Skip to content

अजम्वरी यादमा


चाहनामा वाध्यता छ रुनु हास्नु जीन्दगी हो
कट्छ आयु पल्पल् गन्दै यही रित प्रकृतिको
संघर्षै हो जीवन भन्ने जहाँ पनि लड्नै पर्छ
बाढी भित्र सम्झनाको डुवे पनि वाच्नै पर्छ ।

भरोसा हो सन्जिवनी ईमान्दारी आधार हो
कर्म तप यज्ञै मानौ यो सन्सार अपार हो ।
भोंक प्यास त्रिष्णा चिन्ता हाँसो खुशि हावा सरि ।
आउने जाने रातोदिन प्राणवा़यु चले सरी ।

क्षीतिजको पर्दा च्याति वेगिएर हराउ कि?
पातालको बाटो खोजि त्यहि कतै विलाउ कि?
पंख जोडी उढ्दै उढ्दै आकाश मै हराउ कि?
शागरको छाल भित्र वास नौलो वनाउ कि?

वर्सिएका तीखा बाण ढाल बनी कति छेक्ने?
जीन्दगिका गीतहरु कति गाउने कति लेख्ने?
फूल वनी चढीदिएँ ईश्वरको पाउ मुनि
काँढै काँढा पाएँ वर रसिएछन् आँखा पनि ।

कर्मलेखा भन्नै पर्छ बाटाहरु बन्दै भए ।
जीवरेखा चल्नै पर्छ जस्तोसुकै द्वन्दै भए ।
जल्छ मन ,कस्ले पोल्छ ? तत्व के हो ? बुझ्नै पर्छ ।
हुन्छ ख़ुशी के को लागि? कहाँमिल्छ ?खोज्नै पर्छ ।

चर्किएको शिशाभित्र मुटु झिकी राखि दिएँ।
त्यसभित्रका रुपदेखी मन्द मन्द हाँसीदिएँ।
हिऊवनी पग्लिदिएँ निर्झरीको नाच हेर्न ।
घुँघुरुका तालभित्र निशासिदै शास फेर्न ।

धर्मराज कोइराला
सह-प्राध्यापक
रत्नराज्यलक्ष्मी क्याम्पस
भृकुटीमण्डप, काठमाण्डू

Leave a Reply

Your email address will not be published. Required fields are marked *