Skip to content

मुनामदन ०५ – मदनलाई बाटामा हैजा लाग्छ


‘नछाड मेरा हे साथीभाइ ! वनमा मलाई,
काग र गिद्धहरुको पापी शिकार बनाई ।
घरमा मेरी ती बूढी आमा, ती बूढी मर्नेछन्,
चन्द्रमा जस्ती ती मेरी मुना ठहरै पर्नेछन् ।
हे मेरा साथी ! हे मेरा भाइ ! म अझ मर्दिनँ,
कालको साथ लडेर उठ्छु वनमा मर्दिनँ,
यो घाँटी सुक्यो; यो छाती पोल्यो; यो आँसु पुछन,
अझ छ सास, अझ छ आस, यो दर्द बुझन ।
आशिष देलिन् ती बूढी आमा मलाई बचाओ !
मानिसको आँसु मानिसले पुछ्नु सबैको धर्म हो ।
यो घाँटी सुक्यो म पानी खान्नँ ! बिझायो यो घाँस,
घाँसको चोसा दयाले मर्छ; आँसुले पियास !’
‘के गर्छौ भाइ ! टाढाको घर बाटाको जङ्गल,
यो हैजा हाम्ले कुर्‍हेर बसे हुँदैन मङ्गल ।
औषधिमूलो साथमा छैन यो माझ वनमा
ईश्वर सम्झी ईरश्वरै सम्झी रहे है मनमा ।
घर र बार सबैले छाडी जानु त पर्दछ,
अन्त्यको बेला ईश्वर सम्झे संसार तर्दछ ।’
हातले टेकी मदन उठे ती साथी गएछन्
पश्चिमतिर दिनका आँखा रगतमा डुबेछन् ।
वनमा फीका अँध्यारो चढ्यो, हावा नै निदायो
पन्छीले सारा बोल्न नै छाडे, जाडोले सतायो ।
दुर्दशा त्यस्तो, निठुरी सारा जङ्गल पहाड
निठुरी तारा जगतै सारा निठुरी उजाड ।
पुर्लुक्क पल्टे घाँसमा फेरि सुस्केरा दिएर,
घरको तस्बीर मनमा उठ्यो झन् गाढा भएर ।
‘हे मेरी आमा ! मलाई तिमी सम्झँदिहोऊ नि !
हे मेरी मुना ! मलाई तिमी सम्झँदिहोऊ नि !
ईश्वर ! ईश्वर !! तँ मात्र मेरो वनमा साथी छस्,
मानिसभित्र ढुङ्गाको दिल तँ देख्ने माथि छस् ।
आगोको ज्वाला कताको होला ? डढेलो उठ्यो कि,
मरेकालाई झन् मार्न भनी डढेलो उठ्यो कि ?
नजीकै आयो मानिस यौटा लिएर चिराक
डाँकू पो हो कि ? भूत पो हो कि ? वनको खराब ।
पयोमा यौटा झुण्डेको सास के भर, के डर ?’
भएको बल गलाको पुग्छ चिराक पल्तिर ।
को रुन्छ, भनी भोटेले हेर्छ, देख्दछ बिरामी
मायाले भन्छ, ‘साथी र भाइ रहेछ हरामी ।
मेरो छ घर एक कोस पर, तिमी त मर्दैन,
म बोकी लान्छ, हुन्छ कि हुन्न ? फरक पर्दैन ।’
भोटेको पाउ समाई भन्छन् बिचरा मदन,
‘ईश्वर मेरा हे भोटे दाइ ! क्या राम्रो वचन !
घरमा मेरी छन् बूढी आमा, ती सेतै फुलेकी,
घरमा मेरी जहान यौटी बत्ती झैँ बलेकी ।
मलाई आज बचाइदेऊ ईश्वरले हेर्नेछ
मानिसलाई मद्दत गर्ने स्वर्गमा पर्नेछ ।
क्षेत्रीको छोरो यो पाउ छुन्छ, घिनले छुँदैन;
मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ।’
बोकेर लग्यो भोटेले घर, ऊनमा बिसायो,
पानीको घुट्का पिलाइदियो दयाले रसायो ।
खोजेर ल्यायो वनको बूटी घोटेर पिलायो,
चौँरीको दूध पिलाईकन बलियो बनायो ।
हिमालको बूटी विचित्र थियो जादूको दियो काम
त्यो भोटे दैव नभए कठै जान्थे ती परमधाम ।
वनका बीच घरेलु चिल्लो झुपडी टुमुक्क
गोबरमाटे—फूल टाटेपाटे,
वनको कोही देव र देवी घुस्ने झैँ सुटुक्क,
हाँगाको टेको, हावाको छेको ढुङको गाहारो
मदनलाई लाग्यौ महलभन्दा धनी र पियारो,
भेडाको ऊनको बिछ्यौना नरम आढ्नालाई पाखी छ,
त्यहाँको जीवन वैकुण्ठ जस्तो उनको लागि छ,
मुस्कानमा छैन मान्छेको छुरी, वचनमा छैन विष,
हावामा छैन दूषण केही, मनमा राग रिस,
दारिद्र्य त्यहाँ क्या धनी थियो थोरैमा कति धेर ।
चाहिँदो रैछ के सुखलाई ? प्रकृति भएनेर ।
हरियो थियो आँखाको शीतल प्रकृति रङको धन
शहरमा भरी जीवन भन्छन् जीवन थियो वन !
नकली ज्ञान पोथीका भन्दा, फूल–पाना हँसिला
रङ्गिला पत्र प्रकृतिदेवी उल्टन्थिन् रसिला,
ईश्वरको ज्योति टल्कन्थ्यो त्यहीँ शीतका दानामा,
क्या बोल्थ्यो ईश्वर पखैरुबाट रङ्गनि गानामा !
फूलको बोट उम्रेको हेरी मान्छेले पाउँथ्यो ज्ञान,
सुँघेर बास्ना लट्ठ भै आत्मा भोग्दथ्यो क्या निर्वाण
लामाको जीवन प्रकृतिबीचमा बनेली मुटुमा
बुद्धको टकले झिल्केको थियो निर्वाण–पथमा
पन्छी र पशुहरूको साथी अहिंसा विचारी
रूखको ढुकढुक, फूलको धड्कन,
ज्योतिका पथमा बीजको स्फुरण,
समस्त तिनको रहस्य जान्ने प्रकृति–पुजरी
रहेछ लामा एकान्ततामा विलासिरहेको
देख्तामा झुत्रो, भित्र त्यो कत्रो ! विशाल भएको
चौँरीलाई पाली, फलफूल हाली, बटुली जहान
पाल्दथ्यो यौटा आदर्श ढङ्लै कुटीमा सुबान
रहस्यमय अदृश्यसँग बसेको रमाई,
उदारताले हृदयद्वार जीवनलाई झिाई,
रोग र व्याधि निखार्न सक्ने मन्त्र र बूटीले,
मदन तङ्ग्री मोटाए पोसी त्यसका कुटीले,
हिउँले ब्रह्मा बनाइदिन्थे उसका कुमारी,
गालामा उषालालीले रङ्ग दिव्यले मुसारी,
वनकी देवी जस्ती थी छोरी बृद्धको पालाकी
उसको नाम थियो है लावा कोमल चालकी
कुमार उसको तेजिलो थियो फुचाको नामको
बर्षमा बार्‍ह गजबकौ तर जेहेन र कामको,
पशु र पन्छी सबेको बोली मुठीले निकाली
भाले र पोथी लागाउथ्यो बोल्न विचित्र कला ली,
महीना बित्यो मदनको त्यहाँ प्रकृतिबचिमा
अचम्म मानी आनन्दमाथि हिमालनगीचमा
बाँसुरी मधुर बजाउँथ्यो फुचा रोएर सुन्थे ती,
सुरिलो गीत गाउँथी लावा बरबर बन्थे ती,
कलुषशून्य तिनको जीवन सत्युग समान
देखेर त्यहीँ बसूँ झैँ लाग्यो सधैँ नै नजान
तैपनि मेघ दक्षिणको आयो नाघेर हिमाल
जलको कुइरो पातलो बनी,
‘कोही छ रोइरहेको’ भनी,
सम्झना दिँदै अबोल बोलमा मसिनो जञ्जाल,
पन्छीको उठान मनले टिप्यो धराको घेरापार
घर जाने इच्छा दिलसँग बढ्यो फुटेन मुखको पार
वैशाख लाग्यो पल्लवमा पन्ना, फूलमा इन्द्राणी
चरामा कलकल, साँझमा लाली,
ढुकुरमा कुकुर, डाँफेमा फुरफुर, क्वैलीमा सुवाणी,
नालामा छलफल, हिमालमा झलझल, हाँगामा फुर्फुर,
मुजूरमा ढाँचा, हरिणमा कन्याइ, मिर्गमा छुर्छुर,
लहरा हल्के हल्लेर फुल्की मधुम, गुनगुन भो !
नवीन मीठा कलकले वन शिशु–शिर छुनमुन भो,
वास्नाका कण दुगुर्न थाले, पोथीलाई बोलाउन,
शब्दले डाक्थ्यो मुटुको शब्द,
प्रश्नका साथ उत्तर लागे वनलाई गुञ्जाउन,
सृष्टिले नयाँ नाटक रचिन् आनन्द चञ्चल भो,
प्रमको राज्य हरियो भयो, जीवन हलचल भो,
पूर्णिमा आइन् हिमाल–भालमा बाटुली बनैर
अमृत थाली झिलमिल पाmली,
जादूको जाली शीतल हाली,
चराचर–दिलमा जलप लगाई हिमाल सपनेर,
वर भो यौटा द्यौथल सुन्दर जूनको जलपमा,
परीको संसार स्वप्नको मुहार शीतल झलकमा,
जुनेली फूल फक्रेर आए हृदय खोलेर
पातला पात भै पारदर्शी जूनसँग बोलेर
बुद्धको थियो उत्सवको रात उज्यालो खुलेको
विशवमा शान्ति मनमा कान्ति,
चराचरलाई नवीन जीवन अमृत मिलेको
लामाले लियो बाँसुरी हातमा वनको बाँसुरी
जनको मन कुर्लने भन,
सङ्गीतको आत्मा अटाउँने खाक्रो प्वालसुरे बाँसुरी ।
टिरि र लिरि बाँसुरी बोल्यो अबोला बोलाई वन
लावा र फुचा हातपाउ फाली,
तालमा नाचे शरीर चाली,
बुद्धको जीवन–कथाको सारमा भावले नाच्यो मन,
गीत गाए तब लामाका जहान मिलेर वनमा
भोटेको छन्द दोसाँधे मिठास शब्दको बन्धमा
मदनको आत्मा बुद्धको लोकको मुक्तिमा रमायो
उनले टिपे तलको गाना हृदय रसायो–

(गीत)
वैशाखको पूर्णिमा
हेर हो हिमाल जून !
रातको कालो वर्णमा
अमृतको यो थालीले
झलमल पार्ने कुन ?
स्याब्बो च्याङ्बा । स्याब्बो च्याङ्बी !
संसार मथ्दा जूनको नौनी स्वर्ग तर छ, सुखको दिन !
तारा-झुप्पे यो रुखमनि
कसले लायो धून ?
चूलीमा पुग्यो बाटो गुनी
आँधी नाची, पर्वत नाघी,
संसारलाई लाउन गुन ?
स्याब्बो च्याङ्बा ! स्याब्बो च्याङ्बी !
आफूलाई जित्ने संसार जित्छ निर्वाणभन्दा कीर्ति कुन ?
आकाश उनको छाती हो
करुणा धारा सुन
तारा आँखा राती हो,
माटी—जरामा बन्चरो दी
काललाई जित्ने कुन ?
स्याब्बो च्याङ्बा ! स्याब्बो च्याङ्बी !
अमृत झल्क्यो संसारमाथि हेर ! ऊ ज्योति ! हिमाल जून !

—-

पानीले पार्‍यो आकाश नीलो, पखाली तुवाँलो,
कौसीमा लाग्यो क्या राम्रो जून स्वर्गको उज्यालो ।
सिरिरि सिरि शीतल हावा, सुन्तला फुलेको,
क्या मीठो वास्ना मधुर मसिनो, जूनमा मिलेको ।
जूनको विमल –अमृत–जल– तलाउ–छायामा,
नरम, मधुर सरस, जगत्, जीवन झैँ मायामा ।
नीदले छोडेकी कोइली बोल्छे जुनेली रातमा,
जीवन देश बोले झैँ प्रीति मनका पातमा,
क्या मीठो त्यसको सुरिलो स्वर रातको कलिलो,
मनको तिर्सना सपनाभित्र घुसे झैँ रसिलो
गमलामाथि केँबरा झुल्छ, गुलाब बोल्दछ,
छायाको बुट्टा पर्खालमाथि ज्यूँदो झैँ चल्दछ ।
नीलो छ सारी ताराको पारी मुनाको गाथमा,
भावका जल–महल–लोचन कोमल छन् रातमा ।
चन्द्रमालाई चन्द्रमा हेर्छिन् कौसी र आकाश,
स्वर्गको अटाली हाँस्दिछिन् यौटी, यौटी छन् उदास ।
यो देश छैनन् उनका आँखा, मनका चित्रमा,
गडेको टक छ अरु देश जूनका भित्रमा ।
सम्झना झुम्मियो बादल जस्तो चन्द्रमा हराइन्,
विरह जस्तो अँध्यारोभित्र, एक आँसु चुहाइन्,
मुनाले बोलिन्, ‘हे मेरा कृष्ण ! मलाई भुल्यौ नि !
निठूरी मन लिएर भन, कसरी डुल्यौ नि ?
कृष्ण ! कसरी डुल्यौ नि ?
मुहार तिम्रो जुहार मेरो नजरको हरायो,
कुन पापी दैव आएर चोरी कुन देश फिरायो,
सम्झनालाई छायाले छकायो !
पहाडवारि पहाडपारि पर्दाले ढाकेको,
स्वरुप तिम्रो खालि छ मेरो मनमा जागेको,
झल्झली देखी विरह लागेको !
वचन तिम्रो तारमा मनको निदाइरहन्छ,
सम्झेर आयो झन्कन्छ भित्र, कहानी कहन्छ,
दुःखको कानमा सुखको कथा बजाइरहन्छ ।
पखेटा छैनन् उडेर जान चिडिया उडेका,
हेरेर बसी आँसुका थोपा गहमा छुटेका,
देखेनौ तिम्ले कतिका थिए छातीमा गुडेका !
किन हो किन, यो मेरो मन बादलले ढाक्दछ,
सियोको टुप्पा नदेख्ने गरी मुटुमा लाग्दछ,
प्राणको मेरो पखेरु रुन्छ पिँजडा परेको !
न उड्न पाई, न खोज्न पाई चिन्ताले पिरेको,
उडन पाए त्यो पाउमाथि लुटुपुट पर्नेछ
त्यो छातीमाथि गएर फेरि भुर्भुर गर्नेछ,
सधैँको निम्ति साथमा फिर्नेछ !
पैसाको यस्तो भुमरीभित्र किन हो पसेको ?
मनको धन छाडेर किन ह्लासामा बसेको ?
हे पैसा ! तैँले पासोमा पाछस् सिंह झैँ हृदय !
सोझाको सराप असलको विलाप, दुष्टको अभय !
पैसामा भुली बिर्सेको हो कि ? कसैले भुलायो ?
प्राणको मन छकाईकन अरुले डुलायो ?
बिर्सनुपर्ने यसरी होइन ! भमरासरी मन !
के भर त्यसको ? नलागोस् पाप पापी छ मेरो मन,
प्राण ! पापी छ मेरो मन !
पहाड त्यस्तो ! जङ्गल त्यस्तो पथरा पर्‍यौ कि ?
मलाई सम्झी दुःखमा नजर आँसुले भर्‍यौ कि ?
प्यारा ! आँसुले भर्‍यौ कि ?
कपाल दुख्ता म आँसु पुछ्थेँ बिरामी भयौ कि ?
सुसार कसले गरेको होला ? अकेला थियौ कि ?
प्यारा ! अकेला थियौ कि ?
हावाले लगे मनको चिठी, मन रुने थिएन !
तिमी छौ पर, म रुन्छ् घर, बिन्ती नै पुगेन,
प्यारा ! रोएको पुगेन !
हे पशुपति ! हे गुह्येश्वरी ! प्याराको गाथमा,
नबसोस् ध्रूलो, नबिझोस् काँढा, मङ्गल होस् साथमा !’
मुनाले जोडिन् माथमा हात, हातमा लाग्यो जून,
भरिई आयो, भरिई आयो आँसुले नयन झन् !

—-

राता र नीला पहेँला फूल वनमा फुल्दछन्,
छिर्बिरे फूल, सुनौला फूल हावामा झुल्दछन् ।
दक्षिणतिर किनारातिर फड्केको बादल,
भोटेको घर मदनअघि नेपाल झलझल,
नेपालभित्र उज्यालो डाकी कुखुरा बासेको,
हिमालचूली बिहान खुली उत्तर हाँसेको !
पहाडहरुको नीरको माला नेपाल शहरको,
लुर्कन जस्ता रुखका लहर शिखर किनारको,
बादलवारि गुलाफ फुल्ने पूर्वको डाँडामा,
उज्यालो पाटा छायाका टाटा, पहाड टाढामा,
दूधका झर्ना झरेका सेता सतह गाढामा ।
दूबोको बारी त्यो टुँडिखेल रुखले घेरेको,
धररा उठी शहरमाथि गजूर भिरेको ।
आकाशलाई छातीमा राख्ने त्यो रानीपोखरी,
त्यो कान्तिपुरी, केँवराकेश उज्याला सुन्दरी,
साँझमा गाग्रो कटीमा राखी अँगालो हालेका,
मस्केर चल्ने लाजले बल्ने, कपूरमा ढालेका ।
विचित्र त्यस्ते त्यो चित्रकारी झ्याल र ढोकामा,
पीपल ठूलो बोलेर उठ्ने हावाको झोकामा ।
त्यो सानो घर पीपलनिर, भ्mयालमा मुनियाँ,
ती बूढी आमा, ती प्यारी मुना, मनका दुनियाँ ।
आमाको बोली, मुनाका आँखा, दिदीको रुलाइ,
कौसीको ज्रन, गमलामाथि फूलको झुलाइ ।
फर्केर हेर्छन् मदन फेरि भोटेको आँगन,
क्या राम्रा बच्चा, क्या राम्रा पाठा खेलमा मगन !
हेरेर फेरि भोटेका तर्फ मदन बोल्दछन्,
हृदयभित्र लुकेको इच्छा ओठले खोल्दछन्,
‘हरियो भयो डाँडाको मुख फूल फूल्यो वनमा,
टाढाको घर झल्केर आयो हे दाजु ! मनमा ।
कलिलो राम्रो पालुवा होला नेपालमा लागेको,
त्यो आलुबखडा हाँसेको होला वसन्त पाएको,
हरियो चिल्लो जोबन होला वनमा जागेको !
वास्नाले मीठो चलेको होला हावाको लहर,
रुख र लहरा झुलेका होलान् सिहर सिहर,
खोलामा होलान् घाममा खेल्न छविला लहर !
‘वसन्त लाग्यो ! वसन्त लाग्यो !’ भन्दी हो कोइली,
डुल्दी हो लिई अनेक रङ्गी फूलका सहेली,
दुई दिल मिली फुलेकी बेली, मगमग चमेली,
बगैँचाभित्र स्वर्ग नै होला हाँगाको हबेली,
जोबनका गालामा लाजको लाली फुलेको गुलाब,
पानामा सेता सुनका अक्षर, चम्पक किताब,
पहाड–किल्ला चूली उपल्ला श्रीपेच–सरोज,
रक्षाका निम्ति ती पशुपति मुटुमा विराज,
वीरको देश, धर्मको गादी, शक्तिको आँकुरा,
पछिको बढ्ती देखाई उठ्छन् हिउँका टाकुरा,
त्यो देशभित्र त्यो सानो घर, झल्झली फिर्दछ,
बिर्सेको रिन सम्झनाकन आँसुले तिर्दछ ।
सम्झँदिहुन् ती डाँडाकी ज्रन, आमाले मलाई,
वनको छेउ म टाढा बस्छु त्यो घर रुलाई,
तिमीले लायौ सधैँको गुन, म तिर्न सक्तिनँ,
सधैँको ऋणी, म तिर्न सक्तिनँ !
दुइटा मैला सुनका थेला वनमा गाडेको,
यौटा हो तिम्रो यौटा हो मेरो गुनले बाँडेको,
यो तिमी लेऊ बिदाइ देऊ, म घर हिँड्दछु,
यो तिम्रो गुन सधैँको सम्झी अगाडि बढ्दछु ।’
भोटेले भन्छ,‘के गर्छ मैले पहेँलो सुनले ?
रोपेर सुन उम्रन्न क्यार के गर्छ सुनले ?
रोपेर राख्यो, पछि पो खान्छ यो तिम्रो गुनले,
बालक मेरा यी छोराछोरी, आमाले छाडेको,
के गर्नु सुन ? के गर्नु धन ? दैवले चुँडेको,
यो केटाकेटी खाँदैन सुन, लाउँदैन गहना,
आकाशमाथि जहान मेरो बादल छ गहना !’
भोटेका बच्चा काखमा राखी, कपाल मुसारी,
पुछेर आँखा फूलको थुङ्गा केशमा घुसारी,
पुछेर आँखा त्यो भोटेसँग मदन भन्दछन्,
‘बिदाको बेला आँसुले आँखा झन् भरी बन्दछन् ।
गाहारो भयो छाडेर जान गुनको आँगन !
यो गुन कैले म तिर्न सक्छु तैपनि माग न,
दाज् ! केही त माग न !’
भोटेले भन्छ, ‘मौकाले पायो त्यो गुन लाउन,
गुनको सट्टा लिँदैन हामी, सम्झेर जाऊ न,
आफैँले खन्छ आफैँले खान्छ, सित्तैमा छुँदैन,
क्या दिन्छ तिम्ले ? क्या लिन्छ मैले ? मागेर लिँदैन ।
च्याङ्बाको नाउँ सम्झेर जाऊ घरमा सुनाऊ;
बूढीको आसिक यी केटाकेटीहरुमा पठाऊ ।’
रोएर हिँडे, जङ्गलछेउ, अपढ, अजान,
त्यो भोटेभित्र देखेर त्यस्तो मनको मुहान,
रोएर घर हिँडे ती मदन !

—-

मदनकी आमा, फुलेकी सेतै ओछयान परेकी,
डाँडाकी जून, अन्त्यको दिन दुःखमा कुरेकी,
सुकेको तेल घरकी बत्ती मधुरो भएकी
अँध्यारो पारी धिपिक्कै जान तयार रहेकी ।
छोराको मुख झल्झली देख्छिन्, ईश्वर पुकार्छिन्,
मनको मन त्यो छोराकन, ईश्वर गुहार्छिन् ।
भ्mयालको हावा फुलेको केश मुसारी हिँड्दछ,
ह्लासाको तर्फ आमाको दिल बहाई बढ्दछ ।
आँखामा छैन उनको आँसु शान्तिले छाएको,
साँझको फिका जलमा अन्त्यको उज्यालो आएको,
प्राणको टेका, कलको छेका, टाढाको छोरो छ,
छोराको मुख हेरेर जाने मनको धोको छ ।
जरोले तातो, पातला हात नसाले जेलेको,
रसिला–आँखा–बुहारी–हात प्रेमले मिलेको ।
कलिलो हात समाई भन्छिन्, ‘मेरी हे बुहारी !
अब त बेला नजीकै आयो जानु छ उसपारि !
के गछ्र्यौ रोई, नरोऊ बुहारी !
सबैको बाटो यही हो नानी ! अमीर–फकीरको,
यो माटो गई माटोमा मिल्छ दुःखको बगरको,
शहर बस्नू, नफस्नू यसमा, दुःखको जञ्जाल !
अन्त्यको बाटो उज्यालो हुने भक्ति नै सँगाल !
फुलेको देखेँ वैलेको देखेँ जगत्को फूलबारी,
दुःखमै चिनेँ ईश्वरलाई हे मेरी बुहारी !
पृथिवीभित्र रोपेको बीउ स्वर्गमा फल्दछ,
दिएको जति पृथिवीभित्र माथि नै मिल्दछ ।
गरेको जति लिएर जान्छु, के जान्छ साथमा,
सपनाभित्र पाएको धन ब्यूँझेको हातमा ।
बिदाइ लिन्छु सबका साथ मदन आएन,
त्यसलाई हेरी आँखाले आज चिम्लिन पाएन ।
म मरिहाले मदनसँग यो भन्नू तिमीले,
‘नरुनू धेरै, भनेर गइन् अन्त्यमा बूढीले !’
रोकेको दिल आँखामा खस्छ गलामा बोल्दछ,
मुनाका छातीमा छोपेको शोक निसास्सी चल्दछ ।
‘हे मेरी बज्यै ! हे मेरी आमा !! यो अर्ती लिनेछु,
हजूरको मीठो सम्झनालाई आँसुले धुनेछु ।
अझ ता केही भएको छैन आराम हुनेछ,
हजूरको धोको त्यो भेट यहाँ अवश्य पुग्नेछ !’
बिचरी बूढी ती काँप्न थालिन्, कम्प भो विचित्र,
बन्द भो बोली, मनमनै रह्यो वचन पवित्र ।
कहिलेकाहीँ मुनाको हात छामेर ‘यहाँ छ’
भनेर दिँदा बलले भन्थिन् ‘मदन कहाँ छ ?’

—-

कुतीमा यौटा पीपल ठूलो हावाले हल्लायो,
हाँगामा आई कागले चुच्चो खोलेर करायो,
छहारी बस्ने बटुवा हेर्थे टाढाको टाकुरा,
चिउँडो थियो हातको माथि, घुँडामा पाखुरा ।
हाँगाको काग ओह्र्लेर आयो, नजीकै करायो,
नजर छड्के त्यो घाँटी कर्के गरेर करायो ।
नजर फिर्‍यो, पसीना पुछी बोले ती बटुवा,
‘सुबोल् सुबोल् हे ! ठाउँ सरी बस्न, आकाश-डुलुवा !
हेरेर आइसु ती आँखा तानी के मे शहर ?
नेपाल खाल्डो छ कान्तिपुरमा घर त्यो सुग्घर ।
माई छन् मेरी कपाल सेती, मुना छन् उज्याली,
मलाई सन्चो छ भनी आइज पखेटा उचाली ।
‘नमान्नू धन्दा नमान्नू फिक्री’ भनेर सुनाई,
गुँडमा फर्केस् बारीको यौटा हलुवावेद खाई !’
उडेर गयो त्यो काग टाढा बुझे झैँ गरेर,
‘कागले बुझयो, उडेर गयो पुग्नेछ सबेर ।
बुझदैनन् भाषा पन्छीको हाय ! ती दुई बिचरा !’
भनेर हेरी नजर भरी उठे ती बिचरा !
बिचरा मदन, नजर भरेर !

—-

शहरभित्र केको हो यस्तो वियोग विलाप ?
पिल्पिले बत्ती भिजेका आँखा अलाप विलाप ।
बज्रको झिल्का चड्केर गई आँधीको पुछार,
हुन्हुन हावा बिलौना गर्छ साँझको सँघार ।
कुक्कुर रुन्छ पिँढीमा बसी, अँध्यारो राति छ,
औँसीको कालो आकाश-छाना घरको माथि छ ।
पिल्पिले बत्ती धिप्धिप गर्ने अँध्यारो उज्यालो,
अँध्यारोसँग मिसिएजस्तो टुकीको तुवाँलो ।
रुखमा तप्क्यो आँसुको थोपा हुरीले भाँचेको,
भुल्काले आँखा बाटुला लायो रुखमा भाँचेको ।
कलिलो रुख पिटिक्क भाँचेको ।
पिल्पिले बत्ती, भिजेका आँखा, भिजेका परेला;
औँसी झैँ मुख किन हुन् त्यस्ता ती आँसु भरिला ?
हा कठैबरी ! भिजेका परेला !
सासूको सास घाँटीमा बज्छ अड्कन्छ गलामा,
बुहारी मूच्र्छा इन्तु-न-चिन्तु माथिको तलामा,
ती मुना कठै ! नीली भै पलामा !
दाजु र भाइ छिमेकी रुन्छन्, अलाप विलाप,
छातीमा हात, आँखामा आँसु, मनमा विलाप,
बिजोग हरे ! बिजोग त्यस्तो ! दैवले देख्तैन,
दैवले देखे कसरी हेर्छ ? कलम लेख्तैन !
त्यो कालो सर्प बनाई मुटु कसरी उठायो ?
मदन मरेको कसरी चिठी गुण्डाले पठायो ?
सर्पको दाँतमा विषको थैलो, ईखको तिखो फल,
मानिसभित्र झन् हुन्छ कालो मनमा हलाहल !

—-

‘के देख्न आएँ ? हे मेरी आमा ! के देख्नुपर्‍यो नि ?
हे मेरी आमा ! हे मेरी आमा ! यो छाती चिर्‍यौ नि !
आमा ! यो छाती चिर्‍यौ नि !
पापीको मुख हेर न आमा ! मलाई हेर न !
म आएँ आमा ! म पापी आमा ! मलाई हेर न !
आमा ! मलाई हेर न !
किन नि टाढा हेरेको त्यस्तो ! म आएँ, म आएँ !
नजर फेरि फिराऊ यता, रोएर कराएँ !
रुन पाउमा म आएँ !
मुटुमा गाँठो पारेर हेछर्यौ ! नजर फिर्‍यो नि !
नछाड आमा ! फर्क न , फर्क, टुहुरो मर्‍यो नि !
आमा ! टुहुरो मर्‍यो नि !
म आएँ आमा ! म दु:ख दिन कोखमा पसेको !
बुढेसकाल छाडेर छुरी मुटुमा धसेको !
छुरी मुटुमा धसेको !
मदन भन्ने म पापी छोरो चिन्यौ कि चिनिनौ ?
‘आइछस् बाबू !’ भनेर हरे ! मुखले भनिनौ !
आमा ! चिन्यौ कि चिनिनौ ?
मुखले तिम्रो नबोले पनि आँखाले बोल्दछ !
यो तिम्रो दशा देखेर आमा ! कलेजा जल्दछ !
आमा ! कलेजा जल्दछ !
सुसार तिम्रो गर्न नै मैले पापी भै पाइनँ !
गरुँला भन्ने मनमै रह्यो, म अघि आइनँ !
हरे ! म अघि आइनँ !
क्या शान्ति छायो मुखमा तिम्रो ! हे आमा ! बोल न,
अमृतजस्तो वचन तिम्रो हृदय खोल न !
आमा ! एक फेरा बोल न !
हे मेरी आमा ! मलाई हेरी नजर रसाए,
कलिलो त्यस्तो हृदय मैले कसरी बिझाएँ ?
आमा ! कसरी बिझाएँ ?
सुनका थैला लिएर आएँ, चढाएँ पाउमा,
पाटी र धारा बन्नेछ तिम्ले भनेको ठाउँमा,
आमा ! भनेको ठाउँमा !
कोपिलाभित्रै वैलायो आशा, हिउँले खँगार्‍यो,
दिलले दर्द नपोखी, हान्यो दैवले झटारो !
फर्क न फर्क हे मेरी आमा ! माथि नै हेछर्यौ नि !
उठाई औँला माथि नै आमा ! इशारा गछर्यौ नि !
आमा ! कलेजा चिछ्र्यौ नि !
लौन नि ! लौन !’ भनेर उठे मदन जुरुक्क,
मूच्र्छामा परे पाउमा, देखी गलाको हिरिक्क !
छोराको मुख हेरेर गइन् कठै ! ती घुरुक्क ।
हा कठैबरी ! ती बूढी घुरुक्क !

—-

‘भन न भन हे मेरी दिदी ! ती मुना कहाँ छिन् ?
आमाको यस्तो बिछोड पर्दा देख्तिनँ यहाँ झन् !’
‘हे मेरा भाइ ! ती मुना छैनन् यो तिम्रो घरमा,
मावल जान ती बिदा भइन् बिछोड परेमा !
ह्लासामा जाँदा बिछोड परेमा !’
‘स्वर्गमा गइन् ती मेरी आमा, तिम्लाई छाडेर,
कसरी गइन् ती मेरी आमा, तिम्लाई छाडेर,
कसरी गइन् बिचरीलाई टुहुरी पारेर ?’
‘बुहारी मध्ये कुँदेको हीरा भएर बिरामी,
मागेर बिदा सबैका साथ सार्‍है नै बिरामी !
भएर गइन् सार्‍है नै बिरामी !’
‘कस्तो छ मेरी ती मुनालाई ? हेरेर को आयो ?
पानीका घुट्का ती माग्दिहोलिन्, कसले पिलायो ?’
हे प्यारा भाइ ! ती मुनालाई यो जल चाहिन्न,
ती निकी भइन् निरोगी भइन्, औषधि चाहिन्न !
हे प्यारा भाइ ! म हेर्न जान्थेँ, बाटो नै पाइन्न !’
‘ती निकी भए आउन्नन् किन ? यो मेरो अवस्था !’
‘खोज्दिहुन् तिनी आउनलाई ! पाउन्नन् ती रस्ता ।’
‘गजब लाग्छ यो कुरा सुन्दा मावली कहाँ छ ?’
‘बादलपारि, उज्यालो भारी मुलुक जहाँ छ !’
‘हे मेरी दिदी ! हे मेरी दिदी ! मुना छिन् भन न,
ती मुना मेरी पृथिवीमाथि अझ छिन् भन न !
मुना, अझ छिन् भन न !
‘पृथिवीवारि पृथिवीपारि ती मुना अझ छिन्,
फूलमा हाँस्छिन्, जलमा नाच्छिन्, तारामा चम्किन्छिन् ।
कोइलीकण्ठ बोल्दछ तिन्को, आँखा छ उज्यालो,
शीतमा रुन्छिन्, उदास हुन्छिन् देखिन्छ तुवाँलो !’
‘मरेकी छैनन् ती मेरी मुना ज्यूँदी छिन् भन न !
मावलभित्र छिन् मेरी मुना, आउँछिन् भन न !
मावलभित्र छिन् मेरी मुना, आउँछिन् भन न !
आशाकी जरा, मनकी चरा, मुना छिन् भन न !
कुन दिन दिदी ! आउँछिन् भन न ?’
‘हे मेरा भाइ ! ती मुना छैनन् !! पृथिवीवारिमा,
दुःखको लेश नहुने देश कल्पनापारिमा,
टिपेर बस्छिन् सुखका फूल स्वर्गको बारीमा ।’
‘निठुरी दिदी ! निठुरी दिदी !! मार्‍यौ नि मलाई !!!
आशाको फूल यतिका दिन आँखामा झुलाई,
कानमा मेरो विषको घुट्का घुटुक्क पिलाई,
हे मेरी मुना ! हे मेरी मुना !! छाडेर गयौ नि !!!
पूजाकी मन्दिर, प्राणकी जञ्जीर तिमी नै थियौ नि !
हे मेरी प्राण ! तिमी नै थियौ नि !!
प्राण ! छाडेर गयौ नि !!!
दैवले हान्यो शिरमा मेरो निठुरी घनले,
के गरी सहूँ ? के गरी रहूँ ? जीउँदो मनले !
सहन सीमा नाघेको मनले !
हे मेरी दिदी ! ती मुनालाई हेर्दछु एकै छिन्,
ती मुनालाई डाक न दिदी ! हेर्दछु एकै छिन् !
डाक न दिदी ! हेर्दछु एकै छिन् !
हे मेरी मुना ! हे मेरी मुना !! ओह्र्लेर आऊ न !
हे मेरी रानी ! मुहार तिम्रो म देख्न पाऊँ न !
मुना ! ओह्र्लेर आऊ न !
अँध्यारो भयो ! अँध्यारो भयो !! मनको बिलौना,
उम्लेर आई घाँटीमा अड्क्यो मनको बिलौना !
आँसुमा खस्यो मनको बिलौना !’
‘हे मेरा भाइ ! हे प्यारा भाइ !!’ ती दिदी भन्दछिन्,
पछयौराछेउ पुछेर आँसु ती दिदी भन्दछिन्,
‘हे मेरा भाइ ! नगर त्यसो धीरज लेऊ न !
आखिर जानु सबैले पर्छ, यो सम्झी लेऊ न !
चार नै दिनको यो पापी चोला, यो मैलो गुमानी,
आखिर छर्छ हावाले फेरि एक मुठी खरानी !
बाबू ! एक मुठी खरानी !
मासुको फूल वैलेर जान्छ मट्टीमा मिल्दछ,
अरु नै फूल पृथिवीपारि स्वर्गमा फुल्दछ !
सर्धैँको लागि स्वर्गमा फुल्दछ !
सहन भनी जन्मन आयौँ हे बाबू ! सहन,
दुःखमा हामी शोधिन आयौँ, दुःखमा रहन,
आँसुको खोला न्हाई जान्छौँ वैकुण्ठ–भवन !’
‘हे मेरी दिदी ! सम्झेर आयो यो छाती चिरिन्छ,
यो तातो घाउ नूनले पोल्छ झन् आँखा भरिन्छ !
दिदी ! झन् आँखा भरिन्छ !
मुनाको बोली, लाग्दछ गोली ! सम्झन्छ मनले,
क्या मीठोसँग सम्झाई भन्थिन् ‘के गर्नु धनले ?’
गलामा लाग्यो, मुटुमा घुस्यो अमृत–वचन,
‘साग र सिस्नु खाएको बेस आनन्दी मनले !’
बसालिहाल्यो दैवको घनले !
ईश्वर ! तैँले रचेर फेरि कसरी बिगारिस् ?
सृष्टिको फूल रचेर त्यस्तो कसरी लतारिस् ?
त्यो फूल हरे ! मलाई दिई कसरी पछारिस् ?
हे दिदी ! मैले ती मुना देख्ता, मुनाको मुहार,
ती मुना पनि मर्दछिन् भन्ने थिएन विचार !
मुना ! छातीको जुहार !
पृथिवीतिर नहेर मुना ! म पनि आउँछु
आँखामा आँसु लिएर चिनो म भेट्न आउँछु,
प्रेमको हीरा छुटेको तल, म लिई आउँछु ।
कसरी खायो आगोले दिदी कमलको शरीर ?
कसरी खायो निठुरी भई कमलको शरीर ?
म कहाँ पाऊँ ती मुनालाई छातीमा लगाऊँ !
खरानी तिनको मलाई द्यौन, छातीमा लगाऊँ !
हे मेरी आमा ! हे मेरी मुना !! म यहाँ बस्तिनँ,
म यहाँ अब बस्तिाँ आमा ! म यहाँ बस्तिनँ,
म यहाँ अब बस्तिनँ मुना ! म यहाँ बस्तिनँ,
‘हे मेरा भाइ ! ती तिम्री मुना मरेकी छैनन् ती,
ज्योतिको स्वरुप लिएर गइन् बगैँचा वसन्ती,
स्वर्गका चरा गाउँछन् उनको मधुर जयन्ती !’
‘पर्दाले ढाक्यो, पर्दाले छेक्यो, हे दिदी ! मलाई !
म रुने छैनँ, गएर भोलि भेटुँला तिनलाई,
हे दैव ! पर्दा चाँडै नै उठा ! धन्य छ तँलाई !’

—-

मदन त्यसै थलामा परे, दुःखले वैलायो,
वैद्यले आई उनको नाडी घोरिई समायो ।
कफ र वायु बिग्रेछ भनी वैद्यले भन्दछ,
अरुको कुरा नसुन्ने कान त्यो कुरा सुन्दछ ।
मदन भन्छन्, ‘चरक पढ, सुश्रूत पल्टाऊ,
मनको व्यथा रहन्छ कहाँ ? मलाई बताऊ,
जिउने रोग मलाई लाग्यो, यो रोग हटाऊ ।
मनको रोगको औषधि के हो ? मलाई बताऊ ।
सम्झना भन्ने छटपटी हुन्छ, दर्शनपियास,
झन् टाढा टाढा आँखाले हेर्छ पोल्दछ बतास,
मगज घुम्छ भुँमरीभित्र मुटुमा दुख्तछ !
लक्षण सारा बाहिरबाट मनमा लुक्तछ !’
वैद्यले हेर्‍यो, वैद्यले बुझ्यो, त्यो वैद्य आएन,
मनको व्यथा कता हो कता ! औषधि पाएन ।
दिनका दिन झन् सार्‍हा भए बिचरा मदन,
जस्ताको तस्तै होशमा छन् ती, सफा छ वचन,
‘हे मेरी दिदी ! यो घरजम तिमीले चलाऊ,
पाटी र धारा आमाको इच्छा तिमी नै पुर्‍याऊ ।
सुसार गर्छिन् मुनाले माथि अकेली आमाको,
नछाडी जाऊन् सुसार अरु अकेली आमाको,
फुकाऊ तना, गङ्गाको जल देऊ न घुटुको,
औषधी छैन हे मेरी दिदी ! फुटेको मुटुको ।’

—-

बादल फाट्यो, चन्द्रमा हाँसी स्वर्गमा सुहाए,
साथमा तारा भएका शशी झयालमा चिहाए ।
बादल मिल्यो, सधैँका निम्ति मदन निदाए,
भोलि ता फेरि छर्लङ्ग भयो श्रीसूर्य उदाए ।

—-

आँखाको धूलो पखालिहाल्यौ हे भाइ ! बहिनी !
संसार हाम्ले बुझ्नु नै पर्छ काँतर नबनी ।
संसारलाई मुखमा हेरी कम्मर कसेर,
आकाशतिर पखेटा चालौँ पृथिवी बसेर,
खानु र पिउनु जीवन भए, जिउनु हरे ! के ?
पछिको आशा नभए कठै ! मानिस हरे ! के ?
पृथिवी बसी स्वर्गमा हेर्ने छन् हाम्रा नजर,
तल नै हेरी तल नै हेरी बिलौना नगर ।
मनको बत्ती तनको बली स्वर्ग छ प्रसाद,
कर्ममै पुज ईश्वर भन्छ यो ‘लक्ष्मीप्रसाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *