“साला क्या छे भने। उम्म्म ! मैले त्यस्को पनि घमण्ड चुर पारिदिएँ।” चुरोटको खिल्ली ओठको देब्रे कुनोले च्याप्दै लाइटर सल्काउँछ आधुनिक।
“धेर गफ नदे त ओइ। घाँस हाल्दिन त्यसले तँलाई,” नबिन चिच्याउँछ।
“हैन भन्न सकिन्न है सोमहरू। यसले धेरैलाई आफ्नो जालमा फाँसिसक्यो। त्यो मुलाङ सभ्यता के हो र। फेरि यसको थोवडा हेर न यति इनोसेन्ट देखिन्छ कि केटीहरू हुरुक्कै हुन्छन। साला अनुहार चै देकै हो के गडले। ए साउनी खै ल्याउ त ४ वटा टुबोर्ग।” तरफदारीमा बोल्छ जोसेफ।
“तर त्यो सभ्यता अरु जस्ती हैन है। खुब स्मार्ट छे। फेरि हाम्रो आधुनिक साँच्चिकै डिप लभमा पर्ला।” ओपनरले बोतल खोल्दै नबिनले शंका व्यक्त गर्छ।
“धत् साला यो आधुनिक हो। आधुनिकको ढुकढुकी छे आफ्नै घरवाली। यी सब युज एन थ्रो हुन्।” बियरको घुट्कोसँगै आधुनिक घमण्डले चुरिन्छ।
त्यतिनै खेर आधुनिकको आईफोन ५ बज्छ।
उस्ले नम्बर हेर्छ। बुटवलबाट भाइले कल गरेको रहेछ, “अँ भन।”
“दाइ बित्याँस भो। भाउजू हिजोदेखि घरमा हुनुहुन्न। छोरी रोएर अलपत्र छे। भन्दैथी ममी त लगेजभरि कपडा गहना हालेर जानुभो रे। साथमा तपाईंको साथी समय थियो रे।” सासै नफेरी भाइले वेलीबिस्तार लायो।
आधुनिकको निधारबाट चिटचिट पसिना बग्न थाल्यो। उसलाई चिसो बियर तातो पानी जस्तै लाग्यो।
बिना तामाङ ‘सुनगाभा’
