
डा. कृष्णहरि बराल, पृष्ठ ३५

मानव जीवन साह्रै अमूल्य छ
त्यही भन्न खोज्छ तोला जीवनको
गंगा लिगल, पृष्ठ ३८

नारीवादी चिन्तन र गजलसङ्ग्रह

गजलगङ्गाका केही गजलहरूले नारीवादी चिन्तन लिएर देखा परेका छन् । अधाआकाश ढाक्ने महिलाहरूको पीडा, संवेदना, हक अधिकार, भोग्न परेको ताडना आदि विविधताले भरिएका गजलहरूमा सागर सिलवालले नारीको गौरवमय धारणालाई उल्लेख गर्दै भन्नुहुन्छ–

आदर्श अनि पूज्यनीय हुन्छ अस्मिता नारीका
वर्णन गर्छ हाम्रा पूराण अनि गीता नारीका
सागर सिलवाल, पृष्ठ १४५

नारीका त्याग र समर्पणको अनुपम नमुनामा लिनुपर्दा सीतालाई लिन सकिने, सर्ब गुणले सम्पन्न संसारमा कोही पनि नहुने तर पनि स्वार्थ पूरा गर्नको लागि नारीका चिता जलेको पाइने भन्दै सिलवालले बहिनी,दिदी, आमा छोरी सबैमा श्रद्धासुमन चढाउनु भएको छ ।

अन्त्यमा,

गजलमा भाषा सरल छ, धेरै जसो गजल गाउन सकिने खालका छन्, प्राय गजल संरचना(गजलका तत्वहरू)लाई ध्यान दिएको पनि देखिन्छ । प्रणयले बाहुल्यता लिएका, यी गजलहरूमा विविधताले भरिएका पनिछन् । विदेशमा बस्नुपर्दाको पीडा नेपालको याद, सीमा अतिक्रमण, नारीवादी चिन्तन, राजनीतिमा विकृति, नियम कानून् बन्न नसक्नु, समाजिक यथार्थताको साथै समसामयिकतालाई अङ्गाल्दै पस्किएका यी गजलहरू पठनीय, अनुकरणीय, सङ्ग्रहणीय हुनूको साथै प्रणय वोधी, युगवोधी, राष्ट्र र राष्ट्रियता्लाई समाएर लेखिएका छन् भन्न सकिन्छ । अमेरिका र नेपालमात्र नभएर अन्य विदेशमा भएका गजलकारलाई पनि समावेश गराएर लेखिएका यी गजलहरूद्वारा नेपाली गजलकारहरूलाई एक सूत्रमा बाध्ने प्रयास अनेसासले गरेको छ । यो अनेसासको ठूलो उपलब्धी पनि हो । अनेसासका पदाधिकारीहरू, सम्पादक मण्डल लगायत यसमा सहभागी हुन पाएका सौभाग्यशाली गजलकारहरूमा धन्यवाद टक्र्याउँदै मेरा गजलका चार शेर सहित बिदा चाहन्छु ।

अनेसास गजलगङ्गा
जति पढ्यो मन चङ्गा

हीरा मोती चम्कन जस्तै
साच्चै यी त कञ्चनजङ्घा

छन् राष्ट्रियता मातृभक्ति
निषेध गर्छन् हल्ला दङ्गा

विश्व मिलन समागम
परिपूर्ण छन् छैनन् नङ्गा ।

धन्यवाद,
सदानन्द अभागी
कावासोती नगरपालिका, वार्ड नं ७, शान्तिचोक, नवलपरासी
मिति २०७१साल भादै २५ गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *