परिचय
गीता खत्रीजीसँग साक्षत्कार नभए पनि उहाँको नाम र साहित्यक गतिविधि फेसबुकबाट जानकारी भएको थियो तर उनका कृतिहरू भने पढ्न पाएको थिइन । यसपटक गीता खत्री लगायत गोवद्र्धन पूजा, पदम विश्व कर्मा र नारायण अधिकारीको सम्पादकत्वमा अनेसास गजलगङ्गा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले प्रकाशन गरेको संयुक्त गजल कृति, मैले पढ्न पाएँ र मैले अनेसास गजलगङ्गाको समीक्षा पनि लेखे । सो गजलगङ्गाको समीक्षा मैले गीताजीलाई पठाइदिएँ । सो समालोचना अध्ययन गरेर मलाई उहाँले धन्यवाद दिनेक्रममा उहाँका दुई कृतिहरू (आमा हुन् आमा र झोखाङदेखि मजाटलानसम्म) पनि मलाई अध्ययनार्थ प्राप्त भए । मैले ती दुई कृतिहरूमा आमा हुन् आमालाई अध्ययन गर्दै गएँ र मलाई लागेका धारणाहरू यस विवेचनामा कोरें ।
बास्तवमा गीता खत्री नेपाली साहित्य जगतमा सुपरिचित नाम हो । उनले नेपाली साहित्यको क्षेत्रमा आफूलाई कवि, गजलकार, कथाकार, गीतकार, खण्डकाव्यकारको रूपमा, परिचित गराइसकेकी छन् । काठमाण्डौ, कलंकीस्थान–१४मा वि.सं.२०२०सालमा जन्मनु भएकी गीता खत्री स्नातक, डिप्लोमा एलाएन्स फ्रान्स, पेरिसबाट र ओमेन लिडरसिप कोर्स, हन्टर कलेज, न्युयोर्कबाट, शिक्षा हाँसिल गरिसकेकी छन् । उनको साहित्यिक संघसंस्थामा आवद्धता पनि छ । अध्यक्ष, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (सन् २०१०–२०१४), संरक्षक, नारी साहित्य प्रतिष्ठान र कौशिकी साहित्य पत्रिका, आजीवन सदस्य, गुञ्जन विश्व परिक्रमा (अनलाइन मिडिया) र सल्लाहकार अन्तर्दृष्टि, त्रैमासिकमा आवद्ध भएर सेवा गर्दै आएकी छन् ।
सम्मान/पुरस्कार
सर्वदावाङ्मय सम्मान (२०६४) नेपाल, अनेसास नेपाल च्याप्टर सम्मान (२०६७), नारी साहित्य सम्मान (२०६७), सरस्वती सङ्गित सम्मान (२०६७), दायित्व वाङ्मय सम्मान(२०६९),महिला गीतकार सम्मान(२०६९), गङ्गादेवी चौधरी स्मृति सम्मान (२०७१) र Best INLS Chapter President Award(2008) आदि पुरस्कारबाट गीताजी पुरस्कृदत हुनुभएको छ ।
प्रकाशकीय धारणा
यस खण्डकाव्यको प्रकाशन नइ प्रकाशनले गरेको हो । प्रकाशकीयको कलमबाट यस कृतिका कृतिकारलाई यसरी मूल्याङ्कन गरिएको छ – ‘नेपाली भाषा साहित्यको फाँटमा गीता खत्री, परिचित नाउँ हो । एकातिर कविता र निबन्ध लेखनमा खत्रीको आफ्नै मौलिकता गाँसिएको छ भने अर्कातिर खोजअनुसन्धानमा पनि विशेष चासो राखेर नेपाली भाषालाई धनी बनाउने काम उनबाट भएको छ । त्यसैले उनका रचनाले विशेषत : आफ्नै परिवेशलाई मोह लगाएको पाइन्छ ।’
भूमिकाकारको धारणा
यस कृतिको भूमिका इन्दिरा प्रसाईले लेख्नुभएको छ । भूमिकामा इन्दिराजीले नेपाली साहित्यकारहरूको नकरात्मक उपज आफ्नो सिर्जना बाहेक अरुले के लेख्छ या स्तर हुँदैन भन्ने जुन प्रवृति केही नेपाली साहित्यकारमा देखापरेका छन् त्यस्ता प्रवृतिप्रति कटाक्ष गर्दै प्रश्न गर्नुहुन्छ – ‘कसैको सिर्जनालाई सहज स्वीकार गर्न किन मानिसलाई कठिन हुन्छ ?’ उहाँले गीताका गीत तथा यस खण्डकाव्यमा पाएको साहित्यिक उच्चताको प्रशंसा गर्नुभएको छ । उहाँले गीताप्रति ‘अहो !कस्तो प्रतभिा शाली मान्छे भन्दै गीताको लेख पढेर गौरान्वित भएको धारणा प्रकट गर्नुभएको छ । मलाई पनि के भन्न मन लाग्छ भने जसले काम गर्छ त्यसको बारेमा टीकाटिप्पणी हुने गर्छ । यस्ता टीकाटिप्पणी गर्ने मित्रहरूले लिखितरूपमा सबैले पढ्न पाउने गरी गर्नुभयो भनेमात्र त्यो टीकाटिप्पणीले सार्थकता पाउँछ । सूर्यलाई हत्केलाले ढाकेर ढाकिदैन । सर्जक र सिर्जना भनेको सूर्य किरण हुन् । ती साधारण किरणलाई अवरोध पुग्न जान्छ भने अँझै तीक्ष्ण भएर आफ्नो गन्तव्य स्थलतिर प्रवेश गर्दछन् र आफ्नो स्थान लिएर प्रकाश छरेर नै छाड्छन् । प्रकृतिको वरदानलाई कसैले छेकेर छेक्दैन र मानवको कुप्रवृतिले निम्त्याउने बाधा अड्चन धेरै दिन टिक्दैन । यहाँ भूमिकामा इन्दिराजीले आजको यथार्थ मानवीय प्रवृतिलाई केलाउने र गीताका साहित्यिक अभिव्यक्तिलाई प्रष्टयाउने जुन प्रयास गर्नुभएको छ,त्यसलाई हर्दिकता र्शाउँदै, मैले आफ्नो धारणामात्र राखेको हूँ । मैले गीताद्वारा सिर्जित एक खण्डकाव्यको अध्ययन गरे । यो खण्डकाव्य आकारमा सानो छ तर आजको नेपाली समाजमा युवा तथा युवतीहरूले जवानीमा प्रेममा फस्ने र त्यसवाट प्राप्त नतिजाबाट आफ्नो जीवनमा आइपर्ने सामाजिक तथा मानवीय समस्या र आफूले जन्माएका सन्ततिमा पर्ने नकरात्मक प्रभाव तथा समाजको नकरात्मक सोचाइलाई प्रष्ट्याउँदै ज्वलन्त उदाहरण सहित यो खण्डकाव्य हामी समक्ष पस्कनु भएको छ ।
कृतिकारको आफ्नै धारणा :–
साहित्यकार इन्दिरा प्रसाईले काव्य लेख भन्ने धारणाले यो खण्डकाव्यको जन्म भएको धारणाको साथै गीताजीले ‘साहित्य सिर्जना पनि भगवानको मावनसृष्टिजस्तै लाग्न थालेका छ मलाई’, भन्दै अब लेखिएका लेख रचनाहरूलाई राम्रो नराम्रो नभनी प्रकाशमा ल्याउने प्रतिबद्धता पनि जाहेर गर्नुभएको छ ।
खण्डकाव्यको कथासार
यस खण्डकाव्यको कथाको सारसक्षेपमा लिनु पर्दा एउटी युवती सुनकेसरीको एउटा युवकसँग प्रेम हुन्छ र गर्भधारण पनि हुन्छ र छोरी पनि जन्मिछे तर विवाह बन्धनमा सामाजिकरूपमा बाँधिन नपाई, छोरीलाई गर्भमा छाडी, युवक अमेरिका जान्छ । दुवैको बीचमा चिठीपत्र आदान प्रदान हुन्छ । त्यहाँ टुइनटावरमा दुईओटा जहाज पसेर जलाएर खरानी पार्दा, ती युवकको पनि मृत्यु हुन्छ र यता नेपालमा विवाहको दिन पर्खदै गरेर छोरीलाई पालेकी सुनकेसरीको पनि त्यो आघातलाई सहन नसकी मृत्यु हुन्छ । टुहुरी छोरीले शोकमय भएर आँसु झार्दछे र विलौना गर्दागर्दै, खण्डकाव्य समाप्त हुन्छ ।
भागगत विशेषता
यो खण्डकाव्य सात भागमा वभिाजित छ । प्रथम भागमा न्युयोर्क सहरको चित्रलाई उतार्ने प्रयास गरिएको छ । मैले यी भागहरूमा दृष्टिपात गर्दै अगाडि बढ्ने अनुमति चाहान्छु । प्रथम भागमा इष्ट रभिरको सलल बगेको दृश्य, दिनरात एकै लाग्ने सहर, संसारभरका मानिसको जमघट, विविधताको भरिएका रीतिरिवाज तथा संस्कृति, बाग वगैं र सहरमा सुन्दर सोच भएका मानिसको बसोवास, अनमोल मणिलाई छरेर ईश्वरले सिर्जना गरेको जस्तो लाग्ने यस्तो अनुपम सिङ्गारले सजिएको नगरी भए पनि यो खण्डकाव्का नायकको मनले नेपाल खोज्दछ भनिएको छ र न्युयोर्क सहरको अवस्थिति, सामाजिकता, समाजमा पाइने समानता, शिष्टता, आर्थिक प्राकृतिक सम्पन्नता आदि विविधतामा सुन्दर शैलीमा यो सहरको वर्णन गरिएको छ । हेरौं कवितामै न्युयोर्क र नेपालप्रति नायकले राखेका धारणा–
न्युयोर्कको बर्णन–
प्रकृति तिम्रो सुन्दरताले यो देश ढाकेको
प्रकृतभिित्रै सजिई न्युयोर्क कर्मले राखेको
नायकको मनले नेपालको खोजी – पृष्ठ २३
प्रकृति पनि खिल्दछ यहाँ हजार हजार
तर नि प्रिय मनले मेरो खोज्दछ नेपाल
पृष्ठ २५
बास्तवमा जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि प्यारो हुन्छ त्यसै भनिएको होइन । नायकले अमेरिकामा पुगेपछि, त्यहाँको त्यो सुन्दरताले उसको मनलाई आकर्षण गर्न सक्दैन । उसले नेपाल र आफ्नी प्रियलाई भुल्न सक्दैन । यो भाग सुन्दर श्लोकले भरिएका छन र श्लोक मार्मिक र भावपूर्ण छन् ।
भाग –२मा नेपालतिरै फर्किन्छ मन शीर्षककमा, खण्डकाव्यले आफ्नो नेपालको मार्ग समाउँछ । यस भागमा नायकले नायिकालाई भन्दछ– ‘मुटु त्यहीं नै छोडिएको रहेछ, दुखेको मुटुलाई खिलाएर बसेको छु तापनि सपनामा नेपालकै माटो चुमेर बस्छु र दर्दले भरिएको घाउलाई निको पार्दछु । तिम्रो र मेरो भेटको क्षण, त्यो आँखै आँखाले गरेका कुरा, असारमा हिलोमा यी पाउले नाचेको खुसीको नाच, त्यतिवेलामा प्राप्त स्वर्गको अनुभूति, हामी बीचको माया अधुरो भयो, हामी छुट्टीने मञ्जुरी कसरी भयो, हाम्रा ती तेत्तीस कोटी देवता नेपालका गहना, कस्तूरी मृगको वासना, सेती कालीले बगाउने मोती, माछापुछ«ेको सौन्दर्यता, सीता, बुद्ध जन्मेको र प्रिय बसेको देशलाई चुम्न मन सधैं आतुर हुन्छ र विरहले मन लोलाउन थाल्छ, यो मनले न्याउलीलाई बोलाउन थालेको छ । त्यसो हुँदा चाडै आएर, यो दूरी मेटेर, त्यही माटो चुमेर,पसिना पुछेर,मनको विरहलाई रोकेर दिनलाई बिताएर रातको निलाईबाट बचेर समाजलाई राखेर सिन्दुर हालौंला, तिम्रो मनको कल्पना सबै पुर्याउँला भनेको दूरदेशमा यी भावना र धारणा केवल सपनामात्र हुन गए र स्वर्ग पनि नर्क बन्न गयो’ भनिएको छ–
दूर देशमा सहारा मेरा कल्पना मात्र भो
छाडेर आएँ अधुरो सपना स्वर्ग नि नर्क भो
पृष्ठ २८
भाग ३मा,देशको अवस्था शीर्षकमा नायकले नायिकालाई यी व्यथा मेरामात्र नभएर देशकै व्यथा हो प्रिय, आज देशको अवस्था देखेर कान्तिपुर रुन्छिन्, कसको नजर परेर हो देशको अवस्था गिर्दै छ, युवा रोजगार नपाएर विदेश पलायन छन्, बूढाबूढीले पिँढी कुरेर बसेका छन्,गाउँमा मलामी छैनन्,, देशलाई युवाको खाँचोछ, नेतृत्ववर्गलाई कुर्सीको रोग लागेको छ र देशलाई लुटेर विदेशमा लगेर आमालाई रुवाएका छन् भनी देशको चिन्तन गरिएको छ । यस भागमा आजको नेपाल र नेपालीले भोगेका वास्तविक यथार्थतालाई सजीवरूपमा उतार्न काव्यकारको कलमल सवल देखिन्छ । हेरौं कविताको एक श्लोक–
आमाको लाम्टा चुसेर यिनले आमालाई रुवाए
देशलाई लुटी विदेशमा लगी आमालाई गिराए
पृष्ठ २९
भाग ४ विपत्तिको क्षण शीर्षकमा छोरीले बाबा र आमा बीचको प्रेमप्रसङ्गको बर्णन, बाबाको पत्र आउनु, छोरीले पढेर आमालाई सुनाउनु, टुइनटावरमा जहाजबाट आगो लाग्नु, बाबाको मृत्यु हुनु, आमा पनि त्यसै दिनदेखि ओछ्यानमा परेर त्यहीकारणबाट मृत्युवरण हुनुको मार्मिक बर्णन, कारुणिकरूपमा, गरिएको छ ।यहाँ भनिउको छ – बाबाले चिठी लेखेर बर्णन गर्नु,चाँडै भेटौंला भन्नु, त्यसैमा आमा रमाउनु र बेहुली भेषमा रमाएको अनुभूति गर्नु, चिठी बाँच्न छोरीलाई लगाउनु,चिठी सुनेर आमा टोलाउनु, गाउँलेले विवाह नै नभै पाएकी छोरी कस्तो निर्लज्य भन्दै गाउँमै राख्न नहुने भन्नु र गाउँलेका बचन आमले सुन्नु, सुनेर, बाबा आउनु हुनेछ भन्ने आशामा धैर्य लिएर छोरीलाई हुर्काई रमाउनु, यसै अवस्थामा सेप्टेम्बरको विहानी पख पहिलो पहर अमेरिकाले कहिल्यै नभुल्ने जहर, टुइन टावरमा दुईओटा जहाज पसेर विनाश गरे र टावर जलेर खरानी भयो, मानवले मानवलाई विनाश गर्ने यो प्रवृत्तिमा सबैका आँसु बगे, धेरै देशका मानिसहरू जो यहाँ बसेका थिए सबै जले, यसै घटनामा बाबा परेर मरे, आमाका सबै सपना चुँडिए, त्यसै दिनदेखि आमा ओछ्यानमा सुतिन्, आमालाई सिन्दुर नहाली बाबाले मलाई गर्भमा छाडेर गए, आमालाई रुवाए अनि यो सारा कालो बादल मतिर मडारियो, म टुहुरी भए भन्दै विलौना गरिएको छ यस भागमा । यो यर्थाथ परक टावरको जलाई, मानवको क्षतिलाई अध्ययन गर्दा मानवमन वेदनाले भरिन्छ । त्यो घटना र वेदनालाई काव्यकारले कारुणिक रूपमा प्रष्ट्याउन कोशिस गरेको देखिन्छिन् । केही श्लोकहरू–
प्रकृति रोइन विनास भयो सुन्दर सहर
आँसुका धारा बगाए सबले छल्कियो समुद्र
पृष्ठ ३१
गएथे बाबा सिन्दुर पनि नहाली आमालाई
गर्भभित्र त्यो मलाई छोड्दा रुवायो आमलाई
पृष्ठ ३२
आमाको प्यार विधाता तिमीले चुँडेर लग्यौ नि
धर्तीको राम्रो प्रीतिको फूल न खिली लग्यौ नि
पृष्ठ ३२
भाग ५मा आमाका सपनाहरू विलाए शीर्षकमा बाबा कामको खोजीमा अर्काको देशमा, आमाको अधुरो जीवन र अधुरो इच्छा मनमा लिएर नलगाइ पोते कुमारी भएर रहन पर्ने कस्तो खेल विधताले रचे, आमाका मनका मनभित्र खिलाई, मनमै विलाइरहे भने बाबाका काम पनि अधुरै रहे । बाबाको मृत्युले आमा दिन दिन गल्न थालिन् । कुमारी जीवन काट्न बाध्य भएकी आमाको यो दर्दनाक अवस्था देखेर छोरीको मन पनि काटिन्छ,, उनलाई प्रकृति पनि रोए जस्तै लाग्छ, मन रेटिन्छ र भगवानसँग सहने शक्तिको याचना गर्दछिन् तर के गर्नु आमा पागल बन्छिन् र छोरीले विलौना गदै दैवसँग के खेल रचेउ, जिउँदै म मरें भन्दै विलौना गरिएका श्लोकको अध्ययनले सबैको मन छुन्छ ।
भाग ६ सम्झनाका पलहरू शीर्षकमा छोरीले आमालाई सम्भने क्रम जारी छ । छोरीले सम्झिन्छिन् आमाले कथा सुनाएको, बिरामी पर्दा जागेर बसेको र ती पलहरू आज तिम्रो मुहारको झल्को देख्छु,, बदामी आँखा, कोइलीको बोली, बारुली कममर, लक्ष्मीको जस्तो रूप, घरकी मङ्गल थियौ तिमी, तिम्र्रो मृत्युले घर आज मसान भएको छ, तिमीले मायाको फूल रोपेर, मानव यात्रा रोकेर, महिना दिन थलापरेर, तिम्रो बोली शिथिल हुन थाल्यो, आँखा धमिलिन थाले, पुसको महिना, कलिलो घाम डुबेर जाँदा यो संसार त्याग्दै कलिली छोरीलाई छोडदै, टुहुरी बनाएर गएको धारणाहरूलाई बर्णनगरिएको छ यस भागमा । आमा मरेपछि छोरीले आमको विलौनामा आमाको मृत्यु देखेर व्याकुल हुनु, संसार सबै अन्ध्यारो हुनु, ज्वारभाटा चल्नु, वागमती पनि रुनु, दिलमा आत्मा गढ्नु, जतातता आत्मालाई गमेर हेर्नु, हावाले पनि आमाको आत्मा ल्याए भझै लाग्नु, कोइलीले पनि उनकै गीत गाएझै लाग्नुको साथै कसरी बिर्सनु, कसरी पीडा सहनु, बत्राबालाई कहिल्यै देख्न पाइएन तर आमाको आत्मा मुटुमा बसेझै लाग्नु, फूल र पातबाट बोली सुनेझै लाग्नु, जूनेली रातमा सपनीमा काखमा राखेको, अनुहार देखेको, सूर्य उदाएको, पवनसँगै मेरा किसोरी सपनाहरू उडेका, वाँकी केवल सपनामात्र रहेका, आदि आदि अनगिन्ती यादले भरिएका, मार्मिक धारणा पोखिएका भावनाको साथै यसमा पोखिएका श्लोक श्लोकमा शोकाकुल शब्दले मानवमनलाई छिया छिया पार्दछ र कमलो मन हुने पाठकका नयन रसाउँछन् । यहाँ प्रस्तुत गरिएका कारुणिक शब्दले त ढुङ्गाको दिल भएकारूको मन पनि पगाली दिन्छ । हेरौं यस भागका केही मार्मिक श्लोकहरू –
आमाको माया अमृत हुन्छ बिटुलो हुँदैन
यसलाई कुनै मूल्यमा पनि तौलिन हुँदैन
पृष्ठ ३८
फूलमा उनी जूनमा उनी झझल्को आउँछ
त्यही नै रूप खोजी हिड्छु पाउन गाह्रो छ
पृष्ठ ३९
भाग –७ अन्तिम सम्झनाको घुट्को शीर्षकमा पनि छोरीको नै विलौना छ । छोरीले, आमा कहाँ पुग्यौ,तिमी पुगेको ठाउँमा मलाई पनि पुग्ने रहर छ,फूलका पातमा कथा लेखिरहुँ, तिमीमै मिलिरहुँ, जीवनभित्र जीवन ज्योति तिमीले देखायौ, जीवन हाँँस्ने र जीवन बाच्न पनि तिमीले सिकायौं, अनन्तभित्र विलाए पनि मनमा राख्छु, सृजनाभित्र पनि राख्छु । के गर्ने मानव जीवनमा पीडा र दर्द साथै सृष्टिको चक्र बुझेर पनि सहनु पर्दछ, बाबा र आमाको स्वर्गमा भए पनि भेट हओस्, जब आमाले बाबालाई स्वर्गमा भेटिन् भने टुहुरी छोरीलाई सम्झेर रुनिछिन्,आशा गरौं ती दुई जोडा स्वर्गमा मिलुन् अधुरा कामलाई पूरागरुन्,रमाएर बसुन्, सपनीमा म भेट्न आउने छु, तर्पण म दिने छु, तस्वीर सँगाली राख्ने छु,, ती दुई जोडी स्वर्गको घरमा कहिल्यै पनि नछुट्टीने गरी रमाई बसुन्, विविध कमना, भावना र आराधनाले माता पिताको स्मरण र श्रद्धासुमनलाई टक्र्याएको र यस भागमा पनि बाबा आमाको मिलनको कामना छोरीले विलौना गर्दै यो खण्डकाव्य समाप्त हुन्छ
। हेरौं केही श्लोकहरू–
मानव चोला अमूल्य नै छ बुझ्नु नै पर्दछ,
जीवनभित्र जीवनको अर्थ खोज्नु नै पर्दछ
पृष्ठ ४३
मायाको फूल रोपेर अब स्वर्गमा बस्नु है
इच्छाका फूलरोपेर त्यहीं खिलेर हाँस्नु है
पृष्ठ ४४
पिरती फूल फुलिरहोस् स्वर्गको वागमा
म जोरबत्ती बालिरहुँला दुवैको नाउमा
पृष्ठ ४४
पात्रहरूको छनौट
यथार्थतामा महाकाव्य तथा खण्डकाव्यका पात्रको चयन गर्दा धीरोदात्त(/धेरै उच्च गुण भएको व्यक्तिको छनौट गर्नुपर्छ भनिएको हुन्छ तापनि यो पुरानो धारणालाई काव्यकारहरूले तोडिसकेका छन् । यस खण्डकाव्यमा आमा बाबु र छोरी साधारण खानदानका पात्रको चयन भएको देखिन्छ । आमा र बाबुको बीचमा पत्रद्वारा भावनाको पोखाइ भएको छ । यस खण्डकाव्यमा छोरीको भूमिका व्यापक एव म सकृय छ ।
परिवेश
यो कृति अमेरिकाको न्युयोर्क सहरको साथै नेपालको परिवेशमा लेखिएको यो खण्डकाव्यमा दुवै देशको प्राकृतिक सौन्दर्यतालाई टपक्कै टिपेर लपक्कै टाँसेको देखिन्छ । विदेशमा बस्ता स्वदेशको याद र ममताले ढाकेको हृदयमा दुवै देशमा भएका सामाजिक, राजनीतिक, र धार्मिक यथार्थतालाई पनि प्रष्ट्याउन खोजिएको छ ।
शीर्षकीकरण
आमा हुन आमा खण्डकाव्यको शीर्षक पनि सार्थक छ किनकि आमाका जीवनका घटना तथा जीवन कथा सबै छोरीबाट नै प्रष्टपारिएको छ । छोरीले नै सारा खण्डकाव्यको घटनाक्रमलाई समाज माझ ल्याइएको छ ।
भाषाशैली
भाषा सरल छ । लोक छन्दमा रचित यो खण्डकाव्य, फाटफुट श्लोक बाहेक, लयात्मक र गायत्मक पनि छन् ।, सरल सहज भएकोले सबै तहका पाठकलाई यो पाच्य पनि छ ।
आमा हुन् आमा खण्डकाव्याभित्रका केही बूँदाहरू
आमा हुन् आमा खण्डकाव्यका बारेमा माथि उल्लेख गरिएका कथासार र भागगत संक्षेपीकरणबाट यस खण्डकाव्यले समाएको मार्गलाई त सहजै जान्न सकिन्छ । खण्डकाव्य भनेको एक निश्चित घटना वा घटनाक्रमको एक भागको बर्णन गरिएको कविताकै विस्तारित तथा बर्गीकृत रूप हो । खण्डकाव्यलाई प्रवन्ध काव्य पनि भनिन्छ ।आमा हुन् आमा खण्डकाव्य छोटो छ र यसमा पोखिएका घटनाहरू शोकले भरिएका छन् । झट्ट हेर्दा यो शोककाव्यजस्तो लाग्छ । यस खण्डकाव्यमा जम्मा १६२ श्लोकहरू समावेश गरिएका छन् । सर्गका हिसावले पनि यसमा ७ओटा भागले खण्डकाव्य सिर्जना भएको छ । आयतनका हिसावले लघुखण्डकाव्यको रूपमा यो दर्शिएको छ । खण्डकाव्यको विषयबस्तु सामाजिक प्रकारको छ,,समाजमा यस्ता घटनाले कति किशोरीको मृत्युवरण भएको छ । यस खण्डकाव्यमा पनि अन्तत्वगत्वा कुमारी आमा बन्नु परेको, समाजले तिरस्कार गरेको, बैवाहिक जीवन को अनुभव न भै प्रेमीसँग पुनर्मिल हुन नसकी मृत्युवरणभएको घटना प्रष्ट पारिएको छ । त्यसर्थ विषयबस्तुमा खण्डकाव्य सफल भएको मान्नु पर्दछ अनि समाजमा प्रेममा अलपत्र परेका किशोरीहरूको ज्वलन्त उदाहरण बन्न पुगेको छ खण्डकाव्य । यस खण्डकाव्यको केन्द्रित भावलाई मनन गर्दा प्रेम गर्दा भावीजीवनको ख्याल गर्नु पर्ने, वैवाहिक सम्बन्ध गाँसिनु अधि आफ्नो अमूल्य अस्तित्वलाई समर्पण गर्न नहुने, समर्पण भएर अलपत्र परेमा धैर्यधारण गर्न सक्नपर्ने, समाज र सरकारले यस्ता घटनाक्रमलाई सकरात्मकरूपमा लिएर समाधानतिर उन्मुख गराउनु पर्नेजस्ता मौन अवधारणा र उदेश्य लिएको देखिन्छ खण्डकाव्यले । यस खण्डकाव्यले अमेरिका र नेपालको बर्णनमात्र नभएर राष्ट्र, राष्ट्रियता, देशप्रेम, जातीय वभिेदका, विदेशमा बस्नुपर्दाको पीडा जीवन जगतका कुरामा पनि संकेत गरेको छ । विम्ब, अलङकार र प्रतिकको प्रयोग पनि भएको देखिन्छ । कृतिकारले यो खण्डकाव्यको रूपमा प्रस्तुत गर्नुभएकोले खण्डकाव्यको रूपमा यसलाई सहजै ग्रहणा गर्न सकिन्छ ।
अन्त्यमा
यस खण्डकाव्यमा सुधारका पक्ष पनि छन् । काव्य लेखनमा निरन्तरता दिंदै जाँदा लेखन सवलतातिर जान्छ । गीताजीले गरेको यो प्रयास प्रशंसनीय छ । यो खण्डकाव्य सानो छ तर मीठो छ । यसले समाजमा घट्ने जटिल समस्यालाई उठाएको छ । जसको कारणले् संसारका युवतीहरूले मृत्युवरण गर्नु पर्ने, समाजमा तिरस्कृत हुनुपर्ने, भावी जीवन नै अलपत्र पर्न सक्ने यथार्थतालाई प्रष्टयाएको छ । यस खण्डकाव्यप्रति माथि धेरै विषयबस्तुमा विश्लेषण भैसकेको छ । त्यसो हुँदा गीताजीलाई काव्य लेखनको लागि अँझै अग्रसरताको खाँचो छ । निरन्तरतामै तपाईंको भविष्य उज्ज्वल छ भन्दै साहित्य लेखनमा तपाईंको भूरि भूरि प्रशंसा गर्दै, धन्यवाद सहित बिदा चाहान्छु।
धन्यवाद
सदानन्द अभागी
मिति २०७१साल, असोज ४ गते
कावासोती नगरपालिका –७, शान्तिचोक, नवलपरासी
