Skip to content


कमरेड
एउटा बेसोमती खोला
उक्लियो आज
मेरो आँगनमा
र हुडल्दैं छ
विगतका केही अध्यायहरू

कमरेड
मैले मेरो बा को झोलाबाट
सुटुक्क चोरेर पढेको
रातो किताब
साथीहरूसँगै निधारमा बाँधेको
रातो पट्टी
मध्यरातमा
घन्काएको मादलसँगैको
क्रान्तीकारी गीत
सबै सबै
यो बेसोमती खोलाले
आज हुडल्दैछ

कस्तरी उमठ्ठिएर आयो
यो भोको पेट
कस्तरी छुट्यो रिङ्गटा
ऋणले खोपिएको यो
टाउकोमा
खै त कमरेड
मलाई सिटामोल ?

कमरेड
यो खोलासँगै
ढल्दैछ दिन
रक्तिम साँझमा

साँच्चै
यो रक्तिम साँझ
रक्तिम लालिमा
रक्तिम किताब
रक्तिम झन्डा
रक्तिम पट्टी
सबै श्याम श्वेत पल्टेछन नि !!

कमरेड
कि यो खोलामा बाँध हाल
कि मलाई वान्ता गर्न देऊ

बिना तमाङ ‘सुनगाभा’
काठमाण्डौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *