राजविराज, ११ असोज, २०७१ ।
सगरमाथा अञ्चलको जेठो साहित्यिक संस्था सगरमाथा साहित्य परिषद्को साधारण सभाले मनोहरकुमार पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।
सर्वसम्मतिले गठित कार्यसमितिको उपाध्यक्षमा साधना झा, सचिवमा नन्दलाल आचार्य, सहसचिवमा अजयकुमार झा र कोषाध्यक्षमा कमला भन्साली रहनु भएको छ ।
यसैगरी सदस्यहरुमा सागर बीर कडारी, इन्द्र बहादुर थापा, श्यामसुन्दर यादव, गिरिराज पौडेल, राजेश बिद्रोही, शिवकान्त सुमन र खिलानाथ गौतमलाई चयन गरिएको छ ।
परिषद्को सल्लाहकारमा अनिल कुमार अनल, बैद्यनाथ झा, मन्जु श्रेष्ठ, मीना ठाकुर र शिवहरि भट्टराई रहनु भएको छ ।
तदर्थ समितिका संयोजक मनोहर कुमार पोखरेलको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा प्रमुख अतिथि पूर्व अध्यक्ष अनिल कुमार अनल, निवर्तमान अध्यक्ष बैद्यनाथ झा, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष व्यासशंकर उपाध्याय, मैथिली महिला परिषद्की पूर्व अध्यक्ष मीना ठाकुर, शिक्षिका मन्जु श्रेष्ठ, मैथिली जागरण मञ्चका महासचिव श्यामसुन्दर यादव, अजय झाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
साधारणसभाको उद्घाटन समारोहमा वक्ताहरुले परिषद्को संलग्नतामा राजविराजमा भएको पूर्वाञ्चल स्तरीय कवि सम्मेलनमा राष्ट्रकवि माधव प्रसाद घिमिरे, वैरागी काइला, गंगा उप्रेती, केशव प्रसाद उपाध्यायलगायत नेपालको साहित्य क्षेत्रका वरिष्ठ साहित्यकारहरु भेला भएको स्मरण गर्नुभएको थियो ।
साधारण सभा एवं शुभकामना आदानप्रदान कार्यक्रममा सागर बीर कडारी, इन्द्र बहादुर थापा, बुद्ध खडका, अरविन्द यादव, विकास कुमार साह, राजेश विद्रोही, जयराम भगतलगायतकाले कविता, प्यारोडी, मुक्तक, हाइकु, गीत, गजल प्रस्तुत गर्नुभएको थियो ।
नन्दलाल आचार्यद्वारा सञ्चालित कार्यक्रममा कमला भन्सालीले स्वागत तथा साधना झाले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो ।
अञ्चलभरि बोलिने भाषाका श्रष्टाहरुको साझा र जेठो संस्था रहेको परिषद् २०४४ साल कात्तिक २५ गते राजविराजमा विधिवत स्थापना भएको थियो ।
नेपाली साहित्य, कला तथा संस्कृतिको महत्ता अभिबृद्धि गर्ने उद्देश्यका साथ स्थापित परिषद्ले मुर्धन्य साहित्यकारहरुको जयन्ती, विभिन्न दिवस तथा अवसर पारेर साहित्यिक कार्यक्रम गर्दै आएको छ ।

