Skip to content

गेडी (लघु कथा)


म सानो छँदा मेरो हजूर आमाले कुराकानीको सिलसिलामा दुई चारओटा उखान टुक्काहरू सुनाउनु हुन्थ्यो । एउटा उखान त ‘छन् गेडी, सबै मेरी, छैनन् गेडी सबै टेढी’ थियो । अर्को पनि उखान यहाँ सम्झन मन लाग्यो । त्यो उखान हो ‘कोही न कोही पाखुरो पोइ’ । उहाँले यी शब्द बोल्दा थोरै बलको प्रयोग गर्नु हुन्थ्यो अनि कोही चुप लागेर सुन्थे भने कोही जोडले हाँस्थे, म भने ट्वाल्ल परेर हेरिरहन्थे ।

यसै सन्दर्भमा एक दिन म घरको पटाहामा बसेको थिएँ । एक जना अपरिचित करिब २५/२६ वर्षकी सुन्दर कली मेरो अघिल्तिर आएर ‘मामा नमस्कार’ भनिन् । म अलमल्ल परे, को भान्जी, को भान्जी, मैले चिनेकै छैन, तापनि बस्नको लागि अनुरोध गरें उनी बसिन् । यतिवेला सम्ममा मेरी श्रीमती पनि आइपुगिन् । ती सुन्दरीले माइज्यू भनेर बोलाइन् र नमस्कार पनि गरिन् । मेरो श्रीमतीले पनि चिनिनन् । धेरै घोरिएर उनले अन्दाज लगाइन् र सोधनी गरिन् ।

‘हिजो राति कहाँ बस्नुभयो?’ भनेर मेरो श्रीमतीले सोधखोज गर्दा ‘मामाको घरमा,’ ती युवतीले जवाफ दिइन् ।

अब त मेरो श्रीमतीलाई प्रष्ट थाहा लाग्यो र उनले मलाई भनिन् मानसिंहकी जेठी बहिनीकी कान्छी छोरी त हुन् नि । अब त मैले पनि चिने । उनी उठिन् र माइजू, दूध हालेको चिया खान मन लाग्यो । भैंसीले दूध दिन छाडेको थियो । मेरो श्रमितीले रातो चिया बनाएर खान दिइन् । मलाई याद आयो उनको विवाह भव्यरूपमा भएको थियो । मामाघर आउँदा उनी सबैकी प्यारी थिइन् । छिमेकी कि भान्जी भएकोले उनी त्यतिवेला गाउँकै भान्जी थिइन् ।

देशका युवा युवती रोजगारको लागि विदेश जानेक्रममा उनी पनि घरेलु कामदारको रूपमा विदेश गइन् । दुर्भाग्य बस उनले गरेको कामको तलब न लिन सकिन् न त शरीर नै सवलरूपमा घरफर्कन सक्यो । त्यहाँ उनले यातना भोगेर ज्यान जोगाएर नेपाल फर्कन पर्यो । आज उनीसँग न त पैसा नै छ, न घरकाको संरक्षण । अब त भान्जी फिरन्ते पो भइछन् । नखानुको ठेगाना न बस्नुको ठेगाना ।

चिया पिएपछि भान्जी गुन्द्रीमा सुतिन् । बोलाउँदा पनि नबोल्ने, चलाउँदा पनि नचल्ने अवस्थामा उनी पुगिन् । सबैलाई डर लाग्यो । मानसिंहलाई बोलाइयो उनले ठाडै म चिन्दिन भने । बौलाही हो बौलाही, बौलाही कहीं मेरी भान्जी हुन सक्छे ? काकालाई बोलाउन पठाइयो उनले पनि, यो बौलाही हो यसलाई म चिन्दिन भने । मामा माइजू हुँदाहुँदै, काका काकी हुँदाहुँदै उनी वेवारेसी भइन् । समाजले जीव्रो काड्यो ।

मानवताको नाताले उनलाई अस्पताल लानै थियो, कसैले भन्यो– पुलिसलाई जिम्मा दे । कसैले भने- “मानसिंहकी भान्जी हो । उसको पटाहामा राखिदिऊँ ।”

ममा प्रश्न उठ्यो, ‘किन यस्तो भयो ?’

कसैले जवाफ दियो ‘छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेडी’ ।

अर्को एउटा बृद्धले ‘सम्पत्तिमा सबैको हाइ हाइ, विपत्तिमा कोही छैन दाजुभाइ’ भन्दै बडबडाउँदै थिए ।

सदानन्द अभागी

Leave a Reply

Your email address will not be published. Required fields are marked *