Skip to content

जाडोभित्रको न्यानो


आथ्थु ! थु !! थु !!!

बिना सित्ति घर छोडेर हिडिएछ होऊ डल्ली, जाडोले मार्ने भयो । यो पटक त जाडो पनि कति सारो बढ्या हो भन्या हेर त ! भन्दै मुखबाट धुवाँ फुक्दै बात मार्दै थिएँ बुढिसँग । सिस्नेरी भञ्ज्याङ्गको उकालोमा हामीहरू हिँड्दै थियौँ दुई जना सभ्यता र म दोपहरमा, त्यही भएर भएका मलिना घाम पनि उसै अस्ताउँदै थिए, माघे सक्रान्तिमा सिस्नेरी भञ्याङ्गमा मेला हेर्न हिँडेका ।

सभ्यता बोल्नलाई ओठ चलाउँदै थिई, मैले तल्लो र माथ्लो ओठ समातेर च्याप्प पारेँ, यो जाडोमा मुखबाट हावा पस्छ मुख नखोल भन्दै थिएँ, उस्ले त झन नाकबाट हावा लिएर मुख हनुमानको जस्तो बनाएर फूऊऊऊ गरि, मेरा हातहरू उस्कै बेजोड धकेलाईमा हुत्तिए, म अवाक भएँ अनि उस्ले आफ्ना मिलेका बत्तीस दाँत लम्पसार पारी म पनि उस्को अगाडि भुतुक्कै भएँ अब के भन्नु र उसलाई ।

कुकुरसँग डरायो भने टोक्न आउँछ नि पतिदेव ! जाडो पनि त्यस्तै हो । हेर ! हेर !! खै !खै !! भिइइत्र एउटा सेण्डो गन्जी, त्यस माथि टि शर्ट, त्यस माथि हाइनेक, अनि ऊलनको शर्ट, तातो कपडाको पातलो ज्याकेट अनि त्यस माथि यो सगरमाथा चढ्ने भक्कु ज्याकेट ! जम्मा गरेर छ पत्रा, अनि आफ्नो छालाको पत्रोसँग त सात पत्रै भएछ नि बुढा ! मेरी आम्मै नि खच्चडको जस्तो कति भिर्न सक्या हुन यी मेरा बुढाले ! अँझै जाडोले मरेँ भनेर आथु ! आथु !! गर्न पनि बाँकी राख्नुहुन्न फेरि ।

यी मेरो हेर्नुस त जम्मा तीन वटा ! भित्र हाइनेक, अनि त्यसमा माथि यो पातलो स्वीटर अनि यही ज्याकेट त हो नि त्यही पनि हजुरको जस्तो भुक्के हैन केरे । मेरो भने पातलो गन्जी समेत गन्छे आफ्नो पनि गन न झर्लाङ्ग झुर्लुङ्ग न सिँग न पुच्छर जस्ताभन्दा हाँस्दै उल्टै मलाई बिल्याउन थाली । सिँग र पुच्छर भएको त हजुरनै होइसिन्छ नि ! एक सिँगे गैँडाको पुच्छरको त के बयान गरुँ म !! हजुर सर्बज्ञान सम्पन्न ब्रम्हाजि होइसिन्छ नि, कहीं नभाको पुच्छर हि ! हि !! हि !!!

भो छाड यो कुरा ! बरु अलि पाइला लम्का के, जिस्कीन पाए त बाटैमा मर्नु पार्छे, हिँड छिटो !! नत्र यतै यो जाडोमा जङ्गलमा ओडारको बास होला फेरि, भन्दै हामी अलि अगाडि तन्कियौँ । थाहा छ बुढा ! पोहोर साल हामी यहीँ पदयात्रामा आउँदा एउटा धन्सारमा बसेर रात बिताएर गएका थियौँ नि । मैले मकै भुटेँ, सागको सब्जी बनाएँ, अनि टमाटरको चटनी ट्वाक्क पारेँ, अनि हजुरले बाहिर दाउरा जोडेर आगो बाल्नुभयो । धेरै बेर हामी गफ गर्यौ मकै खाएर पेट भर्यौ, आगोसँग लाज नमानीकन बस्यौँ अनि सुतेर अर्को दिन बिहान ९ बजेसम्म सुतेर उठ्यौँ । त्यही ठाउँमा पुग्न पाए त झन अहिले हनीमूनै मनाउन हुन्थ्यो नि बुढा !! भन्दै डल्लीले मेरो आङ्गको मैन पगाल्दै थिई झन जाडोमा न्यानो पार्दै थिई ।

आफूलाई चाहिँ यहाँ भोकले मर्नु पर्या छ ! उसलाई भने के के हो के के !! आफू चाहिँ खानेकुरामा वास्ता गर्दिन र त यस्ति पाल्पा जिल्ला जस्ती छ नि । मेरो यो डोल्पा जिल्ला जत्रो भुँडि हेरन ! त्यसै जिल्लै पार्छे भन्या । तेरो सँगतले त म भोक भोकै मर्ने भएँ बुढि, फेरि जे पायो त्यही खाने पनि होइन, यो खान्न ऊ खान्न, तँलाई खानेकुरा रोजाउनु पर्छ । आफूलाई त एक थाल खानेकुरा बजाउन पाए जहाँ पाएनि लडिन्छ, शित र हिँउँ नपर्ने ठाउँ भए पुग्यो । सुत्नलाई स्लिीपिङ्ग ब्याग छँदैछ क्यार । तर एउटा कुरा गारो भयो के डल्ली !

के भन्नुस त ?

यो स्लीपिङ्ग ब्यागमा बुढा बुढी अँगालो मारेर सुत्नै नमिल्ने के, छुट्ठाछुट्ठैमा सुत्यो अनि एशिया र अमेरिकामा सुते जस्तो हुने बुढि, बित्यासै पार्ने भो । म पनि तिमी जस्तै पातलो भएको भए त एउटैमा अटिन्थ्यो क्यार है बुढि । डल्ली च्यास्सिई बोल्दै बोलिन एक छिन त । हजुरलाई मैसँग सुत्नै पर्छ भन्ने के छ र, घ्याम्पो भरेपछि निद आइहाल्छ क्यारे भइहाल्यो नि म सधैँ एक्लै त हो नि बालै छैन जे सुकै होस । अहिले फेरि मेरि डल्ली!! मलाई भोक लाग्यो भनेर मसँग लुसुक्क नआउनु नि । मान्छेको जातै स्वार्थी के ! जति माया गरे पनि नहुने आफूलाई पुगेपछि अरुको त वास्तै छैन ।

मैले पनि डल्लीलाई अँगालोमा कसेर सासै फेर्न नमिल्ने गरी च्याप्प समाते अनि मायाले मिठो चुम्बन गरेँ अनि उस्को सबै गुस्साका सगरमाथाहरू ढले, अनि प्रशान्त महासागरको पानी बराबर भयो । छोडन बुढा, मलाई दिशा लाग्यो के । तिमी कहीं नजाऊ ल, यहीँ बस मैसँग ऊता फर्केर, यस्तो जँगलमा बाघले लैजाला अनि रुँदै बसौला फेरि । ओइ डल्ली अलिकति पोइको पनि लाज त मान मैल भनेँ । उस्ले झन हाँसेर तिमीलाई थाहा छ बुढा ? दिशा गर्ने लाईभन्दा देख्नेलाई लाज भनेको यही हो नि, मलाई के को लाज बाँकी के छ र तिमीसँग लुकाउन । ऊ त्यो धुर्सुलको हाँगा भाँचेर ल्याइदेऊ न पुच्छ्नलाई मेरो प्यारो पति परमेश्वर भन्दै थिई ।

आफ्नै बुढिसँग लाज शरमको त कुरै भएन नि, यो त बुढा बुढी भाँडा कुटी खेलेको नि । नानी बाबु पाउँभन्दा मान्दिनस, त्यही भएर आफै खेल्नु पर्यो नि भाँडा कुटी । हे ! हे !! बुढा, कति हतारिएको पाउँला न त एक दुई वर्ष पर्खन हो, नानी बाबु पाएको भए यसरी बुढा बुढी हिँड्न पाइन्थ्यो त लाटा, यसो रमाइलो पनि गर्न पर्यो नि तिमी त बैँशैमा बुढा भयौ हो पतिदेब, झन बुढेसकालमा मैले कसरी ततेर्नु होऊ तिमीलाई, भन्दै उल्याउन थाली म पनि उसैसँग हाँसे नहाँसेर पो के गर्नु र !

साँझ पर्न त अँझै एक घण्टाभन्दा पनि बढी समय बाँकी थियो क्यार तर खुट्ठा गलेका, जाडोले फोक्सो पनि हुप्प भको महशूस भयो, अब अगाडि हिँड्न सक्दिन म मेरो त रुद्रघण्टी नै फुस्कला जस्तो भयो लौन भन्दै थिई, मैले पनि स्या स्याँ भए पनि पाको बेला भनेर भनिहालेँ, अन्त केटी मान्छको त रुद्रघण्टी हुने भए पो ! थाहा छैन तँलाई । मेरो मानी पनि गल्यो हिँड्न सकिएला जस्तो लागेन फत्रक्क गल्यो मन, यस्तो थकाई लाग्यो कि दुई गिलास तताएर नारे पा खाएर सुतौँ जस्तो लाग्यो मनमनै तर मार्छे बुढिले भनेर त्यसै चाम्रिएर बसेँ । हामी गल्नु को अर्थ ज्यान छोड्नुको अर्थ, त्यत्रो नाटक गर्नुको अर्थ चाहिँ हाम्रै अगाडि जँगलको माझमा बाटो मूनि सानो पठार खेतीबाली अनि बाटोमै आँगन जोडिएको बाटो माथिको चिटिक्क परेको घर थियो । हामी चाहिँ बासै नमागी सिधै पिँढीको खाटमै गएर बस्यौँ ।

भित्रबाट नाकमा बुलाँकी लगाएकी, चौबन्दी चोलो लगाएकी, टाउकोमा पछ्यौरा घुमाउँदै सप्को हल्लाउँदै घरभेटी आमा आउनुभयो र सिधै बाहिर जाडो छ भित्रै आवो यता पट्ठि आगो तापेर बस, थाकिच्चौ होला । दुख सुख जस्तो भए पनि यस्तै हो केटाहाटी हो भन्दै डल्लीलाई हातमा समातेर भित्र लैजानु भयो अनि म पनि भित्र लागेँ । मैले बेहुली लिएर आएको अनि आफ्नै आमाले मेरी बेहुलीलाई भित्राएर हातमा समातेर लगे जस्तै भान भयो तैपनि आत्मीयता अनि सौहार्दतामा कत्ति पनि कम थिएन । धेरै वर्षमा छोराले बुहारी ल्याएर आमाले भित्राए झैँ भयो मलाई । बास्तवमा गाउँ ठाउँमा अँझै पनि पारिवारिक पन अँझै मेटिएको रहेनछ । म त के गरुँ के गरुँ जस्तो भयो ।

मैले आमालाई सगुन ल्याउन नपाएर यसै थक्क थक्क भएको थियो । हामी त डुल्न आएका के दिऊँ, मन भारी भयो आमाको गुन तिर्न नसकेर, उता आमाकी बुहारी चाहिँ त कता हो कता हराएकी थिइ, उसका पनि आँखा भरी भरी थिए, यसै त नारीको मन केटाकोभन्दा कोमल हुन्छ भन्थे, तर मैले सभ्यतालाई यति धेरै भावुक मुडमा कहिले पनि देखेको थिइन । उसले आमालाई झम्टेर रोई म पनि ओभानो रहन सकिन तर पनि आफूलाई केटा हुनुको नाताले सम्हालेँ तै ।

के भयो छोरी किन रोएकी तिमी ? म पनि तिम्रै आमा त हुँ नि । मलाई पनि तिमीहरूलाई देखेसी मेरा शहर पसेर उतै हराएका छोरा बुहारीको झल्को आओ, तिमीहरू पनि त मेरो छोरा बुहारी नै त हौ नि । तिमीहरू पाहूना हैनो घरका जहान हौ । नरो नरो नानी !भन्दा आमा पनि आँखा भरी आशु टिलपिल गर्नुभएको थियो । त्यत्तिकैमा बा पनि बाहिरबाट दौरा सुरवाल कोट लगाएर काने टोपीको भेषमा भित्र छिर्नुभयो । मलाई पनि आज यिनिहरूसँअ बसेर मज्जाले बात मारम जस्तो भको हो अगाडिनै बाटामा देख्याथेँ लगालग हिँडे, म पनि चा खाँदै थिएँ दोकानाँ । बल्ल आज यो घराँ सरेसी तिमीहरू आयौ घरका जहान भरी भए जस्तो भयो बाबु ।

हामी यता गुन्द्रीमाथि कम्बल ओछ्याएर आगो ताप्दै थियौँ । बाले मोहि पार्नुभयो, नौनी निकाल्नुभयो, आमा भने झिनुवाको चामल भिजाएर त्यही घिऊमा कसौँडीमा कोर्दै फर्काउँदै भात पकाउँदै हुनु हुन्थ्यो, बास्ना चाहि घर भरि भयो झिनुवाको चामल । गिठा, आलु, बाह्रमासे सिमि अनि सुकाएको काउली अनि मूला पनि तातो पानीमा भिजाएर ओइरिँदै हुनु हुन्थ्यो । हाम्रो घरमा जस्तो विकासी तेल नभएर सबै परिकार घ्यू मै पाक्दथे । मकैसँग नौनी, फापरको रोटीसँग कनिका परेको घ्यू खेतालालाई पनि त्यही सबैमा त्यही चल्दो रैछ । बाको छेऊमा किस्न बसेको थियो । बा आमालाई उही नै हेरबिचार गर्दथ्यो दुख बिमार पर्दा, अनि गाउँलेहरूले पनि सघाउँदा रैछन ।

सबै जना खाना खान बस्यौँ आमाले सबैलाई खाना पस्केर आफू चाहिँ कुरेर बस्नुभयो, मान्नु भएनसँगै खान । भन्दै हुनु हुन्थ्यो लाज चाहिँ नमान है केटाहाटी हो । कहीं मेलापात जानु छैन सञ्च सुबिस्ताले खाओ है जत्ति पनि छ थपी थपी खाओ है रहे भोलि बिहान किस्ने फेरि घिऊ हालेर खट्ठै जस्तै बनाएर भुटेर खान्छ, घिऊ त एक मानै खाए पनि पचाउँछ यस्ले । सत्ते भए मलाई त आज तिमोरुलाई देखेसी तेसै अघाइछु, भन्दै खोक्दै बाहिरतिर लाग्नुभयो ।
हामी पनि तो बेलाँ मन पराएर बिहा गरेका हुम छोरा, उस्को र मेरो जात मिल्दैनथ्यो म क्षेत्रीको छोरो ऊ चाहिँ खाट्ठि बाहूनी अनि हाम्लाई गाममा बस्न दिएनन अनि यो गाममा आएर बसेम । पाखोबारी अलिकति खेतबारी स्याहारेम । छोरा छोरी भए तिनोटा सबैका बिहा पनि भए बजार गए, उतै घर बनाएर बसे, उनीहरू आम्दैनन, हामीलाई चाहिँ आवो भन्चन तर यहीँ स्वर्ग छ हामीलाई बाबु । तिमेरुकी आमासँग भएँ भने त आधा बिसञ्चो पनि त्यसै ठिक हुन्छ बाबु, यो मया भन्ने कुरो पनि अजीवको हुँदो रैच, यसैका खाँतिर कति दुख पाइयो उस जमनामा तर हामी डगिएन बाबु, भगवानले दिएकै छन क्यार । साँचो माया गर्नेलाई त देवताले पनि माफ गर्दा रैछन बाबु । तिमीहरूको पनि जीवन सुखी हुन्छ चिन्ता नगर, हामी आमा बा को सधैँभरी तिमीहरूलाई आशीर्वाद छ ।

पोहोर साल हामी आउँदा ऊ त्यो धन्सारमा बसेर गएको नि आमा भनेर सबै बेलिबिस्तार लगाई डल्लीले । भए भरीका सबै कुरा छताछुल्लै हुने गरी पोखीई आमाको काखमा अनि आमाले उसको पोखिएको जवानी ओभानो हुने गरी सोहोर्नुभयो । तिमीले त हिरै पाइचौ नि पोइ त, तिम्रो फुलबारीमा राम्रो गोडमेल गर्ने माली भेटाइछौ नानी, यस्ता दामलीहरू लोकमा धेरै हुन्नन । बाले आमालाई आँखा मार्नुभयो ऊ बेलाको जवानी झल्किने गरी बा चाहिँ आमाको आँखामा गाडिनु भयो, सभ्यताले मलाई हेरेर खिसिट्युरी गरी म चाहिँ के गरुँ गरुँ भयो अनि अगाडि अगेनामा दाउरा फुकेर मज्जाले धुवाँ उडाएर बा र आमाको मायाको गाँठो फुकाएँ मैले ।

आमाले खाना खाइवोरी सुत्ने बेलामा फेरि एक गिलास तातो दुध अनि अनदीको तातो चाम्रे पनि सालको टपरीमा राखेर ल्याइदिनु भयो । अनि धुवाँ उड्ने गरी कोलमा पेलेको तोरीको तेल सानो दियालोमा तताएर ल्याइदिनु भयो । लौ त सुताओ तिमीहरू थाकेका हौला, दुइटा सिरक अनि काम्लो पनि खप्ट्याइदिएकी छु । जाडो भयो भने भन है मलाई म त गएँ लौ भोलि बिहान फेरि गहुँ छर्नु छ खेतमा लौ लौ । सभ्यताले पनि मेरो गोडा माडिदिई त्योभन्दा बढी ऊ थाकेकी हुनाले मैले पनि उसलाई मज्जैले मालिस गरिदिएँ नत्र फेरि आफैले बोकेर हिँड्नु पर्छ ।

दिनभरि थाकेकी डल्ली मेरो काखमा लुपुक्क लागेपछि कति छिटो निदाइ पत्तै भएन । मलाई तैपनि निद्रा लागिरहेको थिएन मैले धेरै पटक उसलाई कोट्याएँ, कत्ति हलचल गरिन । थाहा पाएको बेला पनि मलाई नै च्याप्प समातेर चल्न दिन्न थि । नचल न बुढा आज म एक दम थाकिछु के ! सुत न थुपुक्क मलाई मस्त निधाएको बेलामा नगिज्याऊ है म त चिच्याएर आमालाई बोलाई दिन्छु भन्थि ।

बाहिर जँगलमा रुखहरूलाई हावाले हल्लाएको बतासको मन्द आवाज अनि खोलामा बगेको पानीको चिसो सम्झेर मनमा कता कता चिसो भयो । बाटोमा खच्चडले भिरे जस्तो गरेर कपडा भिरेको याद पनि ताजै थियो । तर अहिले ती सबैले पनि थकाई मारेका थिए मसँग त केबल डल्ली मात्र थिई । बाहिर हिँउँ नै परे पनि, चिसो बतास चले पनि म चाहिँ सभ्यताको काखमा एकदम उखुममा थिएँ । उता बा आमाको मायाको न्यानो अनि घर भित्रको न्यानो अनि सभ्यताको न्यानो अँझै उसको मायाको न्यानोले म तापिएको थिएँ । बल्ल जिन्दगीको न्यानोपन अनुभव गरेको थिएँ पहिलो पटक, खै कस्तो सँयोजन भयो जिन्दगीमा त्यो दिन, मुटु थर्थराउने गोडा ठिहिर्याउने चिसोको बिचमा पनि म जाडो भित्रको न्यानोमा थिएँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *