माया उर्गेनको घोडा चढेर
त्यो घुमाउरो बाटो
फनक्क घुमेपछि
भेटाउनेछौ
मेरो आदिम बस्ती
जहाँ फुल्छन् पैँयु फूलहरू
हाँस्छन् काँसघाँसहरू
र सल्बलाउँछन् सिरुपातहरू
तिमीलाई यो पनि भनुँ
जब तिमी टेक्नेछौ
त्यो बस्ती
पहिलो छेडोको
दाहिने कुनामा
देख्नेछौ
मेरो रातो घर
जहाँँ मैले सिकेको थिएँ
आपाको हात समाएर ताते गर्न
जहाँँ मैले पढेको थिएँ
आमाको सपना
जहाँँ मैले देखेको थिएँ
बडेमाको ढ्याङ्ग्रो सँगैको
मेरो आखे म्हेमे
जसको सेताम्मे फुलेको दाह्रीले
एउटा सिङ्गो युगको कथा बोकेको थियो
हो मैले उनै आखेबाटै
सुनें
आखे मामको गाउनको फरिया र जमीन्दारको घोडा
माइली फुपूको पछयौरा र करसाहबको भरुवा बन्दुक
बिर्खे दाइको हड्डी र राप्तीको खोला
यस्तै यस्तै अरु थुप्रै कथाहरू
संगसँगै पढें मैले
थुप्रै राता किताबहरू
र छोडें
त्यो रातो घर
आज दुई दशकपछि
तिमी पुग्दैछौ
त्यो रातो घर
एउटा अनुरोध
जब भेट्नेछौ मेरी आमालाई
सुनाइदेऊ एउटा सन्देश
आमा त्यो रातो घरबाट
अँझ थुप्रै म जस्ता
सन्तानहरू तयार पारेर
पठाउ यहाँं
मेरो युग
पर्खिरहेछ
बिना तामाङ ‘ सुनगाभा ‘
काठमाण्डौ
