Skip to content

गलत पूर्वानुमानहरू !


जब !
शहीदको चिहानबाट
नेताको महलको जग खनिन्छ
तव !
मलाई लाग्दैन थियो कि,
त्यो घरले झुण्डयाउने छ
नयाँ नेपालको साइनवोर्ड
र, त्यहाँ चल्नेछ –
गहन विषयमा छलफल हुने
कहिल्यै कोरम नपुगेको सँसद ।

तर सही हुदैनन्
कतिपय पूर्वानुमानहरू ।

उँघेका साँसदहरू !
उल्लु सम्मेलन चलेकै छ सँसदभित्र
सम्विधानको खेतीले पुगेकै छ खान,
केन्द्रीय भवनमा लालमोहर लाग्छ
छलफल नभएको विधेयकमा
मान्छेहरू जान्छन सद्दे
फर्किन्छन बाकसहरूमा,
रेमिट्यान्सको खेतीले पुगेकै छ खान,
आऊ शून्य समयमा –
प्रकट गरौं सानदार समवेदना !
देश निदाएको छ सभासदसँगै
हामी छौं कुम्भकर्णको प्रदेशमा
परिवर्तनको खेतीले पुगेकै छ खान ।

म धिक्कार गर्छु
भोट हाल्ने यी हातहरूलाई
जो, स्वाभिमान बन्दक राखेर
गजबको अख्तियारी दिन्छन्
“जाऊ सर्वस्व हरण गर मेरो
म माफी दिन तयार छु,
मैले मेरो टाउकोमाथि
पैताला राख्न मिल्ने तिम्रो सत्ताको मैदान तयार गरेको छु”
स्वागत छ खेल मैदानमा ।

तर, प्रश्न गर्ने अधिकार सुरक्षित छ मसँग
-कसरी निदाउँछौ तिमीहरू
सारा नेपालीहरूको निद्रा अपहरित भएको बेला
-कसरी चपाउँछौ क्याण्टिनको सुकुटी, सेकुवा र छोयला
बाकसमा आउने लाशहरूको गन्ध देशैभरि फैलिएको बेला

जब, शहीद स्मारक अगाडि
नेता, गोहीको आँशु चुहाउँछ
तव, मलाई लाग्दैन कि
मन्दिर र चौरहरूमा उडने परेवाहरूमाथि
चील र वाजहरू उडिरहेका छैनन् ।

दीपेन्द्र केसी
बगलुङ, हाल लुभेन बेल्जियम ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *