Skip to content

सौन्दर्य के हो ?


वसन्तको कोकिलको गलामा
वा चन्द्रमाको मधुरो कलामा
झल्किन्छ आनन्द अचम्म खास
‘सौन्दर्य के हो ?’ ‘मनको मिठास !’ ।।१।।

छन् शीतथोपा रङले पवित्र
मुस्कान देखिन्छ गुलावभित्र
अमूर्तमा मूर्त छ मेघ खास
‘सौन्दर्य के हो ?’ ‘मनको मिठास !’ ।।२।।

जो फूल हुन् वा वन–वन्यघारी
कल्लोल भर्ने सरिता सफारी
जो फैलिने मादक छन् सुवास
‘सौन्दर्य के हो ?’ ‘मनको मिठास !’ ।।३।।

विद्रोह हुन् वा कि त क्रान्ति ज्वाला
जल्दै गरेका मृदु दीप–प्याला
जेमा सधैँ यो मुटु बस्छ खास
‘सौन्दर्य के हो ?’ ‘मनको मिठास !’ ।।४।।

नरेन्द्र पराशर
छन्द: उपजाति
(उपेन्द्रवज्रा र इन्द्रवज्रा)

http://www.narendraparasar.blogspot.co.uk/2013/08/blog-post_8.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *